- गोविन्द थापा -
विश्वभरी चर्चित नेपाली गीत छ रेशम फिरिरी । यो गीतको एउटा अंश यस्तो छ– मृगलाई मैले ताकेको होइन, मायालाई ताकेको । गीतको विम्बले राजनीतिमा पनि काम गर्छ । अहिले नेपाली कांग्रेसले संसदीय छानविन समिति माग गरिरहेको छ । रवि लामिछाने उपर बनाउन माग गरिएको समिति मृग मात्र हो । माया त अर्कै छ । कांग्रेसले ताकेको माया हो– सत्ता ।
रवि मृग हो, ताकेको माया चाहिँ सत्ता हो ।
प्रजातन्त्र र लोकतन्त्रको कालखण्डमा सबैभन्दा धेरै समय सरकारमा बस्ने कांग्रेस नै हो । सबैभन्दा धेरैपटक प्रधानमन्त्री बनेको पार्टी पनि कांग्रेस नै हो । पानी बिनाको माछा र सत्ता बिनाको कांग्रेसको अवस्था उस्तै उस्तै हुन्छ । सत्तामा बस्न नपाएकाले कांग्रेस अहिले विक्षिप्त छ । कांग्रेस विक्षिप्त भएकाले नेपाली राजनीति तनावपूर्ण बनिरहेको छ । यति कुरा बुझेपछि नेपाली राजनीतिमा अहिले देखिएको तनावपूर्ण अवस्था छर्लङग हुन्छ ।
कांग्रेस कति विक्षिप्त छ भन्ने बिहीबार प्रतिनिधि सभाको वैठकमा देखियो । कांग्रेसका धनराज गुरुङ लगायतका सांसद्ले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भौतिक रुपमा आक्रमण गर्न प्रयास गरे । भिडियो दृष्यमा प्रष्ट देख्न सकिन्छ, धनराजले अध्यक्ष ओलीका सामु मुठ्ठी बटारेर दुबर््यवहार गरेको दृष्य सारा नेपालीले देखिसकेका छन् ।
केपी ओली भनेको एकजना सांसद् मात्र होइन, केपी ओली भनेको नेकपा एमालेका अध्यक्ष मात्र होइन, केपी ओली भनेको समकालीन नेपालका सर्वाधिक उचाईका राजनेता पनि हो । केपी ओली भनेको आजको नेपालका सबैभन्दा शशक्त बौद्धिक विचारक र लेखक पनि हो । केपी ओली भनेका सुखी नेपाली, समृद्ध नेपालका सारथी पनि हो । केपी ओली भनेका धनराज गुरुङ जस्ता फगत एकजना व्यक्ति मात्र होइन, केपी ओली नेपाली जनताको आशा, उत्साह र सुन्दर भविष्यका सारथी पनि हो । धनराज गुरुङ तथा कांग्रेसका सांसद्हरुलाई लाग्दो हो– केपी ओलीका अगाडि मुठ्ठी बटारेर झम्टिएको हो । वास्तवमा धनराज र कांग्रेसले सुखी नेपाली समृद्ध नेपालको जन आकांक्षालाई झम्टिएको हो । कांग्रेसले राजनीतिक स्थिरता विरुद्ध मुठ्ठी बटारेको हो । कांग्रेसले केपी ओली विरुद्ध नभएर नेपाली जनता विरुद्ध मुठ्ठी बटारेको हो ।
केपी ओली मरिसकेका मानिसको भोट पाएर जितेको नेता होइन, केपी ओली बुथ र वाकस कब्जा गरेर संसद्मा पुगेको नेता होइन । केपी ओली कसैको बुई चढेर, अरुको काँधमा बसेर नेता बनेको होइन । केपी ओलीमा अद्भूत बौद्धिक क्षमता छ भन्ने जनताले देखिरहेको छ, देश बनाउने भिजन केपी ओलीमा जति अरु कसैसँग छैन । धनराज गुरुङ जस्ता हजारौं जना जोड्दा पनि एकजना केपी ओली बन्दैन । केपी ओलीको जस्तो देशप्रेम र जनताप्रतिको प्रतिवद्धता कांग्रेसबाट कल्पना पनि गर्न सकिँदैन । केपी ओलीलाई लाग्छ देश र जनताको चिन्ता, कांग्रेसलाई लाग्छ सत्ता प्राप्तिको चिन्ता ।
केपी ओलीलाई ढाल्न सकियो भने नेपालको राष्ट्रिय स्वाभिमान गिराउन सकिन्छ भन्ने जसले बुझेका छन्, तिनले आक्रमण जारी राखेका छन् । केपी ओलीलाई ढालियो भने यो देशलाई अस्थिरतामा लैजान सकिन्छ भन्ने जसले बुझेका छन् तिनले प्रहार गरिरहेका छन् । केपी ओलीमाथि राजनीतिक आक्रमण हुनुलाई अस्वाभाविक नमानौं, अनैतिक आक्रमण समेत निरन्तर हुँदै आएको छ । भौतिक आक्रमण पनि पटकपटक भएको हो । अहिले पनि प्रतिनिधि सभामा जे गर्न खोजियो, त्यो भौतिक आक्रमण नै हो ।
माहुरीको घार छिन्नभिन्न पार्नपर्दा माहुरीको रानी खोजिन्छ । नेपाली जनता माहुरी हुन्, केपी ओली रानी हो । यो कुरा धनराजहरुले बुझेरै झम्टिएका हुन् । धनराज गुरुङले उचालेको हात र बटारेको मुठ्ठी धनराज आफ्नै होइन । त्यो विदेशीको हात हो । त्यो प्रतिगामीहरुको हात हो, नेपाली जनताको प्रगति उन्नति, सुख र समृद्धि नचाहने स्वदेशी विदेशीहरुको हात हो । धनराजले बटारेको मुठ्ठी सिर्फ धनराजको मात्र हो भन्ने बुझियो भने गल्ती हुनेछ । देशको स्वाभिमान, देशको विकास, देशको समृद्धी, देशको स्थिरताको पक्षमा जो उभिन्छ उसका विरुद्ध धनराजको जस्तो हात मुठ्ठी बटारेर खडा हुन्छ । दशकौंदेखिको नेपाली राजनीतिलाई नियाल्ने हो भने यस्ता धनराज धेरै देखिन्छन् जसले देशको प्रगति, उन्नति, सुख, समृद्धि विरुद्ध मुठ्ठी बटारेका छन् ।
त्यसैले धनराज भनेको व्यक्ति मात्र होइन, प्रवृत्ति हो । धनराज प्रवृत्तिको अति घिनलाग्दो रुप अहिले प्रतिनिधि सभामा देखिएको छ । प्रतिनिधि सभामा एक होइन अनेक धनराज छन् । कांग्रेसको वास्तविक प्रतिनिधि धनराज हो । बाघ कस्तो छ भन्ने थाहा पाउन विरालोको मुख हेर्नुपर्छ भने झैं कांग्रेस कस्तो छ भन्ने थाहा पाउन धनराजको मुठ्ठी हेर्नुपर्छ । बाघको मुख नरभक्षी हुन्छ, धनराजहरुको मुठ्ठी जनभक्षी हुन्छ ।
धनराज प्रवृत्ति मुख चलाउँदैन, मुठ्ठी चलाउँछ । कांग्रेस मुखमा होइन मुठ्ठीमा विश्वास गर्छ भन्ने फेरि एकपटक देखियो । प्रतिनिधि सभा मुख चलाउने ठाउँ हो । कांग्रेसले मुखलाई निषेध गरेको छ, मुठ्ठीलाई प्रोत्साहन गरेको छ । संसद्मा मुखले बोल्न नपाइने तर मुठ्ठी बटार्न पाइने, कस्तो संसद् चाहेको हो कांग्रेसले ? संसद्मा रवि लामिछाने सहित गैर कांग्रेसले बोल्न नपाउने तर कांग्रेसले चाहिँ मुठ्ठी बटार्न पनि पाउने । कांग्रेसको लोकतन्त्रमा मुखलाई निषेध गरिन्छ र मुठ्ठीको प्रयोग गरिन्छ ।
पछिल्लो पटक सत्ताच्युत भएपछि कांग्रेसले विक्षिप्त भएर रवि लामिछानेमाथि आक्रमण गर्यो । खासमा कांग्रेसले रविलाई नभएर समग्र सत्ता समीकरणमाथि आक्रमण गरेको हो । रविमाथि कांग्रेसको आक्रमण अवाञ्छित हो भनेर जनजनले भनेका छन्, घरघरमा आवाज उठिरहेको छ । सहकारी काण्ड त बहाना मात्र हो, सत्ता समीकरण भत्काउन कांग्रेसले रविमाथि आक्रमण गरेको थियो, त्यो आक्रमण निस्तेज हुँदै गयो । कांग्रेस नांगिँदै गयो, त्यसपछि उसले केपी ओलीमाथि मुठ्ठी बटारेको हो ।
एमाले भन्छ मिशन ८४, कांग्रेस भन्छ मुठ्ठी । एमालेको मिशन ८४ विरुद्ध कांग्रेससँग मुठ्ठी मात्र छ । एमालेसँग कांग्रेस हरेक मोर्चामा पछाडि छ, त्यसैले कांग्रेसले मुठ्ठी बाहेक अर्काे हतियार पनि चलाइरहेको छ । जसरी हुन्छ अध्यक्ष ओलीलाई हिलो छ्याप्ने, ओलीलाई बदनाम बनाउने प्रयासमा कांग्रेस कन्दनी कसेर लागेको छ । ओलीलाई बदनाम गर्न विगतमा पनि कांग्रेसले सानो प्रयास गरेको हो र ? तर पार लागेन । ओलीलाई बदनाम गर्न कांग्रेस जति प्रयास गर्छ, ओलीको लोकप्रियता त्यति बढ्दै जान्छ । अहिलेसम्मको इतिहासले त्यही देखाउँछ । ओली जनतामा विश्वास गर्नुहुन्छ, कांग्रेस मुठ्ठी र षडयन्त्रमा विश्वास गर्छ ।
के जालझेल षडयन्त्र र मुठ्ठीको भरमा कांग्रेसले एमालेको मिशन ८४ को सामना गर्न सक्छ ? कुनै हालतमा सक्दैन । कांग्रेसले एउटा मुठ्ठी उठाउँदा एमालेको पक्षमा हजारौं मुठ्ठी उठ्छ । कांग्रेसको मुठ्ठी झम्टनलाई हो, एमालेको पक्षमा उठ्ने मुठ्ठी देश बनाउनलाई हो । जनतालाई थाहा छ, प्रतिनिधि सभामा ओली विरुद्ध उठाइएको मुठ्ठी नयाँ सुरुआत मात्र हो, अब ओलीको बदनामीका लागि कांग्रेसले अनेक हतकण्डा अपनाउने छ, ओली विरुद्ध अब अनेक तिकडम लगाउने छ । जेजे गरे पनि कांग्रेसको हातमा लागे शुन्ना नै हुनेछ ।
अब नेपालले थप अस्थिरता भोग्न सक्दैन, कांग्रेसको कुशासनको विरासत अब देशले बोक्न सक्दैन । कांग्रेस जहाँ गासिन्छ त्यहाँ कुशासन हुन्छ भन्ने सबै राजनीतिक शक्तिले बुझिसके, त्यसैले नयाँ समीकरणको रचना भएको हो ।
कांग्रेसको कुशासन र मुठ्ठीबाट देशले मुक्ति चाहेको छ । यस्तो मुक्ति केपी ओलीको नेतृत्वमा मात्र सम्भव छ भन्ने झन् प्रष्ट भएको छ । आजको नेपालको राजनीतिक वास्तविकता यही हो ।
