- कमलप्रसाद चाैलागाईं-
संसारभरका शान्तिका पक्षधरहरूले २५६८ औँ बुद्ध जयन्ती मनाएका छन् । उहाँको जन्म जयन्तीको अवसरमा विश्व शान्तिको कामना गरिएको छ ।
सिद्धार्थ गौतम जन्मनु भएको, उहाँले बुद्धत्व प्राप्त गर्नु भएको र देह त्याग गर्नु भएको दिन एकै दिन परेको छ । उहाँ वैशाख पूर्णिमाकै दिन जन्मिनुभयो, सोही दिन बुद्धत्व प्राप्त गर्नुभयो र सोही उहाँको देह त्याग पनि बैशाख पूर्णिमाकै दिन भयो । त्यसैले यो पूर्णिमालाई बुद्ध पूर्णिमा समेत भन्ने गरिन्छ ।
गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुनुहुन्छ । बौद्ध परम्पराले उहाँलाई कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछ । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ ।
गौतम बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम थियो । तर सिद्धार्थको जन्म भएको सात दिनपछि सौतेनी आमा गौतमीले पालनपोषण गरेको हुनाले उहाँकै नामबाट बालकको नाम पनि गौतम राखिएको हो भन्ने भनाइ छ ।
सिद्धार्थ बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौँ शताब्दीका धेरैजसो इतिहासकारहरू उहाँको जीवनकाल ५६३ ईशापूर्व देखि ४८३ ईसा पूर्व रहेको भन्ने कुरामा एकमत छन् । पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उहाँको मृत्यु ४८६ देखि ४८३ ईसा पूर्वको बिचमा भएको अनुमान गरिन्छ । तथापि उहाँको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको रुपन्देही जिल्लाको लुम्बिनीमा भएको कुरामा भने एकमत छ ।
गौतम बुद्धले आफ्नो जीवनकालको पहिलो २९ वर्ष पिताद्वारा प्रदत्त राजसी सुखमा बिताउनुभयो । संसारमा व्याप्त दुःखको कारण र त्यसको निवारण के होला ? भन्ने चिन्तन उहाँमा थियो । मानिसको दुःखको कारण र दुःखको निवारण के हुन सक्छन् भन्ने कुरामा उहाँ निकै संवेदनशील हुनुहुन्थ्यो ।
कठिन ध्यान र खोजको माध्यमबाट दुःख निवारणको सत्य मार्ग पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा उहाँले गृह त्याग गर्नुभयो । त्यस पछि भारतका विभिन्न स्थानमा सात वर्षसम्म खोज र तपस्या गरेर हिँड्नुभयो । । अन्ततः कष्टदायक मार्गले सत्यको प्राप्ति हुन सक्दैन भन्ने महसुस गरी मध्यमार्गीको अवलम्बन गर्ने अठोट गरे। भारतको बोधगया भन्ने ठाउँमा एक पिपलको वृक्ष मुनि अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उहाँलाई सम्यकसम्वोधि प्राप्त भयो त्यसपछि उहाँ सम्यक सम्बुद्ध कहलिनुभयो । त्यसपछि शेष ४५ वर्षसम्म उहाँले नेपाल र भारतका विभिन्न ठाउँ पुगी दुःख निवारण सम्बन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्नुभयो ।
सिद्धार्थ गौतमका बाबु शुद्धोदन तत्कालीन तिलौराकोट राज्यमा शाक्य वंशका राजा हुनुहुन्थ्यो । उहाँकी आमाको नाम मायादेवी थियो । रानी मायादेवी आफ्नो माइत देवदह जाने क्रममा बाटोमा पर्ने लुम्बिनी भन्ने ठाउँमा पुग्दा प्रसव व्यथाले भेटेपछि आरामका लागि बस्नुभयो । त्यहाँ पुष्करिणी सरोवरको किनारमा एउटा रुखको फेदमा उहाँले सिद्धार्थलाई जन्म दिनुभयो ।
शाक्य कुलको रीति अनुसार पाँचौँ दिनमा त्रिवेदले पारङ्गत १०८ ब्राह्मणहरूलाई निमन्त्रणा गरी भोजन गराइ नामाकरण गरियो ।
राजर्षि सुख सयलमा हुर्किएको हुनाले उहाँको बाल्यकाल सुखद नै रह्यो । जन्मने बित्तिकै आमा गुमाउनु परे पनि आफ्नी सौतेनी आमाको भरण पोषणमा उहाँ हुर्कनुभयो । गौतम बुद्ध १६ वर्ष उमेर पुगेपछि यशोधरा नामकी राजकुमारीसँग विवाह भयो । यशोधराबाट राहुल नामको एक पुत्रको पनि जन्म भयो ।
सिद्धार्थले बालक, बुढो, रोगी मानिसलाई देख्नुभयो । उहाँले मानिस मरेको पनि देख्नुभयो । यसबाट संसार केही रहेनछ भन्ने वैराग्य उहाँमा पैदा भयो । मानिस के कारणले रोगी हुन्छ? के कारणले बुढो हुन्छ? र के कारणले मर्छ? भन्ने प्रश्नले उहाँलाई वैरागी बनायो । यिनै प्रश्नको समाधान खोज्न राज्यको पर्बाह नगरी उहाँ २९ वर्षको उमेरमा राति सुटुक्क दरबार छोडेर हिँड्नुभयो ।
तपस्या गरेर उहाँले बुद्धत्व प्राप्त गर्नुभयो । उहाँले सांसारिक दुखको जडमा पुगेर संसारमा आफ्नो भन्नु केही छैन भन्ने पत्ता लगाउनुभयो । संसारमा दुखको जड भनेको मान्छे आफैँ हो भन्ने उहाँले बुझ्नुभयो ।
बुद्ध कस्तो शारीरिक बनोटको हुनु हुन्थ्यो त ?
उहाँका हात र औँला लामा थिए । उभिँदा नझुकीकन घुँडालाई हत्केलाले छोप्न सक्नु हुन्थ्यो । उहाँका आँखा निला थिए । टम्म मिलेका ठुला सेता दाँत थिए । उहाँको अनुहार लाम्चो र सुन जस्तै चम्किलो प्रकाशमय थियो ।
बुद्धका कान लामा थिए । कपाल घुँगुरिएको थियो र ८० वर्षको उमेरमा परिनिर्वाण हुँदा पनि कपाल फुलेको थिएन ।
उहाँको श्वास प्रश्वासमा श्रीखण्ड चन्दनको सुगन्ध आउँथ्यो भनिन्छ । उहाँका शीर्ष १० चेला मध्ये एक नम्बरका भिक्षु आनन्दले बताएको हुलियामा बुद्धको एउटा मूर्ति बनाइयो । जुन गान्धार (हाल अफगानिस्तानको कन्दाहार ) मा स्थापित गरियो । भिक्षु आनन्दको बुद्धको देहान्तको २० वर्ष पछि निधन भयो ।
सिद्धार्थ गौतमका पूर्वज को थिए ?
पुरानो उत्तर भारतमा मगध, वत्स, अवन्ति र कोसल राज्य थिए । कोसल राज्यमा देव वंश, दत्र वंश र मित्र वंशले शासन गर्दथे ।
कोसलकै राजा रामले तत्कालीन विदेह राज्यकी राजकुमारी सितासँग विवाह गरेका थिए । कोसल राज्यका प्रमुख तीन सहरमा अयोध्या (राजधानी), सकेता र श्रावस्ती थिए । बुद्धले धेरै समय श्रावस्तीको जितवन मठमा बिताउनु भएको थियो ।
हालको नेपालको पश्चिम तराईमा शाक्य र कोलियहरुको शक्तिशाली गणराज्य थिए । बौद्ध ग्रन्थ अनुसार उनीहरू कौसलका राजाका जेठा सन्तान थिए । उनीहरू सूर्यवंशी क्षेत्रीय थिए । जसले आफ्ना पाँच छोरी र चार छोरालाई देश निकाला गरेका थिए । उनीहरू हालको कपिलवस्तु छेत्रको भागीरथी नदीको जङ्गल छेउ कपिल मुनि ऋषिको आश्रम नजिक आएर बसे । शाक्य वंशको सुरुवात त्यस वेलाबाट भयो भनि डा. उद्धव पुरीले गोरखापत्रमा लेख्नु भएको छ ।
ती मध्ये अविवाहित जेठी छोरी प्रियालाई कुष्ठ रोग भए पछि कोल वृक्ष मुनि बसे रोग निको हुन्छ भन्ने तत्कालीन मान्यता अनुसार एकान्त जङ्गल पठाइयो । बनारसका राजा पनि कुष्ठ रोग निको पार्न त्यही जंगलमा कोल वृक्ष मुनि बस्न आइपुगे । दुवैले उक्त वृक्षको फेदमा बसी आफ्नो रोग निको पारे र बिहे गरी सन्तान जन्माए । जो पछि राज्यको रूपमा विकसित भयो र कोलिय गणराज्य भयो भन्ने भनाइ छ ।
कपिलवस्तु र कोलिय गणराज्यको पूर्व उत्तर सीमा रोहिणी नदी थियो । गौतम बुद्धका आमा, सानीमा र पत्नी यसोधारा सोही कोलिय राज्यका राजकुमारी थिए भन्ने भनाइ छ ।
बुद्धका बारेमा विभिन्न कहावत छन् । बुद्धले महिनौँ दिन न नुहाए पनि शरीर गनाउँदैनथ्यो । उहाँको जीउ केराको थाम जस्तो सुडौल थियो । हातका रेखा बाङ्गा टिङ्गा नभई सिधा र गहिरा थिए भनिन्छ ।
बद्धको देहवसान पछि सारनाथका मल्ल राजाले उहाँको अस्तु आठ ठाउँमा बाँडे । त्यस मध्ये ६ ठाउँमा उहाँका अनुयायीले लगे । दुई ठाउँ कपिल बस्तु र रामग्राममा उहाँका आफन्तहरूले अस्तु लगी स्तुपामा राखे ।
त्यसको २ सय ५० वर्ष पछि सम्राट अशोकले सबै भत्काएर अस्तु लगेर हजारौँ स्तुपा बनाए । रामग्राम नवलपरासीको स्तुपाको अस्तु भने लैजान सकेनन् ।
बुद्धको खास अस्तु हाल त्यहाँको स्तुपामा छ भनिन्छ । तर त्यसको संरक्षण र उत्खननमा राज्यले ध्यान दिन सकेको छैन । यदि त्यो पत्ता लगाएर डीएन्ए परीक्षण गर्ने हो भने धेरै तथ्य सार्वजनिक हुने छ ।
