- नरबहादुर गुरुङ
जनता माझ आफ्ना विचार तथा कार्यक्रम पुराउन राजनीतिक दलहरुले विभिन्न किसिमका कार्यक्रम आयोजना गर्छन् । विभिन्न किसिमका अभियान चलाउँछन् । नेपालमा पनि विभिन्न राजनीतिक दलले समयसमयमा अनेक प्रकारका अभियान चलाएका छन् । त्यस्ता सबै अभियानले जनतामा प्रत्यक्ष प्रभाव पार्छ भन्ने छैन ।
यस्ता राजनीतिक अभियानहरुको क्रममा नेकपा एमालेले हालै सञ्चालन गरेको समृद्धिका लागि सङ्कल्प यात्रा पनि एक हो । एमालेले संकल्प यात्रा घोषणा गर्दा यो यात्रा पनि एउटा सामान्य कार्यक्रम होला भन्ने धेरैलाई लागेको थियो । एमालेकै कार्यकर्ता पंक्तिको ठूलो हिस्सालाई पनि सामान्य किसिमको राजनीतिक यात्रा तथा अभियान हो भन्ने लागेको थियो । तर, पश्चिम महाकालीको झुलाघाटबाट यात्रा थालनी भएपछि मात्र सारा नेपालीले बुझे, यो सामान्य यात्रा होइन, यो सामान्य अभियान होइन, यो सामान्य प्रभाव पार्ने राजनीतिक परिघटना होइन ।
झुलाघाटबाट यात्रा थालनीले नै के संकेत दियो भने नेपालको राजनीतिक इतिहासमा एउटा विलक्षण राजनीतिक अभियान अगाडि बढ्दै छ ।
झुलाघाटबाट गत मंसिर १४ मा सुरु भएको यात्रा १८ दिनपछि पुष १ गते पाँचथरको चिवाभञ्ज्याङसम्म पुग्दा सारा नेपालीले के महसुस गरे भने एउटा राजनीतिक दलले जनतामा पुग्न, जनताको कुरा सुन्न, विकासनिर्माणको अवस्था बुझ्न, देशका लागि भविष्यको खाका कोर्न यति मिहिन ढंगले अभियान चलाउन सक्दो रहेछ । जनताले राजनीतिक अभियान अनेक देखेकै हुन्, तर, समृद्धिका लागि सङ्कल्प यात्रा जस्तो राजनीतिक अभियान नेपालमा कहिले पनि भएको थिएन ।
समृद्धिका लागि सङ्कल्प यात्रा २६ जिल्लाका २५० गाउँ वस्तीहरुमा पुग्यो । जनतासँग पार्टी अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताहरुले प्रत्यक्ष साक्षात्कार गर्दै पुष्पलाल (मध्यपहाडी) लोकमार्गको १७७८ किलोमिटर यात्रा पूरा गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको नाम राखिएको मध्यपहाडी राजमार्ग नेकपा (एमाले)कै परिकल्पना थियो । एमालेको दूरदृष्टि र योजनामा २०५८ सालमा योजना आयोगमा समावेश गरी २०६५ सालदेखि सुरुआत भएको राजमार्गको काम आजसम्म आइपुग्दा ७७ प्रतिशत सम्पन्न भइसकेको छ । देशमा सरकार स्थिर नहुनु, भएको सरकारसँग स्पष्ट दृष्टिकोण नहुनु, योजना नबन्नु, बजेट विनियोजनमा कन्जुस्याई गर्नु, संकीर्णतावादी सोचका कारण आज मध्यपहाडी लोकमार्गको बाँकी काम ठप्पजस्तै भएको छ ।
केपी ओली नेतृत्वको एमाले सरकारलाई देशी विदेशी शक्तिको बलमा २०७८ साल असार २९ गते परमादेशको नाममा अपदस्त गरेपछि बनेको कठित गठबन्धन सकारले सत्ता सम्हालेपछि मध्य पहाडी लोकमार्गको काम मात्र नभएर देशमा अन्य विभिन्न विकास निर्माणको काम ठप्प जस्तै छ । संकल्प यात्राले एमालेको सरकार हुँदा देशको विकास कति तिब्र रफ्तारमा भएको थियो भन्ने जनतालाई फेरि एक पटक सम्झाइदियो ।
मुलुकले भोग्नु परेको महङ्गी, भ्रष्टाचार, अनियमितता, बेथिति, राष्ट्रियतामाथिको खतरा, बेरोजगारीमा वृद्धि, युवा पलायन, सामाजिक असुरक्षा, धार्मिक, साम्प्रदायिक हिंसा, अभाव र निराशाले ग्रस्त भएको वर्तमान अवस्थालाई बुझ्दै नेकपा (एमाले)ले तय गरेको मध्यपहाडी सङ्कल्प यात्राले धेरै सकारात्मक सन्देश छोड्न सफल भएको छ । यस यात्रालाई चीनका कमरेड माओको नेतृत्वमा १९३४ मा चलाइएको एक वर्षे यात्रा ‘लङ्ग मार्च’ सँग पनि तुलना गरेको बुझिन्छ । बजारमा फुर्सदिला मानिसहरुको सकारात्मक वा नकारात्मक टिप्पणीले जे गरेपनि नेकपा (एमाले)लाई त्यता अल्मलिने समय थिएन र आफ्नो अभियानलाई अघि बढाई रह्यो ।
वास्तवमा झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा २०८० अभियानका मुख्य उद्देश्यहरु निम्न थिए:
१. मध्यपहाडबाट भइरहेको तीब्र बसाईसराईंका कारणहरुको पहिचान र समाधानको खोजी
२. सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनमा सहयोग ।
३. पार्टी स्थापनाको ७५औं वर्षको समारोहमा संस्थापक महासचिव पुष्पलालको स्मृतिमा निर्मित मध्यपहाडी लोकमार्ग केन्द्रीत अभियान र अग्रजहरुको सम्मान ।
४. सवल राष्ट्र र समृद्धि प्राप्ति हुन्छ भन्ने आत्मविश्वासमा अभिवृद्धि ।
५. जनसम्बन्ध विस्तार र जनगुनासा एवं जनतका सुझाव सङ्कलन ।
६. सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय ।
यस्ता उद्देश्यहरु प्राप्त गर्न संकल्प यात्रा पूर्ण रुपमा सफल भएको छ ।
एमालेको संकल्प यात्राले वास्तवमा कीर्तिमान नै बनाएकोछ । यो यात्राले जनतालाई जगायो, आशा, उत्साह र उमंग फैलायो, भविष्यको सम्भावना पहिचान गरायो । देशमा विकास र समृद्धि ल्याउन सक्ने पार्टी कुन हो भन्ने पहिचान गरायो । त्यसैले एकथरी शक्तिहरु एमालेप्रति देखिएको अपार जनसमर्थनबाट तिल्मिलाउन पुगे । उनीहरुले विभिन्न किसिमका वाधा दिन खोजे ।
यस अभियानलाई असफल बनाउन विभिन्न शक्तिहरुले विभिन्न खाले बाधा अवरोध गरेपनि त्यस्ता अवरोधहरु पन्छाउँदै पाँचथरको फिदिममा २०८० मंसिर ३० गते ऐतिहासिक र भब्य मानवसागर उर्लिएर एमालेको अभियानमा सहभागी भएका छन् । कथित पहिचानवादीहरुले कार्यक्रम असफल बनाउन मंसिर २७ गतेदेखि पुष १ गतेसम्मको बन्दको आव्हान होस् वा धरानमा थरगत विशेष भेला गराएर एमालेको कार्यक्रममा उपस्थित नहुने उर्दी किन नहोस्, मंसिर २७ गते फिदिम बजारमा पहिचानवादी स्वयंसेवकको लाठी प्रदर्शन किन नहोस्, वा २९ गतेदेखि ठाउँ ठाउँमा बाटो अवरोधन गर्ने, रुख काटेर छेक्ने, ढुङ्गामुढा गर्ने, सवारी चालकहरुलाई सवारी नचलाउन धाकधम्की दिने, स्वागतद्वार भत्काउने, नक्कली बम बाटोमा राख्ने आदीजस्ता लोकतन्त्रविरोधी हर्कत गरेपनि जनताको अपार समर्थन रहेको एमालेको शक्तिसामु निकम्मा सावित भयो ।
कसैकसैले अपेक्षा गरेजस्तो एमाले भर्सेस पहिचावादी भीडन्त एमालेको स्वयम् अनुशासित युवा कार्यकर्ताहरुका कारण हुन पाएन । साथै एमालेको यो अभियान कसैप्रति लक्षित पनि थिएन । ३० गतेको भब्य जनसागरवीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेपछि भोलिपल्ट पुष १ गते पाँचथरको चिवाभञ्ज्याङ (पुष्पलाल (मध्यपहाडी) लोकमार्गको प्रस्थान विन्दु)मा समापनको स्तम्भ राख्दै राष्ट्रिय झण्डाको झण्डोत्तलन गर्नुभएको छ ।
कार्यक्रम तालिकाअनुसार मंसिर ३० गते फिदिमको जनसभालाई सम्बोधन गर्दै भोलिपल्ट विहान मेची राजमार्गहुँदै गणेचोकबाट मध्यपहाडी लोकमार्गको अध्ययन अवलोकन गर्दै च्याङथापु बजारमा कोणसभालाई सम्बोधन गर्ने र चिवाभञ्ज्याङमा सपमान गर्ने कार्यक्रम तय भएपनि फिदिमबाट १०२ किमी सडकमध्ये ५८ किमी कच्ची सडक साथै प्रतिकूल मौसम र स्वास्थ्यका कारण श्रद्धेय अध्यक्ष केपी शमौ ओली फिदिमबाट हेलिकप्टरमार्फत चिवाभञ्ज्याङ पुग्नु भई कार्यक्रमको विधिवत समापन गर्नुभएको थियो भने सोही दिन च्याङथापू बजारमा कोणसभालाई पार्टीका उपमहासचिव कमरेड क. प्रदीप ज्ञवालीद्वारा सङ्कल्प यात्राको औचित्य, महत्व र एमालेको भावी योजनाका बारेमा सम्बोधन गर्नुभएको थियो ।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सञ्चालन भएको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा २०८० को समापनपछि नेपाली समाजलाई निम्नअनुसार सकारात्मक सन्देश दिन यो यात्रा सफल भएको भन्न सकिन्छ ।
१. एमाले नै राष्ट्रिय राजनीतिको मुल शक्ति हो भन्ने शन्देश सबैमा गएको छ ।
२. एमाले नै राष्ट्रको अभिभावक हो भन्ने सन्देश गएको छ ।
३. एमाले नै सबैको आत्मसम्मान गर्ने पार्टी हो भन्ने सन्देश गएको छ ।
४. एमालेले नै राष्ट्रियताको रक्षा गर्छ भन्ने सन्देश गएको छ ।
५. एमालेले नै राष्ट्र निर्माणको मार्गचित्र कोर्न सक्छ भन्ने सन्देश गएको छ ।
६. एमालेले नै सामाजिक सद्भाव, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा गर्न सक्छ भन्ने सन्देश गएको छ ।
७. एमालेले नै आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सक्छ भन्ने सन्देश ।
८. समग्र देशको विकास गर्ने शक्ति एमालेसँगै छ भन्ने सन्देश ।
९. एमाले नै आशा, भरोसा र सबैको विश्वासको केन्द्र हो भन्ने सन्देश गएको छ ।
(लेखक नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीका उपसचिव हुनुहुन्छ ।)
