काठमाडौं । नेपालमा व्यावसायिक मुवाथाई प्रतियोगिताका रूपमा ‘फ्युजन फाइट च्याप्टर १’ आयोजना हुने भएको छ। फ्रोथ फ्युजनको आयोजनामा आगामी असोज २४ गते (अक्टोबर १०) काठमाडौंको ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (LOD) मा प्रतियोगिता आयोजना हुने भएको हो। दर्शकका लागि कार्यक्रमस्थलको गेट दिउँसो १२ बजे खुल्ने आयोजकले जनाएको छ।
प्रतियोगितामा देशभरका २२ जना फाइटरबीच ११ वटा मुवाथाई भिडन्त हुनेछन्। प्रतियोगिताको मुख्य भिडन्तमा सुष्मा चौधरी र रजिना विष्टबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा विभिन्न विधाका विजेता तथा उपविजेताका लागि पुरस्कारको व्यवस्था गरिएको छ। मुख्य भिडन्तका विजेताले १ लाख रुपैयाँ तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यस्तै, अन्य प्रो–फाइटतर्फ विजेताले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी, थप तीन प्रो–फाइटमा विजेतालाई ४० हजार र उपविजेतालाई २० हजार रुपैयाँ तथा सेमी–प्रो फाइटका विजेतालाई २० हजार र उपविजेतालाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
फ्रोथ फ्युजनका प्रबन्ध निर्देशक रोशन सुवेदीले नेपाली मुवाथाई खेलाडीहरूको क्षमता र अनुशासनलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभएको छ। उहाँले ‘फ्युजन फाइट च्याप्टर १’ नेपाली कम्ब्याट स्पोर्ट्सलाई थप व्यवस्थित र अन्तर्राष्ट्रियस्तरमा पुर्याउने प्रयास भएको जनाउनुभएको छ। प्रतियोगिताको ब्रोडकास्ट पार्टनरका रूपमा कान्तिपुर म्याक्स एचडी, ओटीटी पार्टनरका रूपमा म्याक्स अन प्रा. लि., टिकटिङ पार्टनरका रूपमा इसेवा, मिडिया पार्टनरका रूपमा रुटिन अफ नेपाल बन्द (RONB) र RONB Sports आबद्ध रहेका छन्।
त्यस्तै, हस्पिटालिटी पार्टनरमा द प्लाजा, फेसअफ पार्टनरमा स्काइवाक, प्रमोसनल पार्टनरमा ग्रो इट र प्रोडक्सन पार्टनरमा बिग ब्राकेट रहेका छन्। प्रतियोगिताको टिकट मूल्य १ हजार रुपैयाँ तोकिएको छ। दर्शकहरूले इसेवामार्फत टिकट खरिद गर्न सक्ने आयोजकले जनाएको छ।
