- प्रमिला सुवेदी, कार्की -
केही समय अगाडि आफ्नै घरको छतबाट हामफालेर एक व्यवसायीले आत्महत्या गरे । भर्खरै मात्रै काभ्रे घर भई हाल अमेरिका बस्दै आएका अर्जुनप्रसाद मैनालीले श्रीमतीलाई सम्बोधन गरेर लामो स्ट्याटस लेख्दै आत्महत्या गरे । दोलखा जिल्लामा पनि नाम चलेकै राजनीतिक र सामाजिक व्यक्तित्वले आत्महत्या गरेका छन् ।
यी त भए देखिएका, चिनिएका र चर्चामा आएका केही नाम । आत्महत्याका घटना दिनदिनै बढ्दै गएका छन् । बालकदेखि वृद्धसम्म यसका सिकार भएका छन् ।आखिर किन यस्तो सस्तो बन्दै गएको छ मानव जीवन ?
आजकल मोबाइल तिर हात लम्काउन पनि डर लाग्दो अवस्था छ । आत्महत्याका यति धेरै घटना आउन लागेका छन्, जसले मननै काँप्छ । मोबाइल खोल्ने बित्तिकै सामाजिक सञ्जालमा चिनजानका आफन्तले आत्महत्या गरेको खबर हर्नु पर्ला कि भन्ने डर हुन्छ । हिजो आज यस्तै खबरले सामाजिक सञ्जाल लतपतिएको हुन्छ ।
के साँच्चै मानव जीवनको कुनै मूल्य नभएको हो त ? या यसको महत्त्व बुझ्न नसकिएको हो । पछिल्लो समय आत्महत्या गर्नेको सङ्ख्या हेर्दा लाग्छ मान्छेले आफूलाई सम्हाल्न सकेन, या त्यो प्रयास नै गरेन ।
मृत्यु आफैँमा असामयिक हुन्छ । मान्छे मृत्युदेखि डराइरहेको हुन्छ । सकेसम्म मृत्युलाई धकेल्दै मान्छेले जीवन लम्याउन खोजिरहेका हुन्छ । जतिसुकै जटिल रोग लागे पनि मान्छे हार्न चाहँदैन । रोगसँग जुधेर बाँच्न चाहन्छ। एक पटक पाएको यो अमूल्य जीवन पूर्ण रूपमा भोग गर्न चाहन्छन् । तर फेरी आत्महत्या किन ?
मृत्युलाई बिर्सिएर जीवनमा हाँस्न, रमाएर बाँच्न केही नयाँ काम गर्न सक्नु पर्छ । आफूलाई आफ्नो नामबाट चिनाउन सक्नु पर्छ । मान्छेलाई आफ्नो जीवनप्रति प्रेम र लोभ हुन्छ, हुनुपर्छ । जीवन जिउनका लागि प्रेम र लोभ आवश्यक हुन्छ। प्रेम भएन भने जीवन छैन, अनि लोभ भएन भने प्रेमको संरक्षण पनि हुँदैन । लोभले जोगाउन वा जम्मा गर्न मद्दत गर्छ त्यसले जीवन चलाउन सहज बनाउँछ ।
जब मान्छेले आफूले आफूलाई माया गर्न छाड्छ । माया, मोह भन्दा पनि घृणा र द्वैसका ग्रन्थिहरू बढ्दै जान्छन् तब मानिसले मानवीय मूल्य मान्यता सबै बिर्सिन्छ । त्यस्तो बेला मानिसले अरूलाई पनि सिद्धाउन सक्छ, आफैँलाई पनि सिद्ध्याउँछ ।
नेपालमा दैनिक औसतमा १९ जनाले आत्महत्या गर्छन् भन्ने तथ्याङ्क छ । यो सङ्ख्या बर्सेनि बढ्दो क्रममा छ । गत आर्थिक वर्ष ०७९/८० असार सम्ममा मात्र २९ हजार २४६ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्याङ्क छ।
पछिल्लो समय आत्महत्या गर्नेमा महिलाको भन्दा पुरुषको सङ्ख्या धेरै देखिन् । यसमा पहिलो नम्बरमा कोसी प्रदेश रहेको छ ।
बच्चा जन्मिँदा आमाबाबुको मिठो सपना हुन्छ । भविष्यको सहारा, सामाजिक मान प्रतिष्ठा, सुन्दर परिवारको अनेक सपना परिवारले सँगालेको हुन्छ । एउटा सन्तानलाई सक्षम बनाउन अनेक खुसीहरू बेचेका हुन्छन् ।
बास्तवमा जीवनलाई काँडा बनाउने कि फूल त्यो आफैँमा भर पर्छ । आर्थिक रूपमा सोचेको जस्तो मजबुत अवस्था नबन्न सक्छ । सामाजिक रूपमा सोचेको जस्तो लाभ प्राप्त नहुन सक्छ । मानसिक रूपमा जस्तोसुकै परिस्थितिमा आफूलाई मजबुत बनाउनु पर्छ । बाँच्नका लागि अनेक संघर्ष गर्नु पर्छ ।
मान्छे आफैँले आफैँलाई मार्ने अवस्थामा किन पुग्छ ? यसको रोकथाम गर्ने कुनै उपाय छैन त ? आखिर किन मान्छेले आत्महत्या गर्छ ? आफूले सोचे जस्तो काम नहुँदा, आशा गरिएको व्यक्तिबाट सहयोग नपाउँदा, प्रेममा धोका पाउँदा, आफू सही हुँदाहुँदै पनि गलत आरोप लाग्दा, आँटेको कुरा नहुँदा मान्छेले आत्महत्याको बाटो रोज्छ ।
आजका मानिसको जीवनशैली पनि जटिल बन्दै गइरहेको छ । व्यापार, व्यवसायमा हुने घाटा, पढाइमा हुने असफलता जस्ता अनेक कुराबाट मानिस तनावग्रस्त हुने गरेको छ । बाहिर हेर्दा सामान्य देखिएका मानिसलाई पनि भित्रभित्रै अनेक किसिमका मनोसमस्याबाट जेलिएका छन् । जसलाई बेवास्ता गर्दा रोग छिप्पिँदै गएर गम्भीर नोक्सानीको अवस्था आउँछ । यस्तो अप्ठेरो परिस्थितिमा सम्बन्धित परिवारले ध्यान दिने हो भने जीवन जोगाउन सकिन्छ । अवस्था जटिल भए चिकित्सकबाट पनि परामर्श लिई रहनु पर्छ।
धेरैजसो घटनामा आफ्ना महत्त्वाकाङ्क्षाको व्यवस्थापन गर्न नसक्दा मानिसले आत्महत्या गर्छन् । आफू वरिपरिको वातावरण जब सही लाग्न छाड्छ त्यसपछि मानिस विरक्त हुन्छ । मानिसका सोच अनेक आउँछन्, सम्हाल्ने त आफूले आफैलाई हो । मर्नु त एक दिन छँदै छ, अकालमा किन मर्ने ?
जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूले आफैलाई सम्हाल्नु जिन्दगीको ठुलो कुरा हो । जिउन जान्यो भने जीवन फूल जतिकै सुन्दर र स्वर्ग जस्तै प्यारो छ। जिउने कला नजान्दा जीवन भार हुन्छ ।
