-विक्रम के.सी.-
अति सुविधा सम्पन्न, विशाल, भव्य र अत्याधुनिक भवन । कम्पाउण्ड त कति ठूलो हो, कति, आँखैले नभ्याउने । सुरक्षा पनि त्यस्तै खत्रा । सर्वसाधारणले यहाँभित्र पस्न असम्भव जस्तै हुन्छ । तर, यति खत्रा भवनको मूल गेट भत्काइन्छ, भित्र हजारौं जनता पस्छन् । त्यसपछिको कथा तपाईंहरुलाई थाहै छ । यो कथा नभएर व्यथा हो, यो व्यथा हो बंगलादेशको । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको सुत्ने ओछ्यानमा समेत प्रदर्शनकारी पुगे अनि ताण्डव देखाए ।
बंगलादेश अहिले रगतमा डुबेको छ । आन्दोलन, उत्तेजना, उन्माद, हिँसा, साम्प्रदायिकतामा बंगलादेश चुर्लुम्म डुबेको छ । डुबेको बंगलादेशको रमिता शेख हसिनाले भारतमा बसेर हेरिरहनुभएको छ । १६ वर्षसम्म शेख हसिनाको एकछत्र शासन चल्यो त्यो देशमा । शेख हसिनालाई शक्तिशाली प्रधानमन्त्री भनेर पुग्दैनथ्यो, महाशक्तिशाली भन्न सकिन्थ्यो । सर्वशक्तिमान शेख हसिनाको शासन सकिँदा विश्वव्यापी तरंग उत्पन्न भएको छ । छिमेकमै भएकाले नेपालमा बंगलादेशको तरंग नआइपुग्ने कुरै भएन ।
भिडियाे:
अहिले सामाजिक सञ्जालमा एकथरी मानिसहरु नेपालमा पनि बंगलादेश जस्तै हुनुपर्छ, बंगलादेशमा जस्तै आन्दोलन गर्नुपर्छ भनिरहेका छन् । आफ्नो कालो अतित ढाकछोप गर्न तथा पद र अवसर खोज्दै छटपटिएका एकथरी राजनीतिक तत्व तथा पात्रहरु नेपाललाई पनि बंगलादेश जस्तो बनाउने रहर गर्दैछन् । रहर त जसले जे गर्न पनि पायो तर, त्यस्तो रहर पूरा हुन्छ त ? यो भने महत्वपूर्ण कुरा हो ।
विगतमा श्रीलंकाबाट राजापाक्षेहरु विदेश भागेको बेला पनि नेपालमा त्यस्तै हर्कत गराउन रहर गर्नेहरु जमजमाएका थिए । अहिले बंगलादेशको घटना हेरेर हौसिँदै छन् । तर, के नेपालमा पनि श्रीलंका या बंगलादेश जस्तै होला ? यो प्रश्नको जवाफ खोज्ने प्रयास गरौं ।
जवाफ खोज्ने क्रममा सुरुमै भनिहालौं, नेपालमा बंगलादेश या श्रीलंका जस्तो अवस्था आउने छैन । यसका अनेक कारण छन् । म क्रमश कारणहरु भन्दै जान्छु ।
कारण नम्बर १
श्रीलंकामा राजापाक्षेहरु भाग्दा त्यहाँ पूर्ण लोकतन्त्र थिएन, परिवारतन्त्र थियो । लोकतन्त्रको आडमा राजापाक्षेको परिवारले शासन चलाएको थियो । श्रीलंकाको विद्रोह राजापाक्षे परिवार विरुद्ध थियो । नेपालमा पूर्ण लोकतन्त्र छ, कुनै पनि परिवारको शासन छैन । संसद्बाट प्रधानमन्त्री छानिन्छन्, संसदबाटै प्रधानमन्त्री हटाइन्छन् । अनि, कसरी हुन्छ श्रीलंका जस्तो घटना ?
कारण नम्बर २
बंगलादेशमा लोकतन्त्रका नाममा एकतन्त्र थियो । शेख हसिनाको आवामी लिगको एकछत्र शासन थियो । नाम मात्रैको चुनाव हुन्थ्यो । दुई कार्यकाल प्रतिपक्षीले चुनाव लड्नै पाएन, शेख हसिना र उनको आसेपासे पार्टीले मात्र चुनाव लडे । सत्तापक्षले आफूले आफैंलाई विजयी घोषित गरेको थियो । त्यसैले त्यस्तो शासन विरुद्ध विद्रोह स्वाभाविक थियो । नेपालमा विभिन्न पार्टी छन्, तिनीहरु बीच प्रतिस्पर्धा हुन्छ । हारजित हुन्छ । चुनावमा जनताले भोट हाल्छन् । नेपालमा नेता र पार्टीहरु जनतासँग डराउँछन्, जनताप्रति जवाफदेही हुन्छन्, आउँदो चुनाव कसरी जित्ने भनेर मेहेनत गर्छन् । बंगलादेशमा जनता होइन सेनासँग डराउनुपर्ने राजनीति थियो । जनताले विद्रोह गरेपछि अहिले सेनाकै हातमा सरकार गएको छ । बंगलादेश र नेपालको राजनीतिक अवस्था तुलना नै हुन सक्दैन, अनि नेपाललाई पनि बंगलादेश जस्तो बनाउँछु भनेर एकथरी मानिसले रहर गरेर हुन्छ ?
कारण नम्बर ३
नेपाललाई श्रीलंका या बंगलादेश जस्तो बनाउँछु भन्नु अथवा बंगलादेश र श्रीलंकासँग तुलना गर्नु नै हास्यास्पद हो । नेपालमा कुनै पनि पार्टीलाई जनताले जिताउन या हराउन सक्छन् । कुनै पनि उम्मेदवारलाई जनताले पछारिदिन सक्छन् । संसद्ले प्रधानमन्त्रीलाई सडकमा पुराइदिन सक्छ । संसदले नयाँ प्रधानमन्त्री छान्न सक्छ । नेपालमा ७५ वर्ष यता कुनै पनि प्रधानमन्त्रीले एकलौटी दशौं वर्ष शासन गरेका छैनन् । नेपालमा पार्टी या नेताको तानाशाही चल्न सम्भव छैन । जब तानाशाह नै छैन भने कसरी विद्रोह हुन्छ ? तानाशाही भत्काउन आन्दोलन हुनु स्वाभाविक हो तर लोकतन्त्र भत्काउन जनताले आन्दोलन गर्नुपर्छ भन्नु हास्यास्पद हो ।
कारण नम्बर ४
श्रीलंकाका राष्ट्रपतिको आलिशान निवास हामीले देख्यौं । बंगलादेशकी प्रधानमन्त्रीको भव्य महल पनि देख्यौं । उनीहरुको निवासका अगाडि नेपालका प्रधानमन्त्रीको निवास केही न केहीको छ । बालुवाटार बस्ने कुनै पनि प्रधानमन्त्रीले त्यहिँको भाँडाकुँडा प्रयोग गर्ने हो, त्यहिँको पलङ दराज चलाउने हो । एउटा मध्यमवर्गीय नेपाली परिवारको बसोबास जस्तो हुन्छ, नेपालका प्रधानमन्त्रीको बालुवाटार निवास पनि त्यस्तै छ । प्रधानमन्त्री पदबाट हटेपछि हाम्रा प्रधानमन्त्रीहरु लुरुलुरु आफ्नो घरतिर लाग्छन् । बंगलादेश र श्रीलंकाका प्रमुखहरुको अति विलाशी निवास र नेपालका प्रधानमन्त्रीको साधारण बालुवाटार निवासको कुनै तुलना हुँदैन । अनि, नेपालका प्रधानमन्त्री विरुद्ध बंगलादेश र श्रीलंकाको जस्तो विद्रोह हुनुपर्छ भन्नु हास्यास्पद होइन र ?
कारण नम्बर ५
सबैभन्दा मुख्य कुरा, नेपालमा चुनाव हुन्छ । चुनाव हुने ग्यारेन्टी जस्तै छ । हार्ने उम्मेदवार दुईचारजनाले रुन्चे स्वरमा धाँधलीको आरोप लगाउनु बेग्लै कुरा हो नत्र चुनाव निष्पक्ष हुन्छ । चुनावका बेला कुन पार्टीले जित्छ र हार्छ भन्ने कसैलाई थाहा हुँदैन, भोट गनेपछि मात्र थाहा हुन्छ । नेपालको चुनावको पर्यवेक्षण गर्न विश्व समुदाय आउँछ । श्रीलंका र बंगलादेशमा चुनाव कसले जित्छ भन्ने पहिले नै निश्चित हुन्थ्यो, चुनाव, मतदान र मतगणना देखाउने दाँत मात्र थियो । त्यसैले त्यहाँ विद्रोह भयो । नेपालको लोकतन्त्र विश्वका उन्नत लोकतन्त्र भन्दा कम छैन । त्यसैले नेपालमा त्यस्तो विद्रोह हुँदैन र हुन सक्दैन पनि । भोट हालेरै सरकार फेर्न सकिन्छ भने विद्रोह किन हुन्छ र ?
श्रीलंका र बंगलादेशजस्तै नेपालमा पनि हुनुपर्छ भन्नेहरुका बारेमा अब चर्चा गरौं ।
नेपालमा पनि बंगलादेशमा जस्तै हुनुपर्छ भन्नेहरु सामाजिक सञ्जालमा देखा पर्ने गरेका छन् । त्यस्ता मान्छेहरु नेपाली समाजमा घृणा, निन्दा, नकारात्मक भावना फैलाउन पहिलेदेखि नै लागिपरेका हुन् । चुनाव जित्ने सम्भावना नभएका, चुनाव लड्ने आँट नभएका, चुनाव लडेर पनि जनताले नपत्याएका मानिसहरु पर्दा पछाडि बसेर फेसबुक, युटुब, ट्वीटरतिर घृणानिन्दाको उद्योग चलाउँछन् । नेपाली जनताको ठूलो हिस्सा अहिलेको राजनीतिक अवस्थासँग सन्तुष्ट छैनन्, उनीहरु देशमा विकास भएको हेर्न चाहन्छन्, भ्रष्टाचार नियन्त्रण भएको हेर्न चाहन्छन् । त्यसैले जनताको ठूलो हिस्साले असन्तुष्टि पोखिरहन्छ । जनताले स्वाभाविक रुपमा पोख्ने असन्तुष्टिमाथि आफ्नो अतिरञ्जित विचार मिसाएर जनतालाई नै दिग्भ्रमित पार्ने तत्वहरु छन् । त्यस्ता तत्वहरुले श्रीलंका र बंगलादेशको शासनसँग र त्यहाँका नेताहरुसँग नेपालको तुलना गरिरहेका छन । आफ्नो देशलाई खत्तम भन्दा आनन्द मान्ने एकथरी नेपाली छन, आफ्नो देश र आफ्नो देशका नेताहरुलाई जति गाली गर्यो उति आनन्द मान्ने एउटा सानो जमात छ । त्यस्तो जमातले पनि नेपाललाई बंगलादेश बनाउने काल्पनिक रहर गरिरहेका छन् ।
बंगलादेश र श्रीलंकाका जनताको असन्तोषमा विदेशी शक्तिहरुले खेल्नसम्म खेले । तर, नेपालमा त्यसरी विदेशीलाई खेल्न दिइँदैन । हो, हामी हाम्रा नेताहरुसँग असन्तुष्ट छौं, विकासको गतिसँग असन्तुष्ट छौं, भ्रष्टाचारबाट आजित भएका छांै । यसो भन्दैमा हाम्रो असन्तुष्टिको बुई चढेर नेपाललाई अस्थिर र अशान्त बनाउने विदेशी षडयन्त्र कुनै पनि हालतमा सफल हुन दिँदैनन् नेपाली जनताले । यो कुरा सबैले कान खोलेर सुने हुन्छ ।
हाम्रो देश नेपाल सुन हो, पित्तल होइन । अरु देशको पित्तल देखेर हाम्रो देशलाई पनि पित्तल नभनौं । हाम्रो देश राम्रो देश, हाम्रो नेपाल हामीलाई प्यारो छ । कसैले अतिरञ्जित उत्तेजना फैलाउँदैमा हाम्रो प्यारो नेपाललाई हिँसा र अराजकतामा फस्न कदापी दिँदैनौं ।
अन्तिममा,
कुनै पनि विदेशी शक्तिले नेपाललाई बंगलादेश या श्रीलंका बनाउने सपना देखेको छ भने त्यो पूरा हुन दिइने छैन । नेपाली जनता बंगलादेश या श्रीलंकाका जनताजस्तो अनावश्यक उत्तेजनामा आउँदैनन् । जतिबेला सडकमा निस्कनुपर्छ, नेपाली जनता निस्कन्छन् । ०७ सालमा सडकमा निस्किएकै हुन्, ०३६ सालमा सडकमा आएकै हुन्, ०४६ सालमा आन्दोलन गरेकै हुन्, ०६२। ०६३ मा लाखौं नेपाली सडकमा निस्किएकै हुन् । नेपाली जनता लोकतन्त्र ल्याउन सडकमा निस्किएका छन् तर लोकतन्त्र भत्काउन निस्कँदैनन् । यो कुरा सबैले बुझेको राम्रो ।
