–माधव ढकाल –
नेपाल कृषिमा आधारित देश । कृषि नेपालीको प्रमुख कर्म । तर यही कर्म अहिले उपेक्षामा परेको छ । कृषि कर्ममा लागेका मानिसहरू उपेक्षित भएका छन् ।
कृषि योग्य जमिन बाझिँदै छन् । युवाहरू रोजगारी पाइएन भनेर भौँतारिँदै छन् । विदेश जानेको ताँती छ । पहाडका बाँझो जमिनमा विभिन्न खालका गेडागुडी खेती गरेर राम्रो आम्दानी लिन सकिन्छ । आफू विदेश जाने होइन हाम्रै जमिनमा उत्पादन उत्पादन भएको गेडागुडी विदेश पठाउन सकिन्छ ।
रामेछापको रामेछाप नगरपालिकाको अधिकांश भाग कृषिमा आधारित छ । स्थानीय स्तरमा गेडागुडी ( गागत, मस्याङ, मास, राजमा, बोडी, कोदो, तोरी आदि) को राम्रो उत्पादन हुन्छ । गाउँमा किसानले राम्रो उत्पादन पनि गरिरहेका छन् । तर यी उत्पादन गुणस्तरीय भए पनि उचित बजार, ब्राण्डिङ र प्रवर्द्धनको अभावले किसानले राम्रो मूल्य प्राप्त गर्न सकिरहेका छैनन् । यदि रामेछाप नगरपालिकाले स्थानीय गेडागुडी उत्पादनलाई व्यवस्थित रूपमा ब्राण्डिङ गरी व्यापारिक रूपमा प्रवर्द्धन गर्न सके किसान, उपभोक्ता तथा रामेछाप नगरपालिकालाई समेत बहुपक्षीय फाइदा पुर्याउन सक्छ ।
रामेछाप नगरपालिका ५– रामपुर चारघरे स्थित सगरमाथा पशुपालन तथा कृषि सहकारी संस्थाको साहजीकरणमा माहिला दिदी बाहिनीले स्थानीय गेडागुडी उत्पादनलाई व्यवस्थित रूपमा ब्राण्डिङ गरेर वार्षिक १० टन भन्दा बढी बिक्री गरिरहेका छन् । उनीहरूले मागको आधारमा ती खाद्यान्न बिक्री गर्ने गरेका छन् ।
सगरमाथा पशुपालन तथा कृषि सहकारी संस्थालाई वा कुनै पनि सहकारीलाई सम्भावित बजार साझेदार व्यावसायिक प्रवर्धन मार्फत गेडागुडीलाई ब्राण्डिङ र प्याकेजिङ मार्फत बिक्री वितरण गर्न सकिएमा आर्थिक रूपमा किसानलाई ठुलो टेवा पुर्याउन सकिन्छ । रामेछाप नगरपालिका ५– रामपुरमा मात्र स्थानीयका अनुसार वार्षिक ६० टन भन्दा बढी कालो, सेतो, रातो राजमा उत्पादन हुने गरेको छ ।
रामेछाप नगरपालिका भरिको उत्पादन हुने गेडागुडीलाई ब्राण्डिङ गरी प्याकेजिङ मार्फत बिक्री वितरण गर्न सके नगरको नाम र पहिचान दुबैलाई फाइदा हुन्छ । किसानलाई त अझ बढी फाइदा हुन्छ ।
स्थानीय ब्राण्डले किसानको उत्पादनलाई उचित बजारसम्म पुर्याएर आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुर्याउँछ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दा गाउँ–गाउँका कृषकहरू आत्मनिर्भर बन्दै जान्छन् । जसले समग्रमा कृषि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउँछ । कृषि कर्ममा लाग्न मानिसहरूलाई उत्प्रेरित गर्छ ।
यसबाट उपभोक्ताहरूले समेत स्वास्थ्य, ताजा र गुणस्तरीय उत्पादन सहजै प्राप्त गर्न सक्छन् । स्वदेशी उत्पादनप्रति गर्व र माया गर्ने बानी बसाल्दा मात्रै हामी आफ्नो समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुर्याउन सक्छौँ । यसले भान्सामा स्वास्थ्य, स्वाद र स्वाभिमान एकसाथ प्रवाहित हुन सक्छ । विदेशी मुद्रा आर्जनको आधार पनि तयार हुन्छ ।
स्थानीय उत्पादनको ब्राण्डिङ आवश्यक किन ?
यसले स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउन मद्दत गर्छ । उत्पादनको मूल्यवृद्धि भई किसानलाई उचित आम्दानी दिलाउन पनि ब्राण्डिङ र प्याकेजिङले ठुलो सहयोग गर्छ ।
त्यति मात्र होइन यसेले स्थानीय पालिकाहरूको विशेष पहिचान स्थापित भई आर्थिक तथा सामाजिक समृद्धि बढ्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त यसले उपभोक्तालाई शुद्ध, गुणस्तरीय र विश्वासिलो उत्पादन उपलब्ध गराउँछ । जसले किसान प्रतिको आस्था र विश्वास बढ्छ ।
कसरी ब्राण्डिङ गर्न सकिन्छ ?
नगरपालिकाको नाम जोडेर स्थानीय गेडागुडी उत्पादनको ब्राण्ड नाम राख्न सकिन्छ । चार घरे राजमा, रामेछापको जुनार जस्ता नामहरूले उत्पादनलाई विशेष पहिचान दिन सकिन्छ । आकर्षक प्याकेजिङको व्यवस्था गरी बजारमा आकर्षण बढाउन सकिन्छ ।
प्रवर्द्धनात्मक रणनीति
डिजिटल मार्केटिङ (सोसल मिडिया, वेबसाइट, इ–कमर्स प्लेटफर्म) को प्रयोग गरेर यसको प्रवर्धन गर्न सकिन्छ । सुपरमार्केट, सहकारी तथा स्थानीय पसलहरूसँग साझेदारी गरेर पनि यसको प्रवर्धन गर्न सकिन्छ । किसानको क्षमता अभिवृद्धिका लागि तालिम तथा गोष्ठीको आयोजना गरेर पनि यसको प्रवर्धन गर्न सकिन्छ ।
गुणस्तर नियन्त्रण तथा प्रमाणीकरण
स्थानीय तहले उत्पादनको गुणस्तर जाँच गरी प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गर्न सक्छ । यसले उपभोक्ताको विश्वास बढाउँछ र प्रतिस्पर्धी बजारमा टिक्न मद्दत गर्दछ ।
किसानको आर्थिक उन्नति
उत्पादनको उचित मूल्य प्राप्त हुँदा किसानको जीवनस्तर उक्सिन्छ । जसबाट रोजगारी सिर्जना भई स्थानीय स्तरमा आर्थिक गतिविधि बढ्छ । नागरिकको आर्थिक अवस्था सुधार आउँछ र समृद्धिको आधार तयार हुन्छ ।
अन्त्यमा
स्थानीय गेडागुडी उत्पादनलाई व्यवस्थित रूपमा ब्राण्डिङ गरेर बिक्री गर्ने योजना स्थानीय तहका लागि दीर्घकालीन आर्थिक समृद्धिको अवसर हो । यसले किसानलाई आत्मनिर्भर बनाउनुका साथै स्थानीय तहलाई व्यापारिक हबका रूपमा चिनाउन सहयोग गर्दछ । योजनाबद्ध रूपमा अगाडि बढ्न सके, स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सपना साकार हुन सक्छ ।
