दिनेश कोइराला
टिकटक प्रतिवन्ध मान्य हुन सक्दैन । समस्या टिकटकमा मात्र छैन, समस्या सरकारमा छ, प्रचण्ड सरकारको चिन्तनमा छ । विसंगति विकृति जहाँ पनि छ, विकृति विसंगतिको आड लिएर टिकटक प्रतिवन्ध गरिनु नियत खराब हो ।
हो, टिकटकमा अश्लिलता र सदभाव बिगार्ने खालका सामग्री व्यापक छ, ती सामग्री फेसबुक, टुइटर, युटुब सबैतिर छ । सबैलाई प्रतिवन्ध लाइदिने त ? गाडी दुर्घटनामा मानिस मर्छ, गाडीको ठक्करले मानिस मर्छ, त्यसो भए गाडी प्रतिवन्ध लगाएर पूरानो युगमा फर्कने ? माओवादी नेतृत्वको सरकारले गरेको टिकटक प्रतिवन्ध मोटर गाडीमाथि प्रतिवन्ध लगाए जस्तै हो ।
हामीले समाजको उपचार गर्नुपर्छ । समाजको उपचारमा ध्यान नदिने, विकास निर्माणमा ध्यान नदिने, सुशासनमा ध्यान नदिने अनि जनताले विकृति विसंगति विरुद्ध प्रहार गर्ने मञ्चका रुपमा प्रयोग भइरहेको टिकटक प्रतिवन्ध गर्नु लोकतान्त्रिक हुन सक्दैन । हाम्रा बालबालिका, किशोरकिशोरी, युवा प्रौढ र वृबद्धृद्धासम्म सबैले चलाउने टिकटकको नराम्रो पक्ष मात्र नहेरौं । राम्रो पक्ष पनि हेरौं, नराम्रो पक्षलाई नियन्त्रण गरौं । गर्नुपर्ने यसो हो, गर्नुपर्ने नियमन हो, प्रतिवन्ध होइन ।
इन्टरनेटले सिर्जना गरेको खुला संसारलाई रोक्न खोज्नु मुर्खता हो, बरु, इन्टरनेटले सिर्जना गर्ने चुनौती र विकृतिको सामना कसरी गर्ने भन्नेतिर ध्यान दिउँ । टिकटकमा प्रतिवन्ध समाधान होइन, समस्या हो, प्रचण्डको सरकारले समस्या सिर्जना गरेको छ । सामाजिक सदभाव बिगार्ने सामग्री टिकटकमा आयो भन्ने बहाना बनाइएको छ । सामाजिक सदभाव बिगार्ने, धार्मिक साम्प्रदायिक सदभाव बिगार्ने, देशलाई विखण्डनमा लैजान खोज्ने विचार र संगठनको मुहान बन्द गर्ने कि टिकटक ? प्रचण्डले जवाफ दिनुपर्छ ।
यो देशमा सदभाव बिगार्न कसले खोजिरहेको छ भन्ने सबैले बुझेका छन् ।
हो, कैयन देशले टिकटकमा प्रतिवन्ध लगाएका छन्, उनीहरुले प्रतिवन्ध लाउनुमा राजनीतिक र आर्थिक कारण पनि छ, चीनसँग प्रतिस्पर्धाले पनि टिकटकलाई प्रतिवन्ध लगाएका छन् । नेपालको कुनै देशसँग सत्रुता र प्रतिस्पर्धा छैन, अरुले प्रतिवन्ध लगाए भन्दैमा लहलहैमा टिकटक प्रतिवन्ध गर्नु जायज होइन ।
खुला समाज र उदार लोकतन्त्रबाट हामी पछाडि फर्कन सक्दैनौं । टिकटक प्रतिवन्ध विरुद्धमा उठेको जनआवाज सरकारले सुन्नुपर्छ । प्रतिवन्धको निर्णयबाट सरकार पछाडि हट्नुपर्छ । आजै टिकटक प्रतिवन्धको निर्णय फिर्ता गरियोस् । टिकटकमा प्रतिवन्ध लगाउन सरकारले जति मेहनत गर्यो, त्यस्तो मेहेनत टिकटकलाई नियमन गर्न गरेको भए राम्रो हुँदैनथ्यो र ? टिकटक प्रतिवन्धको निर्णयबाट पछाडि नफर्की सुखै छैन ।
इन्टरनेटका कारण नेपालमा मात्र होइन, विश्वभरी विकृति विसंगति बढेको छ । नियमन र नियन्त्रणका लागि हरेक देशले प्रयास गरिरहेका छन् । नेपालले पनि नियन्त्रण र नियमनका लागि आफ्नो क्षमता बढाउनुपर्छ, उपाय खोज्नुपर्छ । यहाँ नियन्त्रण भन्नाले प्रतिवन्धात्मक नियन्त्रण भनिएको होइन, नियन्त्रण भनेको नियमन भित्र बसेर गरिने नियन्त्रण हो भन्ने पनि स्पष्ट हुनुपर्छ ।
म टिकटक प्रयोगकर्ताहरुलाई पनि केही कुरा भन्न चाहन्छु । टिकटकमा होस् या घर टोलमा, जहाँ पनि सामाजिक मर्यादामा बस्नुपर्छ । संविधान र कानुनभन्दा धेरै माथि हुन्छ सामाजिक मर्यादा, शिष्टाचार, मानवियता, नैतिकता र आदर्श । यसको पालनामा कसैले पनि चुक्न हुँदैन । लाइक, कमेन्ट र सेयरको पछाडि दौडिएर मर्यादा र शिष्टाचारबाट च्युत नबनौं । लाइक कमेन्ट र शेयर भनेको तपाईंको नैतिकता र मर्यादाभन्दा ठूलो हुन सक्दैन । सामाजिक मर्यादाबाहिर गएर सामग्री बनाउने, अतिरञ्जित र आधारहीन कुरा गर्ने, उग्र र अराजक कुरा गर्नेहरुसँग अब सबैजना सतर्क बन्नुपर्छ । यस्तैहरुको आड लिएर सरकारले टिकटक प्रतिवन्धित गरेको कुरा बुझ्नुपर्छ ।
अन्तिममा दुईटा सुझाव
टिकटक तथा इन्टरनेट प्रयोगकर्ताहरु, तपाईंको फोनको कीप्याड समाज भाँड्ने औजार नबनोस् ।
ए सरकार, कानुन बनाउने र निर्णय गर्ने तिम्रो अधिकार स्वेच्छाचारी हुन हुँदैन, अधिकार छ भन्दैमा जथाभावी निर्णय गर्न पाइँदैन ।
