-ज्ञानकुमार श्रेष्ठ-
राजा महेन्द्रले आफ्नो छोरो वीरेन्द्रको विवाहमा भारतबाट ब्रिटिस एङ्लो बोरिसलाई क्याटर्सको रूपमा ल्याउनुभएको थियो ।
पटक पटक भोजभतेरमा भारतदेखि क्याटर्स ल्याउन भन्दा स्थायी रूपमा नेपालमै राख्ने व्यवस्थापन गर्दा राम्रो भनेर राजाले अहिले निर्वाचन आयोग रहेको तत्कालीन बहादुर भवनमा रोयल होटेल स्थापना गर्नुभयो । राजपरिवारको लगानीमा रोयल नामको होटेल खुल्यो ।
तत्कालीन शाही सेनाका निम्न स्तरका कामदार मध्ये रामेछापको तत्कालीन भिरपानी गाविसका केही व्यक्तिले त्यहाँ काम गर्ने अवसर पाउनुभयो । ती भाग्यमानी मध्ये सबभन्दा पहिलो डाँडाघरे रत्नमानका छोरा स्व. पुष्पमान श्रेष्ठ हुनुहुन्थ्यो ।
उहाँको साहिँलो भाइ स्व.सम्मरबहादुर, बुद्धिमानको छोरा स्व.डम्बरबहादुर श्रेष्ठ, ढाँडली कान्छो डिलबहादुर श्रेष्ठ र नेवा सम्पर्क समूहका संस्थापक भिरपानी वडा नम्बर ६ का स्व.विष्णुलालका छोरा कोटेश्वर निवासी हरिबहादुर श्रेष्ठले काम पनि त्यहाँ गर्ने अवसर प्राप्त गर्नुभयो । उहाँहरूले दशैँ, तिहारको बिदामा गाउँ जाँदा आफन्तलाई लिएर जाने र भर्ना गर्ने क्रम चल्दै गयो । सोही कारणले होटेल व्यवसायमा भिरपानीका नागरिकहरूले काम गर्ने र सीप सिक्ने अवसर पाउनुभयो ।
रोयल होटेलको नाम रूपान्तरण भएर पछि याक एण्ड यति होटेल हुन गयो । रोयल होटेलका लगानीकर्ता राजपरिवार भए पनि त्यसको व्यवस्थापन बोरिसले गर्नुभएको थियो । बोरिसको छोरा अलेक्स र अनुप सराफ लगायतले सञ्चालन गर्नुभएका होटेल याक एण्ड यतिमा धेरै जनालाई हरिबहादुर श्रेष्ठ मार्फत काम गर्ने अवसर दिलाइयो ।
अर्कोतर्फ भारतबाट नेपालमा नाका जोडिए पछि मालवाहक ट्रक जसलाई त्यतिखेर लहरी भनिन्थ्यो ती नेपाल आउन लागे । त्यसका ड्राइभरहरू मूलतः पञ्जाबी हुन्थे । त्यही क्रममा नोरगिस नाम गरेका पञ्जाबी जोगी उपनाम भएका पञ्जाबीले पञ्जाबी ढावा खोलेका थिए । उक्त धावाको नाम इन्द्रपुरी कबाब थियो । जहाँ इन्द्रेणी फुडल्याण्डका संस्थापक कृष्णबहादुर श्रेष्ठलाई उहाँका भिनाजु पूर्णबहादुर श्रेष्ठले काम लगाइदिनु भयो ।
पञ्जाबी धावामा कुखुरालाई मसलामा डुबाएर आगोमा सेकी पकाउने अत्यधिक स्वादिलो मासु बन्थ्यो । त्यो खानेकुरा पञ्जाबीमा मात्र नभई नेपालीमा समेत प्रख्यात हुन थाल्यो । त्यसपछि बिस्तारै तन्दुरी कबाबका काउण्टरहरू खुल्न थाले ।
२०४२/०४३ सालतिर कृष्ण श्रेष्ठले एउटा ढावा खोल्नुभयो । यसको विकास हुँदै जाँदा विभिन्न कबाब कर्नर, सेकुवा कर्नर, तन्दुरी फाष्टफुड आदि खुल्दै गए ।
पञ्चायतकाल भरी पनि नेपालमा होटेल व्यवसाय, रेस्टुरेन्ट व्यवसाय खास गरी ठूला घरानाको लागि र विदेशी पाहुनाको लागि मात्र सीमित थियो । सामान्य मध्यमवर्गीय परिवारका मानिसहरू होटेल, रेष्टुरामा खान र बस्न जाँदैनथे । गाउँबाट गएकाहरू कोठा लिएर बसेका आफन्तकोमा जान्थे । घर भएकाहरूको आफ्नै घर छँदै थियो ।
पछिल्लो कालमा विभिन्न उद्योग व्यवसायहरू खुल्ने क्रम पनि चल्यो । खास गरी दरबारमार्गमा ठूला ठूला ट्राभल एजेन्सीका कर्मचारीहरूको लागि दिउँसोको खाना खुवाउने गरी एक प्रकारको आधुनिक खालका भोजनालय खुले ।
रिमझिम भोजनालयबाट सुरु भएको दरबारमार्गमा नाङ्लो क्याफे एण्ड पव भनेर पाल्पामा जन्मेका श्यामकृष्ण कक्षपतीले सुरु गर्नुभएको रेस्टुरेन्टमा भिरपानीका धेरै युवाहरूले काम गर्ने अवसर पाए । मैले समेत उक्त कम्पनीमा ४२ सालको अन्ततिर ४ महिना काम गर्ने र काम सिक्ने अवसर पाएको थिएँ । युनिभर्सल क्याफेका संस्थापक केशव श्रेष्ठ, रोयल एलिनाजका संस्थापक अर्जुन भण्डारी लगायत धेरै ठुलो जनशक्ति नाङ्लो क्याफे एण्ड पव तथा बेकरी क्याफेले उत्पादन गरेको छ ।
बोरिसको रोयल होटेल नोर्गिसको पञ्जाबी ढावा श्याम कक्षपतीको नाङ्लो बेकरी क्याफे लगायतले ठुलो जनशक्ति उत्पादन गरेकाले आज ठुलो जनशक्ति निर्माण गरेको छ । गरिवका छोरा–छोरीले श्रम गरेर, सीप सिके । सिप भएका व्यक्ति स्वयंले ससाना पुँजी लगानी गरेर श्रम गरेपछि दुई पैसा आर्जन गर्दै मिलेर अर्को नयाँ शाखा खोल्दै अगाडि बढ्दै गए । यसबाट ठुलो जनशक्ति उत्पादन मात्र भएन, साना व्यावसायिक संस्था पनि स्थापित हुँदै गए ।
त्यसैको परिणाम आज एवान ग्रुपले २२/२३ वटा ब्राञ्चहरू बनिसकेका छन् । तन्दुरी क्याफे, फाष्टफुड, सुविधा सम्पन्न लग्जरी पाटी प्यालेस र होटेलसम्म खुलेका छन् । क्वालिटी ग्रुपले मुलकोटमा क्वालिटीबिच रिसोर्ट सञ्चालन गरी थ्री स्टार लेभलको सेवा दिइरहेको छ । युनिभर्सल क्याफेमा काम सिकेर स्टार क्याफे, स्टार दरबार, दरबार स्मार्ट क्याफे, स्मार्ट दरबार खोलिएका छन् । आज भिरपानी, फुल्पा, गागल भदौरे आसपासका सबै मानिसहरूको बृहत संलग्नतामा काठमाडौंमा फाष्टफुड एण्ड बेभरेज बिजने जमेको छ । रामेछापमा निम्न आयस्तरको परिवारमा जन्मिएकाले काठमाडौंमा आएर पौरख गरेर मध्यमस्तरको व्यवसायको एउटा हिस्सानै ओगटेको सुखद अवस्था छ ।
२०४६ सालको राजनीतिक व्यवस्थामा आएको रूपान्तरणले सामाजिक र आर्थिक प्रणालीमा समेत प्रभाव पार्यो । श्रममा जुटेका पंतिले सीप सिके । राजनीतिक परिवर्तनपछि अवसरको ढोका खुल्यो । आफूसँग भएको धेर थोर पुँजी लगानी गरे । आफ्नै सीप प्रयोग गरेर व्यवसाय सुरु गर्नेहरूले राम्रो सेवा दिए । ग्राहक रिझाए । आफैले श्रम गरेपछि अधिक बचत हुने अवस्थाले व्यवसाय चलाउन सहज भयो । यसले अरूलाई पनि उत्साहित गर्यो र व्यवसायमा स्तर उन्नति हुँदै गयो ।
पञ्चायतीकालमा अत्यन्त दुःख गरेका अग्रजहरूले आफ्ना भाइ भतिजहरूलाई अप्ठ्यारो पर्दा एक आपसमा सहयोग गर्न पनि युवाहरूलाई संगठित गर्ने उद्देश्य राख्नुभयो । नन्दबहादुर श्रेष्ठ, हरिबहादुर श्रेष्ठ, इन्द्रेणीका सञ्चालक कृष्णबहादुर श्रेष्ठ लगायतले तत्कालीन अवस्थाको परिपक्व युवाहरू ताराराम, नवीन लगायतलाई प्रेरणा दिँदै अगाडि बढ्न उत्साहित गर्नुभयो ।
भिरपानी र पकरवासका नेवार समुदाय बिच सम्पर्कको माध्यमको लागि नेवा: सम्पर्क समूह २०५१ सालमा गठन गरियो । त्यसमा प्रायजसो रेस्टुरेन्टमा काम गर्ने र स्वयं व्यवसाय गरेका युवाहरूको जमात बढ्दै गयो । आपसी अनुभव आदानप्रदान अझ बढ्यो । सामाजिक भावना जाग्दै गयो, नेतृत्व विकास हुँदै गयो । अनि नेवा: सम्पर्क समूहमा नेतृत्वको आकाङ्क्षा पनि बढ्दै गयो ।
त्यसलाई व्यवस्थापन गर्न त्यहाँका अगुवा मध्ये एक जनालाई फास्टफुड व्यवसायको महासंघ बनाएर त्यसको नेतृत्वमा पठाउने मेरो सोच बन्यो । सामाजिक र आर्थिक रूपान्तरणका लागि नेवा: सम्पर्क समूहमा आबद्ध भएका भिरपानी र पकरबासका मानिसहरूलाई सहकारीमा आबद्ध गराई आर्थिक गतिविधि बढाउने योजना बन्यो । तदनुरूप ग्लोबल बचत तथा ऋण सहकारी संस्थाको जन्म भयो । सो सहकारीको नेतृत्व अहिले टलक श्रेष्ठले गरिरहनु भएको छ ।
२० वर्ष पहिला फाष्ट फुड एसोसिएसन नेपाल गठन गरियो । आज फाष्ट फुड एसोसिएसन नेपालको आठौँ अधिवेशनबाट क्वालिटी दरबारका संस्थापक होमराज श्रेष्ठ अध्यक्ष र ए वान क्याफेका राकेश श्रेष्ठ महासचिव हुनु भएको छ ।
नेवा सम्पर्क समूह रामेछापको अध्यक्ष रामकुमार श्रेष्ठ दिनेश हुनुहुन्छ । यसरी रामेछापका गाउँबाट गएका व्यक्तिहरूले आशालाग्दो र लोभलाग्दो हार्दिकता सहितको डरलाग्दो एकता कायम गरेर छोटो समयमा सामाजिक तथा आर्थिक क्षेत्रमा परिवर्तन गर्न सफल भएका छन् । काठमाडौंमा स्थापित व्यवसाय सञ्चालन गरेका छन् ।
यसले देशका सबै युवा पङ्क्तिहरू विदेश पलायन हुने र सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गरेर बस्नुभन्दा फाष्टटफुड व्यवसायीको संगत गरेर सीप सिकी लगानी गरेर नेतृत्व विकास, व्यक्तित्व विकास गरी उद्यमशील बन्ने हो भने देशमा समृद्धिको आधार बन्ने छ । रोजगारीको अवसर सिर्जना हुने छ र समृद्ध नेपाल बन्न सहयोग पुग्ने छ ।
