काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घरघरमा दीपावली गर्न आव्हान गर्नुभएकाे छ ।
मेलम्चीकाे पानी काठमाडाैंमा झार्ने ठूलाे सपना पूरा भएकाे भन्दै उहाँले काठमाडाैंबासीलाई घरघरमा दीपावली गर्न र लड्डु खाएर खुशीयाली मनाउन आव्हान गर्नुभयाे ।
मेलम्चीको पानी सुन्दरीजल आगमनको अवसरमा काठमाडाैंकाे सुन्दरीजलमा आयाेजित समाराेहमा बाेल्दै प्रधानमन्त्री ओलीले मेलम्ची सपनाको उठान हुँदा आफ्नो कपाल कालै रहेकाे र अहिले सेतै हुँदा पानी आएको भन्दै खुसी व्यक्त गर्नुभयाे ।
मेलम्ची पानी वाग्मती नदीमा खस्नु आफ्नो कार्यकालको ठूलो सफलता भएको भन्दै उहाँल्र अब केही दिनभित्रै काठमाडौंबासीका घर घरका धारामा मेलम्चीको पानी झर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे - 'मेलम्चीकाे पानी काठमाडौंमा झर्यो,अहिले हामीले खोलाबाट पानी छाड्यौं, अब प्रशोधन गर्ने पोखरीहरुबाट फिल्टर प्रशोधित गरेर लैजान्छौं, केही दिनभित्र तपाईंका धाराहरुमा पानी वितरण हुन्छ ।'
पहिलो चरणमा काठमाडौंमा १५ हजार घरधुरीमा टेस्ट भइसकेको भन्दै उहाँले दोस्रो चरणमा यांग्री र लार्केबाट पानी थपेपछि काठमाडौंबासीलाई खानेपानी पुग्ने बताउनुभयाे । साे काम पनि चाँडै थालिने प्रधानमन्त्रीले जानकारी दिनुभयाे ।
वाग्मती सफाइ अभियानमा मेलम्चीको पानीले सहयोग पुग्ने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयाे - '२७ गतेको शिवरात्रीमा सफा पानीले नुहाउन पाइयोस्, वाग्मतीको सफाइमा पनि यसको फ्लसिङले मद्दत गर्नेछ ।'
सम्बाेधन अगाडि प्रधानमन्त्री ओलीले बटम थिचेर मेलम्चीको पानी सुन्दरी जलमा खसाल्नुभएकाे थियाे । दाेस्राे पटककाे परीक्षण सफल भएसँगै मेलम्चीकाे पानी खाने काठमाडाैंबासीकाे सपना २२ वर्षपछि पूरा हुँदैछ ।
