काठमाडाैं । गृहमन्त्री रमेश लेखकले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको बताउनुभएकाे छ ।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायबारेको छलफलमा बोल्दै उहाँले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको बताउनुभयाे ।
विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी रहेको भन्दै गृहमन्त्री लेखकले संघदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचनालाई बलियो बनाउनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'हामी विपद् जोखिमको पनि उच्च जोखिममा छौं, हाम्रो भूगोल पनि विपद्को जोखिमकै स्थितिमा छ, भुगोलका कारणले पनि, कतिपय प्राकृतिक जोखिम छन्, कतिपय मानव निर्मित जोखिम छन्, यसलाई न्यूनीकरण गर्नका निमित्त हामी सबै मिलेर मात्रै सम्भव छ, पूर्वानुमान, सूचनाको कुरा,तत्काल उद्धार गर्ने विषय, पुर्ननिर्माण, पुर्नस्थापनाका लागि हामी सबै मिलेर अघि बढ्न जरुरी छ, हामीसँग प्राधिकरण छ, प्राधिकरणलाई पनि बलियो बनाउन जरुरी छ जनशक्तिका रुपले, आर्थिक रुपले, सूचना प्रणालीदेखि सबै विषयमा सक्षम बनाउन जरुरी छ, कानूनी रुपले संरचना निर्माण गरेका छौं तर अब ती संरचनालाई सबै किसिमले बलियो बनाउन जरुरी छ, विपद् जोखिमलाई न्यूनीकरण गर्नका निमित्त जति पनि संरचना हामीसँग छन्, तिनलाई बलियो र सक्षम बनाउन जरुरी छ ।'
