काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापासहित ६ जना विरुद्धको मुद्दामा थापासहित विमलकुमार पोखरेल र सागर पौडेललाई दोषी ठहर गरेको हो ।
अदालतका अनुसार बागमती नगरपालिकामा मूल्य अभिवृद्धि कर सहित ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थको हानिनोक्सानी गरेको ठहर छ ।
अदालतले मेयर थापासहित ३ जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अन्तर्गतको कसूरमा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि यहि साउन २९ गते पेशी तोकेको छ ।
त्यसैगरी, प्रतिवादी लिलाकुमारी मोक्तान, विश्वराज पोखरेल र मेथुर चौधरीलाई आरोप अनुसारको कसूर प्रमाणित नदेखिएकाले सफाइ दिएको छ । यस्तै अदालतले मेयर भरतकुमार थापालाई गैरकानूनी सम्पत्ति आर्जन गरेको मुद्दामा पनि दोषी ठहर गरेको छ । थापाको सम्पूर्ण आय र व्यय मूल्याङ्कन गर्दा उनको कुल आय ९ करोड १४ लाख ३१ हजार रुपैयाँ ९१ पैसा रहेकोमा कुल व्यय १२ करोड ५९ लाख ५३ हजार रुपैयाँ १४ पैसा रहेको देखिएको फैसलामा उल्लेख छ ।
यसअनुसार थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ २३ पैसा बराबरको सम्पत्ति गैरकानूनी रुपमा आर्जन गरेको प्रमाणित भएकोले उनलाई एक वर्ष कैद र त्यति नै बराबरको जरिवाना हुने ठहर अदालतले गरेको छ ।
