-गोविन्द थापा-
नेकपा एमालेले समृद्धिका लागि संकल्प यात्रा गर्दैछ । नेपालको इतिहासमा यति गहिरो, अर्थपूर्ण, महत्वपूर्ण र विशाल राजनीतिक कार्यक्रम कहिले पनि भएको थिएन भने हुन्छ । राष्टको समग्र जीवन बुझ्ने, देशको भूगोल, इतिहास, अर्थतन्त्र, कृषि, उद्यम, जनजीवन सम्पूर्ण रुपमा बुझ्ने, जनताको भावना र चाहना बुझ्ने अनि भविष्यमा सोही अनुरुपको नीति निर्माण गर्ने गहन उद्देश्य साथ एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मंसिर १४ बाट संकल्प यात्रा थालनी हुँदैछ ।
भिडियाे:
नेपालको विकास प्रयास विभिन्न ढंगले हुँदै आएको छ । नेपालको विकास कस्तो अवधारणाले अगाडि बढाउने भन्ने विभिन्न मोडलको अभ्यास गरिएको छ । संकल्प यात्राले नेपालको विकासको मोडल र अवधारणालाई नयाँ युग र नयाँ परिवेश अनुसार परिमार्जन गर्ने उद्देश्य पनि राखेको छ । यात्राको नामले नै पनि यो कुरा प्रष्ट पार्छ । नाम छ, समृद्धिका लागि संकल्प यात्रा । नेपालको विकासको केन्द्रीय भागमा समृद्धिलाई राखिएको छ । विकास र समृद्धिलाई जोड्ने अवधारणा नेपालले बोकिसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विकास र समृद्धिलाई केन्द्रीय अवधारणा बनाएर विकास प्रयास अगाडि बढाउन थालेको हो ।
विकासको त्यो प्रयास र मोडल
अमेरिकाले सन् ५० को दशकपछि नेपालमा ग्रामीण विकास परियोजना चलायो । त्यसबेला अमेरिकाले युनाइटेड स्टेट्स अपरेसन मिसन नाममा नेपालमा कार्यालय स्थापना गरेको थियो । अहिले त्यो संस्था युएसएड भएको छ । अमेरिकी सहयोगमा देशभरीका गाउँका लागि चार हजार जनालाई विकास कार्यकर्ताका रुपमा तालिम दिइयो । युएसएडले सन् १९९१ मा तयार पारेको विकासको चार दशक, नेपालमा अमेरिकी सहयोगको इतिहास दस्तावेज अनुसार त्यसबेला नेपालमा ग्रामीण विकासको अवधारणा नै थिएन, विकासका नाममा कर उठाइन्थ्यो र राज्यको उपस्थिति गाउँमा प्रहरीका रुपमा मात्र देखिन्थ्यो ।
चार हजार विकास कार्यकर्ता तयार पारिएपछि के भयो ? सो दस्तावेजका अनुसार विकासे कार्यकर्ता तयार पारिएपछि पनि ग्रामीण विकासका नाममा केही पनि हुन सकेन । दस्तावेजले परियोजना असफल भएको स्वीकार गरेको छ ।
अमेरिकाले ग्रामीण विकास परियोजना सुरु गरेपछि भारत पनि नेपालमा ग्रामीण विकास गर्छु भन्दै अगाडि आयो । दुईटा ग्रामीण विकास परियोजना सुरु भयो । तर, दुवै परियोजनाले काम गरेन । अमेरिकी दस्तावेजका अनुसार त्यसका लागि नेपाल सरकार नै दोषी थियो, अर्काे कारण, नेपाल सरकार भारतको दवाबमा पर्यो । नेपालको राज्य संरचना विकासका लागि तयार नै नभएको सो दस्तावेजमा उल्लेख छ ।
सन् १९५६ मा नेपालले पहिलो पञ्चवर्षीय योजना तयार पार्यो । सो योजना पनि अमेरिकी सहयोगमै तयार भएको दस्तावेजमा उल्लेख छ । आफ्नै सहयोगमा तयार पारिएको पञ्चवर्षीय योजनाले पनि नेपाल विकास पथमा अगाडि बढ्न नसकेको, ठूलो मात्रामा बजेट घाटा ब्यहोर्नपरेको उल्लेख दस्तावेजमा इमानदारीसाथ गरिएको छ ।
नेपालमा विकासको अवधारणा आयो तर ग्रामीण विकासको अवधारणा दशकौंसम्म आउन सकेन । पञ्चायतकालमा सीमित विकास भयो, देशको समग्र विकासलाई केही मात्रामा ध्यान दिइयो तर त्यस्तो विकासको उद्देश्य काठमाडौंलाई केन्द्रमा राख्ने र राजश्व उठाउनेमा लक्षित थियो । समग्र विकास भन्ने तर ग्रामीण विकासलाई ध्यान नदिने गर्नाले पञ्चायतकालीन विकास प्रयास सफल हुन सकेन ।
०४७ सालमा बहुदलीय व्यवस्था स्थापना भएपछि नेपाली कांग्रेसको सरकारले खुला बजार र उदार अर्थतन्त्रको नीति लियो । यसले पूँजीवादको विकास भयो तर ग्रामीण विकास भएन । नयाँ पूँजीपति वर्गको उदय भयो, सहरी अर्थतन्त्रको सीमित विकास सुरु भयो । तर, देशको समग्र विकासमा ग्रामीण विकासलाई जोडेर देशको एकीकृत विकास गर्ने काम भएन ।
सन् ५० बाट सुरु भएको ग्रामीण विकासको काम एउटा या अर्काे रुपमा अगाडि बढ्यो तर कागजमा मात्र । कागजी विकास हुने, कागजी परियोजना बन्ने तर गाउँमा ठोस विकास नहुने विडम्बना दशकौंसम्म नेपालले भोग्यो ।
असफलताको कारण
नेपालको विकासका लागि अमेरिकाले धेरै खालका परियोजना चलाएको इतिहास छ । ती कुनै पनि परियोजना सफल हुन सकेनन् । माथि उल्लेख गरिएको विकासको चार दशक, नेपालमा अमेरिकी सहयोगको इतिहास दस्तावेजमा किन विकास परियोजनाहरु सफल हुन सकेनन्, किन परियोजनाहरुले वाञ्छित उद्देश्य हासिल गर्न सकेनन् भन्ने उल्लेख छैन ।
नेपालमा वैदेशिक सहयोगका आयोजनाहरुले घोषित उद्देश्य हासिल गर्न सकेका छैनन् । यसको कारण हो दाताको स्वार्थ, नेपालको परिवेशसँग नमिल्ने रणनीति र योजना । विकास सहयोगमा दाताको भित्री स्वार्थ हुन्छ । खासगरी अमेरिकाले नेपालको विकास प्रयासलाई सघाउने भन्दा पनि यहाँ सामरिक स्वार्थ सिद्ध गर्ने उद्देश्यले सहयोग गरेको थियो । युएसएडले नेपालको ग्रामीण विकास गर्न भनी परियोजना चलायो तर त्यो परियोजनाको आडमा चीनका खम्पा समूहलाई सहयोग गर्ने काम गरेको थियो । काठमाडौंको स्यूचाटार सहित हिमाली क्षेत्रहरुमा विमानस्थल बनायो, ग्रामीण विकासको नाममा सञ्चार सञ्जाल पनि बनायो तर त्यो कामको उद्देश्य खम्पाहरुलाई सहयोग गर्नु थियो भन्ने तथ्य प्रमाणित भइसकेको छ ।
हेर्नुहाेस् भिडियाे:
नेपालको विकास प्रयासमा दाताहरुले आफ्नो स्वार्थ र सर्तमा सहयोग गरेका छन् । नेपालको धरातलीय वास्तविकता एउटा हुन्छ, उनीहरुको विकास रणनीति त्यससँग मिल्दैन । उता नेपाल आफैंले पनि आफ्नो देश र परिवेश सुहाउँदो विकास रणनीति तयार पार्न सकेन । यही कारण नेपालको समग्र विकास हुन सकेन । दशकौंसम्म कागजी विकास मात्र हुने युग नेपालले भोग्नुपरेको थियो ।
नेपालको विकास, नेपालको प्रयास
पञ्चायतकालको अन्त्य पछि २०४८ सालमा नेपाली कांग्रेसले सरकार बनायो । उसले खुला बजार र उदार अर्थतन्त्रको नीति लियो । सो नीतिका कारण नेपालमा पूँजीवादी अर्थतन्त्रको विकास हुन थाल्यो । सहर केन्द्रीत वित्त बजार सुरु भयो । विश्व बैंक र अन्तराष्टिय मुद्रा कोषले जसो भन्यो त्यसै गर्ने नीति नेपालले लियो । जसका कारण नेपालको समग्र विकास र त्यसभित्रको ग्रामीण विकासले गति लिन सकेन ।
नेपालले दशकौंदेखिको अविकासको अवस्थालाई उल्टाउने नीति लियो २०५२ सालमा । नेकपा एमालेको तत्कालीन सरकारले नेपालमा ग्रामीण विकास र व्यवस्थित विकास थालनी गर्यो । उसले आफ्नो गाउँ आफैं बनाउँ (आगाआब)कार्यक्रम अगाडि सार्यो । नेपालको विकास प्रयासमा सो कार्यक्रम कोषेढुंगा सावित भएको छ । सो कार्यक्रमपछि मात्र नेपालले आफ्नो विकासको मोडल आफैं बनाउनुपर्छ भन्ने अवधारणा सुरु भयो ।
आगाआब कार्यक्रमले नेपालको सहरी अर्थतन्त्र र ग्रामीण अर्थतन्त्रलाई तिब्र गतिमा जोड्यो । खासगरी सडक पूर्वाधार विकासमा ठूलो योगदान गर्यो । ससाना विकास आयोजना पनि चलाउन नसक्ने र त्यस्तो अनुभव नै नभएका स्थानीय तहहरु आज ठूलाठूला आयोजना चलाउन सक्ने भएका छन्, आगाआबकै कारणले यो सम्भव भएको हो ।
आगाआबले विकासमा राष्टिय आत्मविश्वास सिर्जना गर्यो । जसका कारण विभिन्न विकास आयोजनाहरु नेपालको आफ्नै बलबुँतामा बन्न थाल्यो । त्यसको एउटा सुन्दर नमूना हो मध्यपहाडी राजमार्ग अर्थात् पुष्पलाल राजमार्ग । यही राजमार्गमा एमालेले पश्चिम नेपालको वैतडीदेखि पूर्वी नेपालको पाँचथरसम्म समृद्धिका लागि संकल्प यात्रा गर्दैछ ।
विकासको यात्रा
विकासलाई लक्षित गरेर, विकासलाई केन्द्रीत गरेर कुनै पनि दलले यात्रा कार्यक्रम गरेको यो नै पहिलो हो । तसर्थ, यो संकल्प यात्राको ऐतिहासिक महत्व छ ।
यो यात्राको महत्वपूर्ण अर्काे पक्ष भनेको केपी शर्मा ओलीको नेतृत्व हो । केपी ओली नेकपा एमालेको अध्यक्ष मात्र होइन, नेपालको विकास प्रयासमा सर्वाधिक महत्वपूर्ण योगदान गर्ने प्रधानमन्त्री पनि हुनुहुन्छ । दशकौंदेखि नेपालको अविकासको अवस्थालाई उल्टाएर विकास र समृद्धिका लागि सरकारको सम्पूर्ण प्रयास केन्द्रीत गर्ने काम आफू प्रधानमन्त्री भएको बेला ओलीले गर्नुभयो ।
नेपालले नेपाली मोडलमा विकास गर्नुपर्छ भन्ने उदाहरण ओली सरकारले देखाएको थियो ।
ओली सरकारले विकासलाई कसरी अगाडि बढाएको थियो भन्ने एउटा उदाहरण:
केपी ओली प्रधानमन्त्री रहनुहुँदा उद्घाटन र शिलान्यास उहाँको नियमित काम जस्तो थियो । अहिलेको सरकारले न उद्घाटन गर्छ न शिलान्यास गर्छ । ओली सरकरलाई असंवैधानिक र षडयन्त्रमूलक ढंगले ढालेपछि बनेको सरकारले एउटा अनौठो निर्णय गरेको थियो । ओली सरकारले अगाडि सारेका विभिन्न सडक सहितका १४०० वटा आयोजना नयाँ सरकारले खारेज गरेको थियो । अरुले अगाडि सारेको विकास आयोजना अगाडि बढाउन पनि नसक्ने, आफैंले विकास आयोजना ल्याउन पनि नसक्ने सरकारका कारण देशमा अहिले निरासा छाएको छ । यो निराशा चिर्ने काम पनि संकल्प यात्राले गर्नेछ ।
यो संकल्प यात्राले केके गर्नेछ ? मुख्य कुरा यो हो । भविष्यमा नेकपा एमालेको सरकार बनेपछि यो संकल्प यात्राका क्रममा पहिचान भएका विकासका समस्याहरुलाई सम्बोधन गरिनेछ । यो यात्रको दौरानमा पहिचान भएका सम्भावनाहरुलाई मूर्त बनाउने काम भविष्यमा बन्ने एमाले सरकारले गर्नेछ ।
तसर्थ, समृद्धिका लागि संकल्प यात्रा विकसित र समृद्ध नेपालको भावी खाका कोर्नमा केन्द्रीत हुनेछ ।
