काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य गोविन्द थापाले नेपालविरुद्ध भइरहेको भनिएको विदेशी षडयन्त्रको पछिल्लो अध्यायबारे विभिन्न प्रश्न उठाउनुभएको छ।
उहाँले पछिल्लो समय बुनिएको तानाबाना, विभिन्न घटनाक्रम र षडयन्त्रबीचको आपसी सम्बन्धबारे आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै थापाले आफूले ‘नेपालविरुद्ध विदेशी षडयन्त्रको पछिल्लो अध्याय’ अर्थात् पछिल्लो घटनाक्रमबारे लेख्न लागेको बताउनुभएको छ। अहिले बुनिएको तानाबानाबारे केही कुरा राख्ने र विभिन्न षडयन्त्रको आपसी सम्बन्धबारे खुलस्त पार्ने उहाँले उल्लेख गर्नुभएको छ।
थापाले आफ्नो भनाइको सुरुवात दुईवटा नामबाट गर्नुभएको छ। एउटा नाम भरत दाहाल र अर्को ‘दि ग्रेजोन अनलाइन’ रहेको उहाँले बताउनुभएको छ।
त्यसपछि उहाँले गत महिनाको भदौ ८ गते नेपालमा भएको एउटा ‘असाध्यै अनौठो’ घटनाको प्रसंग उठाउनुभएको छ। उक्त घटना प्रतिनिधि सभामा भएको उहाँले बताउनुभएको छ।
थापाका अनुसार सो दिन प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले एउटा आदेश जारी गर्नुभएको थियो। उक्त आदेशमा चारवटा कुरा रहेको उहाँले बताउनुभएको छ।
सभामुखको आदेशमा परेको चार शब्दावलीबारे चर्चा गर्दै थापाले ती शब्दावली ‘नागरिकहरूको बलि’, ‘पाकिस्तानी मोडल’, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ रहेको उल्लेख गर्नुभएको छ।
सभामुख डीपी अर्यालले प्रतिनिधि सभामा अब यी चार शब्द प्रयोग गर्न नपाइने भन्दै उक्त शब्दावलीलाई असंसदीय घोषणा गर्नुभएको थापाको भनाइ छ।
तर, सभामुखको आदेशको अर्थ संसदमा ती शब्दहरू प्रयोग गर्नै नपाइने भन्ने मात्र नभएको उहाँले बताउनुभएको छ। उक्त आदेश किन आएको थियो भन्ने कुरा बुझ्नुपर्ने उहाँको भनाइ छ।
थापाका अनुसार त्यसअघिको प्रतिनिधि सभाको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले ती चारवटै शब्दावली प्रयोग गर्नुभएको थियो। नेपालको राजनीतिमा अमेरिकाले गरेको भनिएको ‘षडयन्त्रमूलक हस्तक्षेप’ र वर्तमान सरकारलाई स्थापित गरेको विषयमा रामबहादुर थापाले तथ्यसहित कुरा राख्नुभएको उहाँले बताउनुभएको छ।
‘अर्थात्, संसदमा अमेरिकाको पोल खुल्यो । भण्डाफोर भयो । अमेरिकाले नेपालमा गरेको षडयन्त्रको बारेमा तथ्य कुरा संसद्को रेकर्डमा दर्ता भयो,’ थापाले आफ्नो फेसबुक स्टाटसमा लेख्नुभएको छ।
नेपालविरुद्ध अमेरिकाले गतिविधि गरे पनि वा अरू कुनै देशले गरे पनि त्यसको ‘भण्डाफोर गर्नैपर्छ’ भन्ने आफ्नो धारणा रहेको उहाँले बताउनुभएको छ।
तर, त्यसरी गरिएको भण्डाफोर सभामुख, सरकार तथा ‘आजकाल भनिने खराने ग्याङ’लाई नपचेको उहाँको भनाइ छ। उहाँका अनुसार उनीहरूले प्रतिनिधि सभाको रेकर्डबाट अमेरिकाको विरोध र भण्डाफोर हटाउने निर्णय गरेका थिए।
त्यसपछि सभामुखले रामबहादुर थापाले बोल्नुभएको कुरा संसद्को रेकर्डबाट हटाउने निर्णय सुनाउनुभएको उहाँले बताउनुभएको छ।
सभामुखको उक्त आदेश प्रतिनिधि सभामा मात्र सीमित नहुने थापाको भनाइ छ। उहाँले त्यसलाई पूरै देशमा ‘अमेरिकाको वाहवाही गर्न पाइने तर हस्तक्षेपको विरोध गर्न नपाइने’ भन्ने सन्देश र संकेतका रूपमा व्याख्या गर्नुभएको छ।
नेपालमा अमेरिकी हस्तक्षेपको विरोध गर्न नपाइने ‘कठोर सन्देश’ दिइएको एक महिना नबित्दै दुईवटा प्रकरण आएको थापाले बताउनुभएको छ।
उहाँका अनुसार एउटा प्रकरण ‘दि ग्रेजोन अनलाइन’को समाचार हो भने अर्को भरत दाहाल गिरफ्तारी प्रकरण हो।
नेपालमा विदेशी षडयन्त्रका विषयमा अग्रपंक्तिमा रहेर कुरा उठाउने व्यक्ति भरत दाहाल भएको थापाले बताउनुभएको छ।
यद्यपि दाहालका कैयौँ विचारसँग आफू सहमत नभएको उहाँले स्पष्ट पार्नुभएको छ। एकपटक दाहालले आफूलाई नै ‘अनर्गल आरोप’ लगाएको स्मरण गर्दै थापाले आफूले कुनै पूर्वाग्रह नराख्ने बताउनुभएको छ।
‘म कुनै पूर्वाग्रह राख्दिनँ, सत्य र तथ्यसँग मात्र सरोकार राख्छु,’ उहाँले लेख्नुभएको छ।
भरत दाहाललाई किन पक्राउ गरियो भन्ने कुरा बुझ्नुपर्ने थापाको भनाइ छ। प्रहरीले कुनै पनि आरोप लगाउन सक्ने भन्दै उहाँले ‘बालेन र सुधनको आतंकको राजमा जसलाई जे पनि आरोप लगाइदिए हुन्छ’ भन्नुभएको छ।
‘दि ग्रेजोन अनलाइन’को समाचारलाई लिएर भरत दाहालले सार्वजनिक रूपमा बोल्नुभएको आफूहरूले सुनेको पनि थापाले बताउनुभएको छ।
उहाँका अनुसार ‘दि ग्रेजोन’ले अमेरिकाले नेपालमा गरेको भनिएको हस्तक्षेप, यहाँ मान्छे पालेको, मान्छे उकासेको तथा विभिन्न व्यक्तिलाई नेता बनाएर नेपाली जनतामाथि ‘हिरोका रूपमा लादेको’ विषयमा खुलासा गरेको छ।
संसदमा अमेरिकाको विरोध र भण्डाफोर गर्न नपाइने भएपछि सडकमा चाहिँ पाइन्छ त भन्ने प्रश्न थापाले गर्नुभएको छ।
‘संसदमा सांसद्को आवाज बन्द गराउन खोज्ने यो सरकारले सडकमा चाहिँ आवाज उठाउन दिन्छ त ? दिँदैन,’ उहाँको भनाइ छ।
त्यसैकारण सरकारी पक्षका मानिसहरू ‘दि ग्रेजोन’मा आएको समाचारबारे ‘मुख थुनेर बसेका’ थापाको दाबी छ। उक्त विषयमा कुरा उठाउने भरत दाहालजस्ता बुद्धिजीवीलाई पक्राउ गरेर थुन्ने गरिएको उहाँले बताउनुभएको छ।
थापाले आफ्नो फेसबुक स्टाटसमा एक वर्षअघिको अर्को प्रसंगसमेत जोड्नुभएको छ।
गत वर्ष भदौको ‘विध्वंश’पछि अमेरिकाको ‘न्यूयोर्क टाइम्स’ले एउटा समाचार प्रकाशित गरेको उहाँले बताउनुभएको छ। उक्त समाचारमा भदौ २३ र २४ गते गरिएको आगजनी ‘सुनियोजित र संगठित’ रूपमा गरिएको खुलासा भएको थापाको भनाइ छ।
आगजनी गर्न सोडियम र म्याग्नेशियमजस्ता रसायन प्रयोग गरिएको ‘न्यूयोर्क टाइम्स’ले लेखेको उहाँले उल्लेख गर्नुभएको छ।
त्यस समाचार आएलगत्तै आफूले विभिन्न भिडियो र लेखमार्फत एउटा प्रश्न उठाएको थापाले बताउनुभएको छ। ‘कतै एमाले ध्वस्त पार्ने सोडियम र म्याग्नेसियमका रूपमा एमालेभित्रै कसैलाई प्रयोग गर्ने प्रयास भइरहेको त छैन ?’ भन्ने प्रश्न आफूले उठाएको उहाँले उल्लेख गर्नुभएको छ।
‘एक वर्षपछि म फेरि पनि त्यो प्रश्न उठाउँछु,’ थापाले लेख्नुभएको छ।
तर अहिले प्रश्न उठाउनेहरूको ‘मुख थुनिने’ अवस्था आएको उहाँको भनाइ छ। प्रतिनिधि सभामा रामबहादुर थापाको ‘मुख थुनिएको’ र सडकमा प्रश्न उठाउने भरत दाहाललाई पक्राउ गरेर थुनिएको उहाँले उल्लेख गर्नुभएको छ।
‘अब यो देश विरुद्ध षडयन्त्र गर्नेहरुको विरोध गर्दा थुनिनुपर्ने दिन आएको छ,’ उहाँको भनाइ छ।
नेपालमा सोडियम र म्याग्नेशियमजस्ता रसायन भित्राएर नेपालीलाई नै प्रयोग गरी देश जलाउने काम गर्नेहरू रहेको थापाको दाबी छ। उनीहरूको ‘भण्डारमा सोडियम र म्याग्नेशियम सकिएको छैन’ भन्ने उहाँको भनाइ छ।
अब उनीहरूले देशलाई माया गर्ने देशभक्त, राष्ट्रवादी र राष्ट्रिय स्वाभिमानका पक्षधरहरूलाई अझ कडा रूपमा प्रहार गर्ने थापाले बताउनुभएको छ।
यो कुरा सबैले बुझ्न जरुरी रहेको उहाँको भनाइ छ। विशेषगरी एमाले नेताहरूले यसलाई अझ गम्भीरता र गहिराइका साथ बुझ्न जरुरी रहेको उहाँले बताउनुभएको छ।
थापाले ‘प्रहारको केन्द्रमा एमाले र यसका अध्यक्ष केपी शर्मा ओली हो’ भन्ने धारणा राख्नुभएको छ।
‘प्रहारको केन्द्रमा एमाले र यसका अध्यक्ष केपी शर्मा ओली हो भन्ने तथ्य बुझौं । बुझेर ब्यूँझौं । अहिले नब्यूँझे कहिले ब्यूँझने ?’ भन्दै उहाँले आफ्नो फेसबुक स्टाटस अन्त्य गर्नुभएको छ।
