काठमाडौं । ‘कोरोना महामारीले विकराल अवस्था आउनसक्छ तर त्यस्तो अवस्था आउनै नदिने उपाय पनि छ’– डा. शान्ता सापकोटा भन्नुहुन्छ । भारतमा भयानकसँग फैलिएको महामारीले चिन्तित बन्नुभएकी डा. शान्ता नेपालमै पनि बढिरहेको संक्रमणले झन् चिन्तित हुनुहुन्छ ।
नेपालको अग्रणी बीर अस्पतालर्लाइ निर्देशकका रुपमा नेतृत्व दिइरहनुभएकी डा. शान्ताले संवाददाता चन्द्र तामाङसँग भन्नुभयो– ‘महामारीमा बीर अस्पतालले कति थेग्छ भन्ने मुख्य कुरा होइन । मुख्य कुरा अस्पताल नै नपुग्ने बातावरण हामी बनाउन सक्छौं कि सक्दैनौं भन्ने हो ।’
उहाँको अपिल छ– स्वास्थ्य रक्षाका लागि बनाइएका मापदण्ड कडाईसाथ हरेक मानिसले पालना गर्नुपर्छ, अनिमात्र महामारीबाट बच्न सकिन्छ ।
डा. शान्तासँगको कुराकानीको मुख्य अंश :
कोभिड—१९ को दोस्रो लहरसँगै अक्सिजनको अभाव भएको हो ? छिमेकी भारतमा अक्सिजन अभावले भयाभह स्थिति भएको छ, नेपालकै जेठो बीचर अस्पतालमा चाहिँ के छ अक्सिजनको अवस्था ?
—हामीलाई तनाव छ, जरुरत पनि छ तर अभाव र समस्या नै भने भइसकेको छैन । आगामी दिनमा यदि साँच्चै नै महामारी बढेमा के हुन्छ भन्न सकिने अवस्था छैन । सायद यो ‘अनप्रेडिक्टेबल’ नै होला । विशेषगरी हामी भारतको अवस्थाले चिन्तित छौं ।
बीचर अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट छ। त्यो अहिले बिग्रिएको छ । हामी बनाउने प्रयास गरिरहेका छौं । एक दुई दिनमा बन्छ भन्ने मलाई जानकारी आएको छ । अक्सिजनको लिक्विड प्लान्ट पनि राख्ने कुरा भइराखेको छ । हाम्रो अक्सिजन सप्लायर्ससँग मैले भरखरै कुरा गरेकी थिएँ, उहाँले निरन्तर अक्सिजन पठाउँछु भन्नुभएको छ । हामी सप्लायर्ससँग सिलिण्डरमा अक्सिजन लिइरहेका छौं ।
सप्लायर्सले चाहिने जति दिन तयार छु भन्नुभएको छ । अन्य दिनको भन्दा केही धेरै अक्सिजन चाहियो भने पनि हामी थेग्न सक्छौं । तर, ठूलो महामारी फैलियो भने चाहिँ त्यो अवस्थामा केके हुन्छ केही पनि भविष्यवाणी गर्न सकिँदैन ।
अस्पतालको अक्सिजन प्लान्ट कहिले सम्ममा बन्छ ?
— यो अहिले पनि बन्ने क्रममै छ । केही उपकरणमा समस्या आएकाले ढिलो भइरहेको छ । तर यो चाँडै बन्छ भन्ने खबर मलाई आज विहान मात्रै प्राप्त भएको छ । यसको सामान फ्रान्सबाट ल्याउनु पर्छ । फ्रान्समा लकडाउन भएकाले ल्याउन सकिएको छैन । उताबाटै सामान ल्याउनुप¥यो भने केही ढिला हुन सक्छ । तर उताको सामान नआए पनि बन्न सक्ने अवस्था देखिएको छ । यतैका प्राविधिकहरुले यहिँ उपलब्ध सामानबाट बनाउने प्रयास गरिरहेका छन् सायद यो बन्छ अब ।
बीर अस्पतालसँग भएको प्लान्टले आफैं अक्सिजन उत्पादन गर्छ कि बाहिरबाट ल्याएर हाल्नुपर्छ ?
—हो, यो प्लान्टले आफैं अक्सिजन उत्पादन गर्छ । बाहिरबाट ल्याउनु पर्दैन । यो प्लान्टले वायुमण्डलमा रहेको अक्सिजनलाई शुद्धिकरण गरेर मेडिकल ग्रेडको बनाउने काम गर्छ । प्लान्टले आफैं उत्पादन गर्ने हो, अन्तबाट ल्याउनु पर्दैन । हामीले यो प्लान्ट सञ्चालन भइसकेपछि पनि लिक्विड अक्सिजन ल्याएर हाल्ने खालको प्लान्ट राख्ने योजना बनाइरहेका छौं ।
यो प्लान्ट बनेपछि अस्पतालका लागि पर्याप्त अक्सिजन उत्पादन गर्छ ?
— यो प्लान्ट बनेपछि पूर्ण रुपमा काम गरेको खण्डमा अस्पतालका लागि आवश्यक अक्सिजन उत्पादन गर्छ । यसले चौविसै घण्टा निरन्तर उत्पादन गरिरहन्छ । पहिला पनि पर्याप्त उत्पादन गरिरहेको थियो तर बिग्रियो । यसले अस्पतालको आवश्यता पुरा गर्छ । यो मेसिन चाँडै बन्नेमा म आशावादी छु ।
अहिले विर अस्पतालमा दैनिक कति सिलिन्डर अक्सिजन खपत भइरहेको छ ?
—अहिले दैनिक सरदर एक सय देखि दुई सय ४० वटा सिलिण्डर खपत भइरहेको छ । यो सबै ठूलो सिलिन्डर हो । यति सिलिन्डरले कोभिडका विरामी, अन्य विरामीको लागि आइसीयु र भेन्टिलेटरमा पनि पुगिरहेको छ । पोहोर कोभिडको हाइ पिकमा पुग्दा दुई सय ५० सिलिन्डर सम्म खपत भएको थियो ।
अक्सिजन अभाव हुन्छ भन्ने जुन किसिमको तनावमा सर्वसाधारण छन्, उनीहरुले तनाव नलिए हुन्छ त ?
—कति अभाव हुन्छ भन्नेमा चर्चा नै नगरौं । अस्पतालमा मानिस नपुग्ने वातावरण बनाउँ ।अक्सिजन र अन्य सामान नपुग्ने हो कि भनेर आत्तिनु भन्दा महामारी नै आउन नदिने वातावरण बनाउनुपर्छ । अस्पतालमा महामारी समुदायबाटै आउने हो । महामारीलाई कम्युनिटिमै ब्रेक गरौं । अस्पतालसम्म महामारी आइपुग्नै नदिउँ ।
हाम्रै लापरवाहीले महामारी फैलिरहेको छ । काठमाडौंका चोकचोकका चियापसलहरुमा हेर्नुस्, मास्क नलगाई, भौतिक दूरी पनि नबनाई मानिसहरु निर्धक्क भेला भइरहेका छन् । सडकमा गएर हेर्ने हो भने स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिएको छैन । आफैं मापदण्ड उल्लंघन गर्ने अनि महामारी आयो भन्दै आत्तिने ? यो त अनैतिक भयो । हामी आफैले रोगलाई निम्त्याइरहेका छौं, आफैंले काललाई निम्त्याइरहेका छौं ।
त्यसैले, स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरौं, मास्क लागाऔं, सामाजिक दुरी कायम गरौं, स्यानिटाइटर प्रयोग गरौं, साबुन पानीले हात धोऔं, अनावश्यक भिडभाडमा नजाऔं । बिना काम घर बाहिर ननिस्कौं ।सबै जना इमान्दार भएर स्वास्थ्य मापदण्डहरुको पालना गर्ने हो भने महामारीलाई अहिलकै अवस्थामा सीमित राख्न सकिन्छ । लापरवाही गर्ने हो भने जटिल अवस्था आउने छ ।
भारतमा पनि भएको त्यही हो । त्यहाँ स्वास्थ्य सुरक्षाका आधारभूत मापदण्ड पालना गरिएन । कोरोना भनेको केही होइन भन्ने मानसिकता हावी भयो । त्यसैले भारतमा अहिलेको विकराल अवस्था आयो । नेपालले चाहिँ लापरवाही नगरौं, हरेक मानिस सजग बनौं, आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।
आफूलाई संक्रमण नहुँदासम्म कोभिड भनेको केही पनि होइन भन्ने मानसिकता छ, त्यसो भन्नेहरुलाईके भन्नुहुन्छ ?
—कोरोना केही पनि होइन भन्नु ठूलो भुल हो । यस्तो गल्ती नगर्नुस् । कोभिडबाट संक्रमण हुने भनेको हाम्रो फोक्सोमा हो । फोक्सोलाई खराब बनाइदिन्छ । फोक्सो खराब भएपछि श्वासप्रश्वासमा गाह्रो हुन्छ । अनि अक्सिजनको जरुरुत पर्दछ । यसको उपचार नै छैन । उपचार भनेकै अक्सिजन हो । फेरी अक्सिजन दिँदैमा उपचार हुन्छ भन्ने छैन । त्यसले केही समयका लागि काम गर्ने हो । तपाइँको फोक्सोले नै काम गर्न छोडेपछि अक्सिजनले तपाईंलाई बचाउँदैन । फेरी त्यही अक्सिजन पनि अभाव भइरहेको सबैलाई थाहा छ । त्यसैले कोरोनालाई केही पनि होइन भन्ने सोचबाट मुक्त हुनुस् । रोग लाग्छ निको हुन्छ भन्ने सोचबाट मुक्त हुनुस् । जसरी हुन्छ, रोग लाग्न नदिउँ भन्ने सोच हुनु पर्यो ।
अहिले कोभिडको दोस्रो मात्रा खोप पनि लगाइँदै छ । खोप लगाइसकेकाहरुले चाहिँ स्वास्थ्य मापदण्ड पालना गर्न आवश्यक छ की छैन ?
— खोप लगाएकाहरुले स्वास्थ्य रक्षाका मापदण्ड झन् पालना गर्नुपर्छ । खोपले शतप्रतिशत काम गर्छ भन्ने ग्यारेन्टी छैन । खोपले केही मात्रामा प्रतिरोध गर्ने मात्रै हो । खोप लगाउँदैमा काभिड लाग्दै लाग्दैन भन्ने छैन । किनभने खोप लगाएकाहरु पनि संक्रमणको सिकार बनेका छन् । ज्यान गुमाएका छन् । खोप लगाउन आवश्यक छ तर खोप लगाउँदैमा सुरक्षित छु भन्ने ठान्नु हुँदैन ।
खोपले संक्रमण हुने संभावना अलि कम गराउँछ, मृत्युदर पनि घटाउँछ तैपनि खोपको लगाएर लापरवाह नबनौं । एम्बुलेन्समा सुतेर अस्पताल पुग्नुपर्ने अवस्था सिर्जना नगरौं । सकेसम्म घर बाहिर ननिस्कौं । अनावश्यक काममा नहिँडौं । यदि स्वास्थ्यमा समस्या आएमा सामान्य ठानेर हेल्चेक्राईं नगरौं । समस्या आएमा आफूलाई तुरुन्त आइसोलेट गरेर परिवार र समाजलाई जोगाउने काम गर्नुपर्छ ।
महामारी नियन्त्रणको काम अस्पताल, डाक्टर र सरकारको मात्र हो भन्ने भ्रममा नपरौं । हरेक नागरिक जिम्मेवार र सचेत भइयो भने मात्र जोगिन सक्छौं । तपाईंको लापरवाहीका कारण तपाईंको परिवार र समाजले दुःख पाउने अवस्था आउन सक्छ । त्यसैले म विनम्र आग्रह गर्दछु– कुनै पनि हालतमा लापरवाही नगरौं ।
-आइएनए न्युज एजेन्सी
