काठमाडौं । सामाजिक सञ्जालमा अनेक उटपट्याङ कुरा गरेर चर्चामा आउने दुर्गा प्रसाईँले अहिले अर्को एउटा फण्डा मच्चाएका छन् ।
नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एउटा कम्पनीमा २१ करोड अमेरिकी डलर शेयर छ भनेर अनेक फेग कागज बनाई सामाजिक सञ्जालमा राख्दै प्रसाईँले यतिबेला अर्को भ्रमको खेती गरिरहेका छन् ।
सोमबार प्रसाईँले आफ्नो फेसबुक पेज मार्फत एउटा सफेद झुटले भरिएको मात्र होइन राज्यको कानुनले अपराध भनेको किर्ते कागज सहित बनाएर तयार पारिएको श्रव्य दृश्य सामाग्री सार्वजनिक गरे । त्यसमा प्रसाईँले लेखे– ‘ल हेर्नुहोस् केपी ओलीको कम्बोडियाको लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र ।’
उनले अगाडि लेखे – ‘म मर्न तयार छु, यस्ता तस्करसँग झुक्न तयार छैन, मलाई थाहा छ मैले यो सार्वजनिक गरेपछि मेरो जिन्दगी माथि खतरा थपिएको छ, मलाई यसै कारण मार्न पनि सक्छन् भन्ने पनि मलाई थाहा छ, तर मर्न त एक दिन मैले मर्नै पर्छ, म मरे तापनि मेरा नेपाली दाजुभाइलाई यी तस्करको यथार्थता देखाउँदै यस्ता फटाहालाई नङ्ग्याएर मात्र मर्न तयार छु ।’
सामाजिक सञ्जालमा भ्रमको खेती गर्ने प्रसाईँ आफूलाई निक्कै ठुलो विचारक भन्न पनि पछि पर्दैनन् । उनी लेख्छन्– ’दुर्गा प्रसाईँ मर्न सक्छ, दुर्गाको बिचार मर्दैन, किनकि दुर्गा भनेको बिचार हो, घरघरमा जन्मिसके दुर्गाहरू ।’
भ्रमको खेती गर्न खप्पिस प्रसाईँले यो सुरुवात मात्रै भएको पनि लेख्न भ्याए । ‘यो सुरुवात मात्र हो, यस्ता प्रमाणहरू अन्य दलका नेताहरूका पनि आइरहने छन्, खाँचो छ त तपाईँ आम नागरिकहरूको साथको’, उनले सोमबार यति लेख्दै प्रधानमन्त्री केपी शर्मा विरुद्ध भ्रम फैलाउन किर्ते कागज बनाएर फेग भिडियो फेसबुक पेजमा राखेका थिए ।
प्रसाईँले कम्बोडियाको स्मार्ट एजियाटा नामक टेली कम्पनीमा प्रधानमन्त्री ओलीको २१ करोड अमेरिकी डलर अर्थात् साढे ३२ अर्ब नेपाली रुपैँया रहेको भन्दै सो कम्पनीमा ओलीले हस्ताक्षर गरेको नक्कली दस्तखत तथा उहाँको नक्कली नाम समेत रहेका कागजात भिडियोमा राखे । भिडियोमा प्रमाणका रूपमा भन्दै देखाइएको कागजहरू सबै नक्कली छन् । जसमा प्रधानमन्त्री ओलीको नाम र नामको स्पेलिङ समेत गलत छ । यसले ती सबै डकुमेण्ट फर्जी बनाइएका हुन् भन्ने पुष्टि हुन्छ ।
भिडियोमा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा कम्बोडिया बिजनेस फोरममा सहभागी हुन कम्बोडिया गएको बेला ती कागजातमा हस्ताक्षर गरेको दाबी गरिएको छ । प्रसाईँले फेग डकुमेन्टलाई विश्वसनीय बनाउन अर्का एक जना भिडियो देखाउने व्यक्तिसँग ठाउँ ठाउँमा संवाद समेत गरेका छन् ।
यति सावधानीका साथ फेग डकुमेन्ट बनाउँदा पनि सो कम्पनीमा हस्ताक्षर भनिएको कागज र प्रधानमन्त्रीको नागरिकताको नाम मिलाउन नसक्नुले उनको काँचोपन प्रष्ट देखिएको छ । ओलीको नागरिकतामा नाम केपी ओली लेखिएको भए पनि प्रसाईँले बनाएका नक्कली डकुमेन्टमा नाम खड्गप्रसाद ओली (केपी ओली) लेखिएको छ ।
यी सबै हरकतले प्रसाईँले फेग काम गरेको पुष्टि भएको छ । त्यसैले प्रसाईँ माथि साइबर अपराध तथा सकारी कागज किर्ते गरेको अभियोगमा मुद्दा अघि बढ्न सक्छ ।
त्यही डरले मंगलबार प्रसाईँले आफ्नो फेसबुक पेजमा आफू पक्राउ पर्न सक्ने भन्दै एउटा पोष्ट गरेका छन् । ‘मलाई पक्राउको तयारी, चनाखो रहन आग्रह’ भन्दै उनले लेखेका छन्– ‘हिजो मैँले कम्बोडीयामा केपी ओलीको लगानी रहेको विषय पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेसँगै मलाई यो राज्य सत्ताले फेरी झुटो मुद्दा लगाई पक्राउको तयारी गरेको छ, मलाई साइबर क्राइम, राज्यद्रोह वा अन्य जुनसुकै मुद्दामा पक्राउ गरे पनि सचेत र चनाखो रहन आग्रह गर्दछु, देशभक्त सम्पूर्ण नागरिकहरू, राष्ट्रवादी राजनीतिक दल कांग्रेस, रास्वपा, राप्रपा, एकीकृत समाजवादी भित्रका असल नेता कार्यकर्ताहरू हामी चुप लागेर बस्दासम्म यी र यस्ता सामन्त शासकले हामीलाई जेल कोच्ने र देश लुट्ने काम गरिरहनेछन्, राजधानी केन्द्रित रही आन्दोलनको आँधीबेहरीका लागी तयार रहनुहुन सबै देशभक्त नागरिकमा हार्दिक अपिल गर्दछु ।’
माओवादी, रास्वपा र राजावादीलाई केही समयको लागि प्रसाईँको भिडियो राम्रै खुराक पनि बन्यो तर त्यो धेरै बेर टिक्न सकेन । केही बेरमा नै प्रसाईँले गरेको किर्ते कामको पोल खुलिहाल्यो । विगतको जस्तै प्रसाईँको समाजलाई अराजक बनाउने फण्डा धेरै समय टिक्न सकेन ।
हुन त प्रसाईँको यस्तो कार्य पहिलो पटक पनि होइन । प्रसाईँ कहिले विदेशी राजपरिवारसँग नाम जोडेर चर्चामा आउन खोज्छन् त केहीले नेपालकै पूर्वराजपरिवार र नेताहरूसँग जोडिएर चर्चामा आउन चाहन्छन् तर कतै टिक्दैनन् ।
सबै क्षेत्रमा चर्चामा आउन चाहनु र सबैसँग सम्बन्ध देखाएर प्रसाईँले चलखेल गर्न खोज्नुको एक मात्रै कारण भनेको उनले बैङ्कबाट लिएको ऋणको धान्नै नसक्ने बोझ र त्यसबाट उम्कनको लागि गरिएको चालबाजी हो भन्ने बुझ्न गाह्रो छैन । कसैसँग सम्बन्ध बढाएर वा कसैको भावनासँग खेलेर बैङ्कको ऋण तिर्दै नतिर्ने वा पछि धकेल्ने चालबाजी स्वरूप प्रसाईँले बारम्बार यस्ता टिकडमबाजीहरु लगातार गर्दै आएका छन् ।
प्रसाईँ कहिले बैङ्कहरूबाट ऋण लिएकालाई ऋण तिर्नु पर्दैन भन्दै आन्दोलनमा उतार्छन् त कहिले राजतन्त्र फर्काउने भन्दै देश दौडाहा गर्छन् । अनि कहिले देशबाट माडबाडी समुदायलाई नै खेद्नु पर्छ भन्दै सामाजिक अराजकता फैलाउने कुरा गर्छन् ।
त्यति मात्र होइन कहिले आफ्नो सशस्त्र माओवादी युद्धमा ठुलो योगदान रहेको बताउँछन् त कहिले केपी ओली आफ्नो हजुरबा भएको भावनात्मक कुरा गरेर लाभ लिने प्रयत्न प्रसाईँ गर्छन् । प्रसाईँ शक्तिमा रहेकालाई पहिला आफ्नो अनुकूल बनाउन खोज्छन्, त्यो नसकेपछि जथाभाबी मुख छाड्दै र भ्रम फिँजाउँदै हिँड्छन् ।
जब बैङ्कले ऋणको सावा ब्याज असुलीको लागि च्याप्छ तब प्रसाईँले एउटा न एउटा फण्डा गर्छन् र विषय बस्तुलाई विषयान्तर गर्छन् । यो फण्डा पनि त्यसकैको निरन्तरता हो भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
प्रसाईँको आकलन अनुसार नै अनुसन्धान गर्न प्रहरीले मंगलबार प्रसाईँलाई भक्तपुर स्थिति घरैबाट पक्राउ गरिसकेको छ । प्रसाईँ माथि अनुसन्धान गर्न पक्राउ गरिएको सिआइबीले जनाएको छ । अब केही समय प्रसाईँलाई न बैङ्कले ऋणको सावा बुझाऊ भन्छ न ब्याज नै खोज्छ । त्यो विषय केही समयको लागि पर सर्छ ।
प्रहरीले आवश्यक अनुसन्धान गरी प्रसाईँ माथि कानुनी कारबाहीको प्रक्रिया पनि सुरु गर्ला, प्रसाईँको कुकर्मको पोल पनि खुल्ला । तर दुर्ग प्रसाईँ बढ्दो सामाजिक अराजकता प्रवृत्तिको एउटा पात्र मात्र हो । यो प्रवृत्तिले त्यस्तो प्रवृत्तिका मान्छेलाई त सुख दिँदैन दिँदैन, समाज र सिङ्गो देशलाई नै क्षति पुर्याउँछ भन्ने कुरामा सचेत हुनै पर्छ ।
