-आनन्दप्रसाद पोखरेल-
नेकपा एमालेको नेतृत्वमा अहिले नेपाली कांग्रेससँगको सहकार्यमा गठबन्धन सरकार बनेको छ । झट्ट हेर्दा यो सरकार अस्वाभाविक र अप्राकृतिक लाग्न सक्छ । फरक बिचार, रणनीति, कार्यनीति र कार्यदिशा बोकेका तीव्र प्रतिस्पर्धी एमाले वा नेपाली कांग्रेसको सरकार बन्नु अचम्म मान्नु पर्ने विषय छ । तर वास्तविक यथार्थता यही हो । यो सरकार बन्नुमा यी दुई दलको चाहना भन्दा पनि राष्ट्रिय एजेण्डा र आवश्यकताले दुई प्रतिस्पर्धी दलको सरकार बनेको छ ।
राजनीतिक अस्थिरता, वैदेशिक हस्तक्षेप, भ्रष्टाचार, कुशासन, भूराजनीतिक जटिलता, साना राजनीतिक दलहरूको अस्वाभाविक बार्गेनिङ र चलखेलले राष्ट्रको मुद्दा ओझेल पर्ने अवस्था रह्यो । संघीय लोकतन्त्र गणतन्त्र र समावेशी समानुपातिक प्रजातान्त्रिक पद्धतिको रक्षा विकास र सुदृढीकरण केही संविधान संशोधनको मुद्दालाई आत्मा साथ गर्दै दुई ठुला राजनीतिक दलले मिलेर सरकार बनाउन पर्ने बाध्यात्मक अवस्था बनेको हो । यति बेला सरकारसँग नेपाली जनताको अपेक्षा ह्वातै बढेका छन् । जनताको अपेक्षा पुरा गर्न नसके सरकार बनाउनुको औचित्य र प्रयोग भएका सबै अभ्यास असफल देखिने खतरा छ । अब यो सरकारलाई असफल हुने छुट छैन । त्यसैले जनताको निम्न अपेक्षा सम्बोधन जरुरी छ ।
खस्कँदो अर्थतन्त्रलाई सुधार गर्ने देखी राजनीति प्रति निराश बन्दै गएको जनता विशेषतः युवा जगतको आशा र चाहनालाई सम्बोधन गरी परिणाममुखी नतिजा दिनु यो सरकारको प्रमुख काम हुन आउँछ । शिथिल कूटनीतिक क्षेत्रलाई प्रभावकारी रूपमा परिचालन गरी छिमेक सम्बन्धमा सन्तुलन कायम गरी हाम्रो पालमा जारी गरेको चुच्चे नक्साले समेटेको भूभाग लिपुलेक कालापानी, लिम्पियाधुरा सहित नेपाली भूमि फिर्ता गर्ने पहल कदमी गर्नु, प्रबुद्ध समूहले तयार पारेको ईपीजी प्रतिवेदन भारतले बुझ्न नमानिरहेको अवस्थामा बुझाउने प्रक्रिया थाल्नु यो सरकारको अर्को काम हो । चीनसँग भएको बीआरआई सम्झौता कार्यान्वयन गर्न ईमपिल्मेण्ट सम्झौता, भ्रष्टाचार विरुद्धको अभियान सञ्चालन गर्दै सुशासन प्रवर्धन गर्नु र गराउनु पनि यो सरकारको दायित्व हो ।
विगतमा आफूले थालेको विकास योजना कार्यान्वयन गर्दै लैजानु पर्ने अवस्था छ । आर्थिक विकास मार्फत रोजगारी सृजना गरी गरिबी निवारण गर्नु पनि सरकारको प्रमुख दायित्वमा छ ।
समग्रतामा समृद्ध, नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्नु पर्ने छ । यसको लागि सत्ता समीकरणमा संलग्न दलहरूसँग समन्वय, संवाद र सहकार्यलाई निरन्तरता दिँदै सन्तुलित सम्बन्ध कायम राख्नु पर्ने छ । प्रतिपक्षी दललाई पनि विश्वासमा लिएर काम गर्नुपर्ने छ ।
नेकपा एमालेको ध्येय जनताका अपेक्षा र मुद्दा सम्बोधनले मात्र पुरा हुँदैन । पार्टीको मूल लक्ष्य र उद्देश्य भनेको एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनु हो । यसको लागि संगठन शुद्धीकरण र सुदृढीकरण गर्नु पर्ने छ । २०८४ को निर्वाचनमा एकल बहुमतको सरकार निर्माण गरी संविधानत नेपाली जनताको राष्ट्रिय आकाङ्क्षा विकास र समृद्धिको अभियान अघि बढाउनु एमालेको मुख्य ध्येय हो ।
पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशा पुरा गर्नु पर्ने छ । यसको लागि पार्टी कार्यकर्तामा देखिएका केही प्रवृत्तिगत कमजोरी हटाउनु आवश्यक छ । पार्टीमा अहिले विभिन्न कमिटीमा बस्न मरिहत्ते गर्ने, कमिटी बैठकमा उपस्थिति जनाउने र सेल्फि खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रवृत्ति बढ्दो छ । पार्टी सदस्यता मुस्किलले नवीकरण गर्ने र नेताहरूलाई खुइल्याउने कार्यकर्ताहरूको जमात बढ्दै गएको छ । पठन संस्कृति अभाव हुँदै गएको छ । लाइक माइण्डेडका नाममा खानपिनको आवारा संस्कृति बढेको छ । व्यक्ति विशेषलाई धुरी मानी चल्ने र पार्टीको निर्देशन नमान्ने प्रवृत्ति बढेको छ । गणितीय कार्य सम्पादन गर्न एस म्यान को कमिटी बनाउने र कमिटीमा जितेको गर्व गर्ने तरिकाले आजको राजनीतिक चुनौतीको सम्बोधन हुँदैन ।
प्रतिद्वन्दीलाई पराजित गरी श्रेष्ठता हासिल गर्नु आजको राजनीतिक कार्यभार हो । त्यसैले पार्टी कार्यकर्ता एमालेको र पार्टीको हुनु जरुरी छ । कमिटी पार्टीको हुनु पर्दछ । अराजक, पतनमुखी संस्कृति र दक्षिणपन्थी विसर्जनवादको सोच बोकेर व्यक्तिवादको जामा पहिरेर नेकपा (एमाले) को राजनीतिक कार्यदिशा पुरा गर्न सकिँदैन । यसबाट नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सकिँदैन । यस्तो तरिकाले पार्टी र कार्यकर्ता क्रान्तिकारी हुन सक्दैनन् । शुद्ध चित भएका अनुशासित क्रान्तिकारी पार्टी कार्यकर्ताको पङ्क्तिद्वारा बनेको सुदृढ पार्टी कमिटीले मात्रले निर्धारण गरेको पार्टीको लक्ष्य भेट्न सक्छ, पार्टीको लक्ष्य पुरा गर्न सक्छ । पार्टीका नेता तथा कार्यकर्ताहरूले पार्टी कामको महत्त्व बुझेर पार्टी काम पुरा गर्नु पर्दछ ।
नेपालको कम्युनिष्ट आन्दोलनको प्रवर्धन गर्न श्रमजीवी वर्गको राज्यसत्ता निर्माण गर्नको लागी लोकतान्त्रिक प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गरी जनवादको सुदृढीकरण गरी राष्ट्रिय पुँजीको निर्माण गरी समाजवादको आधार निर्माण गर्न समृद्धि नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्नु पर्दछ । यसको लागि नेकपा एमालेमा केपी शर्मा ओलीको नेतृत्वको विकल्प छैन । हामीसँग सही नीति छ, नेतृत्व छ, कार्यक्रम छ, संगठन छ, संगठनात्मक सिद्धान्त छ तर पनि किन पार्टीले लक्ष्य भेट्टाउन सकेको छैन ?
हामीसँग लाखौँ पार्टी सदस्य र विशाल कार्यकर्ता पङ्क्ति छ, तर पनि हामीले पार्टीको ध्येय र उद्देश्य पुर गर्न सकेनौँ । कारण हामीले निष्ठा, इमानदारता, अनुशासनले भरिएका कार्यकर्ता पङ्क्ति निर्माण गर्न सकेनौँ । कार्यकर्तालाई पार्टी काम के हो भन्ने बुझाउन सकेनौँ । पार्टी कार्यकर्ताले पार्टी काम भनेको कमिटीको पद धारण र नेतृत्वको सामीप्यता अनि कृत्रिम प्रतिवेदन र आशीर्वाद हो भन्ने बुझ्यो ।
केन्द्रीय पार्टी कार्यालय घुम्ने, नेतासँग फोटा खिच्ने, फोटो खिचे पछि सन्तोष व्यक्त गर्ने र पोष्ट गर्ने । त्यस बापत पार्टीमा प्रमोसन पाउन सकिन्छ भन्ने गलत बुझाइले प्रश्रय पाएको कारणले इमानदार पार्टी कार्यकर्ता कामबाट विमुख हुने अवस्था छ । नयाँ कार्यकर्ताले पार्टी कामको महत्त्व फरक ढङ्गले बुझेको वा नबुझेको कारण पार्टी काम ठिक ढङ्गले भएका छैनन् । त्यसैले पार्टीका हरेक नेता–कार्यकर्ताले निष्ठा र इमानका साथ पार्टी र सांगठनिक जीवनमा सम्पादन गर्नु पर्नु कामलाई निम्नानुसार २३ बुँदामा चर्चा गर्ने प्रयास गरिएको छ:
१) राजनीतिक काम: लोकतान्त्रिक प्रतिस्पर्धाबाट विपक्षलाई पराजित गरी श्रेष्ठता कायम गर्ने नीति बोकेको पार्टीले सबै नीतिको मूल नीति राजनीति हो भन्ने मान्यतालाई आत्मासाथ गर्दै विजय हुने र सरकार निर्माण गरी विकास र समृद्धिको मूल मार्गमा अगाडी बढ्ने हो । कार्यनीतिको आधारमा निर्वाचन वर्ग संघर्षको मोर्चा हो । यसमा हार्नु हुँदैन त्यसैले पार्टीका हरेक नेता–कार्यकर्ताले राजनीतिक कामलाई वर्गीय आन्दोलनको रूपमा बुझी लडाइँमा सधैँ जित्न तयार हुनु पर्दछ । कार्यकर्ता सधैँ सक्रिय, सक्षम, लगनशील र क्रियाशील हुनुपर्छ ।
२) वैचारिक क्षमता: राजनीतिमा दर्शन बिचार र वर्ग पक्षधरता महत्त्वपूर्ण पक्ष हो । राजनीति पार्टीका हरेक नेता–कार्यकर्ताहरूमा स्पष्ट विचारको लागि पार्टी प्रशिक्षण आवश्यक हुन्छ । त्यही विचारले राजनीतिलाई निर्देशित गर्नुपर्छ । नेकपा एमालेका नेता–कार्यकर्ताले वैचारिक रूपमा मार्क्सवाद लेनिनवाद र जनताको बहुदलीय जनवाद (जबज) को मार्ग दर्शनमालाई आत्मासाथ गर्दै अगाडी बढ्नु पर्दछ । बिचारको प्रष्टताले नै सबै खाले अराजकता र दक्षिणपन्थी अवसरवादलाई पराजित गर्न सक्छ ।
३) संगठनको काम: नेकपा एमाले लेनिनवादी संगठनात्मक सिद्धान्तलाई पालना गर्ने पार्टी हो । जनआधारित कार्यकर्ता पार्टी हो । कमिटी प्रणालीलाई व्यवस्थित गर्दै संगठनको कामलाई महत्त्वपूर्ण रूपमा अघि बढाउनुपर्छ । कमिटीहरू दुरुस्त राख्ने, नियमित बैठक, सदस्यता विस्तार नवीकरण र प्रशिक्षण गर्ने कामलाई निरन्तर गर्ने र त्यसका अभिलेख राख्ने जस्ता काम महत्त्वपूर्ण ढङ्गले सम्पादन गर्नुपर्दछ ।
४) आर्थिक काम: कमिटीलाई परिचालन गर्न र विभिन्न सामाजिक, वैचारिक र राजनीतिक अभियान अघि बढाउन पार्टी कमिटीहरूलाई आर्थिक रूपमा बलियो बनाउन आवश्यक हुन्छ । त्यसका लागि लेविको व्यवस्थापन, सदस्यता शुल्कको नियमितता, आर्थिक हिसाब–किताबको चुस्त राख्दै आवधिक लेखा परीक्षण गरी आर्थिक पारदर्शिता कायम राख्नु पर्दछ ।
५) पार्टी प्रचारको काम: पार्टी कामको महत्त्वपूर्ण अङ्ग पार्टी प्रचार हो । सूचनाको युगमा प्रचारका सबै माध्यमा डिजिटल लगायत सामाजिक सञ्जालको प्रयोगमा पार्टी कार्यकर्ता चनाखो र सिपालु हुनुपर्दछ । कमिटीका निर्णय सदस्यसम्म पुर्याउन सूचना आदान–प्रदान ज्यादै महत्त्वपूर्ण छ । त्यसको लागि प्रचारको काम महत्त्वपूर्ण हुन्छ । त्यसैले हरेक कमिटी र सदस्यले प्रचारको कामलाई व्यवस्थित र नियमित ढङ्गले अघि बढाउनुपर्छ । सामाजिक सञ्जालको प्रयोग गलत ढङ्गले हुन वर्तमान परिपाटीबाट पार्टी पङ्क्ति बच्नु पर्छ ।
६) कार्यालय सञ्चालन: पार्टी गतिविधिलाई नियमित, संस्थागत र व्यवस्थित गर्न कार्यालय संरचना तथा व्यवस्थापन महत्त्वपूर्ण हुन्छ । त्यसैले हरेक कमिटीले पार्टी कार्यालयको व्यवस्था गरी सञ्चालनलाई चुस्त दुरुस्त र नियमित गर्नु आवश्यक हुन्छ । सबै काम कार्यालय मार्फत गर्नुपर्दछ ।
७) निर्वाचित जनप्रतिनिधि परिचालन: राजनीतिक कार्यदिशा पुरा गर्ने माध्यम निर्वाचित जनप्रतिनिधि हुन् । तिन वटै तहका जनप्रतिनिधि परिचालन पार्टीको सबैभन्दा महत्त्वपूर्ण काम हो । नागरिकको सेवा सुविधा सुशान कायम गर्ने काम जनप्रतिनिधिको काम हो । यो काम पार्टी कमिटीले गर्न सक्दैन । त्यसको लागि पार्टीको घोषणापत्र, मूलभूत सिद्धान्त र कार्य योजना अनुसार कार्यान्वयन पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले गर्नु पर्दछ । जन प्रतिनिधि पार्टी कार्यकर्ता हुन् भन्ने कुरा बिर्सनु हुँदैन । यसै आधारमा पार्टी र जनप्रतिनिधि परिचालित हुनु पर्दछ ।
८) जनसंगठन परिचालन: नेकपा एमालेको पार्टी कार्यकर्ता र सदस्यको मुहान जनसंगठन हुन् । शक्तिको रूपमा विद्यार्थी, युवा, मजदुर, राष्ट्रसेवक, व्यवसायी, किसान, महिला, जनजाति, दलित लगायत सबै वर्ग, पेसा र तहको २३ वटा जनसंगठन रहेका छन् । ती जनसंगठनलाई मूल नीति र उद्देश्य अनुसार परिचालन गर्नु आवश्यक हुन्छ । समुदायलाई जनसंगठनमा आबद्ध गरी जनसरोकारका मुद्दा उठाई जनदबाब र जन संघर्षको लागी जनसंगठन परिचालित गर्नु पर्दछ ।
९) जनसरोकारका मुद्दा उठाउने: पार्टी सरकारमा रहँदा होस् वा प्रतिपक्षमा रहँदा हरेक अवस्थामा जनसरोकारका विभिन्न विषयलाई प्राथमिकताका साथ उठाउने र त्यस्ता विषयहरूको समाधानको लागि पार्टीका नेता–कार्यकर्ताले नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक हुन्छ । सरकारमा हुँदा घोषण पत्रको कार्यान्वयन र विपक्षमा हुँदा जनदबाब र जन संघर्ष गरी जनताका माग सम्बोधन गर्न परिचालित हुनुपर्दछ ।
१०) विकास र समृद्धिको अभियान: नागरिकको सम्पन्नताको लागि विकास र समृद्धि नै अहिलेको आवश्यकता हो । त्यसैले पार्टीका हरेक नेता–कार्यकर्ताले विकास र समृद्धिको अभियानमा नेतृत्व गर्नु पर्दछ । अभियान सञ्चालन गर्ने र अभियानमा सहभागी हुने कुरालाई प्राथमिकता दिनुपर्छ । जनताका विकासको मुद्दा उठाउन र समाधानको नेतृत्व गर्न चुक्नु हुँदैन ।
११) उद्यमशीलताको अभियान: मुलुकको विकास र आर्थिक वृद्धि लागि ठूला तथा साना उद्योगहरूको स्थापना, सञ्चालन र व्यवस्थापन महत्त्वपूर्ण हुन्छ । स्वाधीन आत्मनिर्भर अर्थतन्त्र निर्माण आजको आवश्यकता हो । त्यसैले पार्टीका हरेक नेता– कार्यकर्ता उद्यमशीलताको अभियानमा सक्रिय बन्नु पर्दछ, उद्यमी बन्नु पर्दछ । सबै नेता तथा कार्यकर्ताले नेपाली कानुनको अधीनमा रही चाहेको उद्योग सञ्चालन गर्न सक्छन् । उद्यमी र उद्योग स्थापना गरेर मात्रै राष्ट्रिय पुँजीको विकास हुन्छ । व्यक्ति, परिवार र समाजको सम्पन्नता उद्यमशीलतामा भर पर्ने हुनाले उद्यमशीलतामा कार्यकर्ता परिचालित हुनु र गर्नु पर्दछ ।
१२) जनपरिचालन, जनदबाब र संघर्षः कम्युनिष्ट पार्टी र नेता कार्यकर्ताले विभिन्न स्थानीय ,राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा जन संघर्ष सञ्चालन गर्न पर्दछ । आज पार्टी पङ्क्ति जनदबाब र जन सङ्घर्षबाट विमुख हुने स्थिति आएको छ । कार्यकर्ता कतिपय अवस्थामा पराधीन आश्रित र पलायन हुने स्थिति भएको छ । त्यसैले समृद्धि, नागरिक सुरक्षा र समुन्नतिको लागि जनपरिचालन, जनदबाब तथा संघर्ष आवश्यक हुने भएकोले यसको लागि समेत तयार रहनुपर्दछ । त्यसको नेतृत्व गर्न पार्टी हरदम तयारी अवस्थामा रहनु पर्छ ।
१३) आत्मनिर्भर, स्वाभिमान कार्यकर्ता निर्माण: पार्टी अनुशासन र सक्रियताको लागि हरेक कार्यकर्ता आत्मनिर्भर र स्वाभिमान हुन जरुरी छ । त्यसैले पार्टीका नेताहरूले आफू पनि आत्मनिर्भर र स्वाभिमान बन्ने र कार्यकर्तालाई पनि त्यसको लागि सहयोगी हुन तथा सहकार्य गर्नु आवश्यक छ ।
१४) परिवारको व्यवस्थापन: पार्टी कमिटीको चुस्तता र संगठन निर्माण अभियानमा निरन्तर लाग्न कार्यकर्ता सबै समस्या र झन्झटबाट मुक्त हुनु पर्दछ । त्यसको आधारमा नेता–कार्यकर्ताको सक्रियता बढ्छ र सहजै महत्त्वपूर्ण काम सम्पादन हुन्छ । हरेक नेता–कार्यकर्ता सक्रिय हुन पहिले उसले परिवारको व्यवस्थापन गर्न सक्नुपर्छ । त्यसैले हरेक कार्यकर्तालाई परिवार व्यवस्थापनको लागि आवश्यक मार्गदर्शन र सहयोग गर्नुपर्दछ ।
१५) सुशासन र भ्रष्टाचार विरुद्धको संघर्षः व्यक्तिगत, सामाजिक र राजनीतिक जीवनमा हरेक पार्टी कार्यकर्ताको आर्थिक अनुशासन सबैभन्दा महत्त्वपूर्ण हुन्छ । आफ्नो आर्थिक जीवन स्वच्छ, नैतिकवान बनाई पार्टीका हरेक नेता–कार्यकर्ताले सुशासन र भ्रष्टाचार विरुद्ध संघर्ष गर्न जरुरी हुन्छ । यसको लागि नेतृत्वदायी भूमिका निभाउनु पर्दछ ।
१६) अनुशासन पालना: व्यक्तिगत सफलताको लागि अनुशासन महत्त्वपूर्ण हुन्छ । व्यक्तिको सफलतामा पार्टीको सफलता जोडिएको हुन्छ । त्यसैले हरेक कार्यकर्ताले अनुशासन पालना गर्नु जरुरी हुन्छ । पार्टी जीवनमा पार्टी अनुशासनको ज्यादै महत्त्व छ । पार्टी कार्यकर्तामा उच्च कम्युनिष्ट अनुशासन र आचरण र उच्च नैतिकता पालन गरिनु पर्दछ ।
१७) द्वन्द्व समाधान: पार्टी भित्र, बाहिर समुदाय र समाजमा विभिन्न विषयमा अन्तर्विरोध र द्वन्द्व भइरहन्छ । एउटा कुशल नेता–कार्यकर्ताको सफलता उत्पन्न द्वन्द्व व्यवस्थापन र समाधान गर्न सक्षम हुनु पर्दछ । आफ्नो कारणबाट उत्पन्न अन्तर्विरोध होस् वा अन्यत्रबाट उत्पन्न अन्तर्विरोध, त्यसको हल गर्न सक्षम हुनु सफल नेताको मापन हुन्छ ।
१८) निर्देशन पालना गर्नु गराउनु: पार्टी जीवनमा उपल्लो कमिटी र नेताबाट प्राप्त हुने निर्देशन पालना गर्ने र तल्लो कमिटी तथा आफू मातहत कार्यरत कार्यकर्तालाई निर्देशन पालना गराउन नेतृत्व सिपालु हुनु पर्छ । अहिले देखिएको संगठानात्मक अराजकता पार्टीमा प्रवेश हुन दिनु हुँदैन ।
१९) सामुदायिक, सामाजिक र सांस्कृतिक कार्यहरूमा सहभागिता: पार्टीका हरेक नेता– कार्यकर्ता पार्टी संगठनको काममा मात्र नभई हरेक सामाजिक, सामुदायिक र सांस्कृतिक अभियानमा समेत सहभागी हुनुपर्दछ । यसले पार्टीको सफलतामा सहयोग पुग्ने छ । यो जनआधितिर कार्यकर्ताको महत्त्वपूर्ण मापन हुनेछ ।
२०) अनुगमन: हरेक नेता–कार्यकर्ताले व्यक्तिगत, सामूहिक र पार्टीगत रूपमा गरेका निर्णय कार्यान्वयनको अवस्था, कामको नतिजा र कमी–कमजोरी जान्नको लागि त्यस्ता कामको नियमित अनुगमन, मूल्याङ्कन जरुरी हुन्छ । कामको आधारमा कार्यकर्ताको मूल्याङ्कन गर्न परिपाटी सुरुवात गर्नु पर्दछ । जसबाट कार्यकर्ता नेता र नेतृत्वमुखी हुने परिपाटी अन्त हुन्छ । पार्टी भित्र कमिटीगत मूल्याङ्कन प्रणाली विकास हुन्छ । आजको आवश्यकता पनि यही हो ।
२१) निर्णायक राष्ट्रिय शक्ति निर्माण: मुलुकको समृद्धि र नागरिकको समुन्नतिको लागि नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनै पर्दछ र त्यसको लागि आम नेता–कार्यकर्ताको सक्रियता आवश्यक हुन्छ । कम्युनिष्ट पार्टीको लागि राष्ट्रिय शक्ति भनेकाे श्रमजीवी वर्ग, किसान, मजदुर, गरिब, विपन्न, निम्न पुँजीपति वर्ग र राष्ट्रिय पुँजीपति वर्ग हुन् । उनीहरूसँगको एकता उनीहरूकै सहयोग र समर्थनमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नु पर्दछ । यसको लागि हाम्रो नेतृत्वदायी भूमिका आवश्यक छ ।
२२) आलोचना र आत्मालोचना: कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताको एउटा महत्त्वपूर्ण काम र विशेषता भनेको कमिटी भित्र आलोचना र आत्मालोचना पद्धतिको विकास गर्नु हो । काम गर्ने क्रममा कमी–कमजोरी हुन सक्छन् । यस्तो अवस्थामा हरेक नेता–कार्यकर्ताले आलोचना र आत्मालोचना चेतको मूल विषय मानेर अगाडि बढ्नु पर्दछ । कतिपय समयमा स्वआलोचनको पद्धतिलाई पार्टी कमिटी भित्र स्थापित गर्न सक्नु पर्छ । जसको कारण पार्टीभित्र र बाहिर गलत संस्कारको अन्त हुन्छ । पार्टी कञ्चन र निर्मल हुन्छ ।
२३) निर्वाचन जिताउनु: नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको राजनीतिक कार्यदिशा शान्तिपूर्ण संवैधानिक र लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट श्रेष्ठता हासिल गरी जनवादी व्यवस्था सुदृढीकरण र राष्ट्रिय पुँजीको निर्माण गरी समाजवाद निर्माण गर्ने हो । यसको लागि पार्टीले निर्वाचन जित्नु पर्दछ । संसदीय राजनीतिक पद्धतिमा निर्वाचन महत्त्वपूर्ण हुन्छ । निर्वाचनमा बहुमत ल्याएर स्थानीय, प्रदेश र संघीय सरकारमा रहन सके मात्र नागरिकको पक्षमा काम गर्न सकिन्छ । त्यसैले पार्टीलाई हरेक मोर्चामा निर्वाचित गराउन पार्टीका नेता–कार्यकर्ता सक्रिय बन्नुपर्दछ ।
नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले हरेक पटक जन पक्षीय काम गरेको छ र यो पटक पनि त्यसको निरन्तरता देखिन्छ । तर पार्टीको एकल बहुमतको सरकार नभई सबै कुरा पुरा गर्न सकिने अवस्था हुँदैन । त्यसैले उल्लेखित २३ बुँदे विषय अवलम्बन गर्न सबै नेता कार्यकर्ताले सतर्कता, सजगता र सक्रियता पूर्वक प्रण गर्नु आवश्यक छ । निर्णायक विजयको लागि निर्वाचन रुपी वर्गसंघर्षमा विजय बनौँ र समाजवादको आधार निर्माण गरौँ ।
(लेखक नेकपा एमालेको पोलिटब्युरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज हुनुहुन्छ)
