-आङछिरी शेर्पा नेपालको हिमाली भूगोलमा जीवन यापन गर्दै आएका शेर्पा समुदायले विशिष्ट सांस्कृतिक, धार्मिक र सामाजिक परिचय बोकेको छ। २०७८ को जनगणनाअनुसार करिब डेढ लाख जनसंख्या देखाए पनि समुदायका दावीअनुसार वास्तविक संख्याजनसंख्या पाँच लाखको हाराहारीमा रहेको बताइन्छ। साहस, इमान्दारिता र श्रमशीलताको प्रतीक मानिने शेर्पा समुदायले नेपालको पर्यटन, हिमाल आरोहण, जडीबुटी संकलन, पशुपालन, निर्माण व्यवसाय, संस्कृति र धार्मिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
यिनै साझा पहिचान, सामुदायिक हितरक्षा र सामाजिक सशक्तीकरणका लागि, जातीय संस्थाहरू दर्ता गर्न नसकिने अवस्थामा पनि ‘सगरमाथा समाज’ नामबाट शेर्पा समुदायलाई संगठित गर्दै गतिविधि सुरु गरिएको थियो। राज्यको संरचना र राजनीतिक परिवर्तनपछि २०४८ सालमा ‘नेपाल शेर्पा संघ’ विधिवत रूपमा दर्ता भई समाज रूपान्तरण र समुदायको हकहितका लागि सक्रिय रहँदै आएको छ।
हाम्रा अग्रजहरूले समयअनुकूल नहुँदा पनि आफ्नो अमूल्य समय, श्रम र योगदान दिएर यहाँसम्म ल्याएको यो संघ पछिल्लो समय शेर्पा समुदायको अग्रणी प्रतिनिधिमूलक संस्था बनेको छ। सामूहिक नेतृत्व, सांस्कृतिक संरक्षण र सामाजिक समावेशीतामा केन्द्रित संस्थाले सुरुवाती दिनमा देखाएको प्रेरणादायी प्रयास अहिले भने संकटमा परेको देखिन्छ। संरचनात्मक जटिलता, नेतृत्वको दिशाहीनता, वैचारिक अस्पष्टता, र युवाको न्यून सहभागिताले संस्थाको प्रभावकारिता घट्दै गएको छ।
नेतृत्वको अभ्यास र समस्याको जड मैले २०६२ सालदेखि समाज परिवर्तन र समुदायको हकहितका निम्ति सक्रिय भूमिका निर्वाह गर्दै आएको छु। २०७६ सालदेखि वाग्मती प्रदेश अध्यक्षको रूपमा काम गरिरहेको सन्दर्भमा, संघीयताको अभ्यास गरिरहेकासाथै, हाम्रो शेर्पा संघ अझै पनि केन्द्रीय मानसिकताबाट मुक्त हुन सकेको छैन।
संघीय संरचना अनुसार तल्लो तहसम्म समितिहरू बनाउने, चेतना अभिवृद्धि गर्ने, र सदस्यहरूलाई गोलबद्ध गर्ने प्रयास गरिए पनि त्यो पर्याप्त देखिँदैन। महाधिवेशनलाई मात्र प्रतिनिधि छान्ने औपचारिक प्रक्रियाका रूपमा सीमित राखिएको देखिन्छ। समितिहरूमा मापदण्डविहीन रूपमा प्रतिनिधिहरू नियुक्त गर्ने तर केन्द्रीय समितिका उम्मेदवारका लागि मात्र मापदण्ड बनाउने प्रवृत्तिले संघको संरचनागत धारणा अस्पष्ट बनाएको छ।
स्थानीय तहमा अधिकारको अभाव, आत्मनिर्भरता कमजोर हुनु, विधानभन्दा बढी पदाधिकारी निर्माण हुनु, संघको उद्देश्य स्पष्ट नहुनु, र आवश्यक समन्वय अभावजस्ता समस्याले कार्यक्षमता कमजोर बनाएका छन्।
अग्रजहरूले नेतृत्व विकास गरे पनि युवाहरूले अन्य ठाउँबाट सिकेको ज्ञान यहाँ प्रयोग गर्ने चाहना राख्दा पनि तिनका सक्रियतालाई स्वीकार्न नसक्नु पनि प्रमुख समस्या बनेको छ।
पदको महत्व र व्यवहारिक चुनौती संघको प्रशासनिक र रणनीतिक सञ्चालनका मेरुदण्ड मानिने प्रमुख पदहरू अहिले वैचारिक दिशाहीनता र कार्यशैलीको अस्पष्टतामा अल्झिएका छन्।
तल्लो तहमा रहेका समितिहरूसँगको व्यवहारमा भेदभाव, विचारमा फरक भएकाहरूलाई हेर्ने दृष्टिकोणमा कमजोरी, सात वर्षको अवधिमा नीति निर्माणको स्पष्ट खाका नबन्नु, आन्तरिक समन्वयको अभाव, तथा निरन्तर ढिलाइ संस्थाको गति रोक्ने कारण बनेका छन्।
व्यक्तिगत र गुटगत स्वार्थ संस्थाभित्र हावी हुँदा द्वन्द्व, असहमति र अविश्वासको वातावरण सिर्जना भएको छ। केन्द्रीय समिति मात्र दुईपटक बसेको, सचिवालय र पदाधिकारीबीच कोरम पनि पूरै नभएको, र सात वर्षसम्म पनि सदस्यहरूको जिम्मेवारी तोक्न नसकिएको अवस्था नेतृत्व क्षमतामाथि प्रश्न उठाउँछ।
नेपाल शेर्पा संघ कुनै व्यक्ति वा समूहको प्रतिष्ठाको केन्द्र होइन; यो सम्पूर्ण शेर्पा समुदायको साझा मञ्च हो, जहाँ ज्ञान, अनुभव र सहकार्यको आधारमा सहमति निर्माण गर्नुपर्छ।
महाधिवेशन: परिवर्तनको संवाहक या औपचारिकता? शेर्पा समुदायको जागरणका लागि महाधिवेशन एउटा सशक्त अवसर हो। तर पछिल्ला केही महाधिवेशनहरू केवल औपचारिकतामा सीमित भइसकेका छन्। गुटगत प्रतिस्पर्धा, शक्ति केन्द्रित सोच, र वैचारिक अस्पष्टताले संस्थाको मूल्य र विश्वसनीयता कमजोर बनाएको छ।
‘बन्द सत्र’ केवल नेतृत्व चयनको लागि मात्र प्रयोग भएको देखिन्छ, जबकि त्यो नीति निर्माण र समीक्षा गर्ने थलो हुनु पर्ने हो।
‘सम्पूर्ण शेर्पाहरूको चाहना, पहिचान र अधिकारसहित शेर्पालुङको स्थापना’ भन्ने मूल नारालाई व्यवहारमा उतार्ने ठोस रणनीति नहुनु, र त्यसलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्तिले नाराको मूल्य कम गरिरहेको छ।
युवा सहभागिता र संस्थागत चुनौती युवाहरूको जोश, नवीन सोच र ऊर्जा संस्थाको विकासका लागि आवश्यक छ। तर तिनीहरूलाई श्रमशक्ति या केवल नाराको भरिया ठान्ने प्रवृत्तिले संस्था दीर्घकालीन रूपमा कमजोर बनाउँदैछ।
युवा नेतृत्व विकासका लागि स्पष्ट नीति, तालिम, प्रशिक्षण, र निर्णय तहमा सहभागी हुने सुनिश्चितता अत्यावश्यक छ।
अहिलेका युवाहरू आर्थिक प्रलोभनभन्दा बाहिर रहेर नेतृत्वका मापदण्डमा आधारित सोच राख्न थालिसकेका छन्, र उनीहरूलाई सही ठाउँमा प्रयोग गरिनु आवश्यक छ।
सुधारको बाटो: सामूहिक जिम्मेवारी र नयाँ सोच नेपाल शेर्पा संघ हाम्रो गौरव हो। विगतमा यस संस्थाबाट राज्यको उच्च तहमा पुग्ने नेताहरू जन्मिए, तर अहिले त्यो निरन्तरता गुम्दै गएको देखिन्छ।
संस्थाको प्रभावकारिता कायम राख्न सामूहिक जिम्मेवारीबोध, वैचारिक स्पष्टता, पारदर्शिता, समावेशी सहभागिता र आत्मनिर्भर संरचना अपरिहार्य छ।
महाधिवेशन विचार, नीति र कार्यक्रम निर्माणको थलो हो—केवल पदाधिकारी चयनको प्रक्रिया होइन। नेतृत्व संख्या बल, पहुँच र समीकरणको आधारमा होइन, सामुदायिक हित, दूरदर्शिता र कार्यदक्षताका आधारमा चयन हुनुपर्छ।
संघले अब भूगोल, सामाजिक अवस्था र नयाँ पुस्ताको आवश्यकतालाई समेट्ने समावेशी रणनीति निर्माण गर्नु आवश्यक छ।
शेर्पा संघ कुनै पनि गुट विशेषको संस्था होइन। यो सम्पूर्ण शेर्पा समुदायको साझा मञ्च हो। राज्यको मूलधारमा पुग्ने नेतृत्व तयार गर्न, गाउँदेखि राजधानीसम्मका मुद्दा सम्बोधन गर्ने नीति निर्माणमा यो संस्था सक्षम बन्नु आवश्यक छ।
अबको महाधिवेशन केवल परम्पराको निरन्तरता होइन, परिवर्तनको संवाहक बन्नुपर्छ। यो अवसर हो—संघको आत्मा पुनः जागृत गर्ने, नारालाई व्यवहारमा उतार्ने, र भविष्यको सपना निर्माण गर्ने सुनौलो क्षण।
महाधिवेशनलाई सफल बनाऔँ, समुदायको साझा संस्थालाई सशक्त बनाऔँ।
थुचिछे। (लेखक नेपाल शेर्पा संघका निवर्तमान अध्यक्ष हुन्।)
