-केपी शर्मा ओली -
आज लुम्बिनी विकास कोष लगायत विभिन्न संस्थाहरूले आयोजना गर्नुभएको र लगभग ४० देशका प्रतिनिधिहरूको सहभागिता रहेको यस चौथो अन्तर्राष्ट्रिय महोत्सवमा विदेशबाट आउनुभएका सम्पूर्ण पाहुनाहरूलाई म हार्दिक स्वागत गर्न चाहन्छु र देशभित्रका सबै दाजुभाइ दिदीबहिनीहरूलाई पनि स्वागत गर्न चाहन्छु ।
आज हामी एउटा महान् उत्सव मनाइरहेका छौँ । यो चौथो विश्व बुद्धिष्ट फेस्टिवल असाधारण महत्वको छ । आज एउटा सर्वथा नयाँ काम पनि यहाँ भएको छ कि जन्मने बित्तिकैका बालबुद्धको, बालक बुद्धको एउटै प्रतिकीर्ति अनावरण भएको छ । यो हल पनि हामीले केही वर्ष अगाडि मात्रै निर्माण गरेका हौँ ।
यसको इतिहास नै सुरु हुन्छ २०७३ सालबाट । माननीय आनन्द पोखरेल त्यस बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुनुहुन्थ्यो । त्यस बेला हामीले बुद्ध जयन्तीका दिन यही पाल टाँगेर कार्यक्रम गर्ने हिसाबले अघिल्लै दिन पाल टाँगेका थियौँ तर राती नै हावाहुरी र वर्षाले पाल उडाइदियो । बिहान हतार हतारमा पाल टाँगेर हिलोमा कुर्सीहरू राखेर अस्थायी मञ्च बनाएर कार्यक्रम गरेका थियौँ ।
मैले त्यस बेला भनेको थिएँ, अब हामीले यसरी नभत्किने सुविधा सम्पन्न हल बनाउने छौँ भनेर । तर, २०७४ सालको एउटा बुद्धजयन्ती बिचमा खाली रह्यो र २)७४ सालमा म प्रधानमन्त्री भएर आउने बित्तिकै मैले त्यसै गरी बुद्धजयन्तीमा हावाहुरीले उडाउँछ भनेर म फागुनमा प्रधानमन्त्री हुने बित्तिकै मैले कमसेकम एउटा ३ हजार अट्ने हल बनाऊँ भनेर हामीले सुरु गर्यौँ र जन्मजयन्ती तीन हजार अट्ने हल त्यति बेला बनाएको बहुत सुरक्षित ढङ्गले मनायौँ । त्यस दिन पनि राती र बिहान त्यसै गरी हावाहुरी चल्यो । यदि हामीले त्यो हल नबनाएको भए सम्भव हुने थिएन ।
त्यसपछि हामीले बुद्धको पवित्र जन्मभूमि, यस जन्मभूमिमा बुद्धका विचारहरूको बारेमा शिक्षा ग्रहण गर्ने, प्रवचन दिने, मन्थन गर्ने, ध्यान गर्ने, विपश्यना गर्ने त्यस्ता अवसरहरूका निम्ति उपयुक्त स्थल भएन भने यो अधुरै हुन्छ भनेर हामीले बुद्धजयन्ती मनाउनु पर्यो, गोष्ठीहरू गर्नु¥यो, भेलाहरू गर्नुपर्यो, यसका निम्ति एउटा ठुलो हल बनाउनुपर्छ भनेर मैले नै घोषणा गरेको थिएँ र त्यसलाई हामीले सुरु गर्यौँ ।
आरामसँग ५ हजार मान्छेले ध्यान गर्न सक्ने ध्यान केन्द्र निर्माण गरौँ भनेर हामीले सुरु ग¥यौँ । फलस्वरूप यो ध्यान केन्द्र निर्माण भयो र आज हामी यसैमा यो समारोह गरिरहेका छौँ ।
आगामी दिनमा लुम्बिनी विकास कोषलाई म ध्यानाकर्षण गर्न चाहन्छु कि अहिले बोलेको बुझ्न गाह्रो भइराखेको छ । इको भएर आवाज आइराखेको छ, भित्तामा आवाज ठोकिएर आइराखेको छ । त्यसले सुन्न असुविधा भएको छ । तीन चार करोड लाग्ला, त्यति लाग्छ भने पनि केही छैन तर चिप्स राखेर साउण्ड सिस्टमलाई अवजर्व गर्ने, इको हुन नदिने खालको प्रबन्ध भरसक छिटो गर्नुस् । अब यसै वर्षको बुद्धजयन्तीमा नभ्याइएला, अर्को वर्षको बुद्धजयन्ती भित्रै यो काम गरिसक्नुस् ।
अर्को वर्ष हामी सबैले भनेको कुरा सबैले राम्ररी सुन्न, बुझ्न सक्ने गरी हलमा कार्यक्रम गर्न पाउँ । यसका निम्ति माननीय पर्यटन संस्कृति र नागरिक उड्डयन मन्त्रीज्यूको पनि ध्यान जाओस् । लुम्बिनी विकास कोषको रकमले पुग्दैन भने मन्त्रालयबाट रकम जाओस् । मन्त्रालयको रकमले भ्याउँदैन भने मन्त्रिपरिषद्मा प्रस्ताव आओस् । यसका निम्ति जसरी हुन्छ यसलाई हामीले छिटै तयार गर्नु पर्दछ , ताकी सुविधा सम्पन्न हुन सकोस् ।
आज हामी यस पवित्र स्थलमा छौँ । यो बुद्धको जन्मथलो हो तर यो त्यति मात्रै होइन, यो पावन भूमि बुद्ध दर्शनको उद्गमस्थल पनि हो । बुद्ध दर्शन यहीँबाट सुरु भएको थियो । त्यही दर्शन बोकेर बुद्धले दरबार छोड्नु भएको थियो । भावी राजाको पदवी परित्याग गर्नुभएको थियो । श्रीमती र सानो छोरा छोडेर उहाँ हिँड्नुभएको थियो । मानव जातिको कल्याण कसरी हुन्छ भनेर हिँड्नुभएको थियो ।
आफ्नो कल्याण त भएकै थियो, उहाँ दरबारमा बस्नुहुन्थ्यो । उहाँलाई आफ्नो समस्या थिएन । आफ्ना निम्ति सुख सुविधाका समस्या केही पनि थिएन, प्राप्त थिए र उपलब्ध थिए । तर दुनियाँलाई सुख कसरी बनाउने, दुनियाँमा दुःख छन्, दुःखका कारणहरू पनि अवश्य छन् र ती कारण के हुन्, ती पत्ता लगाउने र जब दुःख छ र दुःखका कारण छन् भने ती कारणहरूको समाधान पनि छ, समस्या छ भने समाधान पनि छ भन्ने उहाँले घर छोडेर, दरबार छोडेर सबै कुरा परित्याग गरेर बाहिर निस्किनुभयो र अगाडि जानुभयो ।
यो पावन भूमि परित्याग गर्दा उहाँको मनमा लोक कल्याणका, शान्तिका, दुःख निवारणका उपायहरू, यसको सम्बन्धमा चिन्तनको प्रारम्भ भएको थियो । त्यसै कारण हामी भन्छौँ, इटस् नट वान्ली द वर्थ प्लेस अफ लर्ड बुद्ध, बट अल्सो त द फाउण्टेन अफ बुद्धिस्ट फिलोसोफी अर बुद्धिजम । तसर्थ, यो अत्यन्तै पावन र पवित्र भूमि हो । बुद्ध महानिर्वाण भएको २५६८ वर्ष भयो । महानिर्वाण भएको २५६८ वर्षपछि उहाँका अनुयायीहरू झन् बढी बढिरहेका छन् । हामीसँग आज सबै महादेश जसोबाट प्रतिनिधि साथीहरू उपस्थित हुनुभएको छ ।
अफ्रिकाबाट, युरोपबाट, एसियाबाट, पूर्वी एसियाबाट, अमेरिकी र विभिन्न भागहरूबाट यहाँ उपस्थित हुनुभएको छ । आइ उड लाइक टु वेलकम अल द फ्रेण्डस् फरम द डिफरेन्ट पार्ट अफ द वर्ल्ड एण्ड फ्रम डिफरेन्ट कन्ट्रीज, हु आर हेयर टु टेक पार्ट इन दिस फोर्थ इन्टरनेशनल बुद्धिष्ट कन्फरेन्स, ग्लोबल कन्फरेन्स वी अर्गनाइज टुडे हियर इन द वर्थ प्लेस अफ लर्ड बुद्ध एण्ड द फाउण्टेन अफ बुद्धिष्ट फिलोसोफी ।
म आग्रह गर्न चाहन्छु, हामीलाई बुद्धिजम आजको झन् बढी आवश्यकता हो, शान्ति आजको झन् बढी आवश्यकता हो । किनभने आज दुनियाँमा युद्धका बादलहरू मडारिरहेका छन् । दुनियाँ कहीँ युद्धतिर त जाँदैन, युद्ध गर्नका लागि पर्याप्त सैन्य शक्ति र सैन्य शक्तिलाई परिचालन गर्नका लागि जल, थल र आकाश सबै ठाउँबाट प्रहार गर्न सकिने, सबै ठाउँमा युद्ध गर्न सकिने खतरनाक हतियारहरूको निर्माण भएको छ, मासडिस्ट्रक्सनका हतियारहरूको निर्माण भएको छ, जुन कुरा बहुतै खतरनाक कुरा हो । विश्व शान्तिका लागि एउटा चुनौती हो ।
यसलाई रोक्ने कुरा, म भन्न चाहन्छु, हतियारले, युद्धबाट युद्धले शान्ति स्थापना गर्न सक्दैन । युद्धबाट युद्ध, युद्धमाथि युद्ध थोपरिएर, हिंसामाथि हिंसा थोपरिएर अझ ठुलो हिंसा थोपरिएर हिंसा र विनाश थोपरिने हो, शान्तिको सम्भावना हुँदैन । त्यस कारण विश्वभरिका सचेत र शान्तिप्रिय मानिसहरूको शान्तिका निम्तिको आकाङ्क्षा र संयुक्त आवाज नै विश्व शान्तिको स्थापना र त्यसलाई कायम राख्ने कुराको सबैभन्दा भरपर्दो आधार हो । त्यसै कारण यसमा बुद्धका शिक्षाहरू, शान्तिका शिक्षाहरू आज यस कारण झन् बढी महत्वका रहेका छन् ।
आज हामीहरू बुद्धका शिक्षाहरूलाई, शान्ति, करुणा, सहअस्तित्व र पारस्परिक मित्रता, प्रेमजस्ता कुराहरूलाई विस्तार गर्नका लागि विश्वका विभिन्न भागबाट यहाँ जम्मा भएका छौँ । यो यसै प्रयासका लागि छ । हाम्रा प्रयासहरू अगाडि बढ्ने छन् र अगाडि बढाइने छन् ।
म आग्रह गर्न चाहन्छु र भन्न चाहन्छु, हामीले हामीभन्दा अगाडिका हाम्रा अग्रजहरू जसले बुद्धका शान्तिप्रिय विचारहरू, मानवतावादी विचारहरू र वास्तवमा शान्ति, करुणा र मैत्रीका सिद्धान्तहरू, विचारहरू दिएर त्यो बाटो अवलम्बन गर्न मानव जातिलाई उत्प्रेरित गर्दै प्रस्तुत भएका छन् । तिनीहरूलाई जीवित राख्नका लागि विगतमा सानो सङ्घर्ष गर्नु परेन, धेरै ठुलो सङ्घर्ष गरेर बुद्धका विचारहरूलाई कायम राख्नु पर्यो । ब्रम्हाण्डहरुले बुद्धका विचारहरूलाई सिद्ध्याउने प्रयास गरे । तर, बुद्धका विचारहरूमा मानवीय आकाङ्क्षाको धेरै प्रबल गुदी त्यसभित्र थियो, मानवीय आकाङ्क्षाहरूको केन्द्रबिन्दु त्यसभित्र थियो । त्यस कारण अधिनायकवादका दमनहरूले अथवा अनेक आक्रमणहरूले बुद्धका सालिक तोड्ने, बुद्धका ग्रन्थहरू नष्ट गर्नेजस्ता कुराहरूले बुद्धका विचारहरूलाई समाप्त पारेन । जब बुद्ध महानिर्वाण गर्ने, त्यस विन्दुमा पुग्नुभएको थियो । उहाँका शिष्यहरूले वरिपरि बसेर चिन्ता जाहेर गरे, भगवान् यहाँको अनुपस्थितिमा हामी अब कसरी यी शान्तिका विचारहरूलाई, मानवताका विचारहरूलाई अगाडि बढाउन सकौँला ? हामी त संकटमा पर्न सक्ने छौँ । कसले बुद्धका विचारहरूलाई बचाउला, फैलाउला, कसले प्रवचन देला, कसले विचारहरू बनाउला भनेर चिन्ता गर्दा बुद्धले जवाफ दिनुभएको थियो, मैले प्रस्तुत गरेका मेरा विचारहरू, शान्तिका पक्षका, मानवताका पक्षका मेरा विचारहरू, यिनले नै यी विचारहरूलाई जीवित राख्ने छन् । त्यस कारण चिन्ता नगर, आफ्ना काममा लाग । म धन्यवाद भन्न चाहन्छु, यो लामो शृङ्खलामा २६ सय १२ वर्षदेखि यताका वर्षहरू, जहाँ बुद्धले बुद्धत्व प्राप्त गर्नुभयो र ज्ञान विस्तारका लागि उहाँ प्रयत्नशील रहनुभयो । त्यसयता खेपेका दुःखहरू, कष्टहरू त्यसका लागि बलिदान जसले दिनुपर्यो, त्यसका लागि म उहाँहरूलाई अत्यन्तै आदर र सम्मान गर्न चाहन्छु ।
सबैभन्दा पहिला बुद्धका विचारहरूलाई जीवित राख्नका लागि जब उहाँका तीन नजिकका शिष्यहरू, महाकश्यप, आनन्द र उपित, उहाँहरूले जब सात वर्षका लागि पाँच सय भिक्षु तयार गरेर, अनुयायीहरू तयार गरेर उहाँहरूलाई शिक्षा दिन थाल्नुभयो र विभिन्न ठाउँमा बुद्धले दिएका उपदेशहरूलाई सङ्कलन गर्न थाल्नुभयो र सङ्कलित विचारहरूलाई तीन भागमा बाँड्न थाल्नुभयो ।
हामी त्रिपिटक भन्छौँ (विनयपिटक, सत्तपिटक र धम्मपिटक) । त्रिपिटक भनेको तीनवटा बास्केट, टोकरी वा डालोहरू हो । विनयमा पर्छ कि सत्तमा पर्छ कि धम्मामा पर्छ । विनयशीलतामा पर्ने कुराहरू विनयपिटकमा राखियो, सुत्तमा पर्ने कुराहरू सुत्तमा राखियो र धर्मभित्र पर्ने कुराहरू धम्मपिटकमा राखियो । यसरी त्रिपिटकको जन्म भयो र त्रिपिटक पाँच सय भिक्षुहरूलाई लगातार पढाइयो । विम्बिसार जसले यस काममा मद्दत गरे । त्यति भिक्षुहरूको राख्न सक्ने प्रबन्ध गरे र यो काम सम्पन्न भयो । आठौँ वर्षमा पाँच सय भिक्षुहरू विश्वव्यापी रूपमा छरिए । उपदेश दिँदै, त्रिपिटक बताउँदै, बुद्धका सन्देशहरू छर्दै अगाडि बढे । त्यसलाई समर्थन गर्दै र पछ्याउँदै आजसम्म विश्व झन्झन् बुद्धिजम विस्तार भइरहेको छ ।
शान्ति, मानवता, करुणा र मित्रता विस्तार भइरहेका छन् । जसले विश्वलाई प्रेरित गरिराखेको छ, उज्यालो गरिराखेको छ, शान्तिको मार्गमा हिँडाइराखेको छ । यी कुराहरूलाई आज हामीले अगाडि बढाउनु पर्नेछ । त्रिपिटक निर्माण गर्दाजस्ता कठिनाइ आज छैनन् । आज सजिलो छ ।
यो सजिलो अवस्थालाई सदुपयोग गरेर हामीले बुद्धका विचारहरूलाई, शिक्षाहरूलाई र बुद्धिजमलाई विकास गरेर अगाडि बढाउनु पर्दछ । बुद्धका शिक्षाहरू के हुन् र बुद्धको महत्त्व र महत्तावलाई हामीले अगाडि बढाउनु पर्दछ । अंगुलीमाल जस्ताहरूलाई बुद्धले शिष्य बनाउनुभएको थियो । अशोकजस्ता एउटा उद्दण्ड तानासाह राजालाई शान्तिप्रिय भिक्षु बनाउनुभएको थियो । आज हामी जुन ठाउँमा छौँ, यहीँ ठाउँमा आएर यहीँ हो बुद्धको जन्मथलो भनेर अशोकले स्तम्भ बनाएका थिए । सम्राट अशोकले यहाँ स्तम्भ बनाएका थिए । म ह्वाइनसाङजस्ता चिनियाँ यात्रीहरूलाई धन्यवाद भन्न चाहन्छु, ढलिसकेको, गायब भएको चिजलाई पनि पत्ता लगाएर यहीँ ठाउँमा अशोकले खडा गरेको स्तम्भ यहीँ ठाउँमा थियो र यहीँ हो बुद्धको जन्मथलो भनेर उहाँले गर्नुभएको थियो । म चिनियाँ भिक्षुहरूलाई धन्यवाद भन्न चाहन्छु कि उहाँहरूले जुन योगदान नेपालका विभिन्न धार्मिक र ऐतिहासिक स्थलहरूमा चिन्नका लागि योगदान गर्नुभएको छ ।
त्यसै कारण अघि चिनियाँ मित्र वक्ताले भन्नुभयो, नेपाल र चीनको सम्बन्ध कूटनीतिक, आर्थिक, राजनीतिक मात्रै होइन, यसमा भावनात्मक, मानवीय, परस्परमा सहयोग गर्ने सहयोगी छ । अहिले कूटनीतिक सम्बन्ध रहेपछि मात्रै होइन, इतिहासदेखि रहँदै आएको छ । हाम्रा दुई छिमेकीहरूसँगको हाम्रो सम्बन्ध कूटनीतिभन्दा पुरानो छ । विभिन्न राज्यहरूको निर्माण, आजका सिमानाहरूभन्दा पुरानो छ । संस्कृतिको निर्माणसँग जोडिएको छ । त्यसो भएर हामीले यी चिजहरूलाई बुझेर अगाडि बढाउनु पर्दछ ।
आज वसुधैव कुटुम्बकम् भन्ने विश्व नै एउटा परिवार हो भन्ने अवस्थामा हामी पुगेका छौँ र विश्वको यो परिवार बुद्धका सन्देशहरू, बुद्धका विचारहरू शान्तिको पक्षमा अङ्गाल्न र यसलाई प्रवाहित गर्न तयार हुनुपर्दछ । यसैमा विश्वको कल्याण छ । यसका निम्ति चौथो अन्तर्राष्ट्रिय बुद्ध महोत्सवको आयोजना गरेर यहाँहरूले महत्त्वपूर्ण काम गर्नुभएको छ । हामी बुद्धको जन्मदिनमा यहीँ भेटौँ भन्ने म सबैलाई आग्रह पनि गर्न चाहन्छु । अगेन अन द ह्याप्पि वर्थ डे अफ लर्ड बुद्ध एण्ड हिज महानिर्वाण बि वील बि हियर, वील बि ग्यादर हियर अगेन टु सेलेब्रेट एण्ड टु टेक न्यू डिटरमिनेशन टु फलो हिज टिचिङ्स, हिज द पिस एण्ड पाथ फर द ग्लोबल इन्टायर ह्युमानिटी । भवतु सर्व मंगलम् । सबैलाई मंगल होस् । धन्यवाद ।
(प्रधानमन्त्री केपी शर्मा ओलीले १३ वैशाख २०८२ मा लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवका अवसरमा व्यक्त गर्नुभएको सम्बोधन मन्तव्यका आधारमा स्वकीय सचिवालयबाट तयार गरिएको )
