सौरमराज तुलाधर--
भूकम्पको भयानक त्राशदी नेपालले फेरि पनि भोग्नुपरेको छ । पश्चिम नेपालको रुकुम र जाजरकोट जिल्ला पछिल्लो भूकम्पबाट नराम्रोसँग प्रभावित भएको छ । भूकम्पले मानिसको वास उठाएको छ, सयौंको ज्यान गएको छ, सयौं घाइते छन् । मानवीय र भौतिक क्षतिले त्राशदीपूर्ण अवस्था सिर्जना भएको छ ।
भूकम्पले देश रोएको बेला हास्ने तत्व पनि नेपालमा देखिएको छ । त्यस्तो तत्व हो माओवादी केन्द्रका खास नेताहरु । १० वर्ष कथित जनयुद्ध गरेर हजारौं मानिस मारेका माओवादीलाई भूकम्पले सिर्जना गरेको मानवीय त्राशदीले अलिकति पनि छोएको देखिँदैन । उनीहरु यस्तो बेला पनि घीनलाग्दो राजनीति गरिरहेका छन् ।
रुकुम र जाजरकोट सहितका पश्चिम नेपालका कैयन जिल्लाहरु माओवादीको अति प्रभावमा छन् । भूकम्प पीडित रुकुम र जाजरकोट दुवैमा आमचुनाव र प्रदेश चुनावमा माओवादीले जितेको छ । पालिकाहरुमा पनि माओवादीकै बोलवाला छ । माओवादीले आतंक, हिँसा र बलप्रयोगबाट चुनाव जितेको सबैलाई थाहा भएकै कुरा हो । चुनावमा प्रतिस्पर्धी उम्मेदवार र पार्टीहरुलाई माओवादीले चुनाव प्रचार गर्न समेत दिएन । माओवादीले कथित शान्ति प्रकृयामा आएपछि हतियार त्यागेको घोषणा गरेको माओवादीको आतंक यथावत छ । चुनावका बेला होस् कि भूकम्पका बेला, अरुबेला होस् या चाडपर्वको बेला होस्, गाउँगाउँमा माओवादीको आतंक जारी छ । यस्तो आतंक भूकम्पका बेला पनि देखिनु अति दुखद हो ।
भूकम्प प्रभावित रुकुम र जाजरकोट जिल्लामा माओवादी बाहेक अरु पार्टीले राहत तथा उद्दारको काम गर्न नपाउने भनी माओवादीका स्थानीय नेताहरुले उर्दी जारी गरेका छन् । यता केन्द्रमा भने माओवादीका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्रीले नारायणकाजी श्रेष्ठले अन्य राजनीतिक दललाई राहत तथा उद्दारको काममा निषेध नगरेको दावी गर्नुभएको छ । केन्द्रका नेताहरुले दुनियाँलाई देखाउन एकथोक भन्ने र स्थानीय रुपमा अर्काे काम गर्ने माओवादीको पूरानै नीति हो । भूकम्प पछिको राहत र उद्दारमा पनि माओवादीले दोहोरो नीति लिएको देखिन्छ ।
सरकारी राहत सामग्री वितरणमा समेत माओवादीले एकलौटी गरेको छ । पीडितहरु कुन पार्टीका हुन् छानीछानी राहत वितरणमा पक्षपात गरिएको समाचार सञ्चार माध्यममा व्यापक आएको छ । माओवादीले राहतका लागि गएका विदेशी नागरिक तथा स्वयंसेवकहरुलाई पिटेको भिडियो समेत सार्वजनिक भएको छ । प्रभावित क्षेत्रमा राहतका लागि जान अन्य पार्टीहरुलाई रोक लगाउने, अवरोध सिर्जना गर्ने, समस्या खडा गरिदिने काम माओवादीबाट भइरहेको समाचार व्यापक रुपमा आइरहेको छ ।
प्रभावित क्षेत्रमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ धेरै दिन घुम्नुभयो । उहाँको घुमघामले पनि स्थितिमा तात्विक अन्तर आएको देखिएन । सञ्चार माध्यमहरुमा आएका समाचार अनुसार गृहमन्त्रीको घुमघामका बेला सुरक्षा व्यवस्थाका नाममा भूकम्प पीडितहरुलाई थप सास्ती दिइयो । माओवादीका स्थानीय नेताहरुले सिकाए अनुसार मात्र गृहमन्त्री तथा सरकारी अधिकारीहरु समक्ष बोल्न र जानकारी दिन भूकम्प पीडितहरुलाई सिकाइएको थियो । अचम्म त के भने गृहमन्त्री पनि अरुको कुरै सुन्न नचाहने, माओवादीको स्थानीय नेतृत्वले पहिले नै सिकाएर अगाडि ल्याएका पीडितहरुको मात्र कुरा सुन्ने ।
भूकम्प पीडितको राहत तथा उद्दारमा समेत माओवादीले आतंकको राज्य देखायो । कथित जनयुद्धका बेला माओवादीले हजारौंको हत्या गरेको थियो, हजारौंलाई आन्तरिक तथा वाह्य शरणार्थी बनायो । हजारौंलाई घाइते बनायो । यी सबमा उनीहरुलाई दण्ड दिन सकिएको छैन । शान्ति प्रकृया अन्र्तगत सत्य निरुपण आयोगलाई माओवादीले कामै गर्न नसक्ने बनाइदिएको छ । सत्य निरुपण आयोग तथा अन्य कानुनहरुमा जनयुद्धकालमा आफूले गरेका अपराधमा मुद्दा नचल्ने व्यवस्था गर्न माओवादीले प्रयास गरिरहेको छ । माओवादीको स्वरुप आतंककारीकै छ, भूकम्पका बेला होस् या सरकार सञ्चालनमा होस्, माओवादीले आतंकको राज चलाइरहेको छ ।
माओवादीको आतंकलाई कहिले एमालेले र कहिले नेपाली कांग्रेसले सघाएको देखिन्छ । संसदीय व्यवस्थामा संसदभित्रको गणित बडो निर्मम हुन्छ । सरकार बनाउन विभिन्न पार्टीहरुले आपसमा मिल्नुपर्ने हुन्छ । संसदीय व्यवस्थाको यही वाध्यकारी व्यवस्थाको आडमा माओवादी सरकारमा पुगेको छ भने आप्नो आतंकको राज ढाकछोप गर्ने बहाना पनि पाएको छ ।
नेपालमा माओवादीले शान्ति पनि हुन दिँदैन, विकास पनि हुन दिँदैन, नेपालमा वैदेशिक लगानी पनि भित्रन दिँदैन, लोकतन्त्रलाई संस्थागत हुन पनि दिँदैन । यही कारण आज लाखौं नेपाली युवा विदेशिएका छन् । विश्वमा जनसंख्या पलायन हुने देशमा नेपाल अग्रपंक्तिमा आउन थालेको छ । सबै नेपालीलाई विदेश लखेटेर माओवादीले कस्तो शासन गर्न खोजेको हो ?
विगतमा मानवता विरुद्ध अपराध गर्दै आएको माओवादीले भूकम्पले त्राशद स्थिति फैलाएको बेलामा समेत मानवता विरुद्ध नै अपराध गरिरहेको छ । माओवादीको अपराध प्रतिकारमा सबैले गम्भीर बन्नुपर्ने बेला आएको छ ।
