–गोपाल ओली
एमालेमा अहिले नेतृत्व हस्तान्तरणको कुरा व्यापक उठिरहेको छ । तर उत्तर विना । नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्ने कुरा उठिरहदा एउटा कुरा चाहिँ बुझ्न जरुरी हुन्छ । नेतृत्व हस्तान्तरण भनेको खाली अध्यक्ष परिवर्तन गर्ने कुरा हो भनेर अनि नेतृत्व हस्तान्तरण भएपछि पार्टी कस्तो हुन्छ ? पार्टी कसले चलाउँछ ? जनताले कसलाई पत्याउँछन् ? कार्यकर्ताले कसको नेतृत्वमा पार्टीलाई अगाडि लैजान्छन् ? यी सबै कुराको जवाफ पनि दिनुपर्छ । तर अहिले केही तत्वहरुले सोच विचार नै नगरि नेतृत्वको कुरा गरिरहदाँ र वाहिर वेकामको हल्ला चल्दा कसैले यसको सोलुसान के हुन्छ भनेर भन्न सक्ने अबस्था छैन ।
अहिले एमालेमा नेतृत्व परिवर्तनको कुरा गर्ने दोस्रो तहका केही नेताहरूलाई हेर्दा उनीहरू आफैंले एमालेलाई केपी शर्मा ओलीको ठाउँमा बसेर चलाउन सक्ने आधार देखाउन सकेका छैनन् । जनताको बीचमा आफ्नो छुट्टै विश्वास बनाउन सकेका छैनन् । देशभरका कार्यकर्तालाई एउटै ठाउँमा राखेर पार्टी चलाउन सक्ने क्षमता देखाउन सकेका छैनन् । तर उनीहरूलाई भने अहिले नै नेतृत्व परिवर्तन गर्नुपर्ने हतार भएको देखिन्छ ।
अझ अचम्मको कुरा त के छ भने हिजो केपी शर्मा ओलीको नेतृत्व र प्रभावबिना आफ्नो राजनीतिक हैसियत बनाउन नसकेका नेताहरू नै आज ओलीको नेतृत्वमाथि प्रश्न उठाइरहेका छन् । ओलीको लोकप्रियता, संगठन र राजनीतिक प्रभावबाट लाभ लिएर चुनाव जितेका, पार्टीभित्र आफ्नो स्थान बनाएका नेताहरूले अहिले आएर ओली नै समस्या हो जस्तो गरेर कुरा गर्नु आफैंमा उदेकलाग्दो कुरा हो ।
यदि नेतृत्व परिवर्तन नै गर्ने हो भने एमालेमा ओलीको विकल्प को हो ? यो प्रश्नको जवाफ पहिले दिनुपर्छ । पार्टीको अध्यक्ष बन्ने इच्छा राख्नु एउटा कुरा हो, तर देशभरको एमाले चलाउनु अर्को कुरा हो । पार्टीको अध्यक्ष बन्न खोज्नेले कार्यकर्ताको मन जित्नुपर्छ, जनताको विश्वास जित्नुपर्छ, संगठन चलाउने क्षमता देखाउनुपर्छ । खाली ओलीलाई हटाउनुपर्छ भनेर मात्रै एमाले चल्दैन ।
अहिले ओलीको विरोध गर्नेहरूले एउटा कुरा बुझ्न जरुरी छ—केपी शर्मा ओलीलाई कमजोर बनाउनु र एमाले बलियो बनाउनु एउटै कुरा होइन । ओलीसँग राजनीतिक असहमति हुन सक्छ । उहाँका निर्णयमाथि प्रश्न उठाउन सकिन्छ । तर त्यसको अर्थ उहाँलाई हटाएपछि एमाले झन् बलियो हुन्छ भन्ने प्रमाण कहाँ छ ? त्यो प्रमाणसहित देखाउनुपर्छ ।
अर्को महत्वपूर्ण कुरा भनेको एमालेको इतिहास हो । एमाले आज एकैदिन बनेको पार्टी होइन । यो पार्टी बनाउन हजारौं नेता–कार्यकर्ताले आफ्नो जीवन दिएका छन् । लाखौं कार्यकर्ताले दुःख गरेका छन् । लामो संघर्षबाट बनेको पार्टी हो । त्यसैले आज नेतृत्व परिवर्तनको नाममा पार्टीलाई नै कमजोर बनाउने परिस्थिति बनाउनु हुँदैन ।
यदि एमालेमा अहिले नै नेतृत्व परिवर्तन गरियो र त्यसको स्पष्ट विकल्प तयार भएन भने एमालेको अवस्था के हुन्छ भन्ने कुरा पनि सोच्नुपर्छ । नेतृत्व परिवर्तनपछि पार्टी अझ बलियो हुन्छ भन्ने ग्यारेन्टी कसले दिन सक्छ ? पार्टीभित्र गुट बढ्दैन भन्ने ग्यारेन्टी कसले दिन सक्छ ? कार्यकर्ता निराश हुँदैनन् भन्ने ग्यारेन्टी कसले दिन सक्छ ? निर्वाचनमा पार्टीको अवस्था कमजोर हुँदैन भन्ने ग्यारेन्टी कसले दिन सक्छ ? यी कुराको जवाफ कसैले दिदैनन् किनभने उनीहरु नै नेतृत्वमा पुगेर गत चुनावमा एमालेलाई जिताउन नसकेको पात्रहरु हुन् ।
अहिले ओलीको नेतृत्वमा प्रश्न उठाउनेहरूले यी सबै प्रश्नको जवाफ दिनुपर्छ । तर दिदैनन् किनभने उनीहरु सँग जवाफ नै छैन ।
अर्को कुरा, दुई कार्यकालको व्यवस्था र ७० वर्षको उमेर हद हटाउने निर्णय पनि एमालेभित्रकै प्रक्रियाबाट भएको हो । पार्टी चलाउन कसैले सक्छु नभनेपछि यो प्रस्ताव पारित भएको हो । त्यसबेला यसको आवश्यकता देख्ने र समर्थन गर्नेहरू अहिले आएर नेतृत्व परिवर्तनको कुरा गर्नु कति स्वाभाविक हो भन्ने प्रश्न पनि उठ्छ । यदि ओलीको नेतृत्व यति नै गलत थियो भने त्यतिबेला किन यो व्यवस्था हटाइयो ? किन पार्टीले उहाँको नेतृत्वलाई निरन्तरता दिने बाटो बनायो ?
आज ओलीको नेतृत्वमा प्रश्न उठाउनेहरू हिजो पार्टीको चुनावमा ओलीको साथ र प्रभावबिना आफ्नो अवस्था के हुन्थ्यो भन्ने कुरा पनि सम्झिनुपर्छ । ओलीको लोकप्रियता र पार्टीभित्रको प्रभावलाई प्रयोग गरेर आफ्नो राजनीतिक यात्रा अगाडि बढाउने अनि अहिले आएर ओली नै पार्टीको समस्या हो भन्नु आफैंमा विरोधाभासपूर्ण कुरा हो ।
अझ ओलीलाई हटाउन खोज्नुको पछाडि विदेशीको प्रभाव छ भनेर एमालेभित्रैबाट प्रश्न उठिरहेको छ । जुन कुरा सत्य पनि हो । कैयन गरेर पनि अध्यक्ष ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षबाट हटाउन नसकेपछि जेन्जीको नाममा विदेशीले विभिन्न संघ सस्थाको प्रयोग गरेर षडयन्त्र गरेर हटाएको कुरा जगजाहेरै छ । केपी शर्मा ओलीको नेतृत्वमा कमजोरी छैन भन्ने होइन । केपी शर्मा ओली पनि केही ठाउमा चुक्नुभएको छ । तर उहाँले धेरै पार्टीको हितमा देशको हितमा राम्रो कामहरु गर्नुभएको छ । यसको समिक्षा गर्नु पर्छ । उहाँले गत पार्टीको महाधिवेसनमा धेरै कमजोरी गर्नुभयो । विश्वास गर्न नहुने मानिसलाई विश्वास गर्नुभयो । त्यसेको परिणाम आज अलिलि भोग्नुभएको कुरा सत्य हो ।
आज एमालेका लाखौं कार्यकर्ता आफ्नो राजनीतिक भविष्य यही पार्टीसँग जोडेर बसेका छन् । ओलीको नेतृत्व हटाउने बहसले ती कार्यकर्ताको भविष्यमा के असर गर्छ भन्ने कुरा पनि सोच्नुपर्छ । एमाले कमजोर भयो भने त्यसको असर केवल ओलीलाई पर्दैन । गाउँदेखि केन्द्रसम्म बसेर राजनीति गरिरहेका हजारौं–लाखौं कार्यकर्तालाई पर्छ ।
त्यसैले अहिले एमालेमा सबैभन्दा पहिले आवश्यक कुरा नेतृत्व परिवर्तन होइन, पार्टीभित्र एकता र संगठनको मजबुती हो । नेतृत्व सल्लाहामा परिवर्तन गर्नु कदापी हुदैन । नेतृत्व परिवर्तन गर्न महाधिवेसन नै राम्रो विकल्प हो । महाधिवेसनले तय गरेको नेतृत्व महाधिवेसनलेनै परिवर्तन गर्दा राम्रो नजित दिन्छ । तर अहिले नेतृत्व परिवर्तनको नाममा ओलीलाई हटाउने मात्र कुरा गर्ने, ओलीको योगदान भुल्ने । ओलीको योगदानलाई नै अस्वीकार गर्ने प्रवृत्ति भने एमालेका लागि हितकर देखिँदैन ।
एमालेको अध्यक्ष को बन्ने भन्ने कुरा केही नेताको व्यक्तिगत चाहनाले होइन, एमालेका नेता–कार्यकर्ता र पार्टीको लोकतान्त्रिक प्रक्रियाले तय गर्ने कुरा हो । तर जबसम्म ओलीको विकल्पमा त्यही स्तरको राजनीतिक आधार, जनविश्वास र संगठनात्मक क्षमता भएको नेतृत्व देखिँदैन, तबसम्म केपी शर्मा ओलीकै नेतृत्वलाई निरन्तरता दिनुपर्छ भन्ने कुरा गलत होइन । बरु एमालेको हितका लागि यही नै अहिलेको आवश्यकता हो ।
