काठमाडौं । अमेरिका र भारतको नेपाल नीतिमा ठूलो फेरबदल आएको विचार नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द थापाले राख्नुभएको छ ।
विगतमा अमेरिकाले प्रयाजसो भारतको आँखाबाट नेपाललाई हेर्ने गरेको थियो तर अब आएर भारत र अमेरिकाको बाटो फरक भएको विचार गोविन्दको छ ।
उहाँको भनाई छ— चीनलाई घेर्ने नीति भन्दै अमेरिकाले भारतलाई समेत घेर्ने नीति लियो । परराष्ट्र मन्त्री आरजू देउवा राणाको भारत भ्रमणको अर्थ के हो ? आरजूले त्यति ठूलो महत्व पाउनुको कारण के हो ? यो बारे विचार राख्दै नेकपा गोविन्दले भारत र अमेरिकी नीतिको चर्चा गर्नुभएको हो । गोविन्दको विचारमा चीन व्यापारिक देश हो, शान्तिमा मात्र व्यापार हुने भएकाले चीन शान्तिको पक्षमा उभिन्छ, अमेरिकाले युद्धबाट फाइदा उठाउँछ, त्यसैले अमेरिका युद्ध चाहन्छ ।
बंगलादेश घटना र नयाँ विश्व परिस्थितिमा भारत कमजोर भएको निष्कर्ष निकाल्दै कमजोर भएकै कारण छिमेकीहरुप्रतिको व्यवहारमा नरमी गरेको विचार गोविन्दले राख्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो पोष्ट गरेर थापाले भन्नुभएको छ— ‘अहिले अमेरिकाको एकछत्र राज ओरालो लाग्दै गएको छ । अमेरिकाका लागि चीन ठूलो चुनौती बनेर उपस्थित भएको छ । अमेरिकाको सबै रणनीति चीन विरुद्ध केन्द्रीत देखिन्छ ।
यो परिस्थितिमा चीनको दक्षिणमा रहेको बंगलादेशमा अनपेक्षित घटना भयो ।’ बंगलादेशमा तख्ता पलट हुँदा भारत स्तब्ध भएको ठहर गर्दै गोविन्दले भन्नुभएको छ— ‘बंगलादेशको घटनाले दक्षिण एसियाको राजनीतिलाई नयाँ मोडमा ल्याइदियो । बंगलादेशमा भएको आन्दोलनको पर्दा पछाडि अमेरिका छ भन्ने प्रष्ट हुँदै गयो ।’ बंगलादेशको तख्ता पलटमा हिन्द महासागरको किनार क्षेत्रमा बंगलादेश र म्यानमारलाई टुक्राएर नयाँ देश बनाउने अमेरिकी दाउपेचले काम गरेको उहाँको विचार छ ।
बंगलादेश घटनापछि भारतको अवस्थाको विष्लेषण गर्दै गोविन्दले भन्नुभएको छ— ‘बंगलादेशको अस्थिरता, त्यहाँ भएको अमेरिकी खेल र दक्षिण एसियामा चीनलाई घेर्ने नाममा भारतलाई पनि तह लगाउने अमेरिकी रणनीति खुलस्त भएपछि भारत निकै आत्तिएको देख्न सकिन्छ । किनभने बंगलादेशमा अस्थिरता हुनु भनेको भारतलाई सुरक्षा थ्रेट हो । बंगलादेशको उत्तरी क्षेत्रमा भारतका सात राज्य पर्छन् जसलाई सेभेन सिस्टर भनिन्छ । बंगलादेशका कारण सेभेन सिस्टरको सुरक्षामा भारतले खतरा देखेको छ भन्ने कुरा अहिले प्रष्ट देखिँदैछ ।’
आफ्नो भिडियो ब्लगमा गोविन्द भन्नुहुन्छ— ‘भारतलाई थाहै नदिई बंगलादेशमा अमेरिकाले खेल्यो भन्ने भारतीय बुझाई अब लुकाएर लुक्दैन । बंगलादेशमा भारत जिल्ल परेकै हो । चलनचल्तीको भाषामा भन्ने हो भने बंगलादेशमा भारतलाई अमेरिकाले हेरेको हेरै बनाइदियो । बंगलादेशका कारण भारत ठूलो अप्ठेरोमा परिरहेको छ । यस्तो बेला उसले आफ्ना अन्य छिमेकीहरुलाई साथ लिनुपर्ने भयो ।
खासगरी सेभेन सिस्टर राज्यहरुमा नेपालको पनि प्रभाव पर्छ । यही कारण भारतमा नयाँ नियुक्त भएका विदेश सचिव विजय मिश्री नियुक्त हुनासाथ नेपाल आएको हामीले देखिसक्यौं । बंगलादेशका कारण भारतलाई सुरक्षा चुनौती बढ्दै गएको बेला विदेश सचिवले नेपालका परराष्ट मन्त्रीलाई भारत भ्रमणको निम्ता दिइएको हो ।’ नेपालका परराष्ट्र मन्त्रीलाई भारतले ठूलो महत्व दिनुको कारण उल्लेख गर्दै गोविन्दले भन्नुभएको छ— ‘आरजूलाई महत्व दिनुको मुख्य कारण बंगलादेश हो भने अर्काे कारण विश्व राजनीतिमा भारतको खस्कँदो अवस्था हो ।
केही वर्ष यता भारतले अमेरिका, रुस, चीन सबैलाई खेलाउने प्रयास गरिरहेको थियो । नेपालको राजनीतिमा प्रचण्डले जस्तो खालको अवसरवादी भूमिका खेलिरहनुभएको थियो, विश्व राजनीतिमा भारतले पनि प्रचण्डकै शैलीमा खेलिरहेको थियो । यही उछलकूद गर्ने क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसको भ्रमण गर्नुभएको थियो । मोदीले रुस भ्रमण गर्दा अमेरिका सहित पश्चिमा देशहरु रिसाए । त्यसैले उनीहरुले भारतको सुरक्षामा अदृष्य तरिकाले विभिन्न सुरक्षा चुनौती खडा गरिदिए । चेपुवामा परेको अवस्थामा भारतले छिमेकी देशहरुको साथ लिनैपर्ने भयो । यही कारण नेपालका परराष्ट मन्त्रीलाई भारतले विशेष महत्व दियो ।’ बंगलादेश घटनापछि दक्षिण एसियामा भारत निकै अप्ठेरोमा परेको निष्कर्ष गोविन्दको छ । उहाँको भनाई छ— ‘चीन र भारत दुवैलाई एकसाथ तह लगाउने अमेरिकी रणनीति सतहमा आएको छ ।
यसले दक्षिण एसियाको राजनीतिमा ठूलो र दूरगामी प्रभाव पर्छ भन्ने मलाई लाग्छ ।’ नेपालमा प्रभाव विस्तार गर्ने अमेरिका र भारतको प्रयासका बारे पनि गोविन्दले नौलो कुरा गर्नुभएको छ । गोविन्दका अनुसार ०६२, ०६३ को लोकतान्त्रिक आन्दोलनपछि जातीय धार्मिक आन्दोलन उठाउने प्रयास भएसँगै नेपालमा अमेरिकी प्रभाव बढेको हो । नेपाल मामिलामा भारतलाई उछिन्ने अमेरिकी रणनीति पहिले पनि देखिएको विचार राख्दै गोविन्दले भन्नुभएको छ— ‘अहिले आएर नेपाल सहित समग्र दक्षिण एसियामा अमेरिकी प्रभाव आफ्ना लागि घातक भएको भारतले बुझ्यो । भारतीय बुद्धिजीवी तथा कूटनीतिक वृत्तका मानिसहरु यो कुरा खुलेआम भनिरहेका छन् । यो कारण पनि नेपालका परराष्ट मन्त्रीलाई भारतले उच्च महत्व दिएको मेरो बुझाई छ ।’
भारत आफ्ना छिमेकीहरुप्रति केही नरम भए जस्तो देखिएको विचार राख्दै गोविन्दको भनाई छ— ‘यो भारतको नीति नै हो कि रणनीति मात्र हो भन्ने चाहिँ भविष्यमा मात्र प्रष्ट हुन्छ ।’ नेपालमा मुख्य दुई ठूला पार्टीको बलियो सरकार भएकाले पनि परराष्ट्र मन्त्रीलाई भारतले महत्व दिएको उहाँको भनाई छ । भारतले नेपालसँग, विशेष गरी प्रधानमन्त्री केपी ओली सँग सम्बन्ध सुधार गर्न खोजेको स्पष्ट पार्दै उहाँले भारतले आफ्नो नीति र नियत सच्यायो भने सम्बन्ध सुधार हुने बताउनुभएको छ ।
