काठमाडौं । केही दिन अघि देशले एक सच्चा नेताका साथै एक साहित्यिक व्यक्ति प्रदीप नेपाललाई गुमायो । साहित्यिमा अथाह रुची भएकाले उहाँले आफ्नो साहित्यिक नाम संजय थापा राख्नुभएको थियो । , नेपाली राजनीति र साहित्यको क्षेत्रका एउटा जीवित किंवदन्ती नै हुनुहुन्थ्यो प्रदिप नेपाल । नेपालको जीवन एउटा आन्दोलन थियो । विचार, शब्द र सङ्घर्षको आन्दोलन नै थियो । २०१० साल पुष २८ गते जन्मनुभएका नेपालले किशोरावस्थामै देश र जनताको पक्षमा बोल्न थाल्नुभएको थियो । २०२६ सालमा विद्यार्थी राजनीतिबाट सुरु भएको उनको रानीतिक यात्रा केवल राजनीतिक सञ्जाल विस्तारमा सीमित नभएर , त्यो समाज रूपान्तरणको दिशामा अग्रसर सोचको प्रतिनिधि बनेको पाइन्छ ।
नेपालले २०३५ सालमा नेपाल नेकपा मालेको सस्थापाक भई वामपन्थी विचारलाई सांगठनिक स्वरूप दिन महत्वपूर्ण भूमिका खेल्नुभयो। २०४९ सम्म उनले विभिन्न जिल्लामा पार्टीको इन्चार्जको रूपमा भूमिगत रहँदै संगठन निर्माणमा लाग्नुभयो ।
उहाँको जीवन केवल राजनीतिक पदका लागि होड होइन, विचारको स्थायित्वका लागि निरन्तर यात्रा थियो । २०४९ मा एमालेको केन्द्रीय सदस्य बनेपछि राष्ट्रिय राजनीतिमा उहाँको उपस्थिति थप बलियो बन्यो। उहाँ २०५० मा राष्ट्रिय सभा सदस्य, २०५१ मा सूचना तथा सञ्चार मन्त्री, २०५५ मा जलस्रोत तथा स्वास्थ्य मन्त्री बन्नुभयो । २०५६ मा काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका नेपाल २०६३ मा शिक्षा मन्त्रीको रूपमा चर्चित हुनुभयो ।
प्रदीप नेपालको राजनीतिक यात्रा हेर्दा केवल पदका लागि राजनीति गर्ने नेता नभएको पुष्टी हुन्छ । उहाँ विचारका लागि लड्ने योद्धा समेत हुनुहुन्थ्यो ।
नेपालले पार्टीमा २०६५ मा महासचिवको लागि समेत उम्मेदवारी दिनुभयो । त्यस पछि उहाँ २०७० मा पार्टीको उपाध्यक्षको उम्मेदवार बन्नुभयो ।
२०७० मा गृह मन्त्रालयका सल्लाहकार हुनुभएका नेपालले अत्यन्तै कुशलताकासाथ काम गरेको पाईन्छ ।
पार्टी नेतृत्वमा रहँदा नीतिगत बहसलाई सदैव प्राथमिकता दिने नेपाल २०७५ सालबाट सक्रिय राजनीतिबाट विदा लिनुभयो ।
जुन उहाँले बोलेको कुरा पुरा गर्नुभएको पनि हो ।
साहित्यमा उहाँको चिनारी संजय थापा को नामबाट भयो। राजनीतिका व्यस्तताबीच पनि उहाँले कहिले कलम चलाउन छोड्नुभएन । जीवनका अन्तिम दिनहरूमा पनि उहाँ समसामयिक राजनीति, सामाजिक विचलन र राष्ट्रका सम्भावनाहरूमा चिन्तनशील भएको पाईन्थ्यो । उहाँको निधनसँगै नेपाली राजनीतिले एक नेतालाई मात्र नभएर एक सच्चा चिन्तक, लेखकलाई समेत गुमाएको छ ।
