काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले आगामी ५२औँ दीक्षान्त समारोहमा सहभागी हुन योग्य विद्यार्थीका लागि अनलाइन आवेदन खुला गरेको छ।
कार्यालयका अनुसार २०८२ असार १ गतेदेखि २०८३ जेठ ३१ गतेसम्म स्नातक, स्नातकोत्तर र एमफिल तह पूरा गरी ट्रान्सक्रिप्ट प्राप्त गरेका विद्यार्थीले आवेदन दिन सक्नेछन्। सोही अवधिमा विद्यावारिधि (पीएचडी) पूरा गरेका विद्यार्थीसमेत दीक्षान्त समारोहमा सहभागी हुन योग्य हुनेछन्। आवेदन असोज १ गतेदेखि कात्तिक १२ गतेसम्म अनलाइनमार्फत बुझाउन सकिनेछ।
विद्यार्थीको सहजतालाई ध्यानमा राख्दै यसपटक देशका सातै प्रदेशमा दीक्षान्त समारोहका लागि केन्द्र तोकिएको छ। बागमती, कोशी, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केन्द्र रहनेछन्। आवेदन फाराम भर्दा विद्यार्थीले आफू सहभागी हुने केन्द्रसमेत अनिवार्य रूपमा छनोट गर्नुपर्नेछ।
एमफिल, पीएचडी तथा टपर र पदक प्राप्त गर्ने विद्यार्थीका लागि भने बागमती प्रदेशलाई केन्द्र तोकिएको छ।
दीक्षान्त समारोहमा सहभागी हुने विद्यार्थीले आफ्नो तहअनुसार शुल्क बुझाउनुपर्नेछ। स्नातक तहका लागि ३ हजार रुपैयाँ, स्नातकोत्तर तथा एमफिलका लागि ३ हजार ५ सय रुपैयाँ र पीएचडीका लागि ४ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
त्यसैगरी, दीक्षान्त समारोहमा प्रयोग हुने गाउन र स्कार्फका लागि सबै तहका विद्यार्थीबाट २ हजार ५ सय रुपैयाँ धरौटी लिइनेछ। उक्त रकमबाट ५ सय रुपैयाँ मर्मत तथा सम्भार खर्च कटौती गरिनेछ भने बाँकी २ हजार रुपैयाँ विद्यार्थीको बैंक खातामा फिर्ता गरिनेछ।
विद्यार्थीले बढीमा दुई जना अभिभावकलाई समारोहमा सहभागी गराउन पाउनेछन्। प्रत्येक अभिभावकका लागि ४ सय रुपैयाँ शुल्क लाग्नेछ, जुन फिर्ता नहुने कार्यालयले जनाएको छ।
त्रिभुवन विश्वविद्यालयको लोगो भएको प्रमाणपत्र फोल्डर लिन चाहने विद्यार्थीले थप ५ सय रुपैयाँ बुझाउनुपर्नेछ।
दीक्षान्त समारोहसम्बन्धी सबै शुल्क नेपाल बैंक वा ग्लोबल आईएमई बैंकमार्फत अनलाइन बैंकिङ प्रणालीबाट मात्र भुक्तानी गर्न सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
