केही दिन पहिले भारतको सेयर बजार ‘अल टाइम हाई’ मा पुगेको थियो । बजार टुप्पामा पुगेको बेला ‘सेलिङ प्रेसर’ आउने हो कि भनिँदै थियो । त्यस्तो संगीन बेलामा गौतम अडानीका कम्पनीहरुको सेयर अनौठोसँग झन् बढ्न थाल्यो । रातारात सेयरको भाउ बढ्नुको कारण थियो– पुष्पकमल दाहाल प्रचण्डको कुख्यात ‘कम्फर्टेबल नीति’ ।
उहिले प्रचण्डपथ, अहिले कम्फर्टेबल पथ
पुष्पकमल दाहालले प्रचण्ड पथ अपनाएर १७ हजार मानिस मार्नुभएको थियो । त्यति मानिस मारेपछि उहाँले प्रचण्ड पथ त्याग्नुभयो र कम्फर्टेबल पथ समात्नुभयो । हो, त्यही कम्फर्टेबल पथका कारण रातारात अडानीका कम्पनीको सेयर मूल्य बढेको थियो ।
यहाँ सेयर बजारका बारेमा चर्चा गर्न लागिएको होइन, नेपालका विमानस्थलको चर्चा गर्न लागिएको हो । यसका लागि सबैभन्दा पहिले चर्चा गरौं प्रचण्डको कम्फर्टेबल पथको ।
पद, परिवार र शक्तिका लागि जति तल पनि गिर्न सक्ने पात्रका रुपमा पुष्पकमल दाहाल प्रचण्ड चिनिनुहुन्छ । स्वार्थ परेकासँग निकृष्ट स्तरसम्म कम्फर्टेबल बन्न सक्ने प्रचण्डको खुबीबाट आज देश पीडित छ ।
प्रचण्डले पहिले नै भनेको हो– मेरो नेतृत्वमा सरकार बन्यो भने मात्र भारतलाई कम्फर्टेबल हुन्छ । नभन्दै भारतले प्रचण्डको नेतृत्वमा सरकार बन्ने षडयन्त्र आयोजना गर्यो । प्रचण्ड प्रधानमन्त्री बन्नुभयो ।
भारतका लागि प्रचण्ड जति कम्फर्टेबल प्रधानमन्त्री नेपालको इतिहासमा आजसम्म कोही पनि देखिएको थिएन । भारतका लागि असाध्यै कम्फर्टेबल प्रधानमन्त्रीका रुपमा बाबुराम भट्टराई बदनाम हुनुभएको थियो । बाबुरामभन्दा सयौंसयौं गुणा धेरै कम्फर्टेबल बनेर प्रचण्डले नयाँ कीर्तिमान बनाउनुभएको छ ।
भारतका लागि प्रचण्ड कति कम्फर्टेबल पात्र बन्नुभएको छ भने उहाँले नेपालका मुख्य विमानस्थलहरु, मुख्य मुख्य विकास आयोजनाहरु सबै भारतलाई सुम्पँदै हुनुहुन्छ । भारतले जे चाहन्छ त्यो दिने, भारतले जे भन्छ त्यो गर्ने, भारतले नेपालमा जजसलाई निषेध गर्नू भनेर इशारा गर्छ त्यही गर्ने, भारतले गेरु वस्त्र लगाउनु भन्यो भने लगाउने, भारतले उठ्नु भन्यो भने उठ्ने, भारतले बस्नु भन्यो भने बस्ने, भारतले केही पनि भनेन भने भारतको मनको कुरा बुझेर सोही अनुसार गर्ने प्रचण्डको नीति नै प्रचण्डपथको नयाँ संस्करण अर्थात् कम्फर्टेबल पथ हो ।
उहिले एसडी मुनी, अहिले गौतम अडानी
विश्वमा सबैभन्दा कम बौद्धिक स्तर भएका जनता भनेर नेपालीलाई चिनिन्छ । सजिलै मूर्ख बनाउन सकिने जनता नेपाली हुन् भनेर विभिन्न अन्तराष्ट्रिय अध्ययनहरुले पनि देखाएको छ । नेपाली कति सोझासीधा छन् भने प्रचण्डले १० हजार मेगावाट विद्युत भारतलाई बेच्ने सम्झौता गर्दा ‘आहा, नेपाललाई फाइदा हुने भयो’ भन्दै मख्ख पर्छन् । वास्तविकता त्यस्तो होइन, १० हजार मेगावाट विजुली बेच्ने योजना खोलमात्र हो, गुदीमा नेपाल खाने योजना छ भन्यो भने पत्याउने नेपाली थोरै मात्र छन् । किनभने जनता मूर्ख छन्, अज्ञानी छन् ।
प्रचण्डले त्रिभुवन विमानस्थल सहित विभिन्न विमानस्थल भारतलाई दिने प्रकृया द्रुत गतिमा अगाडि बढाएको प्रष्ट भइसकेको छ । भारतको निजी क्षेत्रलाई नेपालको विमानस्थल बनाउन दियो भने प्रविधि पनि भित्रन्छ, सक्षमता पनि बढ्छ, आम्दानी पनि बढ्छ भनेर अब व्यापक प्रचार गरिनेछ । यस्तो कीर्ते प्रचार नेपालीले पत्याउँछन् भन्ने आकलन प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गिरोहले गरिसकेको हुनुपर्छ ।
त्रिभुवन विमानस्थल, भैरहवा विमानस्थल सहित केही विमानस्थलको व्यवस्थापन र सञ्चालनको जिम्मा भारतलाई दिन लागिएको छ । कुनकुन विमानस्थल भन्ने प्रष्ट भइसकेको छैन । काठमाडौं निजगढ फास्टट्रयाक सडक बनाउने र त्यसबाट टोल (कर) उठाउने जिम्मा पनि भारतलाई नै दिन लागिएको चिन्ताजनक खबर आइसकेको छ ।
भारतमा असाध्यै बदनाम एक पात्र छन्, गौतम अडानी । अडानीकै कम्पनीलाई विमानस्थलहरु जिम्मा लगाउने गरी प्रचण्ड सरकारले षडयन्त्रमूलक ढंगले काम अगाडि बढाएको अब गोप्य रहेन ।
अडानीको कम्पनी कस्तो हो भन्ने बुझेपछि यो डिल कस्तो हो भन्ने बुझिन्छ । भारतमा अडानीको बेग्लै व्यक्तित्व छैन । अडानी भनेकै मोदी हुन् भनेर भारतीय जनताले जान्दाछन् । अडानीको कम्पनीको संरक्षणमा मोदी सरकार लम्पट लागेर भिड्ने गरेको छ । केही महिना पहिले अमेरिकाको हिन्डनवर्ग नामक सर्ट सेलिङ फर्मले अडानीले आफ्ना कम्पनीहरुमा कालो धन भित्राएको, गैरकानुनी काम गरेर धन आर्जन गरेको, कानुन विपरित आफ्ना कम्पनीका सेयरहरुको भाउ उचालेको जस्ता दर्जनौं तथ्य उजागर गर्दै सप्रमाण रिपोर्ट निकालेको थियो ।
हिन्डनवर्गले निकालेको रिपोर्टका आधारमा अडानी जेल जानुपर्ने थियो, तर, भइदियो उल्टो । डुब्न लागेका अडानीलाई जोगाउन मोदी निर्लज्ज तरिकाले मैदानमा आएको देखियो । आफ्नो निजी सम्पत्ती जोगाउन अघि सरे झैं गरेर मोदीले अडानीको सम्पत्ती जोगाएको दृष्य देखियो ।
अहिले भारतमा विमानस्थल होस् या कोइलाको विशाल धनरासीको ठेक्का, जति पनि अर्बौंं डलरको ठेक्का हुन्छ त्यो अरुले पाउँदैन । सिर्फ अडानीको कम्पनीले पाउँछ । मोदीको काखमा अडानीको कम्पनीहरु छन् भने अडानीको खल्तीमा मोदी । यस्तो छ भारतको दर्दनाक अवस्था । अडानीको कम्पनीलाई नेपाली जनताले भारतको कम्पनी भन्दा पनि मोदीको कम्पनी भनेर चिन्दा फरक पर्दैन ।
अडानीलाई नेपालका विमानस्थलहरु जिम्मा लगाउने औपचारिक जानकारी सरकारले अहिलेसम्म दिएको छैन तर यस सम्बन्धी समाचारले भारतीय सञ्चार माध्यमहरु रंगिएको छ । अडानीले नेपाल पनि खाने भए, नेपाललाई लुटेर आफ्ना कम्पनीलाई झन् धेरै फाइदा दिलाउने भए भन्दै भारतमा अडानीका कम्पनीहरुको सेयरको भाउ बढेको हो ।
उनै अडानीको चाकडीमा अहिले प्रचण्ड लाग्नुभएको छ । गत जेठमा भारत गएको बेला पनि प्रचण्डले अडानीसँग भित्री भेट गरेको बताइन्छ । त्यसपछि अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भारत पठाएर पनि प्रचण्डले भित्री सेटिङ गरेको जगजाहेर छ । केही महिना यता अडानीका विभिन्न प्रतिनिधिहरु काठमाडौं आएका छन्, त्रिभुवन विमानस्थलबाट सीधै बालुवाटार पुगेर प्रचण्डसँग डिनर मिटिङ गरेका छन् । उनीहरुले बालुवाटार बाहिर केही खास किसिमका नेपाली व्यापारी र कमिसन माफियासँग मिटिङ गरेका छन् । त्यसपछि शासन प्रशासन सबै तरंगित भयो । त्यही तरंगको परिणाम हो अडानीका कम्पनीलाई विमानस्थलहरु जिम्मा लगाउने ।
अहिले प्रचण्डका माईवाप नै अडानी भएको देखिन्छ । अडानीलाई नेपालको विमानस्थलहरु सहित सबै ठूला आयोजना जिम्मा लगाउने प्रचण्डको कम्फर्टेबल नीतिलाई बुझ्न एसडी मुनीलाई बुझ्नुपर्छ ।
एसडी मुनी भारतको जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक हो । त्यसबेला मुनी भारतीय संस्थापनका अन्यन्त विश्वासपात्र हुनुहुन्थ्यो । मुनीकै पहलमा जनयुद्ध सुरु भयो, मुनीकै पहलमा माओवादीलाई भारतीय संस्थापनको काखमा पुराइयो, मुनीकै पहलमा प्रचण्ड बाबुरामहरुले नेपालमा जनयुद्ध गराएर भारतमा सुखसयलको जीवन बाँचे, मुनीकै पहलमा प्रचण्डहरु दिल्लीको गुप्तवासबाट सिंहदरबारमा आइपुग्नुभयो ।
भारतीय संस्थापनको विश्वासपात्र एकजनालाई समात्ने र नेपालको सत्यानाश गर्ने प्रचण्डको पूरानै नीति हो । उहिले एसडी मुनीको सेवा गर्ने प्रचण्डले अहिले गौतम अडानीको सेवा गरिरहनुभएको छ ।
विमानस्थल सम्बन्धमा केही कुरा
भारत अर्थात् गौतम अडानीलाई विमानस्थलहरु सहित ठूलाठूला आयोजना जिम्मा लगाउने बाटोमा प्रचण्ड अगाडि बढिसक्नुभयो । नेपालका विमानस्थलहरु निजी क्षेत्रलाई दिन आवश्यक छ कि छैन भनेर कहिले पनि अनुसन्धान भएको छैन, त्यस सम्बन्धी अध्ययन पनि भएको छैन । मोदीको आदेश नेपालका लागि अन्तिम सत्य हुन सक्दैन ।
विमानस्थल निजी क्षेत्रलाई दिने नै हो भने पनि नेपालकै निजी क्षेत्रलाई दिने कि भारतीयलाई दिने ? यस सम्बन्धमा पनि कुनै अध्ययन भएको छैन । मोदी र प्रचण्डको गोप्य षडयन्त्र नेपाल देशले काँधमा बोक्नुपर्ने किन ?
विमानस्थल विदेशी कम्पनीलाई दिने नै हो भने पनि भारतीय कम्पनीलाई नै किन दिने ? चीन, जापान, कोरिया, अमेरिका, रसिया, बेलायतका कम्पनीलाई दिए हुँदैन ? यसैलाई दिने भनेर अग्रिम निर्णय गर्नुको कारण के हो ?
विमानस्थल भनेको वसपार्क जस्तो होइन, अति सुरक्षा संवेदनशील क्षेत्र हो । विमानस्थलको अति ठूलो सामरिक महत्व पनि हुन्छ । यति सामरिक महत्वको क्षेत्रको जिम्मा नेपालले छिमेकी देशलाई दिन हुन्न । भारतलाई पनि दिन हुन्न, चीनलाई पनि दिन हुन्न । विदेशी नै खोज्ने हो भने कुनै तेस्रो देश खोज्नुपर्छ ।
बाबुराम भट्टराईले नेपाल आउने भारतीय विमानमा भारतीय सुरक्षाकर्मी पनि हुने सम्झौता गर्दा ठूलो विरोध भयो, सो निर्णय भारतले देखिने गरी कार्यान्वयन गर्न सकेन । अहिले प्रचण्डले पूरै विमानस्थल नै जिम्मा लगाउने षडयन्त्र गर्दा चुप किन बस्ने ? देश विरुद्ध प्रचण्ड सरकारले गरेको यो षडयन्त्र विरुद्ध जनता उठ्नुपर्छ, जाग्नुपर्छ ।
