— अर्जुन धामी
सुशिला कार्की प्रधानमन्त्री भएको जति दिन भयो, नेपालको चुच्चे नक्साले अन्याय भोगेको पनि त्यतिनै दिन भयो। मैले प्रधानमन्त्री सुशिला कार्कीबाट चुच्चे नक्सामाथि यसरी अन्याय हुन्छ भनेर सोचेको थिइनँ।
आजको दिनसम्म आइपुग्दा न उहाँको कार्यकक्षमा चुच्चे नक्सा देखिन्छ, न उहाँले चुच्चे नक्साको बारेमा बोल्नुभएको सुनिन्छ, न त अब प्रधानमन्त्री सुशिला कार्कीले चुच्चे नक्साको बारेमा बोल्ने भनेको उहाँ निकटबाट सुनिन्छ। प्रधानमन्त्रीको ढंग नपुगेर चुच्चे नक्साले अन्याय पाएको भनौं भने, सबैलाई ढंग सिकाउने ठाँउबाट उहाँको उदय भएको हो। कसैको डर धम्कीले हो भने उहाँले खुलाउनु पर्ने हो। त्यसैकारण पनि, आखिर किन उहाँले यसो गर्नुभएको हो, त्यो कहानी अहिलेसम्म रहस्यमै छ।
रहस्य नै रहस्यको घेरामा प्रधानमन्त्री
अहिले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री सुशिला कार्की रहस्य नै रहस्यको घेरामा हुनुहुन्छ भनेर भन्दा धेरैलाई अचम्म लाग्न सक्छ। तर सत्य नै हो—उहाँ रहस्यकै घेराबाट प्रधानमन्त्री चुनिनुभएको हो। सत्य जेनजीको सही मागमा डुबुल्की मारेर, असत्य जेनजीको प्रतिनिधित्व गर्न उहाँ प्रधानमन्त्री हुनुभएको कुरा प्रष्ट हुँदै गएको छ। यहाँ पनि एउटा रहस्य लुकेको छ। अर्को रहस्य—सुशिला कार्की जसरी प्रधानमन्त्री चुनिनुभएको छ, त्यसरी नेपालमा प्रधानमन्त्री चयन हुने कानुन नै छैन। यो पनि एउटा रहस्य भित्र पर्ने कुरा हो।
अर्को रहस्यको कुरा—नेपालमा प्रधानमन्त्री चुनिँदा भारतमा चाँडै खबर पुग्नु र अन्तर्वार्ता हुनु—यो पनि अर्को रहस्यकै कुरा हो। अर्को रहस्यमय कुरा हो—सामाजिक सञ्जालको समर्थनबाट प्रधानमन्त्री चुन्नु। सामाजिक सञ्जालबाट समर्थन चाहिँ जेनजीको आन्दोलनलाई मलजल गर्ने व्यक्ति, काठमाडौं महानगरका मेयर बालेन्द्र शाह हुन्।
७२ जनाको रगतमा टेकेर प्रधानमन्त्री हुनुभएकी सुशिला कार्कीको मन्त्रिमण्डलले उनीहरूको जायज मागलाई वेवास्ता गर्नु झन् ठूलो रहस्य लुकेको छ। उहाँको मन्त्रिमण्डलले घाइते भएका जेनजीको वास्ता नगर्नु झन् ठूलो षडयन्त्र हो भन्न सकिन्छ।
यसरी रहस्यको घेरामा रहेकी प्रधानमन्त्रीले चुच्चे नक्सालाई वेवास्ता गर्दा, यो पनि एउटा रहस्यकै कुरा बन्न पुगेको छ।
