म रोएकाे त्यो दिन र टिकापुर काण्डका शिक्षा
०७२ साल भदौ ७ गतेको त्यो कालो दिन मेरो मानसपटलमा अहिले पनि नाचिरहेछ । त्यो दिन कैलालीको टिकापुरमा दुर्दान्त घटना भयो । राजनीतिको आवरणमा अपराध मिसिएको त्यो घटनामा नौ जना सुरक्षाकर्मी मारिए, एकजना नाबालक मारिए । सयौं मानिसको घर जलाइयो, सयौं मानिस घाइते भए ।
मुख्य कुरा– समाज घाइते भयो, जनताको मन घाइते भयो ।
त्यो घटना उपर आज कैलाली जिल्ला अदालतले फैसला गरेको छ । कतिपयलाई जन्मकैदको फैसला गरिएको छ, कतिपयलाई थोरै अवधीको जेल सजाय गरिएको छ ।
त्यो घटना भएको दिन म धेरै रोएकी थिएँ । दुईटा कारणले रोएकी थिएँ । पहिलो कारण हो– दस जनाको हत्या भएको थियो । दोस्रो कारण हो– थारु समुदायलाई नै आक्षेप लगाउने कुप्रयास गरिएको थियो ।
त्यसबेला मैले भने– राजनीतिको खोल हालेर गरिएको यो अपराधिक घटनामा थारु समुदायलाई जोड्न हुँदैन । घटना गराउन अग्रसर भएकाहरु थारु समुदयका राजीतिकर्मी हौं भन्नेहरु थिए । उनीहरु थारु समुदाको ठेकेदार आफूहरु मात्र हौं भन्थे । हामी जे भन्छौं थारु समुदायको आवाज त्यही हो भन्थे ।
तर म भन्ने गर्थें– कुनै पनि समुदायको ठेकेदार कोही व्यक्ति या समूह हुन सक्दैन । कुनै खास पार्टीमा लागेका मानिसले बोलेपछि उसको बोली नै समुदायको बोली हो भन्ने मान्यतालाई मैले कहिले पनि स्वीकार गरिन । त्यसबेला पनि केही खास पार्टीमा लागेका मानिसहरुले थारु समुदायको नाम भजाएर राजनीति गर्न खोजेकोमा मैले विरोध गर्दै आएकी थिएँ । म सधैं जातीय राजनीतिको विरुद्धमा उभिँदै आएको छु ।
टिकापुर हत्याकाण्डमा म धेरै रोएँ तर रोएर बसेर हुँदैन भन्ने लाग्यो । त्यसपछि मैले निर्णय गरें– यो अपराध विरुद्ध म उभिन्छु । मैले हत्याकाण्डको विरोध गरें । मैले विरोध गरेपछि अनेक प्रतिक्रिया आए ।
मैले थारु समुदायकै विरोध गरें भन्नेहरु पनि देखिएका थिए । उनीहरुले कुरा बुझे, त्यसपछि समस्त थारुहरु अपराधिक घटनाको विरुद्धमा उत्रिएका थिए । टिकापुर हत्याकाण्ड सुनियोजित थियो । केही मानिसले आफ्नो राजनीति चम्काउन गरेको सुनियोजित षडयन्त्रको मैले विरोध गरें । थारु समुदायको ठेकेदार हौं भन्नेहरुले अपराध गर्दा म चुप लागेर कसरी बस्न सक्छु ? बोल्न थालें । ती अपराधीलाई सजाय हुनुपर्छ भने । छानविन हुनुपर्छ भनें ।
त्यो हत्याकाण्ड अपराध थियो, राजनीतिको खोल हालेर गरिएको अपराध थियो । सो उपर आज अदालतले फैसला गरेको छ ।
हत्याकाण्डपछि अपराध सकिएन । त्यसपछि थप अपराध भयो । त्यसपछि त्यहाँ थारु समुदायका मानिसहरुको घर जलाउने, कुटपिट गर्ने काम गरियो, समाजलाई विभाजित गर्ने काम गरियो । समाजलाई विभाजित गर्ने, जातीय विभाजन ल्याउने उनीहरुको उद्देश्य केही दिन त सफल भयो तर धेरै टिकेन । त्यसको पीडा त्यहाँका थारुले भोगे । हत्याकाण्डपछि समाजलाई विभाजित गर्ने अपराधीहरु चाहिँ कोको थिए ? यसको छानविन हुनुपर्छ । यसको छानविन गरेर अपराधीहरुलाई सजाय नदिई टिकापुर घटनाको अनुसन्धान र सजायले पूर्णता पाउन सक्दैन ।
समाजमा न्याय मर्न दिनु हुँदैन । न्याय मर्यो भने समाज मर्छ । हरेक घटनालाई जातीय आधारमा हेर्ने बानी लगाउन खोजियो । यो गलत हो । लोकतन्त्रमा हरेक जातीय समुदायको पहिचान स्थापित हुन्छ, कुनै पनि जातिले पाखा पर्न पर्दैन । त्यसकै लागि लोकतन्त्र ल्याइएको हो । तर, लोकतन्त्रमा राजनीति गर्न जातीय समुदायलाई ढालको रुपमा, हतियारको रुपमा प्रयोग गर्न हुँदैन । टिकापुर हत्याकाण्डले दिएको शिक्षा यही हो ।
अन्त्यमा
टिकापुर घटनाले समाजको ह्रदयमा ठूलो चोट लगायो, थारु समुदायको ह्रदयमा चोट लगायो । घाउ निको भयो तर खाटा बाँकी नै हुनसक्छ । टिकापुर जस्तो घटना कहिल्यै नदोहोरियोस र त्यस्तो घटना गराउने षडयन्त्र गर्न कसैले हिम्मत नगरोस् भनी हामी सजग हुनुपर्छ । यसका लागि सो घटनाको अझ गहिरोसँग छानविन गरेर सम्पूर्ण दोषीलाई कानुनको कठघरामा उभ्याउनुपर्छ ।
(लेखिका प्रतिनिधिसभा सदस्य हुन्)
याे पनि पढाैं-
'आमा' र 'महिला'लाई अगाडि सारेर गरिँदैछ ब्ल्याकमेलिङ
यो त अति भो– आउनुस्, सिन्दूर लगाउनुस्, नागरिकता लैजानुस्


प्रतिकृया दिनुहोस