-गोविन्द थापा-
वास्तुशास्त्रीहरुलाई भेला गरियो, ज्योतिषहरुलाई बोलाइयो । सबैभन्दा नराम्रो ठाउँ छान्न लगाइयो, सबैभन्दा नराम्रो साइत हेराइयो । नराम्रो ठाउँ र नराम्रो साइत चयन गरेर बालुवाटारमा प्रधानमन्त्री निवास बनाइयो । यो तथ्यको ऐतिहासिक पुष्टि भइसकेको छ । तत्कालीन राजा महेन्द्रले बालुवाटारमा प्रधानमन्त्रीका लागि निवास बनाउन लगाएपछि नेपालका प्राय प्रधानमन्त्रीहरु असफल मात्र भए । प्रधानमन्त्रीलाई असफल बनाउने, जनताले सरकार चलाएर सफल हुँदैन भन्ने स्थापित गर्ने र आफैं सरकार चलाउने राजाहरुको इच्छा कहिले लुकेन ।
भिडियाे:
राजा महेन्द्रले बनाएको प्रधानमन्त्री निवासमा अहिले पुष्पकमल दाहाल प्रचण्ड बस्नुहुन्छ । प्रधानमन्त्री निवासका विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुईटा काम गर्नुभयो । पहिलो काम थियो, प्रधानमन्त्री निवासले चर्चेको जग्गा अपचलन भएको पहिचान गरेर फिर्ता लिने काम । दोस्रो थियो, प्रधानमन्त्री निवासको नयाँ भवन । केही दिन अघि प्रधानमन्त्री प्रचण्ड नयाँ घरमा सर्नुभयो । प्रधानमन्त्री बस्ने घर भनेको सुत्ने र खाने ठाउँ मात्र होइन, प्रधानमन्त्रीको काम गर्ने मुख्य ठाउँ पनि हो । त्यसबेला ओलीले आफ्नो निजी शौख पूरा गर्न नयाँ भवन बनाएको भनेर आरोप लगाउनेहरु पनि थिए । तथ्यले अहिले के देखायो त ?
केपी ओली सरकारले गरेका राम्रा कामहरुलाई पनि नराम्रो भनेर प्रचार गर्ने कुकर्म त्यसबेला धुमधामसँग गरिएको थियो । कतिसम्म कुकर्म गरियो भने माधवकुमार नेपालले एकदिन संसदमा भाषण गर्दैै सिन्धुलीदेखि चतराघाटसम्म बनाइएको मदन भण्डारी मार्ग बनाउनै हुँदैनथ्यो भन्नुभयो । त्यो मार्ग बनाउन केपी ओलीले ठूलो प्रयास गर्नुभएको थियो । ओलीले योगदान गर्नुभएकै कारण राजमार्ग बनाउनै हुँदैनथ्यो भन्ने कुतर्क संसद्मै गर्नु कतिसम्म जायज हो ?
केपी ओलीले नेपालमा औद्योगिक क्रान्ति थालनी गर्न ठोस काम गर्नुभयो । सातै प्रदेशमा विशाल औद्योगिक पार्क तथा क्षेत्र बनाउन थाल्नुभयो । यो काम थाले लगत्तै परमादेशबाट ओली सरकार गिराइयो । त्यसपछि नयाँ सरकारले औद्योगिक क्षेत्र तथा पार्कहरुको कुनै पनि काम अगाडि बढ्न दिएन । अनेक अत्तो थापेर औद्योगिक पार्क तथा क्षेत्र बन्न नदिन सरकार लागिपरेको छ । स्वदेशमै रोजगार सिर्जना गर्ने भन्ने अनि औद्योगिक क्रान्तिको टुसा निमोठ्ने काम सरकारले गरिरहेको छ । यो ठिक हो त ?
याे पनि हेर्नुहाेस्:
अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुष्पलाल (मध्यपहाडी) राजमार्गमा समृद्धिका लागि संकल्प यात्रा गरिरहनुभएको छ । यो राजमार्ग निर्माण नेकपा एमालेको सपना थियो, केपी ओलीको सपना थियो । त्यो सपना आज विपना बनेको छ, राजमार्गले मूर्त रुप लिएको छ । यो राजमार्गले देशमा ठूलो योगदान गर्न सक्छ भनेर एमालेले नै भनेको हो । राजमार्गलाई अगाडि बढाउन केपी ओलीले निरन्तर प्रयास गर्नुभयो, त्यसको परिणामस्वरुप आज देशको दुर्गम भनिएको जिल्ला गाउँहरु सुगम बनेका छन्, महाकालीदेखि मेचीसम्म संकल्प यात्रा गर्न सम्भव भएको छ । देशको भाग्यरेखा बन्न सक्ने यस्ता विकास आयोजनाहरुलाई किन बाधा दिइन्छ ? किन एकथरी नेताहरु सरकारमा बसेर विकास गर्ने होइन विकासलाई षडयन्त्रमूलक ढंगले बाधा दिने काम गर्छन् ? यस्ता पात्र र प्रवृत्तिहरुलाई अब उजागर गर्ने बेला भएन र ?
मिडियाको यति धेरै विकास भइसकेको छ तर नेपालमा विकास गर्न नदिने, विकासलाई वाधा दिने, विदेशी लगानी आउन नदिने, विकास आयोजनाहरु रोक्ने, देशको प्रगति हुन नदिने काममा नेपालकै एकथरी नेताहरु लागेको बारेमा किन समाचार आउँदैन ? किन तथ्यहरु बाहिरिँदैन ? भ्रष्टाचारका कारण मात्र विकासमा बाधा भएको होइन, विकास आयोजना सुरु हुन र सञ्चालन हुनै नदिने तत्वहरु पनि नेपालभित्रै छन्, त्यस्ता तत्वले नेपालको विकासमा बाधा दिएका छन्, यो कुरामा अब बहस हुन जरुरी छैन र ? केपी ओली सरकारले नेपालमा वैदेशिक लगानी भित्राउन ठूलो योगदान गरेको थियो, त्यसपछिका सरकारहरुले वैदेशिक लगानी भित्राउन पनि घृणित राजनीति गर्दैछन् । नेपालको विकास र समृद्धिलाई योगदान गर्ने खालका लगानी भित्रन नदिने तर एमसीसी तथा त्यस्तैत्यस्तै खाले लगानी चाहिँ भित्रने दिने काम सरकारले गरिरहेको छ । यस्तो किन ? अब प्रश्न उठाउुनपर्छ, जवाफ खोज्नुपर्छ, यो विषयमा बहस सिर्जना गर्नुपर्छ ।
बहसका लागि यो उपयुक्त बेला हो । किनभने नेकपा एमालेले समृद्धिका लागि संकल्प यात्रा थालेको छ । यो यात्रा भविष्यमुखी छ । यो यात्राको दौरानमा विगतमा के भयो र अब के गर्ने भन्ने बारेमा बहसको उठान गर्न आवश्यक छ । अब नेपाली जनताले तथ्य र मिथ्या पहिचान गर्नुपरेको छ । भएका उपलब्धीहरुलाई गन्दै नगन्ने, केही पनि भएन भनेर अनर्गल प्रचार गरेर देशलाई कुन भड्खालामा जाक्न खोजिएको हो ? हो, अहिले केही पनि भएको छैन । माओवादी र कांग्रेसलाई विकास र समृद्धि भन्ने शब्द पनि मन पर्दैन, काम पनि मन पर्दैन भन्ने तथ्य खुलस्त भइसकेको छ । विकास नभई समृद्धि हुँदैन, विकास र समृद्धिको नेतृत्व अब कसले गर्ने ? एमालेले गर्ने । त्यसैले एमालेले आजका लागि नभएर भोलिका लागि समृद्धिका लागि संकल्प यात्रा गरेको हो ।
याे पनि हेर्नुहाेस्:
एमालेले आजलाई मात्र हेरेको भए काठमाडौंको माइतीघर कब्ज गरे हुन्थ्यो, ठाउँठाउँमा जुलुस निकालेको भए हुन्थ्यो, अस्थिरता मच्चाउन अनेक हर्कत गरेको भए हुन्थ्यो तर एमालेले आजलाई भन्दा भोलिलाई हेर्छ । त्यसैले देशको दीर्घकालीन हित र विकासको सम्भावना पहिचान गर्न समृद्धिका लागि यात्रा गर्छ । पुष्पलाल राजमार्गमा विकास र समृद्धिका लागि यात्रा गर्ने हकदार नेकपा एमाले नै हो । किनभने केपी ओली नेतृत्वको एमाले सरकारले ०७९ सालभित्र वैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म कालोपत्रे गर्ने योजना अगाडि सारेको थियो । त्यो योजना सफल भएको छ, त्यसैले अध्यक्ष ओलीको नेतृत्वमा नेकपा एमालेको विशाल पार्टी पंक्ति सहितको संकल्प टोलीले पहाडै पहाडको बाटो यात्रा गर्न सम्भव भएको छ ।
यहाँ के पनि स्मरण गरौं भने केपी ओली सरकारले नै उत्तर दक्षिण राजमार्गलाई स्वीकृत गरेर अगाडि बढायो, तर, ओली सरकार ढालेपछि बनेका सरकारहरुले विकास आयोजना खारेज गरेका छन् । ओली सरकारको पालामा थालिएका विकास आयोजनाहरुलाई कसरी रोक्ने र छेक्ने भन्नेमै पछिल्ला सरकारहरुको समय बितिरहेको छ । यसरी पनि देश विकास हुन्छ र ? यसरी देशले समृद्धि पाउँछ र ? यसैको जवाफमा एमालेले समृद्धिका लागि संकल्प यात्रा गरेको हो ।
अहिले देशमा निरासा फैलाउन खोजिएको छ, अवस्था पनि ठिक भएन व्यवस्था पनि ठिक भएन भन्ने प्रचार गर्न खोजिएको छ । हो, अवस्था ठिक छैन, अवस्था ठिक नहुनुको अर्थ व्यवस्था पनि ठिक नहुनु होइन । निरासाको यो अवस्था अहिले आएको हो, केपी ओली सरकारको कार्यकाल विकासका दृष्टिले स्वर्णयुग थिएन र ? देशभरी विकासको लहर ओली सरकारकै पालामा आएको होइन र ? नेपालको कूल गार्हस्थ उत्पादन दुई अंकको हाराहारीमा पुगेर नेपाललाई विश्व समाजले इमर्जिङ टाइगर भनेको होइन र ? अहिले देशको अर्थतन्त्र चौपट छ, उठेको राजश्वले कर्मचारीलाई तलब खुवाउन पनि नपुग्ने अवस्था आएको छ । यो अवस्था त्यसै आएको हो र ? गलत नीति र प्रवृत्तिका कारण आएको होइन र ? अझै यही अवस्थामा बस्ने कि सुन्दर भविष्यका लागि तयारी गर्ने ?
नेपालको सुन्दर भविष्यको तयारीका लागि हो समृद्धिका लागि संकल्प यात्रा ।
