- कमलप्रसाद चाैलागाईं-
विश्व शान्तिका संवाह गौतम बुद्धको विचार र दर्शन वर्तमान विश्वमा अझ सान्दर्भिक बन्दै गएको छ । विश्व शान्ति कायम गर्न बुद्ध दर्शन महत्त्वपूर्ण माध्यम बन्न सक्छ भन्ने कुरामा दूईमत छैन ।
नेपालको लुम्बिनीमा जन्मनु भएका सिद्धार्थ गौतम जन्मनु भएको, उहाँले बुद्धत्व प्राप्त गर्नु भएको र देह त्याग गर्नु भएको दिन एकै दिन पर्दछ । उहाँ वैशाख पूर्णिमाकै दिन जन्मिनुभयो, सोही दिन बुद्धत्व प्राप्त गर्नुभयो र उहाँको देह त्याग पनि बैशाख पूर्णिमाकै दिन भयो ।
गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुनुहुन्छ । बौद्ध परम्पराले उहाँलाई कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछ । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ ।
गौतम बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम थियो । तर सिद्धार्थको जन्म भएको सात दिनपछि सौतेनी आमा गौतमीले पालनपोषण गरेको हुनाले उहाँकै नामबाट बालकको नाम पनि गौतम राखिएको हो भन्ने भनाइ छ ।
सिद्धार्थ बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौँ शताब्दीका धेरैजसो इतिहासकारहरू उहाँको जीवनकाल ५६३ ईसापूर्व देखि ४८३ ईसापूर्व रहेको भन्ने कुरामा एकमत छन् । पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उहाँको मृत्यु ४८६ देखि ४८३ ईसा पूर्वको बिचमा भएको अनुमान गरिन्छ । तथापि उहाँको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन हाल नेपालको रुपन्देही जिल्लाको लुम्बिनीमा भएको कुरामा भने एकमत छ । गौतम बुद्धसँग जोडिएका केही तथ्य तथ्याङ्क यहाँ प्रस्तुत गरिएको छ ः
बुद्धको महापरिनिर्वाण ( देहान्त)
बुद्ध यात्रा गर्दै जाँदा पावा नामको गाउँमा पुग्नुभयो । जहाँ उहाँलाई चुंद कम्मारपुत्र नामको लोहारले भात, रोटी र मद्वव (मसालेदार खाना) खान दिए । मद्वव अरूले पचाउन सक्दैनन् भनेर बुद्धले केही आफूले खाइ अरू जमिनमा गाडिदिनुभयो ।
भात र रोटी अरूलाई खान दिनुभयो । खाना खाएपछि बुद्धलाई पेटमा पिडा भयो । उहाँले म थाकेँ, यो च्यादर ओच्छाइदेउ र कुकुत्था नदीबाट पानी ल्याऊ, प्यास लाग्यो भनेर भिक्षु आनन्दलाई बुद्धले भन्नुभयो । उहाँ त्यही कुकुत्था नदीमा नुहाएर किनारामा चिवर ओच्छाई सुत्नुभयो ।
केही छिन पछि उठेर हिरण्यवती नदी तरेर अन्तमा कुशिनारा पुग्नुभयो । कुशिनारा पुगे पछि बुद्धले भन्नुभयो, ‘मेरो जन्म पनि सालको रुखको बिचमा भएको थियो, अब अन्त पनि सालको रुखको बिचमा हुन्छ, कुशिनारामा जम्ल्याहा सालको रुख छ त्यही लगेर सुताऊ, अब मेरो अन्तिम घडी आयो ।’
उहाँले यसो भनेपछि आनन्द लगायत सबै जना रुन थाल्नुभयो । बुद्धले भन्नुभयो, ‘मैले सुरुमै भनेको थिएँ– कि जुन चिजको उत्पत्ति हुन्छ त्यो अनिवार्य रूपमा मर्छ, किन रुन्छौ ?’
आफू मरे पछि मलाई गुरु भनेर नहिँड्नु भन्दै बुद्धले अर्थ्याउनुभयो । उहाँले आफूलाई मूर्ति बनाएर पुज्नु पनि नपर्ने बताउनुभयो ।
इसापूर्व ४८३ को पूर्णिमाको मध्य राती त्यही सालको वनमा बुद्धले अन्तिम वाक्य ‘अप्पो दिपो भव’ (स्वयमको निम्ति प्रकाश वन) भन्ने वाक्य निस्कियो । त्यस पछि उहाँले देह त्याग गर्नुभयो ।
बुद्धको अस्तु
बुद्धको देहान्त भएको ६ दिनसम्म टाढा टाढादेखि मान्छेहरू बुद्धको दर्शन गर्न आए । सातौँ दिनमा बुद्धको दाह संस्कार गरियो ।
उहाँको अस्तु कसले लैजाने भनेर मगध राज्यका राजा अजातसत्रु , कपिलवस्तुका शाक्य र वैशालीका लिच्छवि बिच ठुलो विवाद भयो । झगडा शान्त नभए पछि द्रोण नामक व्राम्हणले सम्झौता गराई अस्तु आठ भागमा बाँडिदिनुभयो । आठ राज्यका आठ स्तुपामा त्यो अस्तु राख्ने निर्णय भयो ।
त्यस ताका कुशिनारामा मल्लहरू राज्य गर्दथे । अस्तु वितरण गरिएका आठ राज्यमा अलाकप्पा, कपिलवस्तु, कुशिनारा, पावा, राजगहा, रामग्राम, वैशाली, वैप्दिप हुन ।
बुद्धको महापरिनिर्वाण भएको ३ सय वर्ष पछि भारतका मौर्य सम्राट अशोकले सातवटा स्तूपहरू खोलेर त्यहाँबाट अस्तु झिकी आफ्नो साम्राज्यका विभिन्न स्थानमा वितरण गरी ८४ हजार स्तूप निर्माण गर्न लगाउनुभयो । सात राज्यका स्तूप (चैत्य) खोलेर अस्तु झिक्न सफल भए पनि रामग्रामको चैत्य भने स्थानीय नाग जातीका मानिसहरूले खोल्न दिएनन् । उनीहरूले पैला हामीलाई मार्नोस् अनि मात्रै खोल्नोस् भनेर स्तुपामा पहरा दिएर राखे ।
उनीहरूको बुद्ध प्रतिको अगाध आस्था देखेपछि सम्राट अशोक त्यत्तिकै फर्किए । त्यसैले रामग्राम चैत्यको गर्भमा रहेको बुद्धको अस्तु सुरक्षित छ भन्ने विश्वास गरिन्छ ।
कहाँ कहाँ पर्छन् बुद्धको अस्तु बाँडिएका ठाउँ ?
बुद्धका अस्तु बाँडिएका आठ ठाउँ मध्ये ६ वटा ठाउँ भारतमा नै पर्दछन् । दुईवटा ठाउँ मात्र नेपालमा छन् ।
अल्लाकप्प : यो भारतको मुजफ्फरपुरमा पर्छ । जहाँ त्यस बेला वुलीहरुको शासन थियो ।
कपिलवस्तु : नेपालको लुम्बिनीमा पर्छ । जहाँ त्यस वेला शाक्यहरूको शासन थियो ।
कुशिनारा : यो स्थान भारतको गोरखपुरबाट ५३ किलाेमिटर टाढा सिवान जिल्ला मा पर्छ छ । जहाँ त्यस वेला मल्लहरूको शासन थियो ।
पावा : यो स्थान पनि भारतको गोरखपुर नजिक पर्दछ । जहाँ त्यस बेला मल्लहरूको शासन थियो ।
राजगिर : भारतको पटनाबाट एक सय किलाेमिटर दक्षिण पूर्व पहाडले घेरेको घाँटी रूपमा यो स्थान रहेको छ । जहाँ त्यस बेला मगधहरुको शासन थियो र राजधानी त्यहीँ थियो ।
रामग्राम : नेपालको पश्चिम नवलपरासीमा पर्दछ । जहाँ त्यस बेला कोलियहरुको शासन थियो ।
वैशाली : भारतको मुजफ्फरपुरबाट ३६ किलोमिटर दक्षिणपूर्वमा या स्थान पर्दछ । जहाँ त्यस बेला लिच्छवीहरूको शासन थियो ।
वैप्दीप : यो स्थान भाारतको पावा नजिक ब्राम्हणवस्तीमा पर्दछ । ।जहाँ त्यस वेला वेथादिपका राजा थिए ।
रामग्राम र नेपाल सरकार
बुद्ध पूर्णिमाको अघिल्लो दिन विसं २०८१ जेठ ९ गते बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री हितबहादुर तामाङले रामग्राम स्तूपको गुरु योजना मन्त्री परिषदबाट स्वीकृत गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बुद्धको अस्तु धातु रहेको रामग्राम ( तत्कालीन कोलिय राज्यको राजधानी ) लाई बुद्ध जन्म स्थल लुम्बिनीसँग जोडेर एकीकृत विकास गर्ने गरी रामग्राम स्तूप क्षेत्रको २०७८ सालमा गुरु योजना बनाइएको थियो ।
ग्रेटर लुम्बिनी नामक उक्त गुरु योजनाले स्तूप क्षेत्रको १ सय १७ बिघा जमिन समेटेको छ । जग्गा अधिग्रहणको लागि १ अर्ब ५० करोड र संरचना निर्माणको लागि ५ अर्ब ५० करोड रुपैँया लागत अनुमान गरिएको छ । यो स्तूप स्थल नवलपरासी पश्चिम को सदरमुकाम परासीदेखि ३ किलोमिटर दक्षिणमा रहेको रामग्राम नगरपालिका वडा नं ७ स्थित झरही नदीको किनारामा रहेको छ ।
लुम्बिनी क्षेत्रको एकीकृत विकास नहुँदा लुम्बिनी आएका पर्यटकहरू बुद्धको मावली गाउँ देवदह ( हालको पण्डितपुर ), अतु धातु रहेको रामग्राम, सिद्धार्थ गौतम हुर्केको तिलौराकोट पुग्न सकेका छैनन् ।
बुद्ध र कार्ल मार्क्स
ईसं १८६१ मा मा कार्ल कोपेन्सले बुद्धका शिक्षा भएका जर्मन भाषामा लेखिएको किताब कार्ल मार्क्सलाई पढ्न दिनुभयो । ५ वर्ष पछि एन्टोनिटी फिलिपसँग भेट हुँदा कार्ल मार्क्सले बुद्धको शिक्षा अनुरूप मन लाई शून्य अवस्थामा राख्ने अभ्यास गर्ने गरेको बताउनुभएको थियो । त्यसैले कार्ल मार्क्स समेत बुद्ध दर्शनबाट प्रभावित हुनुहुन्थ्यो भन्न सकिन्छ ।
