-डा. सुन्दरी पोखरेल-
एकादेशमा एकजना असाध्यै फटाहा मानिस थिए । मर्ने बेला भएपछि उसले भनेछ– मैले बाँचिन्जेल सबैलाई दुःख दिएँ, म प्रायश्चित गर्न चाहन्छु । त्यसैले मरेपछि मेरो लाश घिसार्दै घाटसम्म लगिदिनु । गाउँलेले त्यसै गरे । घिसार्दै लाश लगेको देखेपछि प्रहरी आएर सबैलाई पक्रेछ । ती फटाहा मानिसले पहिले नै प्रहरीमा गाउँलेले मलाई मार्न लागेका छन् भनेर उजुरी दिएका रहेछन् ।
त्यसपछि ती गाउँलेको हालत के भयो भन्ने प्रष्ट छ । ती गाउँलेकै जस्तो हालत राष्ट्रपति रामचन्द्र पौडेलको बनाउने पुष्पकमल दाहाल प्रचण्डको उद्देश्य देखियो । म प्रधानमन्त्री पदबाट खुस्कन्छु, त्यसपछि धारा ७६ को उपधारा ३ अनुसारको सरकार बनाउनु है भनेर प्रचण्डले पहिले नै भनिसक्नुभएको छ । तर, रामचन्द्र पौडेल सजिलै प्रचण्डको चंगुलमा फस्नुहुन्छ जस्तो लाग्दैन ।
यतिखेर रामचन्द्र पौडेललाई प्रयोग गरेर नेपाल देशलाई एम्बुसमा पार्ने प्रयास भइरहेको छ । कांग्रेस र एमाले मिलेको धेरैलाई मन परेको छैन । कांग्रेस एमाले मिल्दा सत्ताको परिधीबाट बाहिर पर्ने पार्टी र नेताहरुलाई मन नपर्नु स्वाभाविक हो । तर, कैयन विदेशी शक्तिहरुलाई पनि कांग्रेस एमाले मिलेको मन परेको छैन । नेपाल सधैं अस्थिर होस् भन्ने चाहना राख्ने विदेशी शक्तिहरुलाई कांग्रेस एमाले मिलेको पटक्कै मन परेको छैन । त्यसैले उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रयोग गर्न अथवा गलत सल्लाह दिन सक्छन्, दवाब समेत दिन सक्छन् ।
अबको राजनीतिक परिदृष्य कस्तो हुने भन्ने प्रतिनिधि सभाको बहुमतले बताइसकेको छ । प्रतिनिधि सभाको बहुमतले निर्देशित गरेको बाटोमा मुलुक जानैपर्छ । त्यसो नगरेर षडयन्त्र गरिन्छ भने देशले ठूलो क्षति भोग्नुपर्ने हुन्छ ।
प्रतिनिधि सभामा नयाँ सरकार बनाउने सम्भावना रहेसम्म विघटन हुन सक्दैन भन्ने अदालतले मान्यता स्थापित गरिसकेको छ । त्यसै गरी नयाँ सरकार संविधानको धारा ७६ को उपधारा २ अनुसार गठन हुनसक्छ भन्ने पनि नजिर स्थापित भइसकेको छ । प्रतिनिधि सभाका बहुमत सदस्यहरुले उपधारा २ अनुसार सरकार गठन गर्न राष्ट्रपतिलाई हस्ताक्षर पनि बुझाइसकेका छन् । यस्तो अवस्थामा राष्ट्रपतिले परामर्श र सल्लाहका लागि कानुनविद् तथा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई बोलाउनु कति जायज हो भन्ने आफ्नै ठाउँमा छ ।
जे भए पनि देशले पुष्पकमल दाहालको कुशासनबाट मुक्ति पाएको छ । पदबाट हट्दै गर्दा प्रचण्डले माथिको कथाको फटाहा मानिसको जस्तो शैली अपनाउनुभएको आरोप त कसरी लगाउनु ? तैपनि प्रवृत्ति भने केही मिल्छ । आफू प्रधानमन्त्रीबाट हट्दा देश जलोस् भन्ने कुत्सित विचार प्रचण्डमा देखियो । आज प्रतिनिधि सभा वैठकमा उहाँले दिनुभएको अभिव्यक्तिले त्यस्तै संकेत गर्छ ।
पदबाट हट्ने निश्चित भएपछि प्रचण्डले उही पूरानो रुप देखाउन खोज्नुभएको छ । उहाँले जातजाति तथा धर्मावलम्बीहरु बीच द्धन्द भड्काउने शैलीको अभिव्यक्ति दिनुभएको छ । कथित जनयुद्ध र शान्ति प्रकृयामा आएपछि प्रचण्डले नेपालमा जातीय तथा धार्मिक भावनामा खेलेर विभाजन ल्याउने खेल खेल्नुभएको थियो । कांग्रेस र एमालेले संविधान संशोधन गर्ने मनसुवा राखेपछि त्यसको काउन्टरमा प्रचण्डले भड्काउपूर्ण अभिव्यक्ति दिनुभएको हो ।
प्रचण्डले अचानक विभिन्न जातीय समुदाय, थारु, मधेसी, जनजाति, दलित, महिला आदिलाई सम्झनुभएको छ । ती सबै समुदायले आफ्ना कारणले अधिकार पाएको दावी गर्नुभएको छ । अब सबैको अधिकार कांग्रेस एमालेले खोस्न खोजेको हावादारी आरोप पनि लगाउनुभएको छ । कांग्रेस एमालेले सबैको अधिकार खोस्न खोजेको र आफूले त्यसको विरोध गर्ने, विद्रोह सम्म गर्ने चेतावनी दिनुभएको छ ।
हुँदै नभएका भाष्य सिर्जना गरेर त्यो भाष्यमाथि उभिएर विद्रोह गर्ने भनेर प्रचण्डले दिनुभएको चेतावनी हास्यास्पद छ । दलित, जनजाति, मधेसी, थारु, मुस्लिम, महिला आदिको प्रतिनिधित्व र अधिकार कांग्रेस एमालेले खोस्न खोजेको, त्यस विरुद्ध सबै उभिनुपर्छ भनेर प्रचण्डले दिनुभएको अभिव्यक्ति अस्वाभाविक छ ।
संविधान संशोधन नयाँ गठवन्धनको मुख्य एजेण्डा हो र हुनु पनि पर्छ । कांग्रेस एमालेले सबैको प्रतिनिधित्व हुने प्रणाली भत्काउन खोजेको भनेर माओवादीले लगाएको आरोप हावादारी छ भन्ने प्रष्ट छ । हो, कांग्रेस एमालेले साना दलले प्रधानमन्त्री उपप्रधानमन्त्रीको जिम्मेवारी पाउने र ठूला दलले ताली पिटेर रमिता हेर्नुपर्ने अवस्था अन्त्य गर्न चाहेका हुन् । अहिलेको संविधान अनुसार तेस्रो, चौथो, या पाँचौं दलको शासन चल्ने, मुख्य दल दर्शक बन्ने अवस्था छ । यो अवस्था सुधार गर्ने भन्ने कांग्रेस एमालेको प्रस्तावलाई बांगो अर्थ लगाएर प्रचण्डले आदिवासी, जनजाति, मधेसी, थारु, दलितको अधिकार खोस्न खोजेको भन्नुभयो । कुरा छ एकथोकको, आरोप छ अर्काे थोकको । कांग्रेस एमालेले किन संविधान संशोधन चाहेका हुन् भन्नेमा प्रवेश नगरी कसो गरेर सबैलाई उचाल्न र जातीय धार्मिक भावना भड्काउन सकिन्छ भन्नेमा प्रचण्ड केन्द्रीत हुनुभयो ।
लोकतन्त्रमा मुख्य दुईटा ठूला दल मिल्न हुँदै हुँदैन, यसो गर्नु अलोकतान्त्रिक हो भन्ने प्रचण्डको भनाई झनै हासउठ्दो लाग्यो । होला, मुख्य दुईटा दल मिल्नु अस्वाभाविक होला तर के मुख्य दुईटा दलको काँधमा पालैपिलो बसेर तेस्रो ठूलो दलले शासन चलाउनु चाहिँ लोकतान्त्रिक हो ? प्रचण्डलाई प्रधानमन्त्री पदमा कायम राखिराख्दा लोकतन्त्र खतरामा नपर्ने, जनअधिकार खतरामा नपर्ने तर प्रचण्डलाई पदबाट हटाउनसाथ लोकतन्त्र खतरामा पर्ने कसरी ? प्रचण्डलाई निष्कंटक पदमा राखिरहँदा सबैथोक ठिक हुन्, सुशासन पनि हुने, जनअधिकारको पनि संरक्षण हुने तर प्रचण्ड हट्नासाथ सबै खत्तम हुने रे । झुठको पनि हुद हुन्छ, हदैसम्मको झुठ र कुतर्क आज सुन्न पाइयो ।
नयाँ सरकार बनाएपछि कांग्रेस एमालेले जनतालाई के डेलिभरी दिन्छन्, विकास र राजनीतिक स्थिरतालाई कसरी स्थायित्व दिन्छन् हेर्न बाँकी छ । तर, प्रचण्ड सरकारले केही पनि दिएको थिएन । हो, यस बीचमा प्रचण्डका भाई राष्ट्रिय सभाका अध्यक्ष हुनुभयो । प्रचण्डकी पत्नीको नाममा बजेटबाट रकम छुट्याइयो । प्रचण्डका आफन्तहरुले राम्रै नियुक्ति पाए । प्रचण्डकी छोरीले नेपाल सरकारको प्रतिनिधित्व गरे झैं गरी विदेशी सरकार प्रमुखसँग प्रचण्डसँगै उपस्थित हुन पाएको देखियो । प्रचण्डका नातेदार र परिवारलाई फलीफाप हुँदा आदिवासी जनजाति मधेसी सबैले पाएको मानिने, प्रचण्ड र परिवार सत्ताबाट विस्थापित हुँदा सबैको अधिकार खोसिने अवस्था सिर्जना हुने भनी जुन भाष्य स्थापित गर्न खोजिएको छ, त्यो खेदजनक छ ।
फायल खोल्ने कुरा झन् रमाइलो छ । प्रचण्ड यति लामो समयसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो, खोई फायल खोलेको ? रवि लामिछानेले पनि फायल खोल्न नपाएको कुरा गर्नुभयो । महिनौंसम्म गृहमन्त्री पदमा रहँदा फायल नखोल्ने, पदबाट हटेपछि मात्र फायल खुल्छ भनेर रातारात कांग्रेस एमालेले सहमति गरेको बताउनुभयो । फायल खुल्नुपर्छ, कांग्रेस एमालेका नेताहरुको पनि फायल खुल्नुपर्छ, माओवादी र रास्वपाको पनि खुल्नुपर्छ । तर, नयाँ सरकार भ्रष्टाचारको फायल खुल्छ भन्ने डरले नै बनेको हो भन्ने प्रचण्डको भनाई पटक्कै पत्याउन सकिन्न । अँ, यस्ता तथ्यहीन, उत्तेजक र उरण्ठेउला कुरा सामाजिक सञ्जामा स्तरहीन कमेन्ट र लाइक बटुल्न सकिन्छ तर कुनै परिणाम आउँदैन ।
अंकगणितको बलमा, अर्काे शब्दमा भन्ने हो भने च्याँखे परेको भरमा प्रचण्डले यो देशमा शासन गर्नुभयो, कांग्रेस एमालेलाई मुसा खेलाए झैं गर्नुभयो । आज रमेश लेखकले भन्नुभएको एउटा वाक्य चित्तबुझ्दो लाग्यो । रमेशजीले भन्नुभयो– प्रतिपक्षमा बस्न लायक नेता प्रचण्डजी नै हो । रमेश लेखकको यो वाक्यमा मेरो के टिप्पणी छ भने प्रतिपक्षमा बस्नै नसक्ने नेता पनि प्रचण्ड नै हो । अब प्रचण्डले केके वितण्डा गर्नुहुन्छ हेर्दै जाउँला । तर, पूराना प्रचण्डले आजको नयाँ नेपाल चिन्नुहुन्न । प्रचण्ड पूरानै हुनुहुन्छ तर नेपाल नयाँ भइसक्यो । नयाँ नेपालले पूराना प्रचण्डको वितण्डा कुनै हालतमा सहँदैन । यो कुरा प्रचण्डले बुझे राम्रो ।
