-अमृत कुमार प्रसाईं
काठमाडाैं । सामान्यत: अहिले देखिएका राजनीतिक पुस्ताहरुमा सन् 1965 - 1980 बिच जन्मेका Zen X , सन् 1981 -1996 बिच जन्मेका zen Y , सन् 1997 - 2012 बिच जन्मेका zen Z र सन् 2013 पछि जन्मेका zen Alpha रहेका छन् ।
यी सबै पुस्ताहरुले नेपाली समाजमा नयाँ चेतना र सक्रियता भित्र्याइरहेका छन् । उनीहरुको सोच स्वतन्त्र , प्रविधिमैत्री , समानतामुलक र बिश्व नागरिकको धरातलमा उभिएको छ । आजको सामाजिक रुपान्तरणमा यिनको भुमिकालाई समेटन सक्नुलाई नै राजनीती र विकासको सफलता मान्नुपर्छ ।
तर zen Y पछिको पुस्ता केवल नारावाजी र असन्तोषको भडकाउमा सिमित हुनु घातक हुनेछ ।राजनीतिक दलहरूले उनीहरुको शक्ति र संभावनालाई सकारात्मक दिशामा लैजानु आवश्यक छ - जस्तै शिक्षा , संवाद सहितको निति निर्माण , लोकतान्त्रिक संस्कारको विकास र सक्रिय समावेशीकरण मार्फत उनीहरूलाई राष्ट्रको मुल प्रवाहमा समावेश गर्नुपर्छ ।
त्यसैगरी यथार्थवादी प्रशिक्षण कार्यक्रमहरु ,भिजन केन्द्रित युवा संगठनहरु र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै गम्भीर ,लोकतान्त्रिक संस्कार अभ्यस्त गरिनुपर्छ । यसरी मात्र नयाँ पुस्ताले सामाजिक सशक्तीकरणमा विकास र राष्ट्रिय हितमा निर्णायक योगदान दिन सक्नेछन् ।
वर्तमान समयमा देखिएका चुनौतीहरुमा नयाँ पुस्तामा छरिएको राजनीतिक असन्तोष , गैर - जिम्मेवार दलहरुले फैलाएको भिडतन्त्र , स्टन्ट राजनीति र राजावादी समर्थक र प्रवृत्तिको संविधान माथिको हस्तक्षेप प्रयास मुख्य रहेका छन् । यी प्रवृत्तिहरुले नेपालको लोकतान्त्रिक बृक्षलाइ कमजोर बनाउने खतरा देखिन्छ । नयाँ पुस्तालाई गम्भीर , जिम्मेवार र बैज्ञानिक राजनीतिक चेतनासंग बांध्नु जिम्मेवार राजनीतिकदलहरु र यसका नेतृत्वको अबको कार्यभार हुनुपर्छ ।
नेपालका मुख्य राजनीतिक दलहरू अहिले परिवर्तनको दोबाटोमा उभिएका छन् । यथास्थितिवादी सोच ,नेतृत्व प्रतिको मोह र जनता केन्द्रित सेवा भन्दा पार्टी केन्द्रित राजनीतिले दलहरुको विश्वसनीयता संकटमा परिरहेको छ तर यी कठिनाइहरुलाई स्वीकारेर समसामयिक यथार्थ र नयाँ पुस्ताको आकांक्षासंग समन्वय गर्न सक्यो भने नेपाली राजनीति अझ सुदृढ , जवाफदेही र भविष्य - मुखी बन्न सक्नेछ । दलहरुको सफलताको सुत्र अब परम्परागत हैन , बरु समावेशी नेतृत्व , नीतिगत नविनता र जनता केन्द्रित कार्यशैलीमा निर्भर रहनेछ ।
अहिलेको संवेेदनशिल घडीमा ठुला दलहरू विशेषगरी नेकपा एमाले र नेपाली काङ्ग्रेस राष्ट्रिय राजनीति स्थिरता र उत्तरदायित्वको मेरुदण्ड बन्नुपर्नेछ । काङ्ग्रेसले आफ्नो एतिहासिक लोकतान्त्रिक गाथालाई समेट्नुपर्छ भने नेकपा एमालेले परिवर्तनशिल समाजसंग सुसंगत हुँदै अग्रगामी सोच र संगठनात्मक सुदृढीकरणलाई अगाडि बढाउनुपर्छ । के पि शर्मा ओलीको नेतृत्वमा नेकपा एमालेले महिलाहरु ( राष्ट्रपति , प्रधान न्यायाधीश , सभामुख बनाउन खेलेको भुमिका ) युवाहरू र नयाँ पुस्तालाई नारा मात्र हैन , संगठनको निर्णायक तहमा ल्याउने कार्य प्रशंसनिय छन् । युवाहरूलाई जिम्मेवारी र प्रशिक्षण दुबै संगसंगै दिइरहनु वास्तवमा दीर्घकालीन लोकतान्त्रिक स्थायीत्वको जग बन्दैजान्छ भन्ने कुरा मुलधारका दलहरूले बुझ्न जरुरी छ ।
संविधानको रक्षा ,विकासको मार्ग प्रसस्त गर्ने र नयाँ पुस्तालाई भड्काउबाट बचाइ गम्भीर राजनीतिमा समावेश गराउने जिम्मेवारी मुख्य राजनीतिक दलका नेतृत्वहरुले लिनुपर्छ । किनकी सशक्त पुस्ता र स्थिर राजनीति बिच अविच्छिन्न र अन्योन्याश्रीत सम्बन्ध हुन्छ । नयाँ पुस्ताको उर्जालाई राष्ट्र निर्माणमा रुपान्तरण गर्न सकिएन भने , सिंगो लोकतान्त्रिक प्रणाली नै जोखिममा पर्नसक्छ ।
यसर्थ अब समय आएको छ - जेन पुस्तालाई चेतनशील, लोकतान्त्रिक र राष्ट्रप्रति उत्तरदायी नागरिक बनाउदै नेपालको राजनीतिलाई स्थायीत्व दिने र समृद्ध नेपाल सुखी नेपालीको यात्रा तर्फ देशलाई अगाडि बढाउने । राजनीति तब मात्र सफल हुन्छ , जब जेन पुस्ताको उर्जा राष्ट्र निर्माणमा परिचालित हुन्छ । आजको आवश्यकता यही हो ।
