-गाेविन्द थापा-
२०१९ साल बैशाख १ गते तत्कालीन राजा महेन्द्रबाट पूर्व पश्चिम राजमार्गको शिलान्यास भयो । नेपालको समथर तराईको मेचीदेखि महाकालीसम्म बनाउन खोजिएको सो राजमार्ग निर्माण करिब तीन दशकमा पनि पूरा भएको थिएन ।
२०५६ सालमा नेकपा एमालेले मध्य पहाडी राजमार्ग ९पुष्पलाल राजमार्ग०को अवधारणामा छलफल चलाएको थियो । त्यसपछि २०५८ सालमा राष्ट्रिय यातायात नीतिमा सो अवधारणा सामेल गरियो । त्यसपछि केन्द्रीय योजनामा पारेर सो सडक निर्माण सुरु भयो । पश्चिम महाकालीको झुलाघाटदेखि पूर्व मेचीको चिवा भञ्ज्याडसम्म करिब १८ सय किलोमिटरको यो राजमार्ग बनिसकेको छ ।
भिडियाे:
महेन्द्र राजमार्गको लम्बाई करिब ११ सय किलोमिटर छ भने मध्य पहाडी राजमार्गको लम्बाई करिब दुई हजार किलोमिटर छ । मध्य पहाडी राजमार्ग निर्माणको अगुवाई नेकपा एमालेले गरेको हो । यही कारण एमालेले विकास र समृद्धिका लागि विशेष अभियान सञ्चालन गर्ने योजना बनाउँदा यो राजमार्गमै यात्रा गर्ने कार्यक्रम अगाडि सार्यो । जस अनुसार पश्चिम महाकालीको झुलाघाटदेखि पूर्व मेचीको चिवा भञ्ज्याङसम्म एमालेले संकल्प यात्रा सम्पन्न गरिसकेको छ ।
एमाले समृद्धिका लागि संकल्प यात्रा जुन गरेको छ, त्यसलाई सबैले ऐतिहासिक भनेका छन् । कतिपयले चीनमा माओले गरेको लडमार्चसँग तुलना गरेका छन् भने कतिपयले भारतमा महात्मा गान्धीले गरेको दण्डी मार्चसँग तुलना गरेका छन् । संकल्प यात्राबारे विभिन्न कोणबाट मूल्यांकन तथा विचार प्रस्तुत भएका छन् । एमाले जस्तो देशको सर्वाधिक लोकप्रिय पार्टीले गरेको विलक्षण यात्राबारे राजनीतिक कोणबाट व्यापक टिप्पणी गरिनुलाई अन्यथा मान्न मिलेन । निश्चय पनि एउटा राजनीतिक दलले गरेको यति ठूलो अभियानको राजनीतिक आयाम हुन्छ नै ।
यस लेखमा भने म नेपालको सन्दर्भमा विकासको अवस्थाबारे तुलनात्मक अध्ययन विधिबाट चर्चा गर्न गइरहेको छु । यसका लागि केही तथ्य प्रस्तुत गर्दछु ।
तथ्य नम्बर १
नेपालमा तिब्र गतिले विकास भइरहेको छ भन्ने यो यात्राको दौरानमा उजागर भएको छ । राज महेन्द्रले तराईको सुगम र समथर भूमिमा राजमार्ग बनाए । देशका लागि त्यो महत्वपूर्ण छ । महेन्द्र राजमार्ग बनाउन ठूलो मात्रामा वैदेशिक सहयोग पनि प्राप्त भएको थियो । तैपनि ३० वर्षमा त्यो राजमार्ग बनिसकेको थिएन ।
मध्य पहाडी राजमार्गको वैचारिक विजारोपण ०५८ सालमा गरियो, ०६४ सालमा निर्माण सुरु भयो । डेढ दशकमा राजमार्ग निर्माण लगभग पूरा भएको छ । राजमार्ग निर्माणको प्राविधक पक्ष नेपाली जनशक्तिले नै समालेको थियो । लगानी पनि मुख्य रुपमा नेपाली स्रोतबाटै गरिएको हो । पहाडको जटिल भूगोलमा डेढ दशकमा करिब दुई हजार किलोमिटर राजमार्ग बनाइनु सामान्य कुरा होइन । मध्य पहाडी राजमार्गले हाम्रो राष्टिय शक्ति र सामर्थ्य दर्शाउँछ । निर्माणको काम मुख्य गरी केपी शर्मा ओली नेतृत्वमा दुई पटक बनेको एमालेको सरकारले गरेको थियो ।
अहिले तराईमा हुलाकी राजमार्ग धमाधम बनिरहेको छ । सो राजमार्ग निर्माणलाई केपी ओली नेतृत्वको सरकारले तिब्रता दिएको जगजाहेर छ । त्यसैगरी एमालेको पहलकदमीमा पूर्व पश्चिम चुरे फेद हुँदै मदन भण्डारी राजमार्ग बनिरहेको छ । ओली नेतृत्वको सरकारले विकास निर्माणका दृष्टिले नेपालमा स्वर्ण युग नै ल्याएको थियो । एमालेले नै हो विकास निर्माणको नेतृत्व गर्ने, एमालेले नै हो देश बनाउने भन्ने सन्देश सहित गरिएको संकल्प यात्राले देश विकासका आगामी दिनमा मार्गनिर्देशन गर्ने निश्चित छ ।
नेपालमा आर्थिक वर्ष ०७२र७३ मा १२ हजार १७३ किलोमिटर कालोपत्रे सडक थियो । यो लम्बाई ०७६र७७ मा १५ हजार ४२४ किलोमिटर पुगेको थियो । ०७८र०७९ मा यो लम्बाई १७ हजार ४८० किलोमिटर भएको छ । यो तथ्यांक वर्तमान गठवन्धन सरकारले समालेको अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षणमा प्रकाशित गरेको हो । यो तथ्यांकबाट के प्रष्टिन्छ भने ओली सरकारको पालामा विकास तिब्र गतिमा भएको थियो ।
पाँच दशकमा पञ्चायत, राजा र कांग्रेसले गर्न नसकेको विकास एमालेले आफ्नो छोटो कार्यकालमा गरेको छ । फेरि योभन्दा तिब्र विकास गरेर देखाउने आधार तयार पार्न एमालेले संकल्प यात्रा गरेको प्रष्ट छ ।
तथ्य नम्बर २
तराईको हुलाकी मार्गमा पनि एमाले पुष्पलाल राजमार्गमा गरे जस्तै संकल्प यात्रा गर्ने घोषणा गरेको छ । पहिले एउटा महेन्द्र राजमार्ग थियो, अहिले पहाडै पहाड चिछोल्ने मध्य पहाडी राजमार्ग छ, तराईमा महेन्द्र राजमार्गको दक्षिणमा हुलाकी राजमार्ग छ । उत्तर दक्षिण छिचोल्ने कैयन राजमार्ग छन् ।
सडक निर्माणको मूल कहाँबाट फुट्यो रु कसरी सम्भव भयो यसरी सडक निर्माण रु ०५२ सालमा एमालेको सरकारले आफ्नो गाउँ आफैं बनाउँ कार्यक्रम ल्याएपछि नेपालका गाउँगाउँमा विकास पुग्यो, जताततै सडक बने । त्यसपछि केपी ओली नेतृत्वको दुईपटकको सरकारले युद्धस्तरमा सडक बनायो । यसैको परिणाम हो आज देशको कुनाकाप्चा सर्वत्र सडक पुगेको छ ।
सडक बन्यो, अब समृद्धि चाहियो । देशलाई एमालेले सडक नै सडक दियो । पछिल्लो पटक केपी ओली नेतृत्वको सरकारलाई परमादेशबाट हटाएपछि बनेको सरकारले एक हजारवटाभन्दा धेरै सडक योजनाहरु खारेज गरिदिएको थियो । ती योजना किन खारेज गरेको रे भन्दा ओलीका योजना कार्यान्वयन हुन नदिनलाई रे । केपी ओली नेतृत्वको सरकार निरन्तर रहेको भए आज देशको अवस्था अर्कै भइसक्थ्यो, विकासले गति लिन्थ्यो र समृद्धिले नयाँ उचाई छुन्थ्यो भन्ने प्रष्ट भएको छ । संकल्प यात्राको दौरानमा जनताले यही कुरा भने ।
०४७ सालमा प्रजातन्त्र आएपछि नेपालमा मुख्य दुई पार्टीले दुईटा मोर्चा समाले । नेपाली कांग्रेसले खुला बजार अर्थतन्त्रलाई आफ्नो राजनीतिक आधार बनायो भने एमालेले विकास निर्माणलाई आफ्नो राजनीतिक आधार बनायो । कांग्रेसले चुनावमा मत माग्दा आफ्नो अगुवाईमा ल्याइएको खुला बजार अर्थतन्त्रको उपलब्धी देखाउने गरेको छ भने एमालेले आफ्नो अगुवाईमा भएको विकास निर्माणलाई देखाउने गरेको छ । एमालेले आफ्नाे आगामी राजनीति पनि विकास निर्माणलाई बढावा दिएर नै गर्ने प्रष्ट संकेत याे संकल्प यात्राबाट दिएकाे मान्न सकिन्छ ।
तथ्य नम्बर ३
नेपालको पहाडी क्षेत्र अपार सम्भावनाको केन्द्र हो । व्यापक सडक निर्माणले मध्य पहाडी क्षेत्रको सम्भावनालाई सतहमा ल्याइदिएको छ । पहाडको पानी, खानी, बाली र श्रमशक्तिको सही सदुपयोग गर्न सकियो भने, त्यसको एकीकृत विकास गर्न सकियो भने नेपाल विश्वकै अग्रणी देशमध्येको हुनसक्छ । यो सम्भावनालाई एमालेको यात्रा टोलीले राम्ररी ठम्याएको छ । नेपालमा विकास र समृद्धिको अपार सम्भावना छ, यो सम्भावनालाई यथार्थमा बदल्ने सामर्थ्य एमालेसँग मात्र छ भन्ने जनधारणा देखियो । नेपाललाई विश्वको अग्रणी देशमध्ये एउटा बनाउने भिजन, कार्यक्रम र सामर्थ्य कसैसँग छ भने एमालेसँग मात्र छ भन्ने कुरा जनताले बुझेकै हुन्, अझ प्रष्टसँग यो यात्राको क्रममा बुझे ।
नेपालकाे पहाडी क्षेत्रकाे विकास गर्नका लागि हिमाली क्षेत्र र तराई क्षेत्रकाे एकसाथ विकास गर्नुपर्छ भन्ने मान्यता एमालेले बाेक्दै आएकाे छ । यही कारण एमालेले तराईकाे दसगजादेखि चुरेकाे फेदसम्म पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तीनवटा राजमार्गकाे अवधारणा ल्यायाे । अब एमालेले पूर्वदेखि पश्चिमसम्म हिमाली राजमार्गकाे पनि अवधारणा ल्याउने संकेत याे संकल्प यात्राकाे दाैरानमा दिएकाे छ ।
तथ्य नम्बर ४
अब के गर्ने ? श्रम शक्तिको विदेश पलायन कसरी रोक्ने ? नेपाललाई समृद्ध कसरी बनाउने ? यति सडकले मात्र पुग्छ कि अझ धेरै र उन्नत सडक बनाउने ? अब देशको विकास कसरी गर्ने ? यस्ता अनेक प्रश्न छन् । यस्ता प्रश्नको जवाफ नेपालमा अरु कसैसँग छैन, नेकपा एमाले र यसका अध्यक्ष केपी ओलीसँग मात्र यस्ता प्रश्नको ठोस जवाफ छ, ठोस कार्यक्रम छ, ठोस योजना छ, कार्यान्वयन गर्ने सीप र बुद्धि छ, इच्छाशक्ति छ । संकल्य यात्राले यो तथ्यलाई जनता माझ लगेको छ ।
मध्य पहाडमा उत्पादन प्रशस्त छ । खाद्यान्न, फलफूल र जडिबुटीको भण्डार नै हो मध्यपहाड । अब कृषिको आधुनिकीकरण गर्नु छ, कृषिको आैद्योगिकरण पनि गर्नु छ । कृषि क्षेत्रमा विदेशी लगानी भित्राउने कसरी ? अहिलेको सरकारले विदेशी लगानीमा वक्रदृष्टि लगाइरहेको प्रष्ट छ । नेपालमा खासखास गिरोहलाई रिझाएपछि, खासखास देशले भित्री समर्थन गरेपछि मात्र वैदेशिक लगानी भित्रन सक्ने अवस्था छ । यो अवस्था कसले तोड्ने ? कसरी पहाडमा वैदेशिक लगानी भित्राउने ? एमालेले नै गर्ने हो यस्ता काम ।
एमालेले कृषि र उध्याेगलाई उच्च प्राथमिकता दिएकाे देखिन्छ। यही कारण एमाले सरकारले देशका सात प्रदेशमा विशाल सातवटा आैद्याेगिक क्षेत्र तथा पार्क बनाउने काम थाल्याे तर पछिल्ला सरकारहरुले ती काम राेकेकाे छ। सात प्रदेशमा सात आैद्याेगिक क्षेत्र बनाइएकाे भए लाखाैंले राेजगार पाउँथे भने देशमा आैद्याेगिक वातावरण पनि बन्थ्याे, अहिले भइरहेकाे श्रमशक्तिकाे विदेश पलायन नियन्त्रण हुन्थ्याे । तर अहिलेकाे सरकारबाट यी काम सम्भव छैन । देशकाे आैद्याेगिकरण गर्ने हाे र पहाडलाई समृद्धिकाे खानी बनाउने हाे भने एमालेले देशकाे अगुवाई नगरी सुखै छैन । याे तथ्यलाई संकल्प यात्राले दह्राेसँग स्थापित गरेकाे छ ।
निष्कर्ष
संकल्प यात्रा ऐतिहासिक सावित भएको छ । नेपालले विकासमा जेजति गर्न सकेको छ, त्यसमा मुख्य गरी नेकपा एमालेकै अगुवाई र भूमिकाले काम गरेको छ । अब परम्परागत शैलीमा विकास गरेर हुँदैन, नयाँ युग र परिवेश अनुसार नयाँ ढंगले, नयाँ शैलीले विकास निर्माणलाई अगाडि बढाउनुपर्ने हुन्छ । भविष्यपरक दृष्टि भएको पार्टी एमाले हो भने नेता चाहिँ केपी ओली हो ।
केपी ओली र एमालेको पाइला र दृष्टि मध्य पहाडमा परिसकेको छ, अब मध्य पहाडलाई विकासको नयाँ उचाई दिने योजना र कार्यक्रम एमालेले ल्याउने छ । अब मध्य पहाडी सडकहरु सुरुङ मार्ग सहितका हुनेछन् भनेर आशा गर्न सकिन्छ । मध्य पहाडी राजमार्गको अब व्यापक रुपमा स्तरोन्नति हुनेछ । त्यसैगरी चुरेको फेदबाट मदन भण्डारी राजमार्ग बनिरहेको छ, यो पनि एमालेकै परिकल्पना हो । अब एमालेले भविष्यमा हिमालको फेदैफेद नयाँ राजमार्गको परिकल्पना पक्कै पनि गर्नेछ र त्याे राजमार्ग चीनका राजमार्गहरु जस्तै सुरुङ नै सुरुङले बन्ने आशा गर्न सकिन्छ ।
नेपालको विकास भविष्यमा कसरी गर्ने ? यस्तो दृष्टिकोण कुनै पार्टीसँग छैन, एमालेसँग मात्र छ । विकासकाे बारेमा जनस्तरमा पुगेर यसरी संवाद गर्ने, सम्भावना खाेज्ने, परिकल्पना गर्ने काम अरु कुनै पार्टीले गरेका छैनन्, सिर्फ एमालेले मात्र गरेकाे छ । संकल्प यात्रा गरेर एमालेले विकासप्रतिको आफ्नो दृष्टिकोण र कार्यक्रमलाई परिमार्जन गर्ने, भविष्यमुखी बनाउने खालका तथ्य तथ्यांक र विचार संकलन गरेको छ । अब एमालेले विकासलाई चमत्कारी ढंगले अगाडि बढाउनेमा आम जनता विश्वस्त छन् ।
राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, औद्योगिक सबै दृष्टिबाट एमालेको संकल्प यात्रा ऐतिहासिक बनेको छ ।
