काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका—५ थामेमा थामे खोलाले पुर्याएको क्षतिको विवरण लिनु भएको छ ।
प्रधानमन्त्रीले गत साउन ३२ को हिमताल बिस्फोटबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे आइतबार स्थलगत अवलोकनमा गएको टोलीसँग जानकारी लिनुभएको हो । घटनास्थलमा पुगेर फर्किनुभएका रक्षा मन्त्री मानवीर राई, जनप्रतिनिधि तथा सम्बन्धित निकायका उच्च अधिकारीसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले सो विषयमा जानकारी लिनुभएको छ । बस्तुस्थितबारे जानकारी लिएपछि प्रधानमन्त्री ओलीले केन्द्र सरकारका तर्फबाट तत्काल गर्नुपर्ने काम र निर्णयहरू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैठकमा रक्षा मन्त्री राई, राष्ट्रिय सभा सदस्य सोनाम गेल्जेन शेर्पा, कोसी प्रदेश सभा सदस्य बुद्धिबहादुर राजभण्डारी, मुख्यसचिव लीलादेवी गड्तौला, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिङ्माछिरी शेर्पा, उपाध्यक्ष टासील्हमु शेर्पा लगायतको सहभागिता रहेको थियो ।
स्थलगत प्रतिवेदनमा तत्कालका लागि खाद्यान्नलगायतका राहत र क्षतिपूर्तिका साथै बिजुली, टेलिफोनलगायत अत्यावश्यक सेवा सञ्चालन हुनुपर्ने सिफारिस गरिएको छ । क्षतिको विस्तृत विवरण अध्ययन गरी अन्य हिमतालको जोखिमको अवस्थाबारे विभिन्न क्षेत्रका विषय विज्ञको संयुक्त टोलीबाट अध्ययन हुनुपर्ने र पुनः निर्माणको कार्ययोजना बनाइ कार्यान्वयन गर्नुपर्ने सुझाव टोलिले दिएको छ ।
सो बाढीले १७ घर र एक विद्यालय तथा एक स्वास्थ्य संस्थामा क्षति पुगेको छ । घटनामा कुनै पनि मानवीय क्षति भने हुन पाएन ।
