-सौरमराज तुलाधर-
कथित जनयुद्ध दिवसको दिन फागुन १ गते आएपछि माओवादीको पोल खुलिहाल्छ । नेपालमा माओवादीहरुले कतै लुकिछिपी जनयुद्ध दिवस मनाए भने कतै खुलेआम मनाएको देखियो । सरकारी तवरमै जनयुद्ध दिवस मनाउने माओवादीको प्रयास यस वर्ष सफल भएन । सर्वाेच्च अदालतले जनयुद्ध दिवसमा सरकारी विदा दिन र सरकारी तवरबाट मनाउन निषेध गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुलेआम कथित जनयुद्धको महिमागान गाउँदै जनयुद्ध दिवस मनाउनुभएको छ । माओवादीको नेतृत्व र नियन्त्रण भएका कतिपय पालिकाहरुले जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिएको समाचार पढ्न सुन्न पाइएको छ ।
माओवादीको मूल धार अर्थात् पुष्पकमल दाहाल नेतृत्वको माओवादी पार्टी अहिले सरकारमा छ । त्यो पार्टी केन्द्र र प्रदेशको संसदमा छ । स्थानीय पालिकाहरुमा पनि माओवादी पार्टीको नेतृत्व छ । नेपालको अहिलेको राज्य प्रणाली संसदीय ढाँचाको छ, लोकतान्त्रिक छ । संसदीय प्रणालीमा रजगज चाहिँ संसद् विरोधी माओवादीको छ । माओवादी यस्तो पार्टी हो जसले संसदलाई बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो भन्छ ।
फागुन १ लाई जनयुद्ध दिवसका रुपमा मनाउँदा माओवादीलाई अलिकति पनि लाज लागेन । उनीहरुले २०५२ फागुन १ गतेबाट औपचारिक रुपमा हिँसा थालेका थिए । १० वर्षसम्म उनीहरुले निरन्तर हिँसा गरे । त्यो हिँसामा १७ हजार मानिस मारिए । उनीहरुले तत्काीन संसदीय प्रणालीलाई प्रहार गरे । चुनाव हुन दिएनन् । चुनावमा उम्मेदवार बन्नेलाई हत्या गरे । मत हाल्न जाने जनताको हत्या गरे । आतंकको राज चलाए ।
माओवादीले हिँसात्मक अभियान चलाउँदा नेपालको अर्थतन्त्र दशकौं पछाडि पर्न गयो । विकास निर्माण अवरुद्ध मात्र भएन, भएका विकास र भौतिक संरचना समेत ध्वस्त पारे । नेपालमा आएका विदेशी लगानी तथा बहुराष्टिय कम्पनीहरुलाई आक्रमण गरेर टिक्नै नसक्ने बनाए । नेपालको औद्योगिकीकरणलाई जराबाटै मास्ने प्रयास गरे । विद्यालयहरु बन्द गरे, बालबालिका तथा युवालाई पढ्नलेख्न दिएनन् । कलम समाउनुपर्ने हातमा बन्दूक थमाए । माओवादीका यिनै अपराधका कारण नेपालबाट युवा पलायन सुरु भयो । लाखौं नेपाली विदेशिनुपर्ने अवस्थाको सिर्जना माओवादीकै कथित जनयुद्धका कारण भएको हो ।
कथित शान्ति सम्झौता मार्फत् माओवादीहरुले हातबाट बन्दूक फाले तर उनीहरुको हातमा हतकडी परेन । बरु, उल्टै शासनको डण्डा हातमा लिन माओवादी सफल भए । माओवादीले शासनको डण्डा हातमा लिएपछि पनि सयौं मानिस मारिएका छन्, हजारौं मानिस ज्यान बचाउन भाग्ने क्रममा आन्तरिक रुपमा विस्थापित भएका छन् । हजारौं नेपाली देश छाडेर शरणार्थी बन्दै विदेशी भूमिमा शरणार्थी बन्न वाध्य भएका छन् ।
अहिले पनि माओवादी आतंक उस्तै छ । माओवादीको प्रभुत्व भएको गाउँमा फरक विचारका मानिसलाई बस्न र टिक्न दिँदैनन् । उनीहरु अहिले पनि हिँसाको आराधना गरिरहेका छन् । माओवादीहरु अहिले पनि कस्तो विचारले निर्देशित छन् भने उनीहरु गाजापट्टिका हमासको समर्थन गर्छन्, भेनेजुयलाका तानाशाहलाई समर्थन गर्छन्, लोकतान्त्रिक देशहरुलाई सत्रु ठान्छन्, तानाशाही र गैर लोकतान्त्रिक देशहरुलाई मित्र मान्छन् । माओवादीको आतंक र अपराधको स्वरुप फेरिएको छ । माओवादी पार्टीको नेतृत्व सुन तस्करीमा चुर्लुम्म डुबेको छ । नेतृत्व पंक्तिमा रहेका नेताका परिवार तस्करी गिरोह चलाएर बस्छन् । नेतृत्वको परिवारका कोही खोरमा छन्, कोही फरार छन् । उनीहरुको कथित जनयुद्ध आखिरमा धनयुद्ध मात्र हो, सत्ताका लागि युद्ध मात्र हो भन्ने प्रष्ट भइसकेको छ ।
वर्तमान विश्व परिवेशलाई हेर्ने माओवादीको दृष्टिकोण दोषपूर्ण छ । अर्थतन्त्र चलाउने माओवादीको शैली विनाशकारी छ । अहिले कांग्रेसका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई असफल बनाउन प्रधानमन्त्री प्रचण्ड आफैं लाग्नुभएको छ । माओवादी तस्करीतन्त्र र माफियातन्त्र चलाउँछ तर खुला बजार अर्थतन्त्र मन पराउँदैन । विश्वमा हुने कालो धनको ओसारपसार र आतंकवादी क्रियाकलापमा माओवादीले सहानुभूति राख्छ ।
समाज परिवर्तन शान्तिपूर्ण रुपमा हुनसक्छ, शान्तिले नै विकास ल्याउँछ । मानव सभ्यताको हजारौं वर्षको इतिहासले यो पुष्टि गरिकेको छ । विश्वको पछिल्लो सय वर्षलाई हेर्दा पनि शान्ति, मेलमिलाप र आपसी सहकार्यले मात्र दीगो विकास हुन्छ भन्ने पुष्टि हुन्छ । माओवादी अझै पनि यो मान्न तयार छैन । हिँसा र निषेधको राजनीतिले नै माओवादी अहिले पनि निर्देशित छ । आजको माओवादी पार्टी ध्वंश पक्षधर हो । ध्वंश गरेर मात्र विकास हुन्छ भन्ने मान्यता माओवादीको छ । माओवादीले नेपाललाई पूरै ध्वंश गर्न सकेन, पूरै ध्वंश गर्न नसकेको हुनाले विकास पनि हुन नसकेको भन्ने अनौठो दृष्टिकोण राख्ने माओवादी नेताहरुको संख्या ठूलो छ ।
नेपालको संसदीय राजनीतिलाई माओवादीले क्याप्चर गरेको छ । नेपालमा अहिले माओवादीको ब्ल्याकमेलिङको राजनीति चलिरहेको छ । तेस्रो ठूलो दल मात्र हो माओवादी तैपनि सरकारमा नेतृत्व उसैको छ । गृह मन्त्रालयमा नेतृत्व उसैको छ । प्रहरी संयन्त्रमा माओवादीले कठोर पकड बनाएको छ । प्रहरीमा चेन अफ कमाण्ड भत्काइएको छ । प्रहरी प्रमुखलाई थाहै नदिई माओवादी नेताहरुको निर्देशनमा प्रहरीका तल्लो इकाईहरुले काम गर्छन् । प्रहरी प्रमुखलाई लाचार छायाँ मात्र बनाएर राख्ने, आफ्नो निर्देशन नै अन्तिम हुने परिपाटी माओवादीले स्थापित गर्न खोजेको छ । राज्यका महत्वपूर्ण पदहरुमा माओवादीको नियन्त्रण छ ।
नेपालमा कथित जनयुद्ध सकियो भनेर जनता खुसी भएका थिए तर समग्र देशमै माओवादीको कब्जा हुन पुगेको छ । कांग्रेस र एमाले जस्ता स्थापित र ठूला लोकतान्त्रिक पार्टीलाई आपसमा जुधाएर तेस्रो पार्टीको हैसियतको माओवादीको शासन स्थापित भएको छ । जनयुद्धकालमा माओवादीले एमालेलाई छानीछानी मार्ने, कांग्रेसलाई ताकिताकि मार्ने रणनीति अपनाएका थिए । अहिले चाहिँ कांग्रेस र एमालेलाई मिल्न नदिने रणनीति अपनाएका छन् । जनयुद्ध कालमा माओवादीले ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति घोषित रुपमै अपनाएको थियो । अहिले माओवादीले कांग्रेसको ढाडमा टेकेर देश र जनताको टाउकोमा हान्ने रणनीति अपनाएको छ ।
माओवादीको यस्तो नीतिलाई सघाएर नेपाली कांग्रेसको वर्तमान नेतृत्वले के गर्न खोजेको हो ? देशभरका कांग्रेसजनले यो पश्न उठाइरहेका छन् तर कांग्रेस नेतृत्व लाचार भएको छ । अब त कतिसम्म भइसकेको छ भने कांग्रेसलाई सभापति शेरबहादुर देउवाले चलाइरहेको हो कि प्रचण्डले चलाएको हो भन्ने प्रश्न उठ्न थालेको छ । कांग्रेसलाई पनि आन्तरिक रुपमा फुटाउने रणनीति प्रचण्डले अपनाउनुभएको छ । अरु पार्टीभित्र पनि ध्वंश मच्चाइदिने प्रचण्डको रणनीति देखिन्छ । कांग्रेसको ढाडमा टेकेर कांग्रेसकै टाउकोमा हान्ने माओवादीको नीति कांग्रेसका इमानदार कार्यकर्ताहरुले बुझेका छन् तर कांग्रेस नेतृत्वले बुझेन । यही कारण आज नेपालको राजनीति अशान्त बनेको छ, नेपाल देश ओरालो लाग्दैछ ।
माओवादीको हिँसात्मक विचार र ध्वंशात्मक नीति सबैले बुझे भने नेपालको वर्तमान ओरालो गति नियन्त्रण गर्न सकिन्छ नत्र सकिँदैन ।
