–युवराज बास्कोटा–
यति बेला राजधानी काठमाडौं शिक्षक आन्दोलनले अस्तव्यस्त छ । शिक्षक आन्दोलनको कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको छ । सर्वसाधारणले सास्ती खेपेका छन् ।
हामीकहाँ शिक्षा, शिक्षक र शिक्षणस्थल फरक फरक प्रकृतिका छन् । ती मध्ये आन्दोलित शिक्षक सामुदायिक विद्यालय सम्बद्ध छन् । सामुदायिक विद्यालयमै भर विश्वास गर्ने, समुदायको अपेक्षाअनुरूप अत्यन्तै ठुलो इमान र निष्ठासाथ खटिने, आफूले पढाएका विद्यार्थीले पाएको विषयगत नतिजामा विश्वास गर्ने, आफ्ना छोराछोरीलाई आफू सम्बद्ध विद्यालयमा नै पढाउने एकखाले उदाहरणीय शिक्षक छन् । अर्को तर्फ सामुदायिक विद्यालयमा प्राप्त हैसियतलाई धितो बन्धक राखेर सामुदायिक विद्यालयको प्रतिस्पर्धी सहअस्तित्वको निजी स्कुल सञ्चालन गर्ने, सञ्चालित स्कुलमा लगानी लगाउने, आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने, समुदाय र समुदायका छोराछोरीलाई पनि निजी विद्यालयमा पढाउन प्रोत्साहित तुल्याउने शिक्षक पनि छन् ।
अहिले पेसागत हक अधिकारका लागि भनिएको आन्दोलनमा सबै खाले शिक्षकको सहभागिता सराबरी छ । शिक्षणस्थल फरक हुनुको वस्तुगत कारणले विकसित गुण र धर्मका आँखाले नियाल्दा यो आन्दोलन कसको हो ? कुन कित्ताका शिक्षकको हो ? आन्दोलनले कसको पक्षपोषण गर्छ ? आन्दोलनसँग अन्तर सम्बन्धित वर्ग छ कि व्यवसाय ? धेरै प्रश्न उब्जिएका छन् ।
यद्यपि, निजी विद्यालय पनि राज्यको कानुन निर्देशित छन् । यहाँ पनि हाम्रै छोराछोरीहरू पढेका छन् । यसमार्फत थुप्रै बेरोजगारले रोजगार पाएका छन् । शिक्षाको नाममा देशबाहिर जाने रकम देशभित्रै घुमफिर हुन पाएको छ । देशको शैक्षिक विकास दरमा टेवा पुगेको छ । समाजसँगको सम्बन्ध विकास र अन्तरघुलनका कारण सामाजिक–सांस्कृतिक क्षेत्रमा समेत योगदान पुगेको छ ।
अहिले निजी विद्यालय कुनै आन्दोलनमा छैन । ती विद्यालयमा धमाधम पढाइ सुरु भइसकेको छ । जारी सामुदायिक विद्यालय सम्बद्ध शिक्षक–कर्मचारीको पेसागत अधिकार प्राप्तिको आन्दोलनमा निजी किन जोडिन पुग्यो ? किन चर्चामा आयो ? किन शङ्का अंशकाको सुविधा प्रयोग गर्नेका लागि बदनामको सिकार भयो ? प्रक्षेपण मात्र होइन, विवेकसम्मत विश्लेषण हुन जरुरी छ ।
आन्दोलनका पात्र विशेष प्रवृत्ति
- सामुदायिक विद्यालय ठप्प प्राय छ तर आन्दोलनरत शिक्षक–कर्मचारी आन्दोलन स्थलमै हाजिरी पुस्तिका लिएर गएका छन्, मनलाग्दी हाजिरी गरेका छन् ।
- राजनीतिक नेतृत्वप्रतिको कटाक्ष र व्यङ्ग्य मात्र होइन, पुरुष शिक्षकले समेत साडी डान्सदेखि भरपुर मनोरञ्जन लिइरहेका छन् ।
- निजी विद्यालय सञ्चालक र लगानीकर्ता सामुदायिक विद्यालय सम्बद्ध शिक्षक–कर्मचारीको आन्दोलनमा छन् ।
- आफ्ना छोराछोरी निजी विद्यालयमा पढ्न पठाएर सामुदायिक विद्यालयमा अध्यापनरत गुरुजन आन्दोलनमा गएका छन् ।
- सामुदायिक विद्यालय सम्बद्ध शिक्षक–कर्मचारी आन्दोलनका बारेमा एक अक्षर बोल्दैनन्, लेख्दैनन् ।
- आन्दोलन देखाएर केही शिक्षक–कर्मचारी तोकिएको क्षेत्रबाहिर मनोरञ्जनमा छन् । आन्दोलनको आह्वान गर्ने महासङ्घले जारी गरेको विज्ञप्तिसमेत लाइक सेयर गर्दैनन् ।
- समुदायमा सामुदायिक शिक्षा र शिक्षणका ठाउँबाट गर्नुपर्ने अभिभाराबारे एक शब्द लेख्दैनन्, बोल्दैनन् ।
- आफू चाहिँ आन्दोलनको ब्यानरमुनि आन्दोलित रहेको आडम्बरयुक्त अभिव्यक्ति साट्दै समुदायका छोराछोरीलाई आफू सम्मिलित निजी विद्यालयमा ल्याउन जोड दिइरहेका छन् ।
- आन्दोलित शिक्षक–कर्मचारीले कसैले कहिल्यै पनि आफ्ना कतिपय कारणले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्यो, सरकारको लगानीमा बालुवामा पानी हालेसरह भयो भनेर भनेका छैनन् ।
- परीक्षा नलिने, कापी नजाँच्ने, रिजल्ट नल्याउनु, विद्यार्थी भर्ना अभियान रोक्नु सरकारी लगानीबापतको समुदाय आधारित शिक्षालाई कमजोर बनाउने काममा देखिनुपर्ने हो, तर देखिएका छन् ।
- सरकारबाट तलब बुझेर सोही प्रकृतिका निजी स्कुल सञ्चालन गर्ने, निजी स्कुलका प्रवक्ता बनेर प्रचार गर्ने, आफूले जागिर खाएको विद्यालयको पढाइप्रति विश्वास नभएर आफ्ना छोराछोरीलाई निजीमा लैजाने, आफैँले पढाउने विद्यालयमा बालबालिकालाई लैजान समुदायसमक्ष भन्न नसक्नु राम्रो होइन, सच्चिनुपर्छ,
- कक्षा लिनुपर्ने शिक्षकले विद्यार्थीलाई अलपत्र छोडेर राजनीतिक दलका कार्यक्रममा सहभागी हुने, आफ्ना पेसागत हक अधिकारसहितका माग लिएर सडकमा उत्रेका शिक्षक गणतन्त्रविरुद्ध पनि उभिन तयार हुने, आन्दोलनका नाउँमा न्यूनतम मर्यादाको पनि ख्याल नगर्ने, आफ्ना मागभन्दा बढी राजनीतिक नेतृत्वको र आसेपासे भएर गालीगलौज र मानमर्दन गर्ने कार्यमा उत्रिएका छन् ।
- संसदीय उपसमितिमा छलफलमा रहेको र चाँडै संशोधनको क्रममा रहेको ऐनको लागि यो जरकमरक पूर्ण कसरत अलिक बढी भयो । तालुकदार मन्त्रालय र मन्त्रीसँग वार्ता नगर्ने, छलफलमा नबस्ने, शिक्षा मन्त्रीको नेतृत्वमा भएको सहमतिको प्रयासलाई लत्त्याउने काम भएको छ ।
आन्दोलनको असर
- भर्ना प्रक्रिया एक तहसम्म टुङ्गो लागेर निजी विद्यालयले पठनपाठनको काम नै सञ्चालनमा ल्याइसक्दा पनि सामुदायिक विद्यालय ठप्प हुनुले बालबालिकाको पढाई लेखाइ चाहिँ निजीमै हुँदो रहेछ भन्ने भान पर्दै र बढ्दै गएको छ ।
- बोर्ड व्यवस्थापनअन्तर्गत यस पटक प्राप्त कक्षा ८ को नतिजाले पनि समुदायलाई दृष्टान्तसहित प्रस्तुत हुन सजिलो भएको छ ।
- सामुदायिक विद्यालयमा आउन आतुर विद्यार्थी वैकल्पिक शिक्षा–शिक्षणको स्रोत चाहर्दै निजी विद्यालयमा गएका छन् ।
- आशातीत गति लिएका सामुदायिक विद्यालयमा पनि विद्यार्थीको सङ्ख्या घट्दो क्रममा छ ।
- विद्यार्थीको सङ्ख्या घट्यो भने कक्षागत अवस्था र कार्यस्थल कक्षा सञ्चालन पनि घट्ने सुनिश्चित छ ।
- निजी मोह भएका कतिपय शिक्षकले नै विद्यार्थीलाई त्यता लगेका छन् ।
- यसै पनि बढी बिदा भइरहने सामुदायिक विद्यालयमा निर्धारित कोर्स कसरी पूरा होला ! नियमित पठनपाठन र परीक्षाप्रति शङ्का आशङ्का उब्जेको छ ।
- अभिभावक र विद्यार्थीमा अनिश्चितता, भविष्य निर्माणप्रति डर त्रास बढेको छ र सरोकारवाला चिन्तित छन् ।
- सामुदायिक विद्यालयप्रति समुदायको विश्वास घट्दो र खस्कँदो अवस्थामा छ ।
- अहिले शिक्षकले उठाएका माग मुद्दा कथमकदाचित पूरा भएन भने शिक्षक स्वयंमा मनोबल घट्ने छ ।
- पढाइबाट अन्यत्र डाइभर्ट हुने, ड्रप आउट हुने विद्यार्थी सङ्ख्या नियन्त्रित होइन, ह्वात्तै बढ्ने निश्चय प्रायः छ ।
- कक्षा १२ लगायत शीर्षकका परीक्षाहरू रोकिए भने यसको तयारीमा रहेका विद्यार्थी र तिनका अभिभावकमा आक्रोश बढ्ने छ ।
समस्याको समाधान
- शिक्षक–कर्मचारीको आन्दोलन सामुदायिक विद्यालय शैक्षिक सुधारको आन्दोलन हो भनेर समुदायको विश्वास जित्न सक्ने वातावरण बनाउनुपर्छ ।
- सामुदायिक विद्यालय निर्माण, सञ्चालन र व्यवस्थापनको जिम्मा लिएको त्रीपक्षीय शक्तिबीच सहकार्य र समुदायसमक्ष अपील हुन जरुरी छ ।
- पठनपाठनबाहेक विद्यालय परिसरभित्र हुने रचनात्मक काममा स्थानीय समुदाय र सरोकारवालालाई जोड्न आवश्यक छ ।
- शिक्षक–कर्मचारीको आन्दोलितस्वरुप सार्वजनिक गर्नुको सट्टा मोजमस्तीका दृश्यचित्रहरू बाहिर आउने गरेका पक्षलाई नियन्त्रणमा लिनुपर्छ ।
- आन्दोलित पंक्ति नै आन्दोलनका बारेमा केही लेख्न, केही बोल्न आँट गर्दैन । आन्दोलनका कन्टेन्टसहित आफ्नो सहभागितालाई उद्देश्यपरक ढंगले सार्वजनिक गर्नुपर्छ ।
- नेतृत्व स्वयं बढ्ता जिम्मेवार, जवाफदेही र समुदायमा भरोसा र विश्वासको प्रतिक बन्नुपर्छ ।
- राजनीतिक गठजोड, सत्तासमिकरण र राजनीतिक रुचि प्रकटीकरण भएका विषयवस्तुलाई निस्तेज गर्नुपर्छ ।
- उपलब्ध सामाजिक सञ्जाल अर्थात् आमसञ्चारमार्फत जनचेतना र जनसमर्थन जुटाउन सबै एकलयमा लाग्नुपर्छ ।
शिक्षक–कर्मचारीको पेसागत हकअधिकारको बहस पैरवीका लागि हामीले चाहेको पक्ष यो हो । तर समाजको बौद्धिक वर्गको प्रतिनिधित्व गर्नुहुने गुरजनले यो कुरा बुझिदिनुभएन ।
एउटा सन्दर्भ
संशोधनसहितको शिक्षा ऐन चाहिन्छ । यो ऐन लिएर मात्र कार्यस्थल फर्किइन्छ भनेर आन्दोलनरत शिक्षक–कर्मचारी उद्घोष गरिरहेका छन् । आन्दोलनमा सामेल भएर फर्कने क्रममा एकजना गुरु मानबहादुर घलेको सडक दुर्घटनामा निधन भयो । यो लगायत कतिपय विषयवस्तुलाई सूक्ष्म ढङ्गले केलाउँदा जारी आन्दोलनबाट उपलब्धिभन्दा बढी क्षति भएको छ ।
संरचनागत विकासका दृष्टिकोणले सामुदायिक विद्यालय भनेको विद्यालय निर्माणमा सर्वस्व खर्चिएको स्थानीय समुदाय, तिनका छोराछोरी र विद्यालयमा प्रवेश पाएका छोराछोरीलाई पढाइदिने शैक्षिक जनशक्ति अर्थात् शिक्षक–कर्मचारीसहितको विद्यालय प्रशासन हो । परस्पर तीनवटा बिच अन्तरसम्बन्ध, अन्तरघुलन र सहकार्य नभएसम्म सामुदायिक विद्यालय चल्न सक्दैन । यसपटक उठेको शिक्षक–कर्मचारीको भनिएको पेसागत हक अधिकार प्रत्याभूति प्राप्तिको आन्दोलनमा स्थानीय समुदाय अर्थात् अभिभावक र तिनका छोराछोरीलाई जोडिएको छैन, तिनको पनि चिन्ता, चासो र सरोकारलाई नजिक्याउने प्रयास गरिएको छैन एकातिर भने अर्कोतिर नयाँ वर्षारम्भसँगै आरम्भ भएको शैक्षिकसत्र आन्दोलनका कारण पूर्णतः प्रभावित भएको छ ।
आन्दोलनसँग प्रत्यक्ष जोडिनुभएका शिक्षक–कर्मचारीको उपस्थिति विद्यालयमा अभाव खड्किएपछि शैक्षिक प्रशासन ठप्प प्रायः छ । पछिल्ला वर्षको परीक्षा नतिजा प्राप्त गरेको विद्यार्थी–अभिभावक माझ विषयगत सुधारका पक्षमा परामर्श हुन पाएको छैन । अभिभावक र शिक्षकको स्वार्थको केन्द्र भागमा रहेको विद्यार्थीको अवस्था विकासमा आधारित रहेर संवाद आदानप्रदान हुन पाएको छैन । अभिभावकसँगको नियमित उठबस, बिचार भाव आदानप्रदान, नयाँ भर्ना प्रक्रिया आदि आरम्भ हुन पाएको छैन । विद्यालयको नियमित शिक्षण विधि र शैक्षिक तालिका बनेको छैन । विद्यालय परिसरको सरसफाइसहित आवश्यक व्यवस्थापन हुन पाएको छैन । सरोकारवालाको सरोकारलाई लिन पाइएको छैन ।
प्रतिस्पर्धी निजी विद्यालयले वर्षारम्भसँगै पठनपाठन आरम्भ गरिसक्दा पनि सामुदायिक विद्यालय खुल्ने चाइँचुइँ चुइँक्क केही छैन । यसले समाजमा अस्वाभाविक ढङ्गले बढाएको खुल्दुली, चासो र चिन्ताले घर गर्दै जाँदा अभिभावकको सक्रियता क्रमशः बढेको छ । शैक्षिक गुणस्तर सुधारको अभियानअन्तर्गत सहकार्यरत सामुदायिक विद्यालयमा आफ्ना उत्तराधिकारीको नियमित पढाई लेखाइ, अध्ययन, अनुसन्धानप्रति सधैँभरि चिन्तित अभिभावकको सक्रियता बढेको छ । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ ।
हामी प्रतिनिधिमूलक केही अभिभावकले विद्यालय व्यवस्थापन समितिको हकमा उभिएर यसबेला के गर्न सकिन्छ ? गर्नुपर्छ । पेसागत हक अधिकारको रूपमा उठेको आन्दोलनमा सामेल शिक्षक–कर्मचारीलाई खुसी तुल्याउन शैक्षिक गुणस्तर सुधारको अभियानले सार्थकता आर्जन गर्न सहज हुन्छ । यस कारण पनि सहजताका निमित्त सहकार्य गर्नुपर्छ भन्ने अर्थमा सक्रियता लियौँ । आन्दोलनरत शक्तिले यसलाई आन्दोलनप्रतिको अनादर, अवज्ञा, असहयोग आदिका रूपमा लियो होला शायद ! आन्दोलनको आह्वान गर्ने नेपाल शिक्षक महासंघले हिजो हामी केही अभिभावकमाझ छलफल तथा अन्तरक्रिया कार्यक्रम राख्यो ।
जिम्मेवार अभिभावकका ठाउँबाट उभिएर हेर्दा उब्जेका कतिपय विषयगत पक्षहरूलाई जस्तोतस्तै राख्ने प्रयत्न भयो । गुरुजनसँगको अभिभावकको अपेक्षा र अभिभावकसँगको गुरुजनको अपेक्षा अभिव्यक्त हुने आशयमाथि गुरुजनको प्रतिउत्तर प्रस्तुतिले यो धर्ती र आकाश कहिले र कहाँ मिल्ला र ? भन्ने ठाउँमा पुग्यो । विद्यालय व्यवस्थापन समितिको ढाँचाभित्र अध्यक्षता गर्नुहुने अध्यक्षमाथि प्रधानाध्यापकको प्रतिउत्तर अशोभनीय थिएन, एकदमै अशोभनीय थियो । हप्की, दप्की र धम्कीपूर्ण थियो ।
