काठमाडौं । देशको राजनीतिक वातावरण थप चलायमान बन्दै गएको समयमा चीनको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने तयारीमा जुटेकाे छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागअन्तर्गत नेपाल मामिला हेर्ने प्रमुख झेङ युयाको नेतृत्वमा तीन सदस्यीय टोली आगामी हप्ता नेपाल आइपुग्ने गरि तयारी भएकाे पाइएकाे छ । प्रतिनिधिमण्डलले करिब तीन दिन नेपालमा रहँदै विभिन्न राजनीतिक भेटघाट गर्ने बताइएको छ।
नेपालको राजनीति पछिल्लो समय अस्थिर र संवेदनशील चरणमा प्रवेश गरिरहेका बेला हुन लागेको यो भ्रमणलाई कूटनीतिक रूपमा अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्लो राजनीतिक घटनाक्रमपछि नेपालमा पश्चिमा शक्तिहरूको सक्रियता बढेको चीनको बुझाइ रहेको बताइन्छ।
चीनले भने नेपालका सबै राजनीतिक दलसँग सन्तुलित र समान सम्बन्ध राख्न चाहेको सन्देश दिँदै आएको छ। यही सन्दर्भमा हुन लागेको यो भ्रमणले दुई देशबीचको आपसी राजनीतिक संवादलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
