- गोविन्द थापा
नेकपा एमाले भित्र व्यापक विवाद छ ? एमाले फुट्न लागेको हो ? एमाले विद्यादेवी भण्डारीले कब्जा गर्न लागेको हो ? अहिले सर्वसाधारणमा यस्तो प्रचार गरेर ठूलो भ्रम सिर्जना गर्न प्रयास गर्दैछन् ।
अहिलेको वास्तविकता के हो ? यो बारेमा म आज तपाईंहरुलाई जानकारी दिन गइरहेको छु । एकदमै सत्य जानकारी दिन्छु, एकदमै तथ्यपूर्ण जानकारी दिन्छु । सत्य भन्दा दायाँवायाँ अलिकति पनि बताउँदिन । जोजो भ्रममा हुनुहुन्छ मेरो यो भिडियो हेरिसकेपछि तपाईंहरु पक्कै पनि क्लियर हुनुहुनेछ । तपाईंहरुमा अलिकति पनि भ्रम बाँकी रहने छैन ।
एमालेभित्रको वास्तविकता के हो भने एमालेभित्र विवाद छैन । एमालेभित्र सामान्य बहस छलफल भएको हो । त्यो बहस छलफललाई मिडियामा विवाद भनेर प्रचार गरियो । एमालेमा सियो खस्यो भने मिसाइल खस्यो भनेर प्रचार गर्नेहरु छन् । उनीहरुले एमालेभित्र विवाद छ भनेर प्रचार गरेका हुन् ।
अहिले पूर्व राष्ट्रपति विद्या भण्डारीको नाममा व्यापक प्रचारप्रसार भइरहेको छ । एमालेले विद्या भण्डारीको सदस्यता खोसेको प्रचार भइरहेको छ । यसबारे तथ्य पार्टी अध्यक्ष केपी शर्मा ओलीले बारम्बार बताइसक्नुभएको छ । तथ्य यही हो, विद्याले सदस्यता त्याग्नुभएको थियो, त्यागेको सदस्यता नवीकरण हुँदैन, नयाँ सदस्यता लिनुपर्छ । विद्याको काँधको आडमा एमालेलाई गुलेली हान्नेहरुले यो जवाफ दिउन्, विद्याले एमालेको सदस्यताका लागि आवेदन दिनुभयो ?
एमालेलाई माया गर्छु, एमाले नै मेरो घर हो भन्ने विद्याको एमालेमा सदस्यता छैन । विद्याले नयाँ सदस्यताका लागि आवेदन दिएपछि एमालेले सदस्यता दिन्छ कि दिँदैन ? त्यसपछिको कुरा हो । म सोध्न चाहन्छु, आरदरणीय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीज्यू, एमालेको सदस्य बन्न कहिले आवेदन दिनुहुन्छ ? कि आवेदन दिइसक्नुभयो ? जो मानिस एमालेको सदस्य छैन उसले एमाले फुटाउन कसरी सक्छ ? जो मानिस एमाले छैन, उसले सडकबाट धम्की दिएको भरमा एमाले कब्जा गर्न सक्छ र ?
म नेकपा एमालेको सदस्य हो तर कांग्रेस, माओवादी या राप्रपाको सदस्य होइन । भोलि म कांग्रेस, माओवादी या राप्रपाको कार्यालयमा जान्छ, अनि भन्छु, मेरो सदस्यता नवीकरण गरिदेउ । उनीहरुले नवीकरण गर्न सक्छन् ? सदस्य नै नभएको मानिसको सदस्यता कसरी नवीकरण हुन्छ । विद्या हिजो एमालेमा हुनुहुन्थ्यो, त्यसैले एमालेलाई सदस्यता नवीकरण गर्न माग गर्नु भएकाे हाेला । भोलि विद्याले कांग्रेस या माओवादीमा गएर सदस्यता नवीकरण गरिदेउ भन्नुहोला, उनीहरुले नवीकरण गर्न सक्छन् ?
त्यसैले विद्यादेवी भण्डारीको सदस्यताको विवादलाई विवाद नै मान्न सकिन्न । यो शतप्रतिशत काल्पनिक विवाद हो । विद्याको सदस्यता सम्बन्धमा कुनै विवाद छैन । यदि यसलाई कसैले विवाद भन्छ भने काल्पनिक विवाद हो ।
अब अर्काे प्रश्नमा विचार गरौं । विद्यालाई एमालेले सदस्यताबाट वञ्चित गर्यो भनिरहेका छन् । हरेक नेपाली नागरिकलाई कुनै पनि राजनीतिक दलको सदस्यता लिने हक छ । विद्यालाई पनि छ । उहाँ पूर्व राष्ट्रपति हुनुहुन्छ । पूर्व राष्ट्रपतिलाई सदस्यता दिने कि नदिने भन्ने पहिले सैद्धान्तिक निर्णय हुनुपर्छ । नेकपा एमालेले पूर्व राष्टपति सक्रिय राजनीतिमा आउन हुँदैन भनेर सैद्धान्तिक निर्णय गरिसकेको छ । त्यसैले विद्या भण्डारी मात्र होइन, भविष्यमा डा. रामवरण यादवले एमालेको सदस्यता माग्नुभयो भने पनि एमालेले विनम्रता पूर्वक अस्वीकार गर्दछ । राष्टपति पदबाट हटेपछि रामचन्द्र पौडेलले एमालेको सदस्यता माग्नुभयो भने पनि एमालेले अस्वीकार गर्दछ ।
तसर्थ, म के भन्छु भने एमालेले विद्यादेवी भण्डारीलाई सदस्यता नदिएको होइन । पूर्व राष्टपतिले आफ्नो हैसियतमा बस्नुपर्छ, सक्रिय राजनीतिमा आउनु हुँदैन भनेर एमालेले निर्णय लिएको हो । यो सैद्धान्तिक धरातलमा विद्याको सदस्यता अस्वीकृत हुन्छ । यसलाई विद्यादेवीको हक अधिकार छिनिएको रुपमा बुझ्नु मूर्खता हो । विद्यादेवीको हक अधिकार छिनिएिको होइन कि बरु विद्यादेवीको सम्मानका रुपमा बुझ्नुपर्छ । गणतन्त्रलाई संस्थागत गर्नका लागि एमालेले गरेको निर्णयका रुपमा बुझ्नुपर्छ ।
तैपनि विवाद त छ, ठूलो होहल्ला छ, एक तरिकाले भन्ने हो भने तहल्का मच्चिएको छ । यो किन ? यो पनि म बताउँछु ।
यहाँ सवाल विद्यादेवी भण्डारीको होइन । एमालेलाई कसरी प्रहार गर्न सकिन्छ, कसरी फुटाउन र सिध्यान सकिन्छ भनेर देशी विदेशी धेरै शक्तिहरु न्वारानदेखिको बल लगाएर बसेका छन् । उनीहरुले हिजो भिम रावल भन्ने पात्र भेटे, उनै पात्रलाई उचाले, आज विद्यादेवीलाई भेटेका छन्, अब विद्यालाई नै उचाल्छन् । एमाले र केपी ओलीलाई प्रहार गर्न र सिध्याउन उनीहरु विभिन्न पात्र र बहाना खोज्दै हिँडेका छन् । उनीहरुले अहिले विद्यादेवीलाई भेटे तर विद्यादेवी मार्फत गरिएको प्रहारलाई नेकपा एमालेका समस्त कार्यकर्ताहरुले असफल पारिदिए । हेरिरहनुहोला, विद्यादेवीलाई अगाडि सार्दा असफल भए पनि उनीहरु चुप बस्ने छैनन्, भोलि अर्काे पात्र खडा गर्छन्, उनीहरुले पात्र आविष्कार गर्छन्, विवाद आविष्कार गर्छन् ।
उनीहरुलाई एमाले सिध्याएर मात्र पुग्दैन, जनताको बहुदलीय जनवाद र त्यसको विकासलाई पनि समाप्त पार्नु परेको छ । हामी सबैलाई थाहा छ, कुनै पनि विचारले सदासर्वदा काम गर्दैन । धर्ममा विचारको संशोधन हुँदैन । जस्तो कि गीता, बाइबल, मुन्धुम, त्रिपिटक संशोधन हुँदैन, परिमार्जन हुँदैन । तर, राजनीतिक वाद र विचार परिमार्जन भइरहन्छ, त्यसको विकास भइरहन्छ । कुनै पनि राजनीतिक वाद र विचार अन्तिम सत्य हुँदैन । कसैले यो विचार अन्तिम सत्य हो, यसमा संशोधन, परिमार्जन परिष्कार आवश्यक छैन भन्छ भने त्यस्तो पार्टी समाप्त हुन्छ । विश्वभरीका कम्युनिष्टहरुले बोकेको विचार असफल भयो, हामीले जनताको बहुदलीय जनवाद भन्ने नयाँ विचार ल्यायौं । जबज मात्र बोकेर पुग्दैन भन्ने हामी सबैलाई लागेको हो । किनभने युग र समय परिवर्तन भइसक्यो, जबजको जगमा हामीले नयाँ विचार दिनैपर्ने हुन्छ । अहिले हाम्रो पार्टीले जबजको जगमा उभिएर विकास र समृद्धिको विचारलाई विकास गरिरहेको छ । यो विचारका विचारक केपी ओली हुनुहुन्छ ।
एमाले जबजभन्दा माथि उठ्न नसकोस् भनेर ठूलो प्रयास गरिरहेका छन् । हिजो जबजको विरोध गर्नेहरु आज जबजलाई अलिकति पनि चलाउन पाइँदैन भनिरहेका छन् । जबजलाई धर्मशास्त्र जस्तो भनिरहेका छन् । तर, एमालेले बुझिसकेको छ, नयाँ युग, नयाँ परिवेश र नयाँ पुस्तालाई सम्बोधन गर्न जबजको जगमा नयाँ र उन्नत विचार चाहिन्छ । नयाँ र उन्नत विचारका रुपमा हामीले विकास र समृद्धिको दर्शन पाएका छौं । विकास र समृद्धि नै अबको नेपालको मूल मन्त्र हो , विकास र समृद्धि नै एमालेको मूल मन्त्र हुनुपर्छ । विकास र समृद्धिको दर्शन विचारका सारथी केपी ओली हो । त्यसैले केपी ओलीमाथि प्रहार भइरहेको छ ।
एमालेले देश, गणतन्त्र, समाज, देशको भविष्य केही पनि विचार नगरी, पार्टीको विधानलाई लत्याउँदै विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गरिदिएको थियो भने के हुन्थ्यो ? अहिले विद्यादेवी जिन्दावाद भन्दै हिँडिरहेको जत्थाले नै सबैभन्दा पहिले विरोध गर्नेथियो । पूर्व राष्टपतिलाई किन सदस्यता दिएको भन्दै उनीहरुले विरोधमा चर्काे आवाज निकाल्थे । विद्यादेवीलाई सदस्यता नदिँदा उनीहरु नै किन सदस्यता नदिएको भन्दै विरोध गरिरहेका छन् । यो तथ्य लाई सबैले मनन गर्नुपर्छ ।
एकछिनका लागि कल्पना गरौं, विद्यादेवीले सदस्यता पाउनुभयो । उहाँ नै एमालेको अध्यक्ष हुनुभयो । त्यसपछि के हुन्छ ? केपी ओलीजस्तो दूरदर्शी र देशकै सबैभन्दा सक्षम नेताले हाँकिरहेको पार्टी विद्याजस्तो अपरिपक्वको हातमा पर्यो भने एमाले समाप्त हुन्छ । ०८४ को चुनावमा एमालेले दुर्दशा भोग्नपर्छ । एमालेको अध्यक्षबाट केपी ओलीलाई हटाउन पाए ०८४ को चुनावमा एमालेलाई पराजित गर्न सकिन्थ्यो भनेर विभिन्न शक्तिहरुले जालो बुन्दै आएका छन् ।
मेरो भनाईको मतलब के हो भने उनीहरुले विद्यादेवीलाई माया गरेर, उहाँ मन परेर उचालेका होइन्, केपी ओलीलाई हटाउन, लखेट्न सकिन्छ कि भनेर विद्यालाई उचालेका हुन् ।
अब अर्काे प्रश्नमा विचार गरौं, एमाले फुट्न लागेको हो ? एमालेलाई धेरैले धेरै पटक धेरै खाले शक्तिहरुले मनमनै फुटाइसकेका छन् । एमालेमा हुँदै नभएको विवादलाई आकाश खस्न लागेको जसरी प्रचार गर्छन् । अनि त्यही कथित विवादले एमाले फुट्ने भो भनेर प्रचार गर्छन् । एमाले भनेको लाखौं कार्यकर्ता भएको पार्टी हो । यहाँ भित्र विभिन्न किसिमका मत हुन्छन् । तर, केही विषयमा भने एमालेमा अलिकति पनि विवाद छैन । जस्तो कि अबको एमालेको विचार भनेको बहुदलीय जनवादमा टेकेर विकास र समृद्धिमा अघि बढ्ने हो । यो विषयमा एमालेमा कुनै विवाद छैन । देशका लागि र एमालेका लागि केपी शर्मा ओली अपरिहार्य नेतृत्व हो । यो विषयमा कुनै विवाद छैन । अहिलेका लागि केपी ओली निर्विकल्प हो, यो विषयमा विवाद छैन । पार्टी फुट्ने यस्तै विषयले हो । यस्ता विषयमा कुनै विवाद छैन । अनि कसरी फुट्छ एमाले ?
एमाले फुटेको सपना देख्नेहरुलाई म सपनामै रमाउएर बसिरहन विशेष अनुरोध गर्दछु । विद्या भण्डारीलाई अगाडि सारेर एमाले कब्जा गर्न सकिन्छ अथवा डा. रामवरण यादवलाई अगाडि सारेर कांग्रेस कब्जा गर्न सकिन्छ भन्ने खालका सपना देख्नेहरुलाई मेरो विनम्र अनुरोध के छ भने तपाईंहरु आफ्नै सपनाको मलामी गए हुन्छ ।
