काठमाडौं । नेकपा एमाले पार्टी सुदृढीकरण अभियानमा जुटेको छ । पुसको २१ देखि २३ गतेसम्म भएको पार्टी केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार नेकपा एमाले यति बेला जरासम्म पुग्ने अभियानमा जुटेको छ । वडास्तरमा नागरिकका घर घरसम्म पुग्ने अभियानमा पार्टीका नेताहरू केन्द्रित भएका छन् । जसलाई एमालले जरा केन्द्रित अभियान नाम दिएको छ ।
एमालेको केन्द्रीय कमिटी बैठकले १४ बुँदे विभिन्न प्रस्ताव पारित गरेको थियो । त्यसैको जगमा अहिले पार्टीले गाउँ केन्द्रित अभियान सुरु गरेको छ । नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको निर्माण गर्नु मुलुकको आवश्यकता भएको निष्कर्ष बैठकले निकालेको थियो । यस्तो शक्तिको निर्माणबाट मात्रै राष्ट्रिय हित, स्वाभिमानको रक्षा, लोकतन्त्रको सुदृढीकरण, राजनीतिक स्थायित्वको सुनिश्चितता, र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको परिपूर्ति र समाजवादको लक्ष्य हासिल गर्न सम्भव हुने निष्कर्ष बैठकको थियो ।
यस्तो शक्ति निर्माण नेकपा एमालेको नेतृत्वमा मात्रै सम्भव रहेको एमालेको निष्कर्ष छ । यस यथार्थलाई मनन गर्दै निर्णायक राष्ट्रिय शक्ति निर्माणको अभियानलाई सफल बनाउन पार्टी विभाजन लगायत कारणले पार्टी बाहिर रहेका सबै नेताहरू तथा स्वतन्त्र ढङ्गले क्रियाशील रहनुभएका पार्टीका नेता तथा कार्यकर्तालाई एमालेमा आबद्ध हुन र सक्रियतापूर्वक लाग्न बैठकले नै सार्वजनिक रूपमा आह्वान गरेर पार्टी निर्माणको काममा एमाले जुटेको छ ।
राष्ट्रिय हितको रक्षा, राजनीतिक स्थायित्व, अर्थतन्त्रमा गतिशीलता, सुशासन, विकास र समृद्धिको मुख्य उद्देश्य राखेर नेकपा एमाले र नेपाली कांग्रेस सम्मिलित संयुक्त सरकार गठन भएपछि नागरिकमा केही आशा जागेको छ । देशका प्रमुख राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार प्रति नागरिकका धेरै अपेक्षा छन् ।
एमाले र कांग्रेस सम्मिलित वर्तमान सरकारको काँधमा नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने जग बसाल्नु पर्ने ऐतिहासिक अभिभारा छ । सत्तारुढ दलहरू बिचको आपसी विश्वास तथा समझदारीलाई सुदृढ बनाउँदै एकातिर नागरिकलाई अनुभूति हुने खालको सेवा प्रवाह गर्नु पर्ने छ भने अर्कोतिर पार्टीलाई मजबुत बनाई एकले सरकार बनाउन सक्ने तहसम्म पुर्याउनु पर्ने आवश्यकता छ ।
सशस्त्र द्वन्द्व, लामो संक्रमणकाल, महाभूकम्प र कोभिड महामारी जस्ता चुनौतीकोका कारण देश थिलथिलो भएको छ । अर्थतन्त्र अति कमजोर भएको छ । विकासको गति सुस्त छ, आर्थिक वृद्धिदर न्यून छ, बेरोजगारी र परनिर्भरता बढ्दो छ । राष्ट्रिय पुँजी निर्माण, स्वाधीन अर्थ प्रणालीको विकास गर्दै समाजवाद उन्मुख राज्य निर्माणमा लाग्नु पर्ने छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्नुपर्ने दायित्व देशका प्रमुख दल भएकोले एमालेको काँधमा छ । सामाजिक–आर्थिक रूपान्तरण र समृद्धिको धेरै काम गर्नुपर्ने छ ।
स्वदेशभित्र अवसर नदेखेर, भएको अवसर पनि सदुपयोग गर्न नसकेर देशको ठुलो युवा शक्ति विदेश पलायन भइरहेको छ । देशभित्रै केही गरौँ भन्ने हुटहुटी बोकेका युवाहरूलाई प्रोत्साहन, सहयोग र साझेदारी गर्दै युवाहरूमा उद्यमशीलताको विकास गराउनु पर्ने जिम्मेवारी छ । युवालाई उत्पादन, रोजगारी र स्वरोजगारीमा जोड्न र सूचना प्रविधि लगायत क्षेत्रमा प्राप्त अवसरलाई सदुपयोग गर्ने उपयुक्त वातावरण निर्माण गर्दै समृद्धिका संवाहकका रूपमा युवाहरूलाई परिचालन गर्नुपर्ने दायित्व छ ।
अहिले पनि भ्रष्टाचार समाजको गम्भीर सामाजिक चुनौतीको रूपमा रहेको छ । भ्रष्टाचार नियन्त्रणको लागि अनुसन्धान, अभियोजन र न्याय निरूपणका लागि स्थापित राज्यका निकायहरूलाई अझ अधिकार सम्पन्न र साधन स्रोतले युक्त बनाउनु पर्ने छ । भ्रष्टाचारका विरुद्ध सामाजिक जागरण वृद्धि गर्न आवश्यक छ ।
सहकारी ठगीको घटना यति बेला देशको अर्को चुनौती बनेर उभिएको सहकारी बचतकर्ताहरूको रकम सुरक्षितसाथ फिर्ता हुने कुरा सुनिश्चित गर्नु, अनियमिततामा मुछिएका जोसुकैका विरुद्ध निर्ममतापूर्वक प्रस्तुत भई कारबाही गर्नु, भ्रष्टाचारसँग जोडिएका विभिन्न प्रकरणहरूको यथाशीघ्र छानबिन गरी निष्कर्षमा पुर्याउनु पर्ने दायित्व सरकार प्रमुख रहेको कारण एमाले नेतृत्वकै काँधमा छ ।
नेपालको संविधान कार्यान्वयनको दश वर्ष हुन लागेको छ । संविधान कार्यान्वयनको वस्तुनिष्ठ समीक्षा गर्दै त्यसका सबल र दुर्बल पक्षहरूलाई निरक्याैल गर्न र संविधानका प्रगतिशील अन्तरवस्तुहरुको संरक्षण र राजनीतिक स्थायित्वलाई सुनिश्चित गर्ने गरी वृहत् समझदारी र सहभागितामा संविधानको समयानुकूल संशोधनको प्रक्रिया अगाडि बढाउनु पर्ने छ । त्यो दायित्व पनि एमालेको काँधमा छ ।
यति बेला मिथ्या सूचना (मिस इन्फर्मेशन), दुराशययुक्त सूचना (डिस इन्फर्मेशन) र झुट्टा सूचना (फेक इन्फरमेशन) समाजको लागि चुनौती बनेको छ । यसले समाजमा विभाजन, प्रदूषण र नैराश्य सिर्जना गरिरहेको छ । यसको सबैभन्दा ठुलो आक्रमणको निशान नेकपा एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली बन्नु भएको छ । सरकार र राजनीतिक दल प्रति फैलाइएको वितृष्णलाई चिर्दै नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने दायित्व एमाले लगायतका राजनीतिक दलको काँधमा छ ।
गत वर्ष जाजरकोट र रुकुम (पश्चिम) मा गएको भूकम्पबाट प्रभावित भूकम्पपीडितहरूको पुनर्स्थापना र पुनर्निर्माण कामले अझै गति लिएको छैन । पुनर्निर्माण काममा ढिलाइ हुँदा स्थानीयले हैरानी भोगिरहेको छन् । पीडितलाई बाँकी किस्ता राहत सहयोग उपलब्ध गराई पुनर्स्थापना र क्षतिग्रस्त क्षेत्रमा पुनर्निर्माण काममा तीव्रता दिनु पर्ने छ । गएको असोज महिनामा आएको बाढी पहिरोले वाग्मती प्रदेशका काभ्रे, सिन्धुली, रामेछाप, लगायतका जिल्लाहरूमा पुर्याएको क्षतिलाई व्यवस्थापन गर्नुपर्ने छ । त्यसको व्यवस्थापन गर्दै अगाडि बढ्नु पर्ने दायित्व प्रमुख सत्तारुढ दल भएको नाताले एमालेकै काँधमा छ ।
सारमा देश निर्माणको अभिभार अहिले नेकपा एमाले माथि छ । नागरिक आशा र भरोसा सबैभन्दा बढी यही पार्टी माथि छ । यी सबै काम गर्नको लागि नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न आवश्यक छ । त्यसकै लागि नेकपा एमालेले तीन महिने वडा केन्द्रित अभियान सुरु गरेको छ ।
यो अभियानका क्रममा पार्टीलाई व्यवस्थित बनाउने कुरा पहिलो प्राथमिकतामा पर्नुपर्दछ । पार्टी सदस्यता विस्तार, नवीकरण, अभिलेखीकरण, प्रशिक्षण र पार्टीका सबै अङ्गहरूको परिचालन एमालेका प्रमुख काम भित्र पर्नुपर्दछ ।
संगठनात्मक अराजकता र अवसरवाद राजनीतिमा सबैभन्दा खतरनाक रोग बन्दै आएको छ । यसलाई अन्त्य गर्न नसक्ने हो भने फेरि पनि अप्ठेरोमा पार्टी बचाउने कुरा जोखिमपूर्ण हुने छ । पार्टी बनाउनको लागि गरिएका सबै प्रयत्न असफल हुने छन् । आफ्नै पार्टीको अन्तर्द्वन्द्व व्यवस्थापन गर्न नसक्ने हो भने जनताको विश्वास जित्ने कुरा हुन सक्दैन ।
यति बेला कार्यकर्तामा आत्मविश्वास जगाएर पार्टीलाई घरघर पुर्याउने र जनतामा आशा जगाउने अभियानको आवश्यकता छ । त्यो काम केही हदसम्म जरा केन्द्रित अभियानले पुरा गर्ने छ ।
एमाले केन्द्रीय कमिटी बैठकले पास गरेको १४ बुँदे प्रस्तावको व्यवहारिक कार्यान्वयन गर्न सक्यो भने एमाले सोचेजस्तै पार्टी बन्न सक्छ । निर्णय गर्ने, कार्यान्वयन नगर्ने, कुरा गर्ने, काम नगर्ने, नेताहरूको वरिपरि घुम्ने, जनताको बिचमा नजाने, आफू हुँदा सबैले सघाउनु पर्ने, अर्को हुँदा असहयोग गर्ने, आफूले पाउँदा सबै ठिक हुने, अरूलाई दिँदा सोह्रै आना गलत हुने, सेवा र सुविधा आफू र आफ्नालाई मात्र चाहिने, अरू चाहिँ खटिदिनु मात्रै पर्ने, बोलाएको बेलामा हाजिर भइदिनु पर्ने तर कार्यकर्ताहरूलाई उपयोग मात्रै गर्ने सोच नेतृत्व पङ्तीले लियो भने पार्टीले लिएको लक्ष पुरा हुन सक्दैन । यसमा एमाले जन सचेत हुन आवश्यक छ ।
