काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रदीप ज्ञवालीले पार्टी, कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र राष्ट्र असाधारण संकटको सामना गरिरहेको बताउनुभएको छ। उहाँले त्यसको समाधानका लागि राष्ट्रिय एकता र पार्टी एकता आवश्यक रहेको बताउनुभएको छ।
तीन दिनदेखि जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै नेता ज्ञवालीले संकटको सामना गर्न पार्टी, आन्दोलन, लोकतन्त्र र राष्ट्रकै एकता अपरिहार्य रहेको र त्यसको अगुवाइ एमालेले गर्नुपर्ने बताउनुभयो।
ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पपुलिज्म र अराजकताको जगमा उभिएको शक्ति भएकाले दीर्घकालीन रूपमा असफल हुनु अनिवार्य रहेको दाबी गर्नुभयो। तर, रास्वपा असफल हुँदैमा एमाले स्वतः सफल नहुने उहाँको भनाइ थियो। उहाँले पार्टीलाई सुदृढ र रूपान्तरित बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले एमालेलाई सत्ता र प्रमुख प्रतिपक्ष दुवै भूमिकाबाट बाहिर राख्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई चिर्न पार्टीभित्र बलियो एकता र संगठनात्मक सुदृढीकरण आवश्यक रहेको धारणा राख्नुभयो।
ज्ञवालीले पार्टी पुनर्जागरणको आधार आफ्नै पार्टीको एकता भएको उल्लेख गर्दै पार्टीभित्र वैचारिक समस्या नभए पनि केही विषयमा दृष्टिकोणको भिन्नता रहेको बताउनुभयो। निर्वाचनपछिको परिस्थितिलाई लिएर विकसित बहसले पार्टीभित्र ध्रुवीकरण बढाएको र त्यसले भावनात्मक विभाजन सिर्जना गरेको उहाँको भनाइ थियो।
उहाँले निर्वाचनको परिणामलाई सामूहिक चुनौतीका रूपमा लिएर जनतामा आशा र भरोसा विस्तार गर्नुपर्ने समयमा पार्टीभित्र अस्वस्थ अवस्था देखिएको टिप्पणी गर्नुभयो। पुनर्गठनको बहस व्यक्ति केन्द्रित बनेको, अध्यक्षलाई सम्पूर्ण समस्याको कारकका रूपमा चित्रित गर्ने प्रयास भएको तथा पार्टीका नियमित कामसमेत प्रभावित भएको उहाँले बताउनुभयो।
ज्ञवालीले कार्यदलको प्रतिवेदनलाई एकताको आधार बनाएर अघि बढ्नुपर्ने सुझाव दिँदै त्यसको नेतृत्व अध्यक्षले गर्नुपर्ने बताउनुभयो। उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओली अब आन्तरिक संघर्षमा होइन, योजनाबद्ध नेतृत्व विकास र पार्टीभित्र भावनात्मक एकता निर्माणमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले पार्टीलाई लागेको धक्काको प्रमुख कारण आन्तरिक एकता कमजोर हुनु र जनतासँगको सम्बन्ध पातलिनु रहेको बताउनुभयो। स्थानीय तहमा देखिने प्रतिस्पर्धा, अपेक्षा र त्यसबाट उत्पन्न हुने द्वन्द्वलाई सही ढंगले व्यवस्थापन गर्न नसक्दा समस्या बढेको उल्लेख गर्दै प्रतिस्पर्धापछि पुनः बलियो एकता कायम गर्ने नयाँ विधि खोज्नुपर्ने बताउनुभयो।
ज्ञवालीले प्रतिवेदनमा उल्लेख गरिएका कार्यभारसँगै जनजीविकाका मुद्दालाई पनि प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो। जनतासँगको सम्बन्ध मजबुत बनाउन जनजीविकासम्बन्धी विषयमा पार्टीको ध्यान केन्द्रित हुनुपर्ने उहाँको भनाइ थियो।
बैठकमा उठेको ‘प्रदीप ज्ञवालीको प्रतिवेदन’ सम्बन्धी चर्चाप्रति प्रतिक्रिया दिँदै उहाँले आफ्नो कुनै छुट्टै प्रतिवेदन नरहेको स्पष्ट पार्नुभयो। पार्टीभित्र समस्या उत्पन्न हुँदा समन्वयकारी भूमिका निर्वाह गर्नु गल्ती नभएको उल्लेख गर्दै उहाँले ध्रुवीकरण चर्किएको बेला कुनै एक पक्षमा उभिएर अतिवादी धारणा व्यक्त गर्दा मिडियामा चर्चा पाइए पनि त्यसले समस्या समाधान नगर्ने बताउनुभयो।
साथै, पार्टीभित्रका विषयलाई मिडिया ट्रायल गर्ने, असहमतिलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसले क्षणिक चर्चा दिलाए पनि दिगो नेतृत्व निर्माण गर्न नसक्ने उहाँले टिप्पणी गर्नुभयो।
