-गोविन्द थापा-
रामकुमारी झाँक्रीले गरेको एउटा अर्थहीन र स्तरहीन स्टन्ट असाध्यै चर्चित भएको थियो । केही वर्ष पहिले काठमाडौंको एउटा आमसभामा बोल्न मञ्चमा पुगेपछि रामकुमारीले आफ्नो मुखमा लगाइएको टेप उप्काएर ‘बोल्न पाइन्छ, बोल्न पाउनुपर्छ’ भन्दै माइक समातेर अन्टसन्ट बकेको धेरैलाई सम्झना हुनुपर्छ । यहाँ रामकुमारीको नभएर रवि लामिछाने र उहाँको सेरोफेरोमा विकास भइरहेको षडयन्त्रमूलक र घिनलाग्दो राजनीतिको चर्चा गर्न लागिएको हो ।
रवि लामिछाने नेपाली राजनीतिको वास्तविकता हो । रास्वपा नेपाली राजनीतिको यथार्थ हो । प्रतिनिधि सभामा रास्वपा चौथो ठूलो राजनीतिक दल रहनु तथ्य हो । रवि लामिछानेलाई खलनायक बनाएर नेपाली कांग्रेसले समग्र राजनीतिलाई अस्थिरतामा लैजाने ठूलो प्रयास गरिरहेको छ । यस सन्दर्भमा यस्ता अनेक प्रश्न उठेका छन् ः
१) कांग्रेसले गरिरहेको संसद् अवरोध कति ठिक कति वेठिक ?
२) रविले बोल्न पाउने कि नपाउने ?
३) यो विवादबाट रवि र कांग्रेसमध्ये कसलाई फाइदा भइरहेको छ ?
४) वास्तवमा कांग्रेसले यस्तो किन गरिरहेछ ?
५) रवि लामिछानेको राजनीतिक भविष्य कस्तो देखिन्छ ?
६) अबको राजनीति कसरी अगाडि बढ्छ ?
यी प्रश्नको जवाफ खोज्नु अगाडि शुक्रबारको कालो दिनको चर्चा गरौं । बैशाख २८ गते शुक्रबार नेपालको संसदीय इतिहासमा कालो दिनका रुपमा दर्ता भएको छ । सो दिन कांग्रेसले प्रतिनिधि सभाका एकजना सांसद् (जो उपप्रधानमन्त्री तथा गृहमन्त्री पनि हो) रवि लामिछानेलाई बोल्न नदिन निकृष्ट हर्कत गर्यो । कांग्रेसले लगातार सदन अवरोध गरेकै थियो, त्यतिले नपुगेर रवि लामिछानेलाई बोल्न दिएन । रविलाई बोल्न सभामुख देवराज घिमिरेले समय दिनुभएपछि कांग्रेसका सांसद्हरुले नारावाजी थाले । बोल्न रोष्ट्रमतर्फ जाँदा रविलाई घेरा हाले ।
एकजना सांसद्लाई बोल्न नदिन संसद्को सबैभन्दा ठूलो पार्टी कांग्रेसले गरेको हर्कतले लोकतन्त्र लज्जित भयो, कांग्रेसको निधारमा नमेटिने दाग लाग्यो ।
कांग्रेसले गरिरहेको संसद् अवरोध ठिक कि वेठिक ?
नेपालमा हरेक राजनीतिक दलका आआफ्ना खालका छवी छन् । नेकपा एमाले विकास र समृद्धिका लागि चिनिन्छ । माओवादी केन्द्र जनयुद्धका कारण चिनिन्छ । कांग्रेस संसदीय प्रणालीको कट्टर अनुयायीका रुपमा चिनिन्छ । संसदीय व्यवस्थाप्रति सबैभन्दा प्रतिवद्ध पार्टी आफू हो भनेर कांग्रेसले आफ्नो ब्राण्डिङ गर्दै आएको थियो । कांग्रेसले त्यो छवी र ब्राण्ड माटोमा मिलाएको छ ।
संसदको वैठक अवरोध गर्ने चलन विश्वभरी छ । वैठक अवरोध पनि संसदीय अभ्याशको एउटा महत्वपूर्ण पक्ष हो । वैठक अवरोध गर्दा संसदका व्यवस्थापन कारवाहीहरुमा वाधा दिइन्छ । आफूले बोल्ने, अरुलाई बोल्न निषेध गर्ने काम गरिँदैन ।
सहकारी घोटालामा रवि लामिछाने संलग्न भएको आरोप अहिले लागेको होइन, सरकारमा कांग्रेस छँदै लागेको हो । त्यसबेला आरोप लाग्दा कांग्रेस कहाँ थियो ? राजनीतिक अस्थिरताको पक्षमा रवि नउभिएपछि मात्र कांग्रेसले सदन अवरोध थालेको हो । एकजना सांसद् कुनै प्रकरणमा जोडियो भन्दैमा संसदीय छानविन समिति बनाउने माग नियत खराब भएर आएको हो । यद्यपी, संसदीय छानविन समिति बनाइनु सामान्य विषय हो ।
कांग्रेसले सहकारी पीडितहरुले न्याय पाउन् भनेर अवरोध गरेकै होइन । रवि लामिछानेलाई ताकेजस्तो गरेर वर्तमान सरकार ढाल्ने र राजनीतिक अस्थिरता मच्चाउने कांग्रेसको उद्देश्य छ । तसर्थ, वैठकमा अवरोध संसदीय परम्पराभित्रैको काम भए पनि गलत नियत र मनसाय राखेर अवरोध गरिएकाले कांग्रेसको अहिले गरिरहेको काम कुकर्म हो ।
रविले बोल्न पाउने कि नपाउने ?
हिटलरले भन्थे रे– मेरो विरोधमा खुलेर बोल्न पाइन्छ तर विरोध गरेपछि परिणामको जिम्मेवार आफैं हुनु ।
यो लेखको सुरुमा रामकुमारी झाँक्रीको टेप प्रसंग उल्लेख गरियो । रामकुमारीले त्यो सभामा मुखबाट उप्काएर फालेको टेप कहाँ गयो ? बल्ल अहिले थाहा भयो, रामुकुमारीले फालेको टेप कांग्रेसले टपक्क टिपेर राखेको रहेछ । अहिले त्यही टेप रवि लामिछानेको मुखमा टासेर बन्द गर्न खोज्दैछ ।
कांग्रेसले आरोप लगाएको रवि लामिछानेले बोल्न पाउँ भनेर निवेदन दर्ता गर्दा समेत कांग्रेसले बोल्न दिएन । वास्तवमा रविले सभामुख देवराज घिमिरेलाई दिएको निवेदन यस्तो कागज हो जसले कांग्रेसलाई निर्वस्त्र बनाएको छ । यो त्यही कांग्रेस हो जसले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा रहँदा प्रतिनिधि सभामा बोल्न नदिने भनेर निषेध गरेको थियो । त्यसबेला प्रधानमन्त्रीलाई निषेध गर्यो, अहिले गृहमन्त्रीलाई निषेध गर्यो ।
रामकुमारीहरुले अब के बुझ्नुपर्यो भने त्यसबेला मुखमा टेप लगाउने राजनीतिक परिवन्द कांग्रेसले नै सिर्जना गरेको थियो, एमालेले होइन ।
प्रतिनिधि सभामा एकजना सांसद्माथि आरोपमाथि आरोप लगाउने, आरोप लागेकाले चाहिँ जवाफ दिन नपाउने । कांग्रेसको यो कस्तो मत्स्य न्याय हो ? आरोप लगाउने प्रतिनिधि सभा वैठकमा, जवाफ दिनुपर्ने ठाउँ चाहिँ विश्वप्रकाश शर्माले तोकेको संसदीय छानविन समितिमा रे । त्यसो भए संसदीय छानविन समितिमै आरोप लगाउनु, त्यहिँ जवाफ माग्नु नि, प्रतिनिधि सभामा किन आरोप लगाउनु ? आफूलाई जुन थलोमा उभिएर आरोप लगाइन्छ त्यही थलोमा जवाफ दिने अधिकार रविलाई छैन र ? रविलाई मात्र नभएर हरेक सांसद्लाई सदनमा उभिएर बोल्ने अधिकार छ । कांग्रेसले सदनको व्यवस्थापकीय कार्य मात्र अवरोध गर्न सक्छ, सांसद्को बोल्ने हक नै हनन गर्न मिल्दैन ।
त्यसैले कांग्रेसले अहिले गरिरहेको दुष्कर्म नै हो ।
रवि र कांग्रेसलाई नाफा घाटा के ?
हालै इलाममा भएको उपचुनावमा कांग्रेस पराजित भयो, रविको पार्टीको जमानत जफत नै भयो । कांग्रेसका अनुसार रविको पार्टी ओरालो लाग्यो । सहकारी प्रकरणले रविको पार्टीलाई ठूलो घाटा लागेको विष्लेशण कांग्रेसका नेता कार्यकर्ताहरुबाट सुन्न पाइन्छ ।
वास्तवमा सहकारी प्रकरण र इलामको उपचुनाव बीच कुनै सम्बन्ध छैन । इलामको उपचुनावले के तथ्य उजागर गरेको छ भने नेपालमा एमाले मात्र यस्तो पार्टी हो जो उकालो बाटोमा छ । इलाम उपचुनावमा रविको पार्टीको जमानत जफत हुनुलाई कांग्रेसले आफ्नो सफलता मानेको छ भने कांग्रेसको पराजयलाई रास्वपाले जित ठानेको छ । रास्वपा नयाँ पार्टी हो, उसले हारलाई स्वाभाविक रुपमा लिइसकेको छ । तर, कांग्रेसले भने संसदीय राजनीतिमा पनि हार पचाउन सकेन, उपचुनावको हार पनि पचाउन सकेन । त्यसैले तिल्मिलाएर संसद् अवरोध र अरुको मुख थुन्ने हर्कत गरिरहेको छ ।
यो सबै प्रकरणबाट वस्तुत कांग्रेसलाई नै घाटा भएको छ । भावी दिनमा सहकारी ठगी प्रकरणमा रवि गलत नै सावित भएको अवस्थामा पनि कांग्रेस ठिक ठहरिने छैन । किनभने उसले संसदीय पद्धति, मर्यादा र परम्परा विपरित अरुको मुख थुन्ने काम गरेको छ ।
कांग्रेसले आफ्नो ब्राण्ड नै ध्वस्त बनाएको छ, यो भन्दा ठूलो घाटा के हुनसक्छ ?
कांग्रेसले यस्तो किन गरिरहेछ ?
कांग्रेस भनेको यस्तो पार्टी हो जो सत्ता बिना पागल बन्छ भन्ने गरिन्थ्यो । यो भनाईलाई कांग्रेसले फेरि एकपटक प्रमाणित गरेको छ ।
कांग्रेसले यस्तो किन गरिरहेको छ भन्ने बुझ्न समकालीन राजनीति बुझ्नुपर्छ । रवि लामिछाने सहित रास्वपालाई आफूतिर मिलाएर नयाँ सरकार बनाउने र राजनीतिक अस्थिरता सिर्जना गर्ने कांग्रेसको प्रयास थियो । एमाले अस्थिरताभित्र स्थिरता खोज्छ, कांग्रेस अस्थिरताभित्र झन् अस्थिरता खोज्छ भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गर्दै आएको छ ।
कांग्रेसले एजेण्डामा कहिले पनि विकास र समृद्धि परेन । कांग्रेसको एजेण्डा भनेको जस्तो छ त्यस्तै चलाउँ, चलिचलाउ परिपाटीभित्र बसेर सक्दो लुटौं भन्ने मात्र कांग्रेसको उद्देश्य रह्यो । केही गरौं भन्ने भावना जब कुनै पार्टीमा आउँछ, जब कुनै नेतामा आउँछ, तब त्यो नेता या पार्टी कांग्रेससँग मिलेर बस्न सक्दैन । यसको पछिल्लो उदाहरण माओवादी केन्द्र र पुष्पकमल दाहाल प्रचण्डलाई हेरेर पनि बुझ्न सकिन्छ । जब प्रचण्डलाई कांग्रेससँग मिलेर केही गर्न सकिँदैन भन्ने तत्वज्ञान आयो तब उहाँले एमालेसँग मिल्नुभयो । यही कारण कांग्रेस तिलमिलाएको हो । रविलाई प्रहार गर्दा यो समीकरण अस्थिर हुन्छ भन्ने बुझेरै रवि विरुद्ध प्रहार केन्द्रीत गरेको हो । रविले यो समीकरण छाडेर कांग्रेससँग मिल्ने हो भने आजको आजै, ठाउँको ठाउँ कांग्रेसले बोली फेर्नेछ ।
तसर्थ, कांग्रेसले जे गरिरहेको छ, सत्ता र कुर्सीलाई केन्द्रमा राखेर गरिरहेको छ ।
रवि लामिछानेको राजनीतिक भविष्य
कांग्रेसले अहिले रवि लामिछानेलाई खुइल्याउनसम्म खुइल्याइरहेको छ । कांग्रेसले के बुझ्यो भने रवि र आफ्नो भोट बैंक एउटै हो । एमालेको भोट बढेको बढ्यै छ, एमालेको लोकप्रियता बढेको बढ्यै छ भन्ने कांग्रेसले बुझिसक्यो । एमाले विरुद्ध प्रत्यक्ष भिड्न नसकेपछि कांग्रेसले ‘प्रोक्सी वार’ गरेको हो । कांग्रेसको अहिलेको प्रहार रवि विरुद्ध भन्दा पनि एमाले विरुद्ध नै हो । रवि त एक बहाना मात्र हो । रास्वपा आउँदो चुनावमा मुख्य प्रतिस्पर्धी होइन, एमाले नै एक नम्बर पार्टी हो भन्ने बुझेपछि कांग्रेसले यस्ता हर्कत थालेको हो ।
अहिले कांग्रेसले रविलाई जस्तो प्रहार गरिरहेको छ त्यसले रास्वपालाई सामान्य क्षति भइरहेको पनि हुनसक्छ तर मुख्य क्षति कांग्रेसलाई नै भइरहेको छ । रवि र रास्वपालाई कति क्षति भइरहेको छ त ? यो पनि आकलन गरौं । तीतो सत्य के हो भने रविको पाटी अन्य ठूला पार्टी तथा पूराना नेताहरुलाई गाली गरेर उदाएको हो । रवि अब आफैं पूरानो नेता हो । गाली गरेका भरमा भोट आउने राजनीतिक मौसम नेपालमा सकियो । यो कुरा रास्वापाले इलाम उपचुनावपछि पक्कै बुझिसक्यो ।
जसरी गाली गरेको एमाले सहितका स्थापित राजनीतिक पार्टीहरु सकिँैदैनन्, त्यसैगरी गाली गरेको भरमा रवि समाप्त हुन सम्भव छैन । रविलाई रवि बाहेक अरुले समाप्त पार्न सक्दैन, रास्वपालाई रास्वपा बाहेक अरुले समाप्त पार्न सक्दैन । रविलाई काम देखाउने ठाउँ उपलब्ध छ, काम देखाउन सकेको अवस्थामा रविलाई जनताबाट कसैले समाप्त पार्न सक्दैन । काम देखाउन नसकेको अवस्थामा रविलाई एमालेले जोगाएर पनि केही अर्थ हुँदैन ।
तसर्थ, रविलाई समाप्त पार्ने सपना कांग्रेसले नबोकेकै राम्रो ।
अबको राजनीति
संसदीय गणित तरल छ, त्यसैले यो सरकार कुनैपनि बेला गिर्छ भनेर अनुमानको खेती हुनु सामान्य हो । नेपालमा अस्थिर राजनीति भित्र स्थिरता खोज्ने शक्ति पनि छ भन्ने अब तथ्यले पुष्टि गरिसकेको छ । अस्थिरता भित्र स्थिरता खोज्ने शक्ति एमाले हो ।
अबको राजनीतिलाई एमालेले गलत बाटोमा जान दिँदैन । सर्वाधिक धेरै जनताले मत दिएको पार्टीका रुपमा एमालेको काँधमा ठूलो जिम्मेवारी छ । एमाले यो जिम्मेवारी निर्वाह गर्न सक्षम छ । एमालेले राजनीतिक स्थिरता, विकास र समृद्धिलाई केन्द्रमा राखेर सुविचारित पाइला चालिरहेको छ, त्यसैले प्रधानमन्त्री प्रचण्डले निर्धक्क सरकार चलाउन पाउनुभएको छ । भावी राजनीतिको स्वरुप कस्तो हुन्छ भन्ने झलक देख्न थालिएको छ । मुलुकमा अब राजनीतिक स्थिरता, विकास र समृद्धिको पक्षमा हुने एउटा ध्रुवमा र बाँकी शक्तिहरु अर्काे ध्रुवमा उभिने छन् । यिनै दुई ध्रुवको टक्कर हुनेछ । त्यस्तो टक्कर अहिले संसद्मा देखिएको हो । यो टक्करमा राजनीतिक स्थिरताले नै जित्छ भन्न सकिन्छ ।
