धनगढी । कैलाली कारागारभित्र दैनिक उपभोग्य सामान जस्तै तरकारी, नास्ता, ग्यास, साबुन, सोडा लगायतका सामग्रीको बिक्री–वितरण आन्तरिक प्रशासनको जिम्मेवारीमा रहेको पाइएको छ।
कैदीबन्दीका लागि आवश्यक यी सामग्री आपूर्ति गर्न कानुनले कारागारभित्रै पसल राख्न र सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ।
स्रोतका अनुसार, कैलाली कारागारभित्र सञ्चालित यस्ता पसलमार्फत मासिक पाँच लाख रुपैयाँभन्दा बढीको आम्दानी हुने गरेको छ। यही आर्थिक स्वार्थका कारण पछिल्लो समय कारागारभित्र पसल कब्जा गर्ने विषयलाई लिएर विवाद उत्पन्न भएको जनाइएको छ।
‘कारागारभित्र व्यापार गर्नेले मासिक पाँच लाखभन्दा बढी कमाउँछन्,’ स्रोतले भन्यो, ‘त्यही आम्दानीको स्रोत कब्जा गर्नेलाई लिएर झडप भएको हो।’
सञ्चालन हुने पसलहरूबाट चिया, खाजा, नास्ता, दैनिक उपभोग्य सामग्री लगायतका वस्तुहरू कैदीबन्दी र सुरक्षाकर्मीलाई आपूर्ति गरिन्छ। तर, यस्ता पसलहरूको व्यवस्थापन पारदर्शी ढंगले नभएको, विशेष पहुँच भएका समूहको मात्र नियन्त्रणमा रहने गरेको आरोप लाग्दै आएको छ।
