– नवराज विश्वकर्मा –
कात्तिक २ गते शुक्रबार साँझ विभिन्न सहकारीमा बचतकर्ताको बचत रकम अपचलन गरेको आरोपमा पूर्व गृह मन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परे । गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई र तत्कालीन प्रबन्ध निर्देशक लामिछानेले पोखराको सूर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा मात्र ६५ करोड ५४ लाख रुपैयाँ ल्याएर मिलीजुली खर्च गरेका थिए । सबैजसो चेक लामिछानेले नै काटेका भन्ने कुरा संसदीय समितिको छानबिनले पनि स्पष्ट पारिसकेको छ । समितिले उनीहरूलाई कारबाहीको लागि सिफारिस पनि गरेको छ ।
पक्राउ परेका रास्वपा सभापति लामिछानेसहित विभिन्न कम्पनी र व्यक्तिलाई विपक्षी बनाएर सहकारी बचत पीडितले गत वर्ष माघ २२ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी गठित संसदीय छानबिन समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेको थियो । जसमा रविको संलग्नता देखिएको भन्दै समितिले कारबाहीका लागि सिफारिस गरेको थियो । त्यसपछि गृह मन्त्री रमेश लेखकले गत असोज ६ गते सहकारी सम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिए । उक्त निर्देशनपछि सोही दिन प्रहरीले गोर्खा मिडियाका तत्कालीन सदस्य पूर्वडिआइजी छविलाल जोशीलाई पक्राउ गरेको थियो भने असोज १५ गते लीला पछाईलाई पक्राउ गरेर कास्की लगेको थियो ।
सहकारीको बचत रकम अपचलनको आरोपमा दशैँअघि नै रविलाई पक्राउ गर्ने हल्ला चलेको थियो । त्यस बेला प्रधानमन्त्री केपी ओली न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा भएको संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ अधिवेशनमा भाग लिन अमेरिका पुगेका थिए । त्यस समयमा आफू पक्राउ पर्ने हल्ला चलेपछि रविले आफ्नो पार्टी कार्यालयमा पार्टी पदाधिकारी, नेता, कार्यकर्ता जम्मा गरेर बसेका थिए । त्यस दिन उनी पक्राउ परेनन् । त्यसपछि रविले प्रधानमन्त्रीज्यू, अमेरिका बसेर आँखा नसन्काउनुस्, तपाई आएपछि बसेर कुरा गरौँला, बिचौलियाको घरमा बस्नु पर्दैन म रुम मिलाउला भनेर सामाजिक सञ्जालमा लेखेका थिए ।
त्यसपछि उनी पक्राउ पर्ने हल्ला मत्थर भयो । तर दशैँलगत्तै कात्तिक २ गते शुक्रबार पुनः जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछाने विरुद्ध संगठित अपराध र सहकारी ठगी कसुरमा लामिछानेसहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी ग¥यो ।
सो दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलको बैठक बसेको थियो । त्यही बेला रवि पक्राउ पर्दै छन् भन्ने सूचना अध्यक्ष प्रचण्डले चुहाए । त्यसपछि पार्टी कार्यालयमा पार्टी पदाधिकारी, कार्यकर्तासहित रास्वपा पार्टी कार्यालय चःमतीमा बसेका थिए । रविले आफूमाथि सरकारले राजनीतिक प्रतिशोध साँध्न खोजेको भन्दै प्रतिवादमा उत्रन कार्यकर्तालाई आग्रह गर्दै भीडलाई उत्तेजित बनाइरहेका थिए ।
तर, पक्राउ गर्न पुगेको प्रहरी टोलीले लामिछानेलाई पक्राउ गरेरै छाड्यो । अनि स्थल मार्ग हुँदै कास्की लग्यो । पक्राउ पर्नुअघि केही घण्टाअघि लामिछानेले सामाजिक सञ्जालबाट आक्रोश पोख्दै प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गरी सरकार मर्यो, हामीलाई जुठो प¥यो, भनेर आक्रोश पोखे ।
आक्रामक बनेका रविले आफ्नो धरातल नै बिर्सिएर सरकार विरुद्ध खनिए । आक्रोशसँगै सामान्य नैतिकता र विवेक नै गुमाएका रवि सरकारको विरुद्धमा मात्रै होइन, कानुनी राज्य, संविधानवादको विरुद्धमा खनिए । उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी ओलीतर्फ लक्षित गर्दै लेखे ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो !
‘तपाईँको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहिँ हतकडी ?? तपाई बिचौलियाको सेवा गरे बापत लाखौँको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपी दिनुपर्ने ? तपाई प्रमाणित भ्रष्टाचारीबाट करोडौँको जग्गा खुल्लमखुल्ला लिने, मैले ठगीको आरोप खेपी दिनुपर्ने । तिमीहरू राज्यका भए भरको शक्ति लगाएर अनुसन्धान गर्दा पनि केही भेट्दैनौँ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नु पर्ने ? तिमी र तिम्रा नेता मिलेर सहकारीबाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी गठ भइदिनु पर्ने ? यति गरेपछि भाटभटेनीको इस्यु मोड्न पनि पाइयो भन्दै आक्रोश पाखेका थिए । त्यति मात्रै होइन उनले नेपाली काँग्रेसका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै ‘प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिँड्न परेन’ भन्न भ्याए । लामिछानेले ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्त्याएँ, तिनै भ्रष्टाचारी जोगाउन तपाईँले त्यही अफर रातारात बिचौलियालाई साक्षी राखेर लिनुभयो ।’ पनि भन्न भ्याए रविले ।
सहकारी बचत अपचलनको आरोपमा रवि भन्दा अघि नै शिवबहादुर गुरुङ, भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष एवम् ग्यालेक्सी टेलिभिजनका म्यानेजर कुमार रम्तेल, सहकारीका पूर्वउपाध्यक्ष कैलाशकुमार दर्लामी मगर, सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पक्राउ परिसकेका छन्, उनीहरू अहिले पुर्पक्षका लागि थुनामा छन् । एकै कसुर आरोपमा पक्राउ परेका रवि बाहेक अन्य व्यक्तिहरू पक्राउ पर्दा उनीहरूमाथि अन्याय भयो भनेर विरोध प्रदर्शन थिएन ।
तर झूटो बोल्न खप्पिस रवि, आफ्ना कसुर ढाकछोप गर्न र कसुर प्रमाणित हुँदा पनि आफूलाई कसुरदार नभए जसरी जनतामा भ्रम छर्दै नागरिकको सहानुभूति बटुल्न सफल भएका पात्र हुन् । दोहोरो नागरिकता लिएको कसुरमा अदालतबाटै कसुर प्रमाणित भएका रविले गैरजिम्मेवारी रूपमा आफूलाई राज्यले ‘अनागरिक’ बनायो भनेर राम्रैसँग नागरिक सेन्टिमेन्ट आफूतर्फ आकर्षण गरेका थिए । दोहोरो राहदानी र नागरिकता कसुरमा सामान्य मान्छे कसुरदार ठहरिएका हुन्थे भने यति बेला जेलको हावा खाइरहेका हुन्थे । तर शक्तिको अगाडि राज्यले त्यो आँट गरेन, रविले त्यस बेला छुट पाए ।
अहिले पनि उनी अनावश्यक अफवाह फैलाउँदै आफू पक्राउ परेको विषयलाई अतिरञ्जित गर्दै सरकारले आफूमाथि प्रतिशोध साँध्यो भनेर नेता, कार्यकर्ता र सिङ्गो रास्वपा पार्टी पङ्तिलाई सडक प्रदर्शन गर्न आग्रह गर्दै सडक तताइरहेका छन् । उनको यो कदम कानुन राजको विरुद्धमा छ, जसले कानुनी राज्यको उपहास गरिहरेको छ ।
यदि उनी पक्राउ पर्नु प्रतिशोध र अन्याय नै थियो भने, एकै कसुरमा पक्राउ परेका गोर्खा मिडियाका तत्कालीन सदस्य पूर्वडिआइजी छविलाल जोशी र ग्यालेक्सी टेलिभिजनका म्यानेजर कुमार रम्तेलसहित अन्य आरोपित पक्राउ पर्नु पनि राजनीति प्रतिशोध हो ? यदि त्यो प्रतिशोध र अन्याय थियो भने उनीहरूको न्यायको लागि रास्वपा किन बोलेन ? सरकार र प्रधानमन्त्रीले भ्रष्टाचार गरेको प्रमाण उनीसँग रहेछ त, पक्राउ पर्नुभन्दा अघिका दिनहरूमा किन खुलाएनन्, त्यसको विरोध किन गरेनन् ? आफ्ना नेता तथा कार्यकर्ता पक्राउ पर्ने बित्तिकै सबै दलले राज्यका विरुद्धमा अनावश्यक दबाब सिर्जना गर्ने गरी यसरी कार्यकर्ता सडकमा उतार्ने हो भने अवस्था के होला ? सोचनीय छ ।
रविको ज्यान खतरामा रहेको भनेर रास्वपाले झूटो अफवाह फैलाउँदै सडक प्रदर्शन गरिरहेको छ । पक्राउ पर्ने सबैको ज्यान खतरामा पर्ने भए पक्राउ परेका अन्य व्यक्तिहरूको जीवन रक्षाको लागि रास्वपा किन बोलेन ? कसैलाई पक्राउ गर्नु प्रतिशोध हो भने रवि ! हिजो तिमी गृहमन्त्री हुँदा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता कसुरमा पक्राउ गरेका थियौँ, के त्यो पक्राउ तिमीले प्रतिशोध साँध्नकै लागि गरेका थियौँ हो ? प्रधानमन्त्री ओली नेतृत्वको सरकार भ्रष्ट नै थियो भन्ने तिमीलाई थाहा रहेछ त पक्राउ पर्नु अघिका दिनहरूमा त्यो भ्रष्टाचारको विरुद्धमा तिमी र तिम्रो पार्टी किन मौन बस्यो ?
रवि ! तिम्रो आन्दोलन सहकारी पीडितको न्यायको लागि हुनुपर्ने हो, भ्रष्टाचारका विरुद्धमा हुनुपर्ने हो, मुलुकको समृद्धिको लागि केन्द्रित हुनुपर्ने हो, नागरिकको हक, अधिकार कार्यान्वयनका लागि हुनुपर्ने हो, सहकारी रकम अपचलनको आरोप लागेका काँग्रेस उपसभापति धनराज गुरुङ, एमाले नेता ऋषिकेश पोख्रेललाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन सरकारलाई दबाब दिने कुरामा केन्द्रित हुनुपर्ने हो, गिरिबन्धु, वाइड बडी घोटाला प्रकरण, स्वास्थ्य सामाग्री खरिदमा अनियमितता, बाँसबारी छाला जुत्ता उद्योग प्रकरण, ललिता निवास जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरण, ३३ के.जी. सुन काण्ड, निर्मला पन्त हत्या प्रकरण, बाल मन्दिर जग्गा प्रकरण र सेक्युरिटी प्रेस प्रिन्टिङ खरिद प्रकरण जस्ता सयौँ प्रकरणको छानबिन अघि बढाउ सरकार भन्नका लागि केन्द्रित हुनुपर्ने थियो । यी तमाम प्रकरणमा तिम्रो पार्टी किन मौन रह्यो ?
ती तमाम प्रश्नहरूलाई नजरअन्दाज गर्दै आफ्ना सोझासाझा समर्थक, नागरिक र कार्यकर्तालाई दुरुपयोग गर्दै आफूमाथि लागेको सहकारी ठगको कालो धब्बा मेटाउने कुरा भोलि तिम्रै लागि भारी पर्ने छ । यसरी उनीहरूको भावनामाथि नै आघात पुर्याउँदै उनीहरूको बलको आडमा पाएको शक्तिको दुरुपयोग गर्दै ती सोझासाझा समर्थक, नागरिक र कार्यकर्ताको भावना माथि खेलबाड नगर रवि !
रास्वपाको अहिलेको आन्दोलन ध्येय भनेको सहकारीको बचत रकमको अपचलन आरोपित सभापति लामिछानेको बचाउ मात्र हो । शक्तिको दुरुपयोग गर्दै सरकार र राज्य संयन्त्रका विरुद्धमा आफ्ना कार्यकर्तालाई सडक प्रदर्शनमा उतारेर कानुनी राज्यको बर्खिलापमा उत्रिदा भोलि त्यो नजिर रास्वपाकै लागि भारी हुने छ ।
यो बेला रास्वपाले निष्पक्ष छानबिनका लागि राज्य संयन्त्रलाई सघाउनु पर्छ, सुशासन र कानुनी राज्यलाई स्थापित गर्ने उद्देश्यका साथ वैकल्पिक शक्तिका रूपमा उदाएको पार्टीले यस किसिमको हर्कत गर्नु लोकतान्त्रिक र न्यायसम्मत हुन सक्दैन ।
