– युवराज बास्कोटा ‘यज्ञ’
प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, जसले श्रीमती राधिका शाक्यको जागिरकालमा आर्जित सम्पत्तिसमेत आफ्नो मरणोपरान्त स्वसिद्ध राज्यको हुने सर्तमा बकस गरिदिनुभएकाे छ । परिवारभित्र कसैलाई सम्पत्ति जोडिदिनुपर्ने अवस्था छैन ।
राजाको सक्रिय राजनीतिक राजकीय सत्ताका अँध्यारा कालखण्डमा १४ वर्ष झ्यालखाना बसेर आउनुभएका उहाँ सभ्याचरणका पर्याय हुनुहुन्छ । मानिसको आचरण, व्यवहार र दैनिक सक्रियतामा लोकतन्त्र र लोकतान्त्रिक आचरण प्रकट गर्नुपर्छ भन्ने मान्यतामा दृढ उहाँले कम्युनिष्ट आन्दोलन र राजनीतिक–वैचारिक उद्देश्य निर्देशित संगठनात्मक काममा समेत लोकतान्त्रिक आचरण अवलम्बनलाई अनिवार्य गर्नुभएको छ । यसैको राजनीतिक दिशानिर्देशमा आज एमालेबाहेक लोकतान्त्रिक राजनीतिक पार्टी र सिङ्गो समाज लोकतान्त्रीकरणको प्रक्रियामा सफलतापूर्वक प्रवेश गरेको छ ।
यसकारण उचाइ लिनुभएका उहाँ कतिपयलाई मन पर्नुहुन्न होला ! यो पनि लोकतान्त्रिक आचरण र आस्था नै हो । फलतः विभिन्न बेलामा उहाँ विरुद्ध राग अपाल हुने र जहर ओकल्ने गरिन्थ्यो, गरिन्छ र अहिले फेरि नियोजित ढङ्गले गरिएको छ । कम्बोडियामा टेलिकम बिजनेसको प्रसङ्ग जोडेर कपोलकल्पित झुटको खेती आरम्भ गरिएको छ, कुनै आकर्षक तथ्य, ऊर्जा र उर्वरता नभएको साढे ३२ अर्बको सेयर लगानी भनेर किर्ते कागजात, अडियो र भिडियो तयार गरेर भ्रामक चर्चा सुरु गरिएको छ ।
केही अराजनीतिक, अराजकतावादी र पश्चगामी समूहको यो भ्रमको खेती गर्न मलजल गर्ने शक्तिलाई नेपाल र नेपालीको उन्नति–प्रगतिविरुद्ध खडा शक्तिकेन्द्रका रूपमा पहिचान गर्न र जनमतमार्फत निस्तेज गर्न जरुरी छ ।
यो आफैँमा राजनेता केपी शर्मा ओली विरुद्धको षडयन्त्र मात्रै होइन, विभिन्न नामधारी अभियन्ताद्वारा स्वचालित वा परिचालित उहाँको देशभक्तिपूर्ण अडानविरुद्धको अभियान हो । यो अडानको पक्षमा दृढ उभिने देश, नागरिक, प्राप्त लोकतान्त्रिक व्यवस्था र कम्युनिष्ट आन्दोलन विरुद्धको गम्भीर षडयन्त्र हो भन्ने निष्कर्षसहित अग्रसरता लिन हामी सचेत पंक्तिलाई अब निकै हतारो हुनुपर्छ ।
एक दिनअघि मात्र पूर्वप्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री ओलीको आसन्न चाइना भ्रमण भारतविरुद्ध चाइना कार्ड भनेर मर्यादाहीन र गुलियो मिठाइमा लोभिने बालपन झल्कने अपरिपक्व तर्क सारे लगत्तै भोलिपल्ट आएको यो अर्को फण्डा निकै रहस्यमा राखेर अध्ययन गर्न सकिन्छ । देशमा राजनीतिक अस्थिरताको निरन्तरताभित्र आफ्ना अनुचित आकाङ्क्षाहरू पूरा गर्न उद्यत तत्त्व, केही पात्र र प्रवृत्तिहरूले पनि यस्ता निन्दा र भत्सर्नायोग्य हरकतहरूलाई उकेरा लगाएको आभास हुन्छ । तिनको पालित पोषित क्षणिक लाड, आड र भरोसामा समकालीन नेपाली राजनीतिमा टावरिङ व्यक्तित्व केपी शर्मा ओलीलाई ढाल्न सकिन्छ कि भनेर यो सबै प्रपञ्च गरिएको हुनुपर्छ भन्ने सहजै निष्कर्ष निकाल्न सकिन्छ । सामाजिक सञ्जालमा सेयर, लाइक र यसमाथिको क्षुद्र टिप्पणीले पनि यसलाई जगजाहेर गर्दछ ।
सफा नियत र स्वच्छ मनले भन्नुपर्दा– यो फटाहापन हो, फटाहा मन हो र झुठो बकवासको पछिल्लो एउटा हावा महल झैँ लाग्ने पुलिन्दा मात्र हो । प्राप्त लोकतन्त्र, लोकतान्त्रिक हाम्रो अभ्यास र समाजको लोकतान्त्रीकरणको चरित्र भनेको केवल अश्लील अभिव्यक्ति, परस्पर अस्तित्वको दोहन र अराजकता किमार्थ होइन । राज्यले यिनलाई कडाइसाथ कारबाहीको दायरामा ल्याउनुपर्छ ।
समाजमा निराशा फैलाउन खोज्नु, अराजकता र अस्थिरता ल्याउन खोज्नु समस्याको समाधान होइन । यस बेला जिम्मेवार हामी सबै यस विरुद्ध एक ठाउँमा उभिएर प्रतिवाद गरौँ !! प्रहरी प्रशासनले तत्काल यो अपराधमा संलग्न र आपराधिक गतिविधि गर्ने समूहलाई छानबिनको दायरामा लियोस् ! यस प्रक्रियामा सबैले आ–आफ्नो ठाउँबाट योगदान गरौँ !
आज नानाभाँतीका आरोपहरू कसैलाई लक्षित गर्दै लगाइरहने अवस्था भोलि अरू कसैमाथि नहोला भन्न सकिँदैन । कसैको व्यक्तित्व, अस्तित्व र प्रतिष्ठालाई धुमिल पार्न झुटा लाञ्छना लगाउने नियत र नियति सरासर गलत छ । समाजमा सकारात्मक प्रभावभन्दा पनि निराशा जन्माउन नकारात्मक भेल बाढी ल्याउने पहल प्रयत्न भइरहेको छ । आम मानिसको पहुँचमा रहेको विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जाल हतियारभन्दा ठुलो अनियन्त्रित अस्त्र बनाइँदै छ । अनियन्त्रित सामाजिक सञ्जाललाई सरसर्ती नियाल्दा र सूक्ष्म अध्ययन गर्दा किर्ते दस्तखतदेखि लिएर विभिन्न प्रकरणमा ठग फटाहाहरू एक ठाउँमा उभिएको देखिन्छ ।
भिन्न भिन्न आस्थागत अवस्थामाझ सक्रिय सामाजिक सद्भावलाई बिथोल्नु, अभद्र गाली संस्कृति निर्माणमा सामाजिक सञ्जालमा रहेको पुस्तालाई उतार्नु, समाजमा निराशा र भ्रमको खेती गर्दै राजनीतिलाई दूषित तुल्याउने र जनमतलाई विद्यमान राजनीतिक प्रणालीविरुद्ध उभ्याउन उद्यत रहनु यो अनियन्त्रित अभिव्यक्तिको मक्सद देखिन्छ ।
यति अपिल भइरहँदा प्रस्तुत विषयवस्तुमा स्पष्टता छ भन्ने लाग्छ । आज होइन, अढाई तीन दशक यता मेरो आदरणीय अध्यक्षलाई मैले राम्रोसँग चिनेको छु, जानेको छु । उहाँ विरुद्धको प्रहारले मलाई छोएको छ । यत्रतत्र उभिएर बोल्न सक्नु, तर्क अघि सार्न सक्छु ।
यसका बाबजुद कसैले मलाई यस्ता वाहियात विषयवस्तु लेखेर सेयर गर्छ, ट्याग गर्छ र इनबक्समा हाल्छ भने तथ्य सत्य उजागर गर्ने प्रमाणित कागजात जुटाओस् ! जुटेका सबुतका आधारमा राज्यको न्यायिक र नियमनकारी निकायमा जान तयार छु । आफू गलत रहेछु भनेर आफैँलाई ठम्याउने छ, सम्म्याउने छु र सम्हाल्ने छु । प्रचारबाजीमा ल्याएको फेक विषयवस्तुप्रति निन्दा एवम् भर्त्सना गर्दै गलतका विरुद्ध एक ठाउँमा उभिन अपिल गर्दछु ।
(लेखक नेकपा एमालेका केन्द्रय सदस्य हुनुहुन्छ)
