- गाेविन्द थापा-
अहिले नेपालमा वायु प्रदूषण र समाचार प्रदूषण असाध्यै बढेको छ । जताततै झुठो समाचार फैलाइएको छ, सत्यको पातलो खोलभित्र झुठ नै झुठ भरिएको समाचार फैलाउने गरिएको छ । समाचारको यस्तो प्रदूषणबाट दिक्क लागेपछि मलाई केही बोल्न मन लाग्यो । केही विचार राख्न मन लाग्यो त्यही भएर तपाईहरु समक्ष प्रस्तुत हुँदैछु ।
सुनियोजित, प्रायोजित र भ्रामक समाचार र विचारहरुको बाढी आइरहेको छ, प्रोक्सी पात्र र प्रवृत्तिहरु सल्बलाएका छन्, यस्तो बेला केही बोल्नैपर्यो भन्ने मलाई लाग्यो ।
यो प्रोक्सी पात्र भनेको कस्तो हो ? कस्तालाई प्रोक्सी भनिन्छ ? प्रोक्सीहरुलाई कसरी चिन्ने भन्ने बारेमा म एकछिनपछि बताउँछु । पहिले म एकजना सम्पादकको चर्चा गर्छु ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालका असाध्यै कडा आलोचक एकजना सम्पादकसँग मेरो पुरानो चिनजान छ । उनको मिडियामा प्रचण्डका बारे असाध्यै कडा समाचार र विष्लेशणहरु आउँथ्यो । त्यसबेला प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो र भारत भ्रमणमा जान लाग्नुभएको थियो । ती सम्पादकको मिडियामा प्रचण्डको भारत भ्रमण सम्बन्धमा कडा आलोचना र समाचार आउन बन्द भयो । सम्पादक मित्रले दानापानी पाएछन् कि भन्ने लाग्यो । संयोगबस उनीसँग भेट भयो । प्रचण्डको आलोचना र प्रचण्डको भारत भ्रमणको विषयमा समाचार लेख्न किन छाड्नुभयो भनेर मैले सोधें । जवाफमा उनले भने, प्रचण्ड फर्किएपछि मात्र आलोचना गर्ने हो, जान लाग्दा कुनै आलोचना नगर्ने हाम्रो नीति छ भने ।
यो कस्तो खालको नीति भनेर मैले सोधें । उनले के बताए भने प्रचण्ड भारत जान लागेको नेपालको प्रधानमन्त्रीको हैसियतले हो । प्रचण्डको हामी आलोचक हौं तर भारत जान लागेका नेपालका प्रधानमन्त्रीलाई कमजोर बनाउन हुँदैन । आफूलाई चित्त बुझेको प्रधानमन्त्री होस् या नहोस्, प्रधानमन्त्री विदेश जादा उसको हात बलियो बनाउनुपर्छ, उनलाई कमजोर बनाएर विदेश पठाउन हुँदैन । यही नीति अनुसार प्रचण्ड भारत जान लाग्दा उनको आलोचना या विरोध नगरेका हौं भनेर सम्पादक मित्रले जवाफ दिए । आज म ती सम्पादकको भनाई झलझली सम्झिरहेको छु ।
आज प्रचण्ड होइन केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । उहाँ चीन जान लाग्नुभएको छ । पहिलो औपचारिक द्धिपक्षीय भ्रमण चीनको गर्न लाग्नुभएको छ । नेपालको इतिहासको यो दुर्लभ घटना हो । नेपालका प्रधानमन्त्रीले पहिलो औपचारिक द्धिपक्षीय विदेश भ्रमण भारतको गर्ने गरेका थिए । त्यस विपरित केपी ओलीले पहिलो भ्रमण चीनको गर्दै हुनुहुन्छ । तपाईंहरुलाई लाग्ला, केपी ओली अमेरिका गइसक्नुभयो । कसरी चीनको भ्रमण पहिलो हो ? खासमा कुरा के हो भने केपी ओली द्धिपक्षीय भ्रमणका लागि अमेरिका जानुभएको होइन, राष्टसंघ महासभामा सहभागी हुन जानुभएको थियो । ओलीको पहिलो द्धिपक्षीय भ्रमण चीनको हुन लागेको छ ।
ओली चीन जान लाग्नुहुँदा नेपालभित्र अहिले सरकार विरोधी अभियान चलाइएको छ । केपी ओलीको विरुद्ध अभियान चलाएको छ । नेपाल र चीनको सम्बन्ध बिग्रियोस् भन्ने ढंगका प्रचार र समाचार अहिले व्यापक बनाइएको छ ।
कैयन मिडियाका समाचारहरु नियालेर हेरिरहेको छु । खासखास किसिमका बुद्धिजीवीहरुको विचार, अन्तवार्ता र टिप्पणीहरु पनि म हेरिरहेको छु । उनीहरुको नियत के देखिन्छ भने ओलीले चीन भ्रमण गर्न हुँदैन, भ्रमण गरे पनि नेपालको हितमा कुनै सम्झौता गर्न हुँदैन । सम्झौता गरे पनि ऋण लिने खालको सम्झौता गर्न हुँदैन । यस्तो खालको कुप्रचार अहिले व्यापक बनाइएको छ ।
चीन जान लागेका प्रधानमन्त्री ओलीलाई बलियो बनाएर पठाउने कि कमजोर बनाएर ? चीनसँग वार्ताको टेबलमा कमजोर प्रधानमन्त्रीलाई प्रस्तुत गर्ने कि बलियो प्रधानमन्त्रीलाई ? यो कुरा सारा नेपालीले बुझ्नुपर्छ । नेपालका प्रधानमन्त्री चीन गए पनि, भारत गए पनि, अरु देश गए पनि बलियो बनाएर पठाउने हो । यति कुरा नेपालका खासखास मिडिया, खासखास बुद्धिजीवीहरुले बुझेर पनि नबुझे झैं गरिरहेका छन् ।
नेपालको जमिन जोडिएको दुईटा मात्र छिमेकी छन्, भारत र चीन । यी दुई देशसँगको सम्बन्ध नेपालका लागि अति महत्वको छ भन्नेमा कुनै मतभेद नहोला । विश्व राजनीति अहिले कठिन अवस्थामा छ, विश्वव्यापी रुपमा तनाव बढिरहेको छ, जताततै युद्धको कालो वादल मडारिएको अवस्था छ । यस्तो बेला चीन र भारतसँग नेपालको सम्बन्ध अत्यन्तै महत्वपूर्ण छ ।
हामीलाई थाहा छ, चीन र भारत पनि आपसी तनाव र द्धन्दमा छन् । उनीहरु बीचको द्धन्द र तनावमा नेपालले एउटाको पक्ष लिन मिल्दै मिल्दैन, नेपालले समदूरी र समनिकटताको नीति अपनाउनुपर्छ ।
असंलग्न परराष्ट नीति हाम्रो मूल मन्त्र हो, यो मन्त्र नेपालले त्याग्न मिल्दैन । यो नीति विपरित नेपालले चीनसँग सत्रुतापूर्ण व्यवहार गरोस्, नेपालमा चिनियाँ सहयोग, अनुदान, ऋण, केही पनि नआओस्, नेपालले चीनसँग कुनै व्यवहार नगरोस्, भारतको मात्र पक्ष लिओस् भन्ने विचार नेपाल भित्र विभिन्न कोणबाट प्रकट भइरहेका छन् । त्यस्तो विचार राख्नेहरुका पछाडि कुन शक्ति छ भन्ने सजिलै बुझ्न सकिन्छ । त्यस्तै शक्तिहरुले अहिले नेपालमा सरकार विरोधी, खासगरी केपी ओली विरोधी अभियान चलाइरहेका छन् ।
केपी ओली विरुद्ध अहिले विभिन्न प्रोपोगण्डा गरिँदैछ । अनेक झुठ प्रचार गरिँदैछ । यो काम केपी ओली नाम गरेका व्यक्ति विरुद्ध गरिएको हो भन्ने भ्रममा पर्न हुँदैन । नेपालको राष्टिय शक्तिलाई कमजोर पार्ने सुनियोजित प्रयास अन्तर्गत ओली विरोधी अभियान चलाइएको हो । नेपालले चीनसँग मैत्रीपूर्ण सम्बन्ध नराखोस् भन्ने चाहना भएका शक्तिहरु अहिले ओलीका पछाडि हात धोएर लागिपरेका छन् । उनीहरु कहिले नक्कली दस्तावेज निकाल्छन्, कहिले नक्कली आरोप सिर्जना गर्छन्, ओली विरुद्ध जेजे गर्न सकिन्छ त्यही गरिरहेका छन् । किनभने ओली चीन जाँदै हुनुहुन्छ ।
नेपालका प्रधानमन्त्रीले चीन जानै हुँदैन, गए पनि भारत गएपछि मात्र जानुपर्छ, चीन गएपनि कुनै सम्झौता गर्न हुँदैन, चीनसँग सम्बन्ध बढाउन हुँदैन भन्ने वैदेशिक शक्तिहरुले नेपालमा प्रोक्सी खडा गरेका छन् । यो प्रोक्सी भनेको कस्तो हो भन्ने बुझ्न मध्यपूर्वको राजनीति हेरे हुन्छ । जस्तो कि इज्राइल भनेको आफैंमा इज्रायल होइन, अमेरिकाको प्रोक्सी हो । लेबनानको हिज्बुल्लाह र यमनका हुथी इरानका प्रोक्सी हुन् । त्यसैगरी नेपालभित्र विभिन्न खाले प्रोक्सी पत्रकार, प्रोक्सी मिडिया, प्रोक्सी नेता, प्रोक्सी पार्टी, प्रोक्सी बुद्धिजीवी, प्रोक्सी संघसंस्था खडा गरिएका छन् । त्यस्ता प्रोक्सीहरुले नेपालले चीनसँग सम्बन्ध नराखोस् भनेर अहिले न्वारानदेखिको बल लगाइरहेका छन् । जसरी विरालो हेरेपछि बाघ कस्तो हुन्छ भन्ने थाहा हुन्छ, त्यसरी नै प्रोक्सी पात्रहरुको बोलिबाट उनीहरुको असली शक्तिकेन्द्र थाहा पाउन सकिन्छ ।
यस्ता प्रोक्सीहरुले ओली विरुद्ध मात्र घेरावन्दी गरिरहेका छैनन्, कांग्रेसलाई पनि एम्बुसमा पार्ने प्रयास गरिरहेका छन् । नेपालले चीनसँग ऋण लिनै हुँदैन भनेर अहिले देशभित्र भ्रामक प्रचार र दवाव सिर्जना गरिरहेका छन् । चीनसँग ऋण नलिने देश विश्वमा थोरै मात्र छन् । किनभने चीनसँग पैसा छ । चिनियाँ लगानी र ऋण अरुले लिन हुने, नेपालले नहुने रे । यो कस्तो कुतर्क हो ?
हामीले के ध्यान दिनुपर्छ भने आज विश्वमा जति पनि विकसित देश छन्, उनीहरु ऋणमा चलिरहेका छन् ।
अमेरिका विश्वको सबैभन्दा धनी देश हो । अमेरिकाको कूल गाह्रस्थ उत्पादन अर्थात् जीडीपी भन्दा ऋण धेरै छ । विश्वमा अति थोरै वैदेशिक ऋण हुने देशहरुमा नेपाल पर्छ । अमेरिकाले समेत चीनसँग ऋण लिएको छ । यूरोपका सबै देशहरुले ऋणका लागि चीनको मुख ताक्छन् । नेपालले अरु देशसँग ऋण लिन हुने । नेपालले भारत, अमेरिका, कुवेत, साउदी अरेविया, वेलायत, जापान लगायतका देशसँग ऋण लिएको छ । अन्तराष्टिय मुद्रा कोष, विश्व वैंक, एसियाली विकास बैंक तथा अन्य बहुपक्षीय संस्थाहरुसँग ऋण लिएको छ । नेपालले सबैसँग ऋण लिन हुने रे तर चीनसँग चाहिँ लिन नहुने रे । यस्तो दवाब नेपालभित्रका विदेशी प्रोक्सीहरुले सिर्जना गरिरहेका छन् । यस्तो कुप्रचारबाट प्रधानमन्त्री केपी ओलीको भ्रमण कति प्रभावित हुन्छ भन्ने कुरा भ्रमणपछि थाहा हुने नै छ ।
यो प्रसंगमा मलाई एउटा हिन्दी फिल्मको याद आउँछ, लगे रहो मुन्ना भाई । नेपाली मुन्नाभाईहरु चीनसँग सम्बन्ध बिगार्न निरन्तर लागिरहेका छन् । यी प्रोक्सी मुन्नाभाईहरु नेपालले बिआरआई सम्झौता गर्न हुँदैन भन्थे तैपनि सम्झौता भयो । अहिले उनीहरु बिआरआई कार्यान्वयन गर्न हुँदैन भनिरहेका छन् । यी मुन्नाभाईहरु नेपाललाई इज्रायल या युक्रेनजस्तो भएको हेर्न चाहन्छन् ।
युक्रेनले अमेरिकाको काँधमा बसेर रुससँग लडाई गरिरहेको छ । अमेरिकाको काँधमा बसेर इज्रायलले मध्यपूर्वमा ताण्डव मच्चाइरहेको छ । नेपालले पनि कसैको काँधमा बसेर चीन विरुद्ध भिडोस् भन्ने यी प्रोक्सी मुन्नाभाईहरुको चाहना देखिन्छ ।
केपी ओली र नेपाली कांग्रेसले उनीहरुको यस्तो आत्मघाती तथा राष्टघाती चाहना पूरा दिने छैनन् ।
नेपालले भारतसँग पनि सम्बन्ध बिगार्नुपर्छ, चीनसँग पनि सम्बन्ध बिगार्नुपर्छ भनेर अहिले नेपालभित्र अभियान चलाइएको छ । भारतले जसो भन्यो त्यसो गर्ने, भारतको चाहना विरुद्ध नेपाल एक इन्च पनि नचल्ने खालको सम्बन्ध राख्न खोज्नु भनेको सम्बन्ध बिगार्नु हो । नेपालको स्वतन्त्र परराष्ट नीति नहुने, भारतले जसो भन्यो त्यसो मात्र हुने खालको सम्बन्ध कसरी असल सम्बन्ध हुन्छ ? त्यस्तो खालको सम्बन्ध कल्पना गर्न थालियो भने सम्बन्ध राम्रो हुँदैन । भारतको चीनसँग द्धन्द छ, त्यो द्धन्दबाट प्रभावित भएर नेपालले चीनसँग सम्बन्ध नराख्ने, ऋण र लगानी लिन नहुने भन्ने कस्तो खालको नीति हो ? अनुदान लिने ऋण चाहिँ नलिने भन्नु हावादारी कुरा हो ।
विश्वका हरेक देश ऋणबाट चलिरहेका छन् भनेर मैले अघि पनि भनिसकेको छु । एउटा देशको दवाबमा अर्काे देशसँग ऋण नलिने, ऋण नलिने नाममा कुनै सहयोग नलिने कामलाई आत्मघाती राष्टघाती नीति भन्न सकिन्छ । केपी ओली एमालेको अध्यक्षको हैसियतले चीन जान लाग्नुभएको होइन, उहाँ नेपालको प्रधानमन्त्रीको हैसियतले जान लाग्नुभएको हो । चीनसँग धेरैभन्दा धेरै सहयोग लिनु उहाँको उद्देश्य हुने नै छ ।
त्यसबाहेक नेपालको स्वतन्त्र अस्तित्व र स्वतन्त्र परराष्ट नीतिको प्रवद्र्धन गर्नु पनि उहाँको नीति हुनेछ । केपी ओलीको ठाउँमा अरु कोही प्रधानमन्त्री हुन्थ्यो र यसरी भ्रमण गर्न लागेको अवस्था थियो भने म यिनै कुरा भन्ने थिएँ । नेपालमा जो कोही प्रधानमन्त्री होस्, द्धिपक्षीय भ्रमणमा जान लाग्दा प्रधानमन्त्रीको विरोध गर्ने होइन, प्रधानमन्त्री विरुद्ध कुप्रचार र दुष्प्रचार गर्ने होइन, प्रधानमन्त्रीलाई बलियो बनाउने हो, बलियो प्रधानमन्त्रीलाई विदेश पठाउने हो ।
प्रधानमन्त्रीको चीन भ्रमणसँग नेपाली जनताको ठूलो आशा र अपेक्षा छ । नेपालका प्रधानमन्त्री अरु देश जाँदा जनताले त्यति धेरै आश गर्दैनन् तर चीन भ्रमणमा जाँदा आशा गर्छन् । किनभने चीन विकास र समृद्धिका दृष्टिले विश्वको अगुवा हो, विश्वकै उदाहरणीय हो ।
चीनसँग नेपालको असाध्यै मैत्रीपूर्ण सम्बन्ध छ । चीनले सहयोग गर्दा नेपाली जनताको हितमा सहयोग गर्छ, कुनै छलछाम गर्दैन भन्ने नेपाली जनतामा विश्वास छ । विशेषगरी नेपाललाई आत्मनिर्भर बनाउन, नेपालको औद्योगिकरण गर्न र नेपालसँगको कनेक्टिभिटीमा चीनले ठोस सहयोग गर्छ भन्ने आशा नेपाली जनताको छ ।
नेपाली जनताले अति आशा गरेका प्रधानमन्त्री केपी ओली हुन् भने नेपाली जनताले अति धेरै आशा गरेको देश चीन हो । यो तथ्य सबैले बुझेका छन् त्यसैले भ्रमणबाट नेपाली जनताले धेरै नै आशा गरेका छन् । सो आशा र भरोसालाई यो भ्रमणले सर्थक बनाओस् ।
त्यसैले म आग्रह गर्दछु, नेपाली जनता नेपाल र चीनको मैत्रीको पक्षमा उभिनुपर्छ । चीन जान लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा तथा समर्थनमा सम्पूर्ण जनतालाई दृढतापूर्वक उभिन म अपिल पनि गर्दछु र सम्माननिय प्रधानमन्त्रीको चीन भ्रमणको सफलताको शुभकामना व्यक्त गर्दछु ।
(नेकपा एमालेका केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गाेविन्द थापाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्नुभएकाे भिडियाेमा आधारित)
