-डा. सुन्दरी पोखरेल-
एमालेका नेता इच्छाराज तामाङलाई सहकारी ठगीमा गिरफ्तार गरियो, मुद्दा चलाइयो, अदालतले दोषी ठहर गरेको छ । ठिक यही बेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा सांसद् रवि लामिछानेलाई पनि एउटा सहकारी र ग्यालेक्सी टिभी गडबडीमा केही आरोप लागेको छ ।
रवि लामिछाने पत्रकारका रुपमा पनि सधै विवाद र चर्चामा, नेताका रुपमा पनि विवाद र चर्चामा । विवाद र चर्चामा रहने उहाँको नियति हो या नियत हो भन्ने बुझ्न सकिएन । चर्चा र विवादमा रमाउने पात्रहरुको नेपालमा कमी छैन ।
अहिले रवि लामिछानेको सेरोफेरोमा रहेको विवाद हो सहकारी र ग्यालेक्सी टेलिभिजनको कारोबारमा भएको घोटाला । यसमा रवि दोषी हो कि निर्दाेष हो भनेर खुट्याउन सकिएको छैन तर भित्र केही न केही गडबडी अवश्य छ, केही कीर्ते र नक्कली काम भएको छ भनेर अनुमान गर्ने ठाउँ प्रशस्त छ ।
भिडियाे:
समाजमा विभिन्न व्यक्ति चर्चा र विवादमा आइरहन्छन् । विभिन्न प्रकारका काण्डहरु सतहमा आइरहन्छ । रविको चर्चा र विवादमा सबैको ध्यान तानिनु स्वाभाविक हो किनभने उहाँ एउटा राष्ट्रिय पार्टीका अध्यक्ष हुनुहुन्छ, बहालवाला सांसद् हुनुहुन्छ । सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिका बारेमा सार्वजनिक चर्चा परिचर्चा हुनु, त्यस्ता व्यक्तिको क्रियाकलापमा सार्वजनिक टिप्पणी हुनु स्वाभाविक हो । यसलाई रवि लामिछाने स्वयंले पनि अन्यथा भन्नुहुन्न होला ।
रवि लामिछानेलाई सहकारी घोटाला र ग्यालेक्सी टेलिभिजन गडबडीको आरोप लाग्यो । आरोप लागेपछि सफाई दिन पाउनु रविको नैसर्गिक हक हो । उहाँको यो हकको शतप्रतिशत सम्मान र समर्थन गरिनुपर्छ ।
यसमा एउटा प्रश्न– रविलाई लागेको आरोपको खण्डन र सफाईका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई किन प्रयोग गरियो ? किन रास्वपाको साधन स्रोत प्रयोग गरेर रविले खण्डन मण्डन गरेको ? आफूलाई लागेको आरोपको सफाईमा पार्टीपंक्तिलाई किन प्रयोग गरेको ?
रविलाई लागेको आरोप राजनीतिक होइन । राजनीतिसँग यसको कुनै नाता साइनो देखिँदैन । सहकारी र ग्यालेक्सी टिभी प्रकरणमा रविलाई लागेको आरोपको सम्बन्ध राजनीतिसँग छ कसैले भन्छ भने त्यो सरासर झुठ हो, शतप्रतिशत गलत हो । सहकारी र ग्यालेक्सी प्रकरण भएको बेला रविको पार्टी गठन नै भएको थिएन । रवि पार्टी अध्यक्ष भएपछि राजनीतिक कारणले रविमाथि प्रहार हुन्छ र त्यसमा उहाँको पार्टीपंक्ति खण्डनमा उत्रन्छ भने त्यसलाई अन्यथा भनिहाल्न हुँदैन । तर, पार्टी गठन नै नभएको बेलामा, पार्टी जन्मँदै नजन्मिएको बेलामा रवि संलग्न भएको प्रकरण हो ।
रविलाई लागेको आरोपमा रास्वपाको कुनै लेनादेना हुनुपर्ने कारण देखिँदैन । कुनै सम्बन्ध पनि देखिँदैन । रविलाई आरोप लाग्दैमा रास्वपाका सम्पूर्ण नेता कार्यकर्तालाई आरोपित गरिएको ठान्नु हुँदैन । यसो गरियो भने रास्वपामा लागेका नेता कार्यकर्तामाथि ठूलो अन्याय हुन्छ ।
रवि लामिछोनलाई लागेको काण्ड र आरोप यो पहिलो होइन । अन्तिम होला भनेर आशा गरौं तर भर नपरौं । भविष्यमा कुनकुन काण्ड आउने हो थाहा छैन । उहाँको कतिपय विवाह प्रसंग पनि छ, त्यसमा पनि कुनै काण्ड आउला । ती सबै काण्डको जिम्मा रास्वपाले लिने हो ? रविको सम्पूर्ण अतितको जिम्मा रास्वपाले लिने हो ? रविको निजी जीवनको जिम्मा रास्वपाको हो ? रविको कारोबारको जिम्मा रास्वपाको हो ?
रास्वपा होस् या अन्य कुनै पार्टी, देशका कुनै पनि पार्टीलाई निजी बनाउन पाइँदैन । राजनीतिक पार्टी निजी हुन सक्दैन । पार्टीलाई निजी बनाउने प्रयासको विरोध गरिनुपर्छ । रविले आफूलाई लागेको निजी काण्डमा रास्वपा पार्टीको चरम दुरुपयोग गर्नुभयो । पार्टी गठन नहुँदै उहाँको नागरिकता र राहदानी प्रकरण थियो । त्यो प्रकरणमा पनि पार्टीलाई उपयोग गरियो । अहिले सहकारी र ग्यालेक्सी काण्ड आएको छ, यसमा पनि उहाँले पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्नुभयो । पार्टीको अध्यक्षको हैसियतले पत्रकार सम्मलेन गर्नुभयो । रवि लामिछानेको निजी काममा पार्टीको प्रयोग क्षम्य हुन सक्दैन ।
यो लेखको सुरुमा इच्छाराजको चर्चा गरियो । इच्छाराजले पनि आफूलाई लागेको आरोपको सफाईमा एमाले केन्द्रीय कार्यालय प्रयोग गर्न मिल्थ्यो ? यदी इच्छाराजले एमाले केन्द्रीय कार्यालय प्रयोग गरेको भए र रवि पत्रकार नै रहेको भए कसरी धुँवाधार विरोध गर्नुहुन्थ्यो भन्ने हामीलाई थाहा छैन र ? एमाले, कांग्रेस तथा माओवादीमा लागेका विभिन्न व्यक्तिलाई विभिन्न आरोप लाग्ने गरेको छ । त्यसरी लागेको आरोपमा ती व्यक्तिहरुले पार्टीलाई खुलेआम प्रयोग गरेका छन् ? रविले चाहिँ प्रयोग गर्न मिल्ने हो ? रास्वपा भन्ने पार्टी रविको निजी प्राइभेट लिमिटेड हो ? हुन सक्दैन ।
इच्छाराजले गरेको कामको मात्र होइन, एमालेका अध्यक्ष केपी शर्मा ओलीले निजी जीवनमा गरेको कामको जिम्मा पनि एमालेले लिन सक्दैन । शेरबहादुर देउवाले निजी काममा नेपाली कांग्रेसलाई प्रयोग गर्न मिल्दैन । रविको पासपोर्ट काण्डमा भविष्यमा मुद्दा चल्न सक्ने अवस्था छ, त्यसबेला पनि रास्वपा पार्टीलाई प्रयोग गर्ने हो ?
भिडियाे:
नेपालमा पार्टीहरु निजीकरण हुँदै आएका छन् । नेपालका कैयन पार्टीहरु कोही व्यक्तिको नामले चिनिन्छ । जस्तो कि प्रचण्डको माओवादी, माधव नेपालको समाजवादी, विजुक्छेको नेमकिपा, मोहनविक्रमको मसाल, उपेन्द्र यादवको समाजवादी, आदिआदि । रास्वपालाई पनि रवि लामिछानको पार्टी भनिन्छ । जनताको साझा पार्टी बनाउँदै लैजानुहुन्छ कि भन्ने ठानेको, उहाँले निजीकरण गर्दै लैजानुभएको छ । रास्वपा कसको ? रवि लामिछानेको भन्ने पहिचान सुखद हुन सक्दैन ।
सहकारी र ग्यालेक्सी प्रकरणमा रवि कसरी चुक्नुभएको छ भन्ने आगामी दिनमा खुल्दै जाला । थप तथ्य आउँदै जाला, उहाँको खण्डन मण्डन पनि आउँदै जाला । तर, यो सबै प्रकरणबाट के शंका लागेको छ भने उहाँ यो देशको ठूलै नेता बन्न सक्नुहुन्छ । यसरी चुकेको, फसेको व्यक्तिलाई जिम्मेवारीमा पुराउँदा लिनपर्नेहरुले फाइदा लिन सक्छन् । जस्तो कि हजार ठाउँमा चुकेको नेता पुष्पकमल दाहाल प्रचण्ड आज ठूलो नेता मात्र होइन प्रधानमन्त्री नै हुनुहुन्छ । ठाउँठाउँमा फसेको र चुकेको नेता नै कसैका लागि कम्फर्टेबल बन्छ, त्यस्तालाई कम्फर्टेबल रुपमा समर्थन गर्न सकिन्छ भन्ने देशी विदेशीले बुझेका हुन्छन् । त्यसैले रविले आत्तिन हुँदैन । जति धेरै काण्ड लाग्छ त्यति ठूलो नेता बनिने सम्भावना भएको देश हो नेपाल ।
हो कि होइन रविजी ?
