काठमाडौं । मधव गुटका नेकपा एमाले सांसद् गणेश पहाडीले सांसद् पदबाट सामूहिक राजीनामा दिने तयारी भइरहेको बताउनुभएको छ ।
सांसद् पहाडीले एमालेभित्र आफूहरुको अस्तित्व नभएको भन्दै माधव गुटले सामूहिक राजीनामा दिने तयारी गरेको बताउनुभयो । ‘जून ठाउँमा आफ्नो महत्व हुँदैन त्यहाँ बसिरहनुको कुनै औचित्य छैन’, पहाडीले भन्नुभयो– ‘हामी छलफलमा छाँै, प्रधानमन्त्री ओलीले आफ्ना निर्णयहरु नसच्याए केही दिनभित्रै सामूहिक राजीनामाको तयारी हुँदैछ ।’
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई सौतेनी व्यवहार गरेको पहाडीको आरोप छ । ‘घरभित्रका सन्तानलाई फरक–फरक व्यवहार गरे त्यहाँ कसरी बस्न सकिन्छ त ? लचकता नदेखाए त बस्न सम्भव नै छैन’– पहाडीले भन्नुभयो ।
प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपाल छलफलमा रहेको बताउँदै आफूहरुले सकेसम्म पार्टी एकता चाहेको उहाँले बताउनुभयो । ‘पार्टी फुटाउने हाम्रो कुनै नियत होइन, पार्टीभित्र नै जिम्मेवारी विहीन बनाइने हो भने त्यो पार्टीमा बसिरहनुको पनि के अर्थ भयो र ?’– पहाडीको प्रश्न छ ।
‘जहाँ भए पनि आखिर खोज्ने भनेको अस्तित्व हो, एमालेमा हाम्रो अस्तित्व रहदैँन भने हामी पार्टीमा बसिरहन सक्दैनौँ, हाम्रो भविष्य नभएको ठाउँमा पार्टीको भविष्य मात्र हेरेर आफैँलाई सिध्याउने काम हुँदैन, पार्टीको सदस्यता र सांसद् पदबाट राजीनामा दिएर हामी स्वतन्त्र हुन सक्छाँै’ – उहाँले प्रष्ट पार्नुभयो ।
पार्टी राजनीतिक रुपमा विभाजन भइसकेको र त्यसलाई औपचारिकता दिन मात्र बाँकी रहेको पनि पहाडीको तर्क छ । ‘आगामी २७ गतेसम्म पार्टी भित्रको आन्तरिक विवादलाई सामाधान गर्न नसके पार्टी फुटेर जाने निश्चित छ’– पहाडीले भन्नुभयो ।
-रासस
