-केपी शर्मा ओली-
आज खुसीको कुरा हो । गोन्द्राङ–पुुल्चोक खण्ड एसियाली मापदण्डको सडकको कार्यसम्पन्न भएर उद्घाटन भएको छ । कार्यसम्पन्न हुनु खुसीको कुरा हो । कार्यसम्पन्न भएर यो उद्घाटित भएको छ । यस अवसरमा यो कार्यमा सहयोग र सहयोगी हात अगाडि बढाउने सबैलाई धन्यवाद भन्न चाहन्छु । यसमा योगदान गर्ने झन् योगदानका पात्र हुँदै हुनुहुन्छ ।
वास्तवमा यो पूर्व–पश्चिम राजमार्गलाई एसियाली स्ट्याण्डरमा विकास गर्नु थियो र यसलाई यसै ठाउँबाट मैले सुरु गर्न किन चाहे भने बुटवल–भैरहवा पनि यहाँबाट नजिकै पर्छ, हेटौडा–वीरगन्ज पनि नजिकै पर्छ, काठमाडौँ जाँदा पनि सेन्टर नै पर्छ, पोखरा जाँदा पनि सेन्टर पर्छ । यो सबै ठाउँको सेन्टर छ । विकासको हिसाबले, पर्यटकीय हिसाबले, शिक्षा, स्वास्थ्यका हिसाबले र अनेक हिसाबले यो केन्द्रको रूपमा छ । यसलाई तदनुसार नै भरतपुरलाई विकास गर्नुपर्छ, चितवनलाई विकास गर्नुपर्छ भन्ने मेरो धारणा हो । त्यसअन्तर्गत नै यस ठाउँबाट सुरु गर्नुपर्छ भनेर नै मैले सडक विकासको काम एसियाली मापदण्डमा निर्माणको काम यहीँबाट थालिएको थियो ।
यहाँहरू सबैलाई थाहा छ, सोच कसैले बनाउनुपर्छ । त्यस सोचलाई अगाडि बढाउन सबैको साथ चाहिन्छ । सबैको तत्परता चाहिन्छ, सबैको योगदान चाहिन्छ । जजसले जहाँबाट योगदान पुर्याउन सकिन्छ, सबैको योगदान चाहिन्छ । त्यसै कारण अघि मैले भनेको हुँ, यसमा योगदान गर्ने सबै धन्यवादका पात्र हुनुहुन्छ ।
देश अनेक उतार चढावहरूबाट अगाडि बढ्दै आएको छ । यद्यपि २०४७ सालभन्दा पछि हामी यत्ति अल्झिनु र अलमलिनु हुँदैनथ्यो होला । योभन्दा अलिक लोकतान्त्रिक मूल्य मान्यताअनुसार सुशासनको काम र देशलाई विकासको मार्गमा तीव्रताका साथ अगाडि बढाउने काममा हामी बिना अल्मल तीव्र गतिमा लाग्नु पर्दथ्यो होला । आफ्नो ठाउँमा आआफ्नो भूमिकामा रहेर भूमिका पूरा गर्नु पर्दथ्यो । केही कमीहरू रहेका छन् । अलिक ढिला भएको छ तर विकासले गति लिएको छैन भन्ने कुरा होइन । हामीले सडकमा काफी उन्नति गरेका छौँ ।
यसभन्दा अघिल्लो मेरो प्रधानमन्त्रीत्वकालमा मैले देश विकासमा पूर्वाधारमा जोड दिनुपर्दछ, आधारभूत रूपमा पूर्वाधार तयार भएपछि अरू विकासलाई त्यस पूर्वाधारमा, त्यस जगमा टेकेर अगाडि बढ्न सकिन्छ भनेर कामहरू अगाडि बढाएको थिए । त्यसमा पनि कनेक्टिभिटी, विद्युतीयता कुराहरू आवश्यक छ । कनेक्टिभिटीमा बाटा पुलहरू, हवाई यातायात त पर्ने नै भयो, गर्मी ठाउँबाट चिसो ठाउँमा फुत्त गएर आराम गर्नुपर्यो भने केबलकार चाहियो, एक छिनमा पुग्ने, प्रदूषणको पनि समस्या छैन ।
सञ्चारको राम्रो प्रबन्ध हुनुपर्यो, सञ्चारको विकास हुनुपर्यो । त्यस कारण ७७ वटै जिल्लामा अप्टिकल फाइबर ओछ्याएर इन्टरनेट पुर्याउने कार्यहरू तीव्रताका साथ गर्नुपर्छ भनेर मैले नै सुरु गरेको हुँ । त्यो पूरा भएको छ । आज इन्टरनेट सेवा केही दुर्गम ठाउँहरूमा पुग्दैन तर आमरुपमा भन्ने हो भने इन्टरनेट सेवा पुगेको छ । जहाँ पुग्दैन, जहाँ पुगेको छैन र जहाँ अत्यावश्यक छ, जस्तै अस्पताल, विद्यालय त्यहाँ दूरसञ्चार कर्पोरेसनबाट हामी बन्दोबस्त गर्न सक्छौँ । त्यसै गरेर अरू विभिन्न पूर्वाधारका क्षेत्रहरूका साथै यस बिचमा विद्युत् उत्पादनमा असाधारण र उल्लेख्य प्रगति भएको छ ।
खेलकुदका क्षेत्रमा जम्मा एउटा दशरथ रङ्गशाला थियो । त्यो पनि २०७२ सालको भूकम्पले भत्काएपछि देश रङ्गशालाविहीन थियो । अहिले देशका विभिन्न ठाउँमा विभिन्न रङ्गशालाहरू निर्माण भइरहेका छन् । दशरथ रङ्गशाला निर्माण भएको छ, पोखरा रङ्गशाला निर्माण भएको छ, सुर्खेत रङ्गशाला निर्माण भएको छ । अरू पनि रङ्गशालाहरू निर्माण भएका छन् र काम अगाडि बढिरहेको छ । एकैचोटी हामीले यति धेरै कामहरू गरिरहेका छौँ । हामीले विकासको गतिलाई अगाडि बढाएका छौँ ।
खानेपानीको क्षेत्रमा भन्ने हो भने आश्चर्यचकित भइन्छ । अहिले विश्व बैङ्कले तथ्याङ्कहरू निकालेको छ । जो हामी आफैँ पनि आश्चर्य लाग्ने खालका तथ्याङ्कहरू छन् । यस बिचमा अलिकति गति अवरुद्ध भएको थियो । त्यसका पछाडि केही राजनीतिक कारणहरू थिए । तर ती कुराहरूलाई पनि हामीले सल्टाएका छौँ र विकासको गतिलाई अब तीव्रता दिएका छौँ ।
विकासका लागि स्थिरता र स्थायित्व चाहिन्छ, अहिले देशका प्रमुख दुई पार्टीहरू मिलेर स्थायित्व र स्थिरता दिने सङ्कल्प र अठोटका साथ अघि बढिएको छ । स्थिरताका साथ देश विकासको कामलाई तीव्रता दिइएको छ । अहिले सुशासन र देश विकासको कामलाई अगाडि बढाइएको छ ।
अहिले एउटा मान्यता स्थापित भएको छ, जोसुकै होस्, कानुन तोड्छ, देशमा विध्वंस मच्चाउन खोज्छ, देशमा संविधान विपरीतका क्रियाकलाप गर्छ वा खास गरी आपराधिक क्रियाकलाप गर्छ भने कोही पनि कानुनभन्दा माथि हुन सक्दैन । त्यस कुरालाई वर्तमान सरकारले कोही पनि कानुनभन्दा माथि छैन भन्ने कुरा बताइरहेको छ । शान्ति सुव्यवस्था, भ्रष्टाचार नियन्त्रणका यी कामहरू दृढताका साथ गरिने छ । सुशासनको प्रत्याभूति गर्दै जनतालाई राम्ररी सेवा सुविधाहरू यथाशक्य क्षमता अनुसार उपलब्ध गराउँदै जाने, त्यसका निम्ति पूर्वाधार र अन्य मानव संसाधनको पक्षसमेत विकास गर्दै जाने, शिक्षा र स्वास्थ्यका क्षेत्रमा विकास गर्दै अगाडि बढ्ने नीतिका साथ हामी अगाडि गइरहेका छौँ । त्यसैको फलस्वरूप अघि भर्खर मैले कुरिनटारमा इच्छाकामना गाउँपालिका भवनको उद्घाटन गरेर आएँ । यहाँ बाटो शिलान्यास भएको होइन, निर्माण कार्य सम्पन्न भएको हो । शिलान्यास त भयो बन्ला कि नबन्ला भन्ने कुरा होइन, बनिसकेपछिको यो उद्घाटन हो । त्यस कारण काम हुन्छ, हुँदै छ, काम भइरहेको छ र हुनेछ भन्ने कुराको एउटा दृष्टान्त हो ।
एक ठाउँमा मात्रै होइन, देशभरि पूर्व–पश्चिमका आठ खण्डमा यसलाई विभाजन गरेर यसको स्तरोन्नति हुँदै छ । मध्यपहाडी राजमार्ग निर्माण कार्य तीव्रताका साथ हुँदै छ । मदन भण्डारी राजमार्ग केही केही कारणहरू, जस्तै पहिलेकै बाटोसँग जोडेर लानु पर्ने अवस्था छ, केही वनका र निकुञ्जका आरक्षजस्ता कारणले केही केही ठाउँमा अझै ती समस्याको समाधान गरेर निर्माण गर्नुपर्नेछ । नत्रभने कामहरू लगभग सम्पन्न भएका छन् । हुलाकी राजमार्ग मैले भनिरहनु परेन । अलिकति आरक्षले गर्दा ठोरीदेखि यता रोकिएको छ । चितवनको खास गरी तीन नम्बर क्षेत्र माडी र पश्चिमको क्षेत्रलाई जोड्ने ठाउँमा बाटो छुटेको छ । नारायणीमा थप पुलको विकास गर्नुपर्नेछ । नारायणीको तटबन्धलाई सम्मानपूर्ण निकट भविष्यमा सुदृढ ढङ्गले सम्पन्न गर्नुपर्दछ । यी कुराहरू तर्फ सरकारको ध्यान गएको छ ।
यो जिल्ला बहुतै ऐतिहासिक जिल्ला छ । यहाँको इतिहास अहिलेको मात्रै होइन, यस ठाउँको इतिहास त्रेतायुगदेखिको छ ।
राम जन्मदेखिको इतिहास छ । त्यहाँदेखिको लामो इतिहास छ । यो भूभाग हाम्रो वास्तवमा एउटा सभ्यताको सुरुवात भएको भूभाग हो । जनकपुर जस्ता, चरता जस्ता ठाउँहरू वा अरू विभिन्न ठाउँहरू, त्यसपछि द्वापर युगमा विभिन्न दार्शनिकहरूको यहाँ जन्म भएको थियो । तीन हजार वर्षभन्दा यताका मात्रै कुरा गर्ने हो भने स्वास्थ्य विज्ञान, त्यसको पुरानो इतिहास छ । त्यसलाई हामीले विकास गर्न सकिराखेका थिएनौँ । अहिले हामी ध्यान दिइरहेका छौँ । त्यस क्षेत्रमा पनि आयुर्वेद र परम्परागत उपचार पद्धति, हाम्रा जडीबुटीहरूको समेत विकास गरेर हामी लिएर जाँदैछौँ । यहाँ क्यान्सर अस्पताल, टिचिङ अस्पताल र अरू विभिन्न अस्पतालहरू बनेका छन् । त्यसबाट विद्यार्थीहरू उत्पादन भइराखेका छन् । अब धेरै नयाँ नयाँ कुराहरू यहाँका अस्पतालहरूले गर्दै छन् भन्ने कुरा मैले थाहा पाएको छु । तसर्थ, यस ठाउँलाई हामीले त्यसै गरी एउटा फराकिलो पन र फराकिलो मनका साथ यसलाई विकास गर्नुपर्छ ।
म धेरै कुरा देख्दै, भोग्दै र पचाउँदै आएको मान्छे हुँ । जे आउँछ मज्जाले पचाउँछ भनेको जस्तै म सबै कुरा डाइजेष्ट गरिहाल्छु । तर, अहिले चुनाव लागेको पनि छैन, चुनाव प्रचार गर्नु प¥या पनि छैन । त्यतापट्टि गइहाल्नुपर्ने आवश्यकता पनि छैन । म सबैलाई आग्रह गर्न चाहन्छु, सधैँ राजनीति मात्रै, सधैँ चुनाव मात्रै होइन, हामीले विकासमा ध्यान दिऊ । हामीले एक भएर देश बनाउनु पर्नेछ । मद भेदमा होइन, एकतामा जोड दिऊँ । विचारमा र अरू कुरामा विविधता हुनसक्छ तर देशको विकास गर्ने कुरामा मतभेद नराखौँ । देशको विकास गर्नुपर्छ, सबैले विकास गर्नु पर्छ । हामी सबै मिलेर विकास गर्ने हो । अरूले आएर हाम्रो देश बनाउँदैन, कसैले बनाइदिँदैन । जे सहयोग मान्छेहरू वा देशहरूले गर्ने गरेका थिए, अहिले विभिन्न सहयोगहरू धरापमा पर्ने गरेको हामीले देखेका छौँ । अरूको भर पर्दा के हुँदो रहेछ, कतिवटा देशले अरूका बलमा लड्ने लडाइँ, अरूका बलमा गरिने विकास यी सबै कुरा पनि हामीले देखेका छौँ, काम लाग्दैन । आफ्नो बलमा, आफ्नो राष्ट्रिय एकताका साथ एकजुट भएर हामीले अगाडि बढेर हामीले विकास गर्नु पर्छ । त्यसरी मात्रै हामीले हाम्रो देशलाई सुदृढ गर्न सक्छौँ, एकताबद्ध गर्न सक्छौँ, हाम्रो राष्ट्रियतालाई मजबुत पार्न सक्छौँ, हाम्रो अर्थतन्त्रलाई बलियो बनाउन सक्छौँ, हाम्रो डेमोक्रेसीलाई मजबुत पार्न सक्छौँ । त्यस कारण डेमोक्रेसीलाई मजबुत पार्ने, राष्ट्रियता बलियो बनाउने, सुशासन र विकासको गतिलाई अगाडि बढाउने कुरामा एकजुटताका साथ अगाडि बढ्न म सबैलाई आग्रह गर्न चाहन्छु ।
अहिले एसियन स्ट्याण्डरको भनेर हामीले झण्डै सात (६.०८) किलोमिटर एसियन स्ट्याण्डरमा एउटा बाटो पहिलो बनाएका छौँ । यो हाइवे पूर्वदेखि पश्चिमसम्म (काँकडभिट्टादेखि गड्डाचौकीसम्म) यो स्ट्याण्डरको बाटो हुनुपर्दछ । एउटा कुरा के भन्दा यत्तिकै फराकिलो, यत्तिकै सुविधा सम्पन्न ग्रामीण क्षेत्रमा पनि बनाउनुपर्ने अथवा खाली क्षेत्रमा पनि बनाउनुपर्ने वा जङ्गल क्षेत्रमा पनि बनाउनु पर्ने भन्ने हुँदैन । यो सहरी क्षेत्रमा भएको हुनाले एउटा नमुना हो । यो भन्दा अलिक साँघुराले पनि एसियन स्ट्याण्डर हुन्छ । त्यस कारण हामीले सहरी क्षेत्रमा चौडा बाटाहरू बनाएका छौँ, हाइवेलाई पनि र अरू बाटाहरूलाई पनि ताकी सहरका सवारीका चापहरूदेखि लिएर सबै कुरालाई ध्यानमा राखेर । जे होस् यसलाई हामी चौडा गर्दैछौँ, अघि पनि मैले भनेँ आठ खण्डमा हामीले निर्माण कार्य अगाडि बढाएका छौँ, सबै ठाउँलाई एसियन स्ट्याण्डरमा बनाउने भनेर । यसमा आठ लेनभन्दा ठुलो छ, फुटपाथ पनि चौडा छ । यस्ता बाटाहरू सहरी क्षेत्रमा निर्माण गर्दै जानुपर्छ ।
मुख्यमन्त्रीजीले भन्नुभयो, बनाउँदै फेरि भत्काउँदै, भत्काउँदै बनाउँदै, एउटा नाममा भत्काउने त्यसो नगरौँ । कुनै चिजको निर्माण सम्पूर्ण रूपमा एकैचोटी गरौँ । ढलको निर्माण, खानेपानी पाइप लाइनको विस्तार, बिजुली वा टेलिफोनको छ भने बाटो निर्माण हुनुभन्दा अगाडि गर्नु पर्छ । यति स्ट्याण्डरको बाटो बनाएपछि फेरि गीतै लिएर बिचमा टङर्याङ टङर्याङ खन्ने खालका कामहरू बिचमा गर्नु हुँदैन । त्यसका लागि पहिले नै समग्र डिजाइन गर्नुपर्छ । डिजाइनिङ भित्र सर्भिस लेनहरू, अरू सबै कुराको हामीले प्रबन्धहरू गरेका छौँ । त्यसरी नै अगाडि बढाउनुपर्छ । यो स्ट्याण्डरमा सडक बनेको छ, म खुसी व्यक्त गर्न चाहन्छु ।
देश नै विकासको बाटोमा अगाडि बढ्दै छ । यहाँका जनताहरूलाई यो सुविधा उपलब्ध भएको छ, म बधाई भन्न चाहन्छु । यहाँका सबै जनताले साथ र सहयोग दिनुभएको छ । म महानगरपालिका र अन्य पालिकाहरूलाई धन्यवाद दिन चाहन्छु । यहाँका नागरिकहरू कतिले आफूm बसोबास गरिरहेको ठाउँ छोड्नुपरेको होला । विसं २०२२ मा यसको निर्माण गर्ने कार्यको सुरुवात भयो भनौँ अथवा लगभग परिकल्पनाको स्थितिबाट अगाडि बढ्न थाल्यो । त्यस बेलादेखि बसिरहेका ठाउँहरू हुन सक्छन् । ती छोड्नु परेको होला । जेसुकै भए पनि आफ्नो घर भत्किँदा मान्छेलाई रमाइलो लाग्दैन तर देशको विकासका लागि त्यस्तो कामहरू गर्नुपर्ने हुन्छ । त्यसको वैकल्पिक व्यवस्था गर्नुपर्ने हुन्छ । वैकल्पिक व्यवस्था पहिला नगरिएको भए पनि आजको समयमा र जनताका पिर मर्काप्रति हामी अत्यन्त संवेदनशील छौँ । त्यस कारण जनतालाई परेका पिर मर्काहरूको वैकल्पिक व्यवस्था गरेर नै अगाडि बढेका छौँ र त्यसै गरी अगाडि बढ्छौँ । म यस सफलताका लागि खुुशी व्यक्त गर्दै बधाई र शुभकामना भन्न चाहन्छु । नयाँ वर्ष पनि भर्खरै प्रारम्भ भएको छ । नयाँ वर्ष अझै ३६० दिन चोखै बाँकी छन् । यी सबै दिनहरू सबैका निम्ति सुखमय, सफलताका र सुस्वास्थ्यका दिनहरू रुहुन् । धेरै धेरै शुभकामना छ ।
(सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वैशाख, २०८२ मा पूर्व–पश्चिम राजमार्गको पुलचोक–गोन्द्राङ सडकको उद्घाटन सभालाई गर्नुभएको सम्बोधनका आधारमा स्वकीय सचिवालयबाट तयार गरिएको )
