काठमाडौं । नेकपा एमाले फुटाएर नयाँ पार्टी बनाउनु भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई यति बेला आफ्नो पार्टी जोगाउन झन् झन् कठिन पर्दै गएको छ ।
पार्टी फुटाएर तामझामका साथ नयाँ पार्टी बनाउनुभएको भए पनि माधव नेपाल नयाँ पार्टी बनाए देखिनै विभिन्न उल्झनमा पर्दै आउनुभएको छ । फुटको मानसिकता बोकेर एमाले फुटाएका एकीकृत समाजवादीका नेताहरू सोही मानसिकताबाट ग्रस्त भएर माधव नेपालको पार्टी पनि फुटाउने खेलमा लाग्दै आएका छन् ।
नेकपा एमाले भित्र आन्तरिक लोकतन्त्र भएन । पार्टीमा पार्टी अध्यक्ष केपी ओलीले एकलौटी गर्न खोज्नुभयो । आफूलाई पाखा लगाउन खोजियो भन्ने आरोप लगाउन माधव नेपालले न त आफ्नो पार्टीलाई लोकतान्त्रिक बनाउन सक्नुभयो न त आफू नै लोकतान्त्रीकरण हुनुभयो ।
पार्टीको महाधिवेशनमा आफू अध्यक्ष बन्न अनेक हतकण्डा अपनाउनुभयो । आफ्नो प्रतिस्पर्धी भनिएका घनश्याम भुसाललाई महासचिव बनाएर नेतृत्व नै चयन नगरी नेपालले महाधिवेशन टुङ्ग्याउनुभयो । यसले उहाँको पार्टी भित्रको लोकतान्त्रिक अभ्यासको ओठे भक्ति छर्लङ्ग भयो ।
महाधिवेशनबाट नेतृत्व चयन नगरी माधव नेपालले टीका लगाएर केन्द्रीय सदस्य मनोनीत गरेपछि पार्टी भित्रको असन्तुष्टि अझ बढ्यो । केन्द्रीय सदस्य मध्यबाट पदाधिकारीको टुङ्गो लगाउन बलजफ्ती गरेपछि उहाँ माथिको असन्तुष्टि झनै बढ्यो ।
पदाधिकारी छनोट प्रक्रियामा एक खालको विद्रोह नै हुने स्थिति बनेपछि महाधिवेशन प्रतिनिधिले छान्नु पर्ने पदाधिकारी आफूले टीका लगाएका केन्द्रीय सदस्यबाट मतदान प्रक्रियामा गएर छान्न नेपाल बाध्य हुनुभयो । सो छनोटको प्रक्रियामा चिट नै बाँडेर नेपाल आफैँले गुटबन्दी गरेपछि सो पार्टी भित्रको विभाजनको आगो अझ सल्कियो ।
पार्टी फुटको सँघारमा पुगेपछि पार्टीको आन्तरिक एकता जोगाइ राख्न भन्दै सो पार्टीका नेताहरूले नेपाललाई ज्ञापन पत्र नै बुझाउनु भएको छ । जीवनराम श्रेष्ठ, डा.विजय पौडेल, हरि पराजुली, बलराम बास्कोटालगायत नेताहरूले नेपाललाई भेटेर नै उहाँले गरेका काम अवैध भएकाले त्यसलाई सच्याएर अघि नबढे पार्टी फुट्ने चेतावनी दिनुभएको छ ।
पार्टीको दसौँ महाधिवेशन र त्यसयता भएका विभिन्न घटनाक्रम र खास गरी पदाधिकारी र पोलिटब्युरोको चुनावपछि पार्टीमा निराशा र विभाजनका गम्भीर खतराहरू देखिएको उहाँहरूको ठहर छ । महाधिवेशनपछि पार्टीमा व्यापक उत्साह र एकता कायम हुनुपर्नेमा त्यसको उल्टो परिदृश्य देखा पर्नु दुखद विषय भएको उहाँहरूको धारणा छ ।
यसो हुनुको मुख्य कारण महाधिवेशनको मञ्चबाटै सर्वसम्मत निर्वाचित तीनजना नेता अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले सबै प्रतिनिधिहरूका अगाडि गरेको बाचा बन्धनको उल्लङ्घन गर्नु रहेको उहाँहरूले स्पष्ट पार्नुभएको छ । ‘वर्तमान असन्तुष्टि र निराशाका अरू पनि कारणहरू हुन सक्लान्, तर ती सबै गौण हुन पुगेका छन्, नेतृत्वले पार्टी विभाजन पछि भए गरेका संगठनात्मक कार्यलाई वैचारिक रूपमा के कति एकताबद्ध गर्न सकिएको थियो र तिनको संरचनात्मक एकता कस्तो थियो भन्ने हेक्का राख्न सकेको देखिएन, लामो समयसम्म आफू रहेको पुरानो पार्टीमा जस्तै आफ्नो अनुकूलको नेतृत्व निर्माण गर्ने मनसाय लिएको देखियो’, उहाँहरूले बुझाउनुभएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
प्रदेशका इन्चार्ज र अध्यक्षलाई भूगोलबाट जिल्लाको सङ्ख्याभन्दा कम सङ्ख्याको कोटा दिई समावेशीको कोटा नेतृत्वले आफ्नै तजबिजी अधिकारमा पार्टी अध्यक्ष माधव नेपालले केन्द्रीय कमिटी पार्टी अनुकूल नभई आफू अनुकूल बनाइएको उहाँहरूको भनाइ छ । जसका कारण भूगोलमा निरन्तर क्रियाशील रहेको सक्रिय पङ्क्ति नेतृत्वमा आउन नसकेको उहाँहरूले उल्लेख गर्नुभएको छ ।
२ सय केन्द्रीय कमिटी बनाउने भन्ने हलको म्याण्डेट विपरीत ३ सय ४४ जनाको केन्द्रीय कमिटी बनाई राम्रा र योग्य भन्दा पनि आफ्नालाई केन्द्रीय सदस्य बनाउने काम नेपालले गर्नुभएको उहाँहरूले खुलेर राख्नु भएको छ । भूगोलमा प्रभावकारी जनमत भएका नेता कायकर्तालाई हराएर अपमान गर्ने काम पार्टी अध्यक्षले गरेको उहाँहरूले उल्लेख गर्नुभएको छ ।
महाधिवेशनको हलले असार मसान्तसम्म केन्द्रीय कमिटीको टुङ्गो लगाउने म्याण्डेट दिएकोमा भदौ १४ गते केन्द्रिय कमिटीको घोषणा गरिएकोमा पनि उहाँहरूको आपत्ति छ । ‘यो म्याण्डेट कसले कसलाई दियो ? यदि तीन जनालाई यो म्याण्डेट थियो भने मनोनीत कमिटीले कसरी निर्वाचित पदाधिकारी निर्माण गर्न सक्छ ? यी यस्ता तमाम जगहँसाइका क्रियाकलापले गर्दा पार्टीमा व्यापक निराशा र असन्तुष्टि उत्पन्न भएको हो, यसको मुख्य कारक शीर्ष नेतृत्वले महाधिवेशनको मञ्चमा गरेको बाचा बन्धनका बर्खिलाप जानु नै रहेको देखिन्छ’, उहाँहरूले नेपाललाई स्पष्ट पार्नुभएको छ ।
पदाधिकारी लगायत नेतृत्वको चयन सर्वसम्मत रूपमा गर्नुपर्ने महाधिवेशनको म्याण्डेट रहेको सुझाव दिनुभएकोमा मनोनीत कमिटीमा चुनाव गराउने काम अध्यक्ष नेपालले गर्नुभएको उहाँहरूले स्पष्ट शब्दमा भन्नुभएको छ । वास्तवमा माधव नेपालको पार्टीमा असन्तुष्टिको विस्फोट यहीँबाट भएको देखिन्छ ।
कम्युनिष्ट पार्टीमा नेतृत्व निर्माण निश्चित विधि, पद्धति, मूल्याङ्कन र योजनाका आधारमा हुनु पर्नेमा माधव नेपालले आफ्ना अनुकूलका मानिसहरूलाई पदाधिकारी बनाउन लागेपछि विष्फोटनको ज्वाला निस्किएको हो ।
उहाँहरूले महाधिवेशनको म्याण्डेट विपरीत गरिएका सबै काम कारबाही खारेज गर्न माग गर्नुभएको छ ।
सो पार्टीको स्थापना कालदेखि महाधिवेशनसम्मका समग्र प्रक्रियाका साथै पार्टीभित्र उत्पन्न परिस्थितिको बारेमा गम्भीर समीक्षा गरी निष्कर्ष निकाली पार्टीको आन्तरिक एकता जोगाउँदै पार्टीको विकास र विस्तार गर्ने बाटो पहिल्याउनका लागि तत्काल केन्द्रीय कमिटीको बैठक बोलाउन पनि उहाँहरूले माग गर्नुभएको छ ।
माधव नेपाल यी कुरालाई सम्बोधन गर्न सक्ने अवस्थामा हुनुहुन्न । उहाँलाई पार्टी जोगाउन निक्कै कठिन परिस्थिति बन्दै गएको छ । हिजो अरूलाई अप्ठेरो पार्ने र जथाभाबी मुख छाड्दै हिँड्ने माधव नेपाल आज आफ्नै नेताहरूबाट अप्ठेरोमा पर्नुभएको छ । परिणामस्वरुप माधव नेपालको पार्टी विगठनको संघारमा पुगेको छ ।
