–नवराज पथिक–
तत्कालीन नेकपा माओवादीले तत्कालीन सरकारसँग विभिन्न माग राखेर २०५२ साल फागुन ७ गतेबाट घोषित रूपमा सशस्त्र आन्दोलन सुरु गर्यो ।
त्यो सशस्त्र युद्ध १० वर्षसम्म चल्यो । युद्धको क्रममा १७ हजार मानिसको त ज्यान नै गयो । त्यसमा कतिपय राज्यका पक्षबाट मारिए, कतिपय माओवादी पक्षबाट मारिए ।
तत्कालीन राजा ज्ञानेन्द्रले राज्य सत्ता नै कब्जा गरेपछि सांसदवादी राजनीतिक दलहरू पनि डराए, भूमिगत रूपमा सशस्त्र आन्दोलन गरिरहेको माओवादी पनि डरायो र एक ठाउँमा आइपुगे । संयुक्त जनआन्दोलन भयो, जनआन्दोलन सफल भए पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग शान्ति सम्झौता गरेर माओवादी शान्ति प्रक्रियामा आयो । शान्ति सम्झौतामा दुई पक्ष बिच हिंसा र प्रतिहिंसाका घटन रोक्ने प्रतिबद्धता जाहेर भयो ।
हिंसा र प्रतिहिंसा त्याग्ने त्यही शान्ति सम्झौताको जगमा उभिएर अहिलेको अवस्थामा आइपुगेको माओवादीलाई अहिले हिंसा भन्ने शब्द निक्कै पेचिलो बनेको छ । हिंसा भन्ने शब्द सुन्ने बित्तिकै माओवादी नेताहरू तर्सिन्छन् । त्यही शब्दले माओवादीलाई भतभती पोल्छ ।
शान्तिपूर्ण भनिएका आन्दोलनहरूलाई त सामान्य व्यवस्थापन गर्न नसक्दा हिंसात्मक बन्छ भने सशस्त्र द्वन्द्व त स्वभावैले हिंसात्मक हुन्छ, हुन्छ । हतियारले लेख्दैन, अनि आँखा पनि देख्दैन । त्यसैले त्यसले हिंसा नै गर्ने हो, त्यो जोसुकैले चलाओस्, जतिसुकै ज्ञानी र विद्वानले चलाओस्, जसको काम जे हो त्यही नै गर्ने हो ।
माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा राज्य र माओवादी पक्षबाट १७ हजार मानिस मारिए, सयौँ मानिस अझै बेपत्ता छन् । हजारौँ मानिस अङ्गभङ्ग भए । कयौँ महिलालाई नाङ्गेझार पारियो । कयौँ छोरी, चेली बलात्कृत भए । मानिसहरू कुटिए, काटिए मानवीय हिसाबले सोच्न पनि नसकिने हिंसात्मक गतिविधि भए । त्यो राज्य पक्षबाट पनि भयो, तत्कालीन विद्रोही माओवादी पक्षबाट पनि भयो ।
सशस्त्र द्वन्द्वको बेलमा भएका घटनाहरू हिंसात्मक थिए भनेर कहाँ लेखियो वा लेखिएन भन्ने कुरा प्रमुख हुँदै होइन । जुन कुरा त्यो द्वन्द्व भोगेकाको मन मस्तिष्कमा लेखिएको छ त्यो अन्त लेखिनु नलेखिनुले के अर्थ राख्छ ? जुन पीडा बोकेर जीवन बाँचिरहेको छन् तिनीहरूलाई सशस्त्र द्वन्द्व फूल जस्तो थियो भनेर के माने हुन्छ ? यो विषयमा मुखले बोल्नु, नबोल्नुले के अर्थ राख्छ ?
सारमा माओवादीको सशस्त्र द्वन्द्वमा हिंसात्मक घटना भएकै थिए । त्यो माओवादीबाट पनि भएको थियो, कतिपय घटना राज्य पक्षबाट पनि हिंसात्मक नै भएका थिए ।
सबै खालका युद्ध हिंसात्मक नै हुन्छ । अनि युद्ध हिंसात्मक थियो नभनेर शान्तिपूर्ण थियो भन्दा ती हिंसात्मक घटनका पीडितको मनले पत्याउँछ ? आँखा अगाडी बगेको रगतको भल र मानिसको लाश मानसपटलबाट त्यति सजिलै हट्छ ? मान्छे मारिएको घटनालाई प्रेमपूर्वक मारिएको भन्ने ? मान्छे काटिएका, कुटिएका, बेपत्ता पारिएका, अङ्गभङ्ग बनाइएका घटनालाई प्रेमपूर्वक गरिएका भन्ने ? छोरी चेली माथि भएको बलात्कारको घटनालाई हिंसात्मक नभनेर प्रेमपूर्वक भन्ने ? कि के भन्ने ?
माओवादीको सशस्त्र द्वन्द्वले देशमा लोकतन्त्र र गणतन्त्र ल्याउन सहयोग पुर्याएकै हो । सो द्वन्द्वले राजनीतिकसँगै सामाजिक र सांस्कृतिक क्षेत्रको परिवर्तनका लागि पनि ठुलो सहयोग गरेको छ । तर त्यस भित्र विभिन्न हिंसात्मक गतिविधि भए, अमानवीय काम भए, मानव अधिकार विरुद्धका मानवता विरोधी घटना भए । त्यो माओवादी पक्षबाट पनि भयो, राज्यबाट पनि भयो । त्यो यथार्थलाई स्वीकार गर्दै विगतमा भएका कमजोरीबाट पाठ सिक्दै अघि बढ्नु पर्नेमा यतिबेला नेकपा माओवादी केन्द्रका नेताहरू हिंसा भन्ने शब्दसँग तर्सिएका छन् । गौतम बुद्ध भन्दा पनि एक पाइला माथि पुगेर हिंसा भन्ने शब्द सुन्ने बित्तिकै भड्किन्छन् ।
प्रतिनिधि सभामा केही दिन अघि एमालेका सांसद् योगेश भट्टराईले प्रयोग गरेको हिंसात्मक द्वन्द्व भन्ने शब्दलाई माओवादीले लगातार छालिरहेका छन् । संविधानको पाना पल्टाएर माओवादी द्वन्द्व हिंसात्मक थिएन, एकदम शान्तिपूर्ण थियो भन्दै छन् । शान्तिपूर्ण तरिकाले १७ हजार मानिस मारिएका हुन्, शान्तिपूर्ण तरिकाले मानिसहरू बेपत्ता परिएका हुन्, शान्तिपूर्ण तरिकाले मानिसहरू कुटिएका हुन्, काटिएका हुन् बलात्कृत भएका हुन्ने भन्ने खालको भाष्य बनाउन खोजिँदै छ ।
यही विषयलाई लिएर माओवादीले बारम्बार संसदमा समेत बबन्डर गर्दै छ । सभामुखले भट्टराईले प्रयोग गरेको सो शब्द संसदीय मर्यादा विपरीत नभएको भनि रुलिङ जारी गर्दा पनि माओवादी त्यही शब्दमा अलमलिएर संसद्को नियमित काम कारबाहीलाई नै अवरुद्ध गर्ने गरी उत्रिएको छ । माओवादी सांसदहरूको अवरोधकै कारण बुधबारको प्रतिनिधि सभा बैठक सभामुखले कार्यसूचीमा नै प्रवेश नगरी स्थगित गर्नु पर्यो ।
माओवादीको भाषामा माओवादी द्वन्द्व जनयुद्ध नै थियो भने पनि हिंसा जनयुद्ध भित्रको दाग थियो । त्यहाँ भित्रको कालो धब्बा थियो । चन्द्रमाले त उज्यालोमा दाग बोकेर बसेको छ भने माओवादीले सञ्चालन गरेको उनीहरूकै भाषाको जनयुद्ध कसरी बेदाग कञ्चन हुनसक्छ ?
हिजो कांग्रेसले चलाएको सशस्त्र युद्ध होस् वा तत्कालीन मालेले गरेको झापा विद्रोह ती सबै युद्धमा काहीँ न काहीँ हिंसात्मक घटना भएकै थिए । त्यसलाई उनीहरूले स्विकारेकै त छन् । त्यसबाट पाठ सिकेर शान्तिपूर्ण ढङ्गले अघि बढेकै त छन् ।
अनि माओवादी पनि हिंसात्मक र सशस्त्र आन्दोलनबाट ठाउँमा पुग्न सकिँदैन भनेर नै त शान्ति प्रक्रियामा आएको हो । यदि त्यही ठिक थियो भने माओवादी त्यही बाटो हिँडिहाल्थ्यो नि । माओवादीले किन बाटो परिवर्तन गर्नु पर्थ्यो र । त्यो बाटो हिंसात्मक भयो, धेरै मानिसहरू मारिए, मानिसहरू मार्नु हुँदैन, मारिनु हुँदैन भनेर नै माओवादी शान्ति प्रक्रियामा आएको हो ।
अनि सशस्त्र आन्दोलन भित्र हिंसा पनि भएको थियो भन्दा माओवादी उछालिनु पर्ने किन ? कतै सत्ताबाट बाहिरिनु पर्दाको पीडा व्यक्त भएको होइन ? कतै प्रतिपक्षको तर्फबाट विरोधको लागि विरोधको आवाज त उठेको होइन ।
सत्तापक्षसँग बहस गर्नुपर्ने, राय बझाउने पर्ने, रस्साकस्सी गर्नुपर्ने ठाउँ कति छन् कति । सहकारी पीडितले आफ्नो रकम पाएका छैनन् । बाढी,पहिरो पीडितको उचित व्यवस्थापन हुन सकेको छैन । विकास योजना जसरी अघि बढ्नु पर्ने हो त्यसरी अघि बढिरहेका छैनन् । नागरिकले जसरी सहज रूपमा सेवा पाउनु पर्ने हो त्यसरी पाउन सकेका छैनन् । बन्नु पर्ने कतिपय कानुन त्यतिकै थन्किएर बसेका छन् । ती विषयमा सत्तापक्षसँग घम्साघम्सी गर्ने ठाउँ कति छ कति । तर बेअर्थको शब्दको लडाइँमा संसद्को नियमित काम नै ठप्प भएको छ । जनताले तिरेको करबाट चल्ने प्रतिनिधि सभा र तिनै जनताले तिरेको करबाट भत्ता खाएर बस्ने प्रतिनिधि सभाका सदस्यहरूले प्रतिनिधि सभामा दशकौँ अगाडि गोठालो जाँदा हुने बाझाबाझ जस्तो गरी बाझेर तमासा गरेका छन् । नेपाली जनताले यो तमासा कहिलेसम्म हेर्ने, नागरिकको धर्यताको बाँध फुटेको दिन कस्तो बाढी आउँछ भन्ने कुरा माओवादीले पनि बुझ्नु पर्छ, अन्य राजनीतिक शक्तिले पनि बुझ्नु पर्छ ।
