लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना चिनियाँ भाषा र भोट बौद्ध अध्ययन कार्यक्रममा अध्ययनरत विद्यार्थी चीनको हाईनान प्रान्तस्थित सान्या सहरको नानहाई बौद्ध एकेडेमीमा एकवर्षे अध्ययन तथा आदानप्रदान कार्यक्रमका लागि आज प्रस्थान गरेका छन्।
३१ जनामध्ये भोट बौद्ध अध्ययनतर्फका ९ जना लामा र १ जना आनी हुनुहुन्छ भने २१ जना गृहस्थ विद्यार्थी छन्।
चीन जाने विद्यार्थीहरूको चिनियाँ भाषामा राम्रो आधार रहेको छ। २१ जना गृहस्थ विद्यार्थीले चिनियाँ भाषा दक्षता परीक्षा (HSK) को तेस्रो तह उत्तीर्ण गरेका छन् भने १० जना लामा तथा आनीले दोस्रो तह उत्तीर्ण गर्नुभएको छ। अध्ययन–आदानप्रदान अवधिमा उहाँहरूले चिनियाँ भाषा, चिनियाँ बौद्ध संस्कृति तथा सम्बन्धित विषयहरू अध्ययन गर्नुहुनेछ। यसबाट चीनको संस्कृति बुझ्न तथा अन्तरसांस्कृतिक संवादको क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
लुम्बिनी बौद्ध विश्वविद्यालयबाट नानहाई बौद्ध एकेडेमीमा अध्ययन तथा आदानप्रदानका लागि विद्यार्थी पठाइएको यो चौथो वर्ष हो। विगत तीन वर्षमा विश्वविद्यालयबाट नानहाई बौद्ध एकेडेमीमा अध्ययन तथा आदानप्रदानका लागि जाने विद्यार्थीको संख्या १०० नाघिसकेको छ। यस कार्यक्रमअन्तर्गत विद्यार्थीलाई शिक्षण शुल्क लाग्ने छैन भने नानहाई बौद्ध एकेडेमीले उहाँहरूको आवास र भोजनको व्यवस्था पनि निःशुल्क गर्नेछ।
लुम्बिनी बौद्ध विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युट र चिनियाँ भाषा सिकाइ तथा परीक्षा केन्द्र पनि सञ्चालनमा छन्। हाल विश्वविद्यालयमा २५० भन्दा बढी चिनियाँ विद्यार्थी अध्ययनरत छन्, जसले चिनियाँ भाषा सिकाइका लागि स्वाभाविक भाषा वातावरण निर्माण गरेको छ। विश्वविद्यालय नेपाली विद्यार्थीका लागि मात्र नभई दक्षिण एसियामा चिनियाँ भाषा अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा पनि विकसित हुँदै गएको छ।
यसै शैक्षिक वर्षमा लुम्बिनी बौद्ध विश्वविद्यालयमा चिनियाँ भाषा विषयको स्नातक तहमा भर्ना प्रक्रिया सञ्चालनमा छ। उक्त शैक्षिक कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय अध्ययन तथा आदानप्रदानका अवसरहरू पनि समावेश छन्। यसै वर्ष सेप्टेम्बरको पहिलो सातामा पनि विश्वविद्यालयका धेरै विद्यार्थी चिनियाँ भाषा, स्नातक, स्नातकोत्तर तथा विद्यावारिधि तहमा पूर्ण छात्रवृत्तिसहित अध्ययन गर्न चीन प्रस्थान गरिसकेका छन्।
लुम्बिनी क्षेत्रमा चिनियाँ भाषामा दक्ष जनशक्ति अपेक्षाकृत कम छ। लुम्बिनी बौद्ध विश्वविद्यालयले नानहाई बौद्ध एकेडेमी तथा चीनका अन्य विश्वविद्यालय एवं शैक्षिक संस्थासँगको सहकार्यलाई थप सुदृढ गर्दै चिनियाँ भाषा शिक्षा र चीन अध्ययनलाई निरन्तर प्रवर्द्धन गरिरहेको छ। यसमार्फत चिनियाँ भाषा तथा अन्तरसांस्कृतिक संवादमा दक्ष जनशक्ति तयार गरी नेपाल–चीनबीचको जनस्तरीय तथा सांस्कृतिक आदानप्रदानमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।
